शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१६५ - करारबमोजिम क्षतिपूर्ति रकम दिलाई पाऊँ

भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

फैसला मिति : २०७०।८।१०।२

२०६७-CI–०१६०

 

मुद्दा :  करारबमोजिम क्षतिपूर्ति रकम दिलाई पाऊँ ।

 

पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वार्ड नं. ३ लाजिम्पाट इ.वि.एन. हाउसमा प्रधान कार्यालय रहेको एभरेष्ट बैङ्क लिमिटेडका सचिव प्रमोदराज शर्मा

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : सिन्धुली जिल्ला, सिद्धेश्वर गा.वि.स. ठेगाना भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वार्ड नं. ३१ कमलादीस्थित सिटिजन्स बैङ्क लिमिटेडमा कार्यरत् राजीव गजुरेल

§  पुनरावेदक वादी बैङ्कसँग प्रत्यर्थी प्रतिवादीले सेवामा प्रवेश गर्दा ४ वर्षसम्म सेवा गर्ने शर्तनामा गरी सो अवधि पूरा नगर्दै बैङ्कको सेवा गर्न छाडी अन्य बैङ्कमा सेवा गर्न गएको देखिई सोही ऐनको दफा ७४ मा करार गर्ने पक्ष करारबमोजिम दायित्व पूरा गर्नुपर्नेछ भन्ने उल्लेख भएबमोजिम प्रत्यर्थी प्रतिवादीले शर्तनामाअनुसार सेवा पूरा नगरी बीचमा नै सेवा छोडी गएको देखिँदा शर्तअनुसार सेवा गरेको नदेखिने ।

(प्रकरण नं. ४)

§  प्रतिवादी बैङ्कमा सेवा प्रवेश गर्दा नै शर्तनामा गरी प्रवेश गरेकोमा बीचमा सेवा गर्न छाडेमा सो शर्तनामामा उल्लेख भएको प्रावधानअनुसार क्षतिपूर्ति तिर्नुपर्ने ।

(प्रकरण नं. ५)

 

पुनरावेदक/वादीका तर्फबाट :

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  करार ऐन, २०५६ को दफा १३(४)

§  प्रमाण ऐन, २०३१ को दफा ३४(१)

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या. श्री विनोदमोहन आचार्य

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या. श्री बैद्यनाथ उपाध्याय

मा.न्या. श्री ठाकुरप्रसाद शर्मा

     

फैसला

न्या. प्रकाश वस्ती : पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।१८ गतेको फैसलाउपर दोहोर्‍याउने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

      विपक्षीले यस एभरेष्ट बैङ्कमा सेवा गर्ने इच्छा जाहेर गर्नुभएकोले २४ जुलाई २००३ मा ४ वर्षसम्म बैङ्कमा सेवा गर्ने नगरेमा क्षतिपूर्ति हर्जानाबापत रू. २,००,०००।– (दुईलाख रूपियाँ) बैङ्कलाई तिर्नेछु भनी सेवा करारनामा (Service bond) गर्नुभएको छ । बैङ्कमा काम गर्ने कर्मचारीलाई बैङ्कसम्बन्धी विभिन्न तालिम प्रशिक्षणमा बैङ्क लगानी गरी प्रशिक्षित गर्नुपर्ने हुन्छ । विपक्षीलाई बैङ्कले बैङ्कसम्बन्धी विभिन्न तालिम दिई प्रशिक्षित गराई नियुक्ति मिति २५ जुलाई २००३ देखि २४ जुलाई २००७ सम्म ४ वर्षको लागि सेवा गर्नुपर्नेमा २७ फेरवरी २००७ देखि राजीनामा स्वीकृत हुने गरी १३ फेव्रअरी २००७ मा राजीनामा दिनुभएकोले यस बैङ्क विपक्षी करारनामाबमोजिम सेवा नगरेकोले करार ऐन, २०५६ को दफा ८६ बमोजिम रू. २,००,०००। (दुई लाख रूपियाँ) क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने एभरेष्ट बैङ्क लिमिटेड प्रधान कार्यालयको फिराददावी ।

      म प्रतिवादीको नियुक्तिपत्र २५ जुलाई २००३ मा नियुक्ति भै बैङ्कको कर्मचारी भएको थिएँ । उक्त मितिभन्दा अगाडि मलाई बैङ्कको कर्मचारी भन्न मिल्दैन । म शिक्षित बेरोजगार युवा भएको र विपक्षी बैङ्कले पहिलेदेखि तयार रहेको Service bond मा सही गर्दैमा करार सम्झौता हुन सक्तैन । म प्रतिवादी विपक्षी बैङ्ककमा ३ वर्ष ७ महिनासम्म स्थायी कर्मचारी भै काम गरेकोले एभरेष्ट बैङ्क लिमिटेडको, “कर्मचारी सेवासम्बन्धी नियमहरू २०५४ले निर्देशित गर्छ । उक्त नियमहरूको नियम २(ग) र नियम ३ एवं श्रम ऐन २०४८ को दफा ३,४ र ७ अनुसार म स्थायी कर्मचारी भएकोले मेरो हकमा करार वा सम्झौता लागू हुन सक्तैन । दूषित फिराद दावीबाट मुक्त गरी इन्साफ गरी पाउँ भन्ने प्रतिवादी राजीव गजुरेलको काठमाडौं जिल्ला अदालतमा परेको प्रतिउत्तरपत्र ।

      प्रतिवादी राजीव गजुरेलले एभरेष्ट बैङ्कमा ४ वर्ष सेवा गर्छु भन्ने Service bond गरेकोले वादी दावीअनुसार रू. २,००,०००।क्षतिपूर्ति तिनुपर्छ भन्ने वादीको साक्षी राम थापाको गरेको बकपत्र ।

      प्रतिवादीले ३ वर्ष ७ महिना एभरेष्ट बैङ्कमा स्थायी कर्मचारी भै सेवा गरेको हुँदा क्षतिपूर्ति तिर्नु पर्ने होइन भन्ने प्रतिवादीको साक्षी सन्तोषचन्द्र गौतमले गरेको बकपत्र ।

      करारजन्य सम्झौता हेर्दा २४ जुलाई २००३ मा करारको लिखत भएको देखिन्छ । जबकि प्रतिवादीलाई बैङ्कले १ दिनपछि नियुक्ति दिएकोले पदभार ग्रहण नगर्दै करारको लिखत गराएको देखिन आएको छ । Staff service rules of Everest bank limited, 2054 B.C. हेर्दा सम्झौतामा राख्न नमिल्ने देखिँदा सम्झौताअनुसार वादीले प्रतिवादीबाट रू. २,००,०००।भराई पाउँ भन्ने वादी एभरेष्ट बैङ्क लिमिटेडको फिराददावी नपुग्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको २०६५।५।२३ गतेको फैसला ।

      विपक्षी प्रतिवादीले बैङ्कको शर्त आत्मसात् गरी नियुक्ति लिई यस बैङ्कमा सेवा गर्न तयार भै करार सम्झौता गर्नुभएको छ । तोकिएको शर्तबमोजिम सेवा नगरी अर्को बैङ्कमा सेवा प्रवेश गरेकोले नियुक्तिका शर्तहरू उल्लङ्घन गरेकोमा आफ्नो दायित्वबमोजिम क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । करार ऐन, २०५६ को दफा १३ बमोजिम करार दाताले विभिन्न शर्तहरू राख्न सक्ने हुँदा service rules of Everest bank limited 2054 B.C. मा बैङ्कले क्षतिपूर्तिबापत दावी गर्नसक्ने व्यवस्था नभएकोले वादी दावी नपुग्ने भन्ने काठमाडौं जिल्ला अदालतको मिति  २०६५।५।२३ गतेको फैसला ।

      विपक्षी प्रतिवादीले यस एभरेष्ट बैङ्क लिमिटेडमा नियुक्ति हुँदा सेवा करार भएबमोजिम ४ वर्ष सेवा गर्ने भनी सम्झौता गर्नुभएको छ । करार ऐन, २०५६ को दफा १३ बमोजिम रोजगार दाताले शर्तहरू राख्न सक्ने उन्मुक्ति प्रदान गरेको अवस्थामा Service bond अनुसार क्षतिपूर्ति भराई दिनुपर्नेमा वादी दावी नपुग्नेमा ठहराएको काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी क्षतिपूर्ति दिलाई पाउँ भन्ने वादी एभरेष्ट बैङ्क लिमिटेडको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

      पुनरावेदक वादी बैङ्कले प्रतिवादीलाई कहिले कहाँ के व्यहोराको कति अवधिको के तालिम दिएको हो र सोबापत बैङ्कलाई कति आर्थिक दायित्व पर्न गएको हो भन्ने खुलाउन सकेको पाइएन । प्रतिवादीले अवधि नपुग्दै राजीनामा दिएको कारणले बैङ्कले थप आर्थिक क्षति पाउन पर्ने देखिँदैन । वादी दावी पुग्न नसक्ने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।७।१८ गतेको फैसला ।

      निवेदक बैङ्कले प्रतिवादीलाई नियुक्ति गरेको लगतै बैङ्कमा हुने दैनिक कामकाज सम्बन्धित तालिम दिने गर्दछ । Training programme of UCP 500 तालिममा सहभागी गराई तालिम दिएको छ । प्रत्यर्थी प्रतिवादीले यस बैङ्कको विभिन्न शाखामा बसी काम तथा अनुभव हासिल गर्नुभएको छ । प्रतिवादीलाई २५ जुलाई २००३ मा नियुक्ति दिँदा ४ वर्ष सेवा गर्ने शर्त राखेको र सो शर्त पूरा नगरेमा २ लाख रूपियाँ बैङ्कलाई क्षतिपूर्ति तिर्ने गरी शर्तनामा गर्नुभएकोले अ.बं. १८४ (क) १८५ र करार ऐन, २०५६ को दफा २(क) र दफा १३ तथा नेकाप २०५६, अङ्क ६, पृष्ठ ६७४४  समेतको त्रुटिपूर्ण हुँदा वादी दावी नपुग्ने ठहराएको सुरू काठमाडौं जिल्ला अदालको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) (क) र (ख) अनुसार प्रस्तुत मुद्दा दोहोर्‍याई हेरी पाउँ भन्ने वादी एभरेष्ट बैङ्क लिमिटेडको यस अदालतमा पर्न आएको निवेदन ।

      यसमा प्रत्यर्थी प्रतिवादीको सेवा सम्झौता Service bond मा ४ वर्ष काम नगरेमा क्षतिपूर्तिबापत रू. दुई लाख तिर्ने भनी स्पष्ट शर्त उल्लेख भई त्यसमा यी प्रतिवादीले सहमति जनाई दस्तखत गरेको देखिन्छ । यस्तो अवस्थामा यी दुई पक्षबीच भएका करारका शर्तहरू दुबै पक्षले मान्नुपर्नेमा त्यसको विपरीत एक पक्षले कुनै काम गरेमा सोही करारको शर्तअनुसार हुनेमा कर्मचारी सेवा नियमावलीमा क्षतिपूर्तिको व्यवस्था नभएको भन्ने आधारमा वादी दावीबमोजिम क्षतिपूर्ति नदिलाएको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा करार ऐन, २०५६ को दफा ७४ र दफा ८३ (२) तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि रहेको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अनुसार दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिएको छ । सम्बन्धित मिसिल र विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।४।१९ गतेको आदेश ।

      नियमबमोजिम दैनिक पेसीसूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के हो  सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

