शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०५६ - लिखत दर्ता बदर

भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक:

निर्णय नं. ६०५६ २०५२, ने.का.प.      अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०५० सालको दे.पु.नं. १२७३

फैसला मिति   : २०५२।२।१७।४

मुद्दा : लिखत दर्ता बदर

पुनरावेदक/वादी : जिल्ला मोरङ्ग रंगेली गा.वि.स. वडा नं. ६ बस्ने वेतीलाल मण्डल केवरत

विरुद्ध

विपक्षी/प्रतिवादी : जिल्ला मोरङ्ग रंगेली गा.वि.स. वडा नं. ६ बस्ने नारायणप्रसाद मण्डल केवरत

§  अंशबण्डाको १८ नं. को व्यवस्था लागू हुनु पश्चात विवादको सम्पत्ति खरिद गरेको देखिए पनि सो सम्पत्ति निजी ज्ञान शीप, प्रयासबाट खरिद भएको भन्ने जिकिरलाई समर्थन गर्ने प्रमाणको सर्वथा अभाव देखिन्छ । सगोलमा रहदाको अवस्था खरिद भएको सम्पत्ति प्रतिवादी जिकिर बमोजिम निजी ज्ञान, शीप प्रयासबाट खरिद गरेको भन्ने सबूदको अभाव छ भने यस्तो सम्पत्ति अंशियार मध्ये जोसुकैको नाउमा भए पनि सगोलको सम्पत्ति मान्नु पर्ने ।

(प्रकरण नं. १२)

§  यस्तो सम्पत्ति, बेचबिखन गर्दा अंशियार सबैको मञ्जुरीको लिखत भए मात्र सदर हुन्छ, हैन भने लेनदेन व्यवहारको १० नं. बमोजिम मञ्जुरीमा सहिछाप नगर्ने अंशियारले आफ्नो अंश हक जतिको लिखत बदर गराउन पाउने ।

(प्रकरण नं. १२)

§  विवादको लिखतको सम्पत्तिमा पुनरावेदक वादीको समेत अंश हक लाग्ने देखिदा वादी दावी बमोजिम मिति ०४४।३।३० को लिखत बदर भै वादीका नाउँमा दर्ता कायम हुने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्रीकमल नारायण दास

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री हरिहर दाहाल

अवलम्बित नजीर : x

फैसला

    न्या.केशवप्रसाद उपाध्याय : न्याय प्रशासन ऐन, २०३१ को दफा १३(५) बमोजिम कोशी अञ्चल अदालतको इन्साफ उपर अनुमति नदिने गरेको पु.क्षे.अ.को आदेश उपर पुनरावेदनको अनुमति प्रदान भै पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ।

    २.   स्व.गेना मण्डलकी २ पत्नी जेठी पुतली तथा तेजलाल र म कान्छी अलखी तर्फको र जगतलाल समेत ४ दाजुभाइ छौं । २०२० साल बैशाखमा आधी भाग म र तेजलाललेआधी भाग कोरेर जगतलालले वादी लिई म फिरादी र तेजलाल एकासगोलको र जगतलाल एकासगोलमा बस्ने गरी मानो छुट्याई जग्गा आधा छुट्याई भोगेका र आयस्ताबाट तेजलाल, सालवती, नारायणप्रसाद, सोनावतीका नाउँमा सगोलबाट जग्गा आर्जन गरेको अध्यापी अंश नभै सगोल छौं । ऋणीनारायणप्रसाद धनी पञ्चलाल भै रु. १५००।मा नारायणप्रसाद दर्ता जि. मोरङ्ग आँपगाछी गा.पं. वडा नं. ७(क) कि.नं १२७ को ११०/२ जग्गा पञ्चलाललाई ०४४।३।३० मा राजीनामा गरेको ०४४।४।२१ मा नक्कल लिई थाहा भयो । एकाघरसँगका अंशियार म फिरादीको मञ्जुरी नलिई लेनदेन व्यवहारको १० नं. विपरीत लिनु दिनु गरेको उत्तरतर्फबाट मेरो आधी अंश हकको ०१५/४ जग्गाको लिखत दर्ता बदर गरी मेरा नाउँमा दर्ता हुने गरी फिर्ता गराई पाउँ भन्ने फिरादपत्र ।

    ३.   म.प्र.को बाबु नै विपक्षीबाट २०२०।१।१५ मा भिन्न भै अलग अलग व्यवहार गरी आउनु भएकोले सगोल सम्पत्तिको खरिदी भन्ने अवस्था आउँदैन । मैले वि.एस.सी. शिक्षक भै नोकरी गरी कमाएको निजी आर्जनको सम्पत्तिबाट दुखाई केवरतबाट २०३५ सालमा खरिद गरी लिएको अंशबण्डाका १८ नं. ले मेरो एकलौटी खुस गर्न पाउने र म पञ्चलालले निजबाट खरिद गरी लिएको नारायणप्रसादको स्व. आर्जन जग्गा हुँदा बदर हुने होइन भन्ने संयुक्त प्रतिउत्तरपत्र।

    ४.   आदेशानुसार दर्ता बुझाएको र पञ्चलालबाट रचना कुमारीलाई बकसपत्र गरेको भनी वादीको निवेदन परेको र आदेशानुसार जग्गा पञ्चलालबाट लिने भनेकी रचना कुमारी बुझिँदा नारायणप्रसादबाट बाबु पञ्चलालका नाउँमा खरिद भएको जग्ग दाताका भाइ लक्ष्मी सितारामले रुपैयाँ बुझाउने जग्गा घुराउने भन्न थालेको छ । बापस नगर्ने विचारले बाबु पञ्चलाल र बाजे मोहनलालले उजुर परेको थाहा भएर नै मेरा नाउँमा बकस गरेको हो, नारायण प्रसादका नाउँमा कसरी आएको हो, अंश लाग्ने नलाग्ने के हो भन्न सक्तिन भन्ने रचनाकुमारीको बयान ।

    ५.  विवादित जग्गा पैतृक सम्पत्तिको नभई नारायणप्रसादले दुखाई केवरतबाट खरिद गरी लिएको जग्गा लिनु दिनु गरेको देखिएबाट मेरो समेत अंशहक बण्डा हुने लेखत दर्ता बदर गरी फिर्ता पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने मोरङ्ग जिल्ला अदालतको ०४५।११।१७ को फैसला ।

    ६.   शुरुको फैसलामा चित्त बुझेन सो फैसला गैरकानुनी र अन्यायपूर्ण हुँदा बदर गरी हक इन्साफ पाउने अनुरोध गर्दछु भन्ने वादीको कोशी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

    ७.  पारित लिखतबाटै प्रतिवादी नारायणप्रसादले खरिद गरेको निजी आर्जनको देखिन आएको हुँदा विवादित जग्गा पैतृक सम्पत्तिको नभई प्रत्यर्थी नारायणप्रसादले दुखाई केवरतबाट खरिद गरी लिएको जग्गा लिनुदिनु गरेको देखिएबाट मेरो समेत अंशहकको लिखत दर्ता बदर गरी फिर्ता पाउँ भन्ने वादी दावी न्यायसँगत मान्न सकिएन । वादी दावी पुग्न सक्तैन भन्ने शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने कोशी अञ्चल अदालतको फैसला ।

    ८.   विवादको जग्गा प्रतिवादीको निजी आर्जनको नभै पैतृक आर्जन वादी समेतको हक लाग्ने भनी वादी पक्षबाट कुनै पक्का लिखत सबूद समेत गुज्रन आएको मिसिलबाट देखिएन । प्रतिवादी नारायणप्रसादले दुखाईबाट ०३५ सालमा राजीनामा पारीत गरी लिएको जग्गा अंशबण्डा १८ नं. का कानुनी व्यवस्थाबाट समेत निजी आर्जनको आफुखुश गर्न पाउने देखिँदा सो जग्गा प्रतिवादीहरुले राजीनामा लिनुदिनु गर्न पाउने देखिँदा वादी दावी पुग्न नसक्ने गरेको शुरुको सदर गरेको कोशी अञ्चल अदालतको फैसलामा न्याय प्रशासन ऐन, ०३१ को दफा १३(४) को अवस्था विद्यमान नहुँदा प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन । कानुन बमोजिम गर्नु भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

    ९.   कोशी अञ्चल अदालतको फैसला र पु.क्षे.अ. को आदेशमा अंशबण्डाको १८ नं. र लेनदेन व्यवहारको १० नं. समेतको गलत व्याख्या भएकोले उक्त फैसला र आदेश त्रुटिपूर्ण हुँदा सो उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेतको वादी वर्तीलाल मण्डलले यस अदालतमा दिएको निवेदनपत्र ।

    १०.  विवादित जग्गा नारायणप्रसादले मानो छुट्टिएको मिति भन्दा अघि खरिद गरेकोबाट सो सम्पत्ति सगोलको भै बण्डा लाग्ने स्थिति देखिँदा दावी बमोजिम लिखत बदर हुनु पर्नेमा दावी नपुग्ने भनी शुरुको सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ र त्यस उपर पुनरावेदनको अनुमति नदिने भनी गरेको पु.क्षे.अ.को २०४८।२।३१ को आदेशमा अंशबण्डाको महलको १ र १८ नं. तथा प्रमाण ऐन, ०३१ को दफा २६, २७ समेत त्रुटि देखिँदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४९।१२।१६ को आदेश ।

    ११.  नियमानुसार पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले प्रतिवादी नारायणप्रसादको नाउँको सगोलको आर्जनबाट खरिद गरेको सम्पत्ति अन्य अंशियारहरुको स्वीकृति बिना हक छाडी दिएको अंशबण्डाको १८ नं. र लेनदेन व्यवहारको १० नं. विपरीत छ । तसर्थ सो लिखत बदर हुनु पर्दछ । शुरु र अञ्चलको फैसला तथा पु.वे.अ. आदेश त्रुटिपूर्ण हुँदा बदर हुनु पर्दछ भन्ने र विपक्षी नारायणप्रसादका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री हरिहर दाहालले मेरो पक्षले शिक्षक पेशाबाट कमाएको भनी लिएको दावीलाई वादीले खण्डन गर्न सकेको छैनन् । सगोलको सम्पत्ति मान्नलाई सगोलको आर्जनबाट यसरी बढे बढाएको र लगानी गरेको पुष्टी गर्न सक्नु पर्छ । सो को प्रमाण पुर्‍याउने भार वादीको हो । वादीले सो को पुष्टी गर्न सकेको छैनन् । तसर्थ शुरु र अञ्चल अदालतको फैसला एवं पु.क्षे.अ.को आदेशले सो सम्पत्ति अंश नलाग्ने ठहर गरेको कानुन संगत हुँदा सदर हुनु पर्दछ भन्ने समेतको बहस गर्नु भयो ।

    १२.  विवादको जग्गा प्रतिवादी नारायणप्रसादले ०३५।४।६ मा दुखाईबाट राजीनामा पारित गराई लिएकोमा विवाद देखिएन । यसै लगाउको वादी पुनरावेदक वर्तिलाल मण्डल केवरत प्रतिवादी सालबति केवरत समेत भएको अंश मुद्दामा ०४५।५।१ मा मानु छुट्टिएको मिति कायम भएको देखिन्छ सो विवाद लिखतको सम्पत्ति नारायणप्रसादले मानो छुट्टिएको कायम भएको मिति भन्दा अघि खरिद भएको र सगोलमा रहँदाको अवस्थामा नै नारायण प्रसादबाट आर्जन भएको देखिनछ । प्रतिवादीले प्रस्तुत विवादको सम्पत्ति वि.एस.सी. शिक्षक भई नोकरी गरी कमाएको निजी आर्जनको सम्पत्तिबाट दुखाई केवरतबाट ०३५ सालमा खरिद गरी लिएको अंशबण्डाको १८ नं. ले मेरो एकलौटी खुश गर्न पाउने स्वः आर्जनको जग्गा हुँदा लिखत बदर हुनुपर्ने होइन भनी जिकिर लिएको पाइन्छ । अंशबण्डाको १८ नं. को व्यवस्था लागू हुनु पश्चात विवादको सम्पत्ति खरिद गरेको देखिए पनि सो सम्पत्ति निजी ज्ञान शीप, प्रयासबाट खरिद भएको भन्ने जिकिरलाई समर्थन गर्ने प्रमाणको सर्वथा अभाव देखिन्छ । सगोलमा रहँदाको अवस्था खरिद भएको सम्पत्ति प्रतिवादी जिकिर बमोजिम निजी ज्ञान, शीप प्रयासबाट खरिद गरेको भन्ने सबूदको अभाव छ भने यस्तो सम्पत्ति अंशियार मध्ये जोसुकैको नाउँमा भए पनि सगोलको सम्पत्ति मान्नु पर्ने हुन्छ । यस्तो सम्पत्ति, बेचबिखन गर्दा अंशियार सबैको मञ्जुरीको लिखत भए मात्र सदर हुन्छ, हैन भने लेनदेन व्यवहारको १० नं. बमोजिम मञ्जुरीमा सहिछाप नगर्ने अंशियारले आफ्नो अंश हक जतिको लिखत बदर गराउन पाउने नै हुन्छ । विवादको लिखतको सम्पत्तिमा पुनरावेदक वादीको समेत अंश हक लाग्ने देखिँदा वादी दावी बमोजिम मिति ०४४।३।३० को लिखत बदर भै वादीका नाउँमा दर्ता कायम हुने ठहर्छ, लिखत बदर नहुने ठहर्‍याएको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गरी कोशी अञ्चल अदालतले गरेको फैसलामा पुनरावेदनका लागि अनुमति प्रदान नगर्ने गरी भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश गल्ती भई उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गर्ने गरेको कोशी अञ्चल अदालतको फैसला र सो उपर पुनरावेदनको अनुमति प्रदान नगरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश उल्टी भै विवादित कि.नं. १२७ को २०४४।३।३० को लिखत वादी दावी बमोजिम बदर हुने ठहरेकोले उक्त कि.नं. १२७ को जग्गा दर्ता गरी पाउन कानुन बमोजिम आधी जग्गा वादी वर्तिलाल मण्डलको दर्खास्त परेन आधी जग्गा वादी वर्तिलाल मण्डलका नाउँमा दर्ता गराई दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखि पठाउनु भनी शुरु मोरङ्ग जिल्ला अदालतमा लेखि पठाई दिनु ।

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु मोरङ्ग जिल्ला अदालतमा वादीले राखेको कोर्ट फी रु. ...३३७।

कोशी अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.. ५०।५५ र यस अदालतमा राखेको कोर्ट फी रु. ५०।५५ समेत जम्मा कोर्ट फी रु. ४३८।१० देहायका प्रतिवादीहरको यसै सरहदको जेथा देखाई निज प्रतिवादीहरुबाट भराई पाउँ भनी वादी वर्तिलाल मण्डलले कानुनका म्यादभित्र दरखास्त गरेमा देहायका प्रतिवादीहरुबाट देहायका दरले केही दस्तुर नलिई निज वादी वर्तिलाल मण्डललाई कोर्ट फी भराई दिनु भनी शुरु मोरङ्ग जिल्ला अदालतमा लेखी पठाई दिनु...२

प्रतिवादी नारायणप्रसाद मण्डल केवरतबाट   रु. १४६।०४,

प्रतिवादी पञ्चलाल मण्डल केवरतबाट रु. १४६।०३,

प्रतिवादी रचनाकुमारी केवरतबाट      रु. १४६।०३,

                          रु. ४३८।१०

जम्मा (चारसय अठतीस रुपैयाँ दश पैसा) मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.नरेन्द्रबहादुर न्यौपाने

 

इति सम्वत् २०५२ साल ज्येष्ठ १७ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु