निर्णय नं. ६०६० - अंश दर्ता

निर्णय नं. ६०६० २०५२, ने.का.प. अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५१ सालको दे.पु.नं. १८५७
फैसला मिति : २०५२।५।७।४
विषय : अंश दर्ता ।
पुनरावेदक/वादी : जिल्ला धनुषा वेहदा बेला गा.वि.स. वडा नं. ५ मा बस्ने रामेश्वर यादवको मु.स. गर्ने निजकी श्रीमती कुसुमी देवी
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने परमेश्वर यादव
§ २०३८ सालमा दुवै थरीको मानु छुटिएको तथ्यमा विवाद नभएपछि वादीले खुलाएको मितिलाई प्रतिवादीले इन्कार नगरेको हुँदा ०३८।१०।१ मा मानु छुट्टिएको मिति कायम गरिएको पुनरावेदन अदालत जनकपुरको निर्णयलाई विधिवत नै मान्नु पर्ने ।
(प्रकरण नं. ७)
§ मानु छुट्टिएपछि आर्जन भएको सम्पत्तिमा एक दोश्रोको अंश हक पुग्न नसक्ने ।
(प्रकरण नं. ७)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर चित्त नबुझी वादीको न्याय प्रशासन ऐन, ०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. केशवर यादवका २ छोरामा जेठो विपक्षी र कान्छी म फिरादी हुँ । हाम्रो बाबुआमा धेरै पहिले मरी सक्नु भएकोले बाबुको नाउँमा रहेको सम्पूर्ण दाजुको नाउँमा नामसारी भै आएको र पछि सगोल कै आर्जनबाट पनि केही जग्गा जमीन जोडिएको जुन दाजु कै परिवार कै नाममा दर्ता छ । हाम्रो अंश बण्डा भएको छैन । पछि दुवै दाजु भाइको परिवार बढ्न गएको कारण गृह कलह हुन लागेकोले गाउँको भलादमी समेत राखी चल सम्पत्ति जति मिति २०३८।१०।१ गते बण्डा गरी चुल्हो मानो छुट्याई सो मिति देखि आफ्नो खती उत्पति व्यहोरी आएकोमा जग्गा जमीन समेत मौखिक रुपमा छुट्याई भाग बण्डा भोग चलन गर्दै आएकोमा २०४५ सालको खेती लगाएको जग्गा दाजुले कतिपय साँध सीमाना थियो । खिचोला समेत गर्नु भएकोले समाज राखी छलफल गर्दा यो बाली पाकी सकेपछि जग्गा दा.खा. समेत गर्ने सल्लाह बमोजिम मञ्जुर भै आजभोली गर्दै आलटाल गरी आएकोले अन्यायमा परी मुद्दा गर्न आएको छु । ०३८।१०।१ को फाँटवारी लिई २ भागको १ भाग अंश पाउँ भन्ने समेत वादी ।
३. २०३८।१०।१ गते भन्दा अघिको सम्पत्तिमा वादीलाई दिन मञ्जुर छ । अड्डैबाट छुट्याई पाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. अंशबण्डा नभएको कुरामा मुख मिलेकै देखिँदा दुवै पक्षबाट पेश भएको तायदातीमा उल्लेखित सम्पत्ति मध्ये २ खण्डको १ खण्ड अंश वादीले प्रतिवादीबाट छुट्याई लिन पाउने ठहर्छ । तायदातीमा उल्लेखित जग्गा मध्ये केही जग्गा जमीनलाई प्रतिवादीको छोरा बुहारी जेवरी यादवको नाउँमा र प्रतिवादीको छोरा र श्रीमतीको नाउँमा रहेको केही जग्गा जमीन बण्डा हुनु नपर्ने भनी प्रतिवादीले जिकिर लिएका सम्बन्धमा विचार गर्दा निजले कानुनले मान्यता दाइजो प्रमाणको पेवा भन्ने जिकिर पुग्न सक्ने ठहर्दैन । तायदातीमा देखाएको सबै सम्पत्ति बण्डा हुने ठहर्छ भन्ने समेत जि.अ.को फैसला ।
५. यसमा पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादी अंशियार भन्ने कुरामा विवाद नभएको र २०३८।१०।१ गते भन्दा अघिको सम्पत्तिमा अंशबण्डा गर्नु पर्नेमा समेत दुवै पक्षको मुख मिलेको पाइन्छ । शुरु जि.अ.ले स्वयं २०३८।१०।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी समेत लिएको अवस्थामा ०३८।१०।१ गते पश्चात अर्थात् मानो छुट्टिएको पछिको मिति पश्चात आर्जन गरेको सम्पत्ति फाँटवारीमा उल्लेखित भएका पुनरावेदक प्रतिवादीको छोरा बुहारी तथा श्रीमतीको नाउँमा खरिद भएको अंश नलाग्ने जग्गाहरु वादीले फाँटवारीमा देखाए पनि प्रतिवादीले निवेदन दिए पश्चात र सो अनुरुप खरिद भएको हो होइन कुनै विचार नै नगरी ०३८।१०।१ पश्चात खरिद भएका प्रतिवादीको छोरा बुहारी तथा श्रीमतीको नाउँमा रहेको बण्डा नलाग्ने सम्पत्तिलाई पनि बण्डा लाग्ने भनी बण्डा गरी दिने ठहर्याएको मिलेको नदेखिँदा निजहरुको मानो छुट्टिएको मिति पश्चात आर्जन भएको सम्पत्ति हो भन्ने पेश भएको प्रमाणबाट देखिएको मिति ०३९।५।३ को राजीनामाबाट जेवेरी देवीको नाममा आएको साविक कुवारामपुर हाल जनकपुर वडा नं. १२ भनी फाँटवारीमा उल्लेख भएको ०–२–० जग्गा मिति २०४०।१२।९ को लिखतबाट छोटेन्द्रप्रसादको नाउँमा आएको कि.नं. १५६ को ०–४–२ कि.नं. ११४ को ०–०–३ कि.नं. ११९ को ०–०–११ कि.नं. १२१ को ०–१–३ जग्गा र मिति ०४०।१।१५ को र मिति ०३९।११।१२ को राजीनामाबाट आएको किसुनी देवी नाउँको कि.नं. ३१० को ०–२–१७ र कि.नं. २९२ को ०–०–१८ जग्गा सम्पत्तिमा बण्डा नलाग्ने हुँदा बण्डा गर्नु नपर्ने ठहर्छ । तसर्थ सो हदसम्म शुरु जिल्ला अदालत धनुषाको निर्णय आंशिक उल्टी हुने भई अरुमा वादीले २ भागको १ भाग अंश पाउने ठहराएको शुरुको निर्णय मनासिब ठहर्छ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी ईजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले वादी प्रतिवादी बीच अंश बण्डा नभएको कुरामा विवाद छैन । विपक्षीले छोरा तथा श्रीमती समेतका नाउँमा खरिद गरेको जग्गा दाइजो पेवा वा स्वआर्जन हो भन्ने कुराको प्रमाण दिन नसकेको अवस्थामा शुरु जिल्ला अदालतको फैसला मिलेको हुँदा सदर कायमै राखी पाउँ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नु भयो ।
७. यसमा दाजु परमेश्वरबाट ०३८।१०।१ का दिन चुलो मानो छुट्टाई भिन्न भै आ–आफ्नो खती उपती व्यहोरी आएकोले ०३८।१०।१ गते भन्दा अगाडीको श्री सम्पत्तिको तायदाती फाँटवारी लिई सो मध्ये मेरो हुने आधी अंश मलाई दिलाई दर्ता समेत गरी पाउँ भन्ने वादीको फिराद दावी भएकोमा ०३८ सालतिरै हामी दुई दाजुभाइ आ–आफ्नो परिवार अलग राखी चुलो मानो समेत छुट्टाई भोग गर्दै आएको भन्ने प्रतिउत्तर जिकिर भएबाट ०३८ सालमा दुवै थरीको मानु छुट्टिएको तथ्यमा विवाद नभएपछि वादीले खुलाएको मितिलाई प्रतिवादीले ईन्कार नगरेको हुँदा ०३८।१०।१ मा मानु छुट्टिएको मिति कायम गरिएको पुनरावेदन अदालत जनकपुरको निर्णयलाई विधिवत नै माननुपर्ने हुन्छ । मानु छुट्टिए पछि आर्जन भएको सम्पत्तिमा एक दोश्रोको अंश हक पुग्न नसक्ने हुँदा ०३८।१०।१ पछि प्रतिवादीका परिवारका सदस्यहरुको नाउँमा खरिद भएको सम्पत्तिमा वादीको अंश हक नपुग्ने हुँदा सोही बमोजिम ०३८।१०।१ पछि विभिन्न मितिमा खरिद भएको जग्गाहरुमा वादीले अंश नपाउने र २०३८।१०।१ देखि अघिको सम्पत्तिबाट दुई भागको एक भाग अंश पाउने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदनको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
उक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत् २०५२ साल भाद्र ७ गते रोज ४ शुभम् ।