      २. निर्णयतर्फ विचार गर्दा पुनरावेदक/वादी एभरेष्ट बैङ्कले प्रत्यर्थी/प्रतिवादी राजीव गजुरेललाई बैङ्कमा कर्मचारी नियुक्त गर्दा सेवा गर्ने शर्त गरी सेवा प्रवेश गरेकोमा ३ वर्ष ७ महिना सेवा गरी राजीनामा दिएकोले शर्त पूरा नगर्ने प्रत्यर्थी प्रतिवादीबाट २ लाख रूपियाँ क्षतिपूर्ति दिलाई पाउँ भन्ने वादी दावी र मैले एभरेष्ट बैङ्कको कर्मचारी नियमावली, २०५६ अनुसार स्थायी कर्मचारीमा नियुक्ति पाएको हुँदा क्षतिपूर्ति तिर्नुपर्ने होइन भन्ने प्रतिउत्तर रहेको प्रस्तुत मुद्दा सुरू काठमाडौं जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराएकोले फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलाउपर दोहोर्‍याउने निस्सा प्रदान भै पुनरावेदनको रोहबाट पेश हुन आएको देखिन्छ ।

      ३. पुनरावेदक वादी एभरेष्ट बैङ्क लिमिटेडले प्रत्यर्थी प्रतिवादी राजीव गजुरेललाई कर्मचारीमा नियुक्ति दिँदा २४ जुलाई २००३ मा सम्झौता गरी बैङ्कमा ४ वर्षसम्म सेवा गर्नुपर्नेमा र सेवा भङ्ग भएमा २ लाख क्षतिपूर्ति दिने गरी शर्तनामा भएको देखिन्छ । प्रत्यर्थी प्रतिवादीले २५ जुलाई २००३ देखि २७ फेव्रअरी २००७ मा सेवामा रही उक्त बैङ्कमा राजीनामा दिएको देखिन्छ । प्रत्यर्थी राजीव गजुरेलले ३ वर्ष ७ महिना मात्र सेवा गरेको पाइन्छ ।

      ४. एभरेष्ट बैङ्क लिमिटेडमा प्रत्यर्थी राजीव गजुरेलले सर्तनामाको (e) मा शर्त भङ्ग गरेमा २ लाख क्षतिपूर्ति तिर्नुपर्ने भन्ने उल्लेख भएको देखिन्छ । करार ऐन, २०५६ को दफा १३(४) मा कुनै व्यक्तिले कुनै व्यक्ति फर्म, कम्पनी वा निकायसँग गरेको करारअनुसार त्यस्तो व्यक्ति, फर्म कम्पनी वा निकायको सेवामा छँदै वा सेवाबाट अवकाश प्राप्त गरेको निश्चित समयसम्म त्यस्तो व्यक्ति फर्म, कम्पनी वा निकायको प्रतिस्पर्धी अन्य व्यक्ति, फर्म, कम्पनी वा निकायको सेवा स्वीकार गर्न नपाउने गरी भएको करार भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदक वादी बैङ्कसँग प्रत्यर्थी प्रतिवादीले सेवामा प्रवेश गर्दा ४ वर्षसम्म सेवा गर्ने शर्तनामा गरी सो अवधि पूरा नगर्दै बैङ्कको सेवा गर्न छाडी अन्य बैङ्कमा सेवा गर्न गएको देखिई सोही ऐनको दफा ७४ मा करार गर्ने पक्ष करारबमोजिम दायित्व पूरा गर्नुपर्नेछ भन्ने उल्लेख भएबमोजिम प्रत्यर्थी प्रतिवादीले शर्तनामाअनुसार सेवा पूरा नगरी बीचमा नै सेवा छोडी गएको देखिँदा शर्तअनुसार सेवा गरेको देखिएन । सोही ऐनको दफा ८२ अनुसार करारको कुनै पक्षले करारबमोजिमको दायित्व पूरा नगरेमा दफा ८३ अनुसार नोक्सान हुने पक्षले करार उल्लङ्घन गर्ने पक्षबाट करारबमोजिमको क्षतिपूर्ति भराई लिन पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यी प्रत्यर्थीले वादी बैङ्कसँग ४ वर्षको सेवा गर्ने गरी शर्त गरी बीचमा नै सेवा छाडी गएको अवस्थामा आफूले शर्तनामा गरेको रकम तिर्नुपर्ने दायित्व हुन्छ । जहाँसम्म यी प्रत्यर्थी प्रतिवादीले आफ्नो प्रतिउत्तरमा एभरेष्ट बैङ्क लिमिटेड, २०५६ कर्मचारी विनियमअनुसारको कर्मचारी भएकोले शर्तअनुसार रकम दिनुपर्दैन भन्ने जिकीर लिए पनि २४ जुलाई २००३ मा उक्त बैङ्कमा सेवा प्रवेश गर्दा नै शर्तनामा गरेको हुँदा सो शर्तनामाको (e) अनुसार रू. २,००,०००। तिनुपर्ने देखिन्छ ।

      ५. प्रमाण ऐन, २०३१ को दफा ३४ (१) मा कुनै व्यक्तिले लेखेर वचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज सो कुरा त्यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेको र पुनरावेदक एभरेष्ट बैङ्क लिमिटेडको प्रत्यर्थी प्रतिवादी राजीव गजुरेललाई सेवा दिँदाको अवस्थामा नै शर्तनामा गराएको देखिँदा सो शर्तनामा भएकै छैन भन्ने प्रत्यर्थी प्रतिवादी जिकीरसम्म पनि लिएको देखिएन । प्रत्यर्थी/प्रतिवादीले आफूले उक्त बैङ्कमा सेवा प्रवेश गर्दा नै शर्तनामा गरी प्रवेश गरेकोमा बीचमा सेवा गर्न छाडेमा सो शर्तनामामा उल्लेख भएको प्रावधानअनुसार क्षतिपूर्ति तिर्नुपर्ने नै देखिन्छ । पुनरावेदक/वादी एभरेष्ट बैङ्कले प्रत्यर्थी प्रतिवादी राजीव गजुरेलबाट उपरोक्त २४ जुलाई २००३ मा भएको शर्तनामाको (e) अनुसार वादी दावी अनुसार रू. २ लाख क्षतिपूर्ति दिलाई भराई दिनुपर्नेमा वादी दावी नपुग्ने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । सो ठहर्नाले अरू तपसिलबमोजिम गर्नू ।

 

तपसिल

माथि इन्साफ खण्डमा ठहरेबमोजिम वादी दावीअनुसार प्रतिवादी राजिव गजुरेलबाट रू. २,००,०००।भराई पाउने हुँदा प्रतिवादी यसै सरहदको जायजात रोक्नु, कानून म्यादभित्र दावीले दरखास्त दिई कानूनबमोजिम अड्डाको प्रतिशत दस्तूर लिई प्रतिवादीबाट वादीलाई दिनु भन्ने सुरू काठमाडौंमा लेखी पठाई दिनू --१

माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी दावी ठहर भएकोले वादीले सुरूमा फिराद दायर गर्दा राखेको कोर्टफी ५२७०।पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गर्दा राखिएको कोर्टफी रू. ७९०।र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू. ७९०। समेत जम्मा कोर्टफी रू. ६८५०।वादी प्रतिवादीबाट भराई लिन पाउने हुँदा प्रतिवादीको यसै सरहदको जेथा देखाई कानूनका म्याद भित्र वादीले दरखास्त दिए केही दस्तुर नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ---२

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल अभिलेखशाखामा बुझाईदिनू --३

 

उक्त रायमा सहमत छु ।                                  

न्या.तर्कराज भट्ट

 

ईति संवत् २०७० साल मङ्‌सिर १० गते रोज २ शुभम्

इजलास अधिकृत : देवीकुमारी चौधरी

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु