निर्णय नं. ६०६१ - लिखत बदर दर्ता बदर ।

निर्णय नं. ६०६१ २०५२, ने.का.प. अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५१ सालको दे.पु.नं. २१०६
फैसला मिति : २०५२।५।२१।४
मुद्दा : लिखत बदर दर्ता बदर ।
पुनरावेदक/प्रतिवादी : जि.पर्सा सिवरो गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ५४ की जमुर्ती तुरहिन
ऐ ऐ बस्ने वर्ष ५६ को बाबुलाल साह तुराहा ।
विरुद्ध
विपक्षी/वादी : जिल्ला पर्सा सिवर्वा गा.वि.स. वडा नं. ७ बस्ने जगमतिया तुरहिन
§ इन्साफ माग्न अदालत आउनेले ऐनका हदम्याद भित्र आउनु पर्छ । ऐनका हदम्याद भित्र नपरेको फिरादबाट इन्साफ हुन नसक्ने ।
(प्रकरण नं. ११)
§ मुलुकी ऐन दान बकसको महलको ५ नं. मा आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन । भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । उल्लेखित ऐन अनुरुप प्रस्तुत मुद्दाको फिराद पर्न आएको नदेखिई बकसपत्र गरिदिएको मिति ०४३।५।२६ बाट ऐनका म्याद २ वर्ष नाघी २०४५।७।१८ मा मात्र फिराद पर्न आएकोले प्रारम्भतः यो मुद्दाको सुनुवाई नै हुन नसक्ने भएको हुँदा तथ्य भित्र प्रवेश गरी निर्णय दिनु पर्ने नदेखिई फिराद खारेज हुने ।
(प्रकरण नं. ११)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत हेटौंडाको फैसला उपर दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् यस प्रकार छ ।
२. मुल पुरुष फिरंगीको २ भाइ छोरामा जेठो पुरण साह कान्छा सुखाडी साह भै पुरणको छोरा राजकुमारसँग मेरो विवाह भै वहाँको करणीबाट ४ छोरा ३ छोरीको जायजन्म भै लोग्ने राजकुमार २०४५ साल फाल्गुणमा परलोक हुनु भएको, सुखाडीको २ भाइ छोरामा जेठो प्रतिवादी बाबुलाल र कान्छा खुवलालको परलोक भै सकेकोले वहाँको श्रीमती मतिसरी हुनुहुन्छ । मलाई दुःख तकलिफ दिई अंश समेत नदिई निकासा गरेकाले वहाँहरु उपर दायर गरेको दे.नं. १४४२ को अंश मुद्दा सम्मानीत अदालतको विचाराधीनमा छ । पर्सा जिल्ला सिवर्वा गा.पं. वडा नं. २ कि.नं. ११० को ०–६–१० कि.नं. १३५ को ०–१–१५ को वडा नं. ६ कि.नं. १७९ को ०–३–५ समेत ०–११–१० जग्गा पैतृक सम्पत्ति भै म समेतको अंश हकको जग्गा हो, २०४५।५।२५ गते उल्लेखित जग्गा मध्ये मेरो अंश भागको ३ खण्डको ज.वि.०–३–१–७ जग्गा जोतकोड गर्न जान वनिहारहरु लिई जाँदा प्रतिवादी जमुना तुरहिनले यो जग्गा मैले लोग्ने बाबुलालबाट ०४३।५।२६ गते ने बकसपाई मेरो नाउँमा दर्ता भै सकेको भनी खिचोला गर्नु भएकोले २०४५।६।१० गते मालपोत कार्यालयमा उपस्थित भै सगोलको लोग्ने प्रतिवादी बाबुलालले सगोलको आफ्नो श्रीमती जुमतिलाई आफ्नो नाम दर्ताको म समेतको अंश भागको उल्लेखित सम्पूर्ण जग्गाहरु मिति २०४३।५।२६ गते बकसपत्र गरी दिए लिए थाहा भएकोले २०४५।५।२५ गतेले म्यादभित्र नालेश गर्न आएको छु । सबुद प्रमाण बुझी प्रतिवादीहरुले गरे गराएको मिति २०४३।५।२६ गतेको लिखतको दफा ३ मा लेखिएको ०–११–१० जग्गा मध्ये मेरो अंश भागको ३ खण्डको १ खण्ड ज.वि. ०–३–१७ को लिखत र सो लिखतबाट प्रतिवादी जमुती तुरहिनको नामको दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र ।
३. विपक्षीको फिराद दावी कानुन विपरीत झुठो छ । विपक्षीले दावी गरे बमोजिम लिखत दर्ता बदर भै विपक्षीको नाममा दर्ता हुनपर्ने होइन । फिराद दावीको जग्गाहरु विपक्षीको हक लाग्ने जग्गा होइन । उक्त जग्गाहरु म बाबुलाल साहको आफ्नो खुश गर्न पाउने जग्गा भएकोले आफ्नो पत्नी जुमर्तीलाई मिति ०४३।५।२६ गते हालैको बकसपत्र लेखी रजिष्टे«शन पारीत गराई दिएको हो । साक्षी प्रमाण बुझी कानुन विपरीत र झुठ्ठा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तरपत्र ।
४. वादी दावी बमोजिम प्रतिवादी बाबुलाल साहले आफ्नो श्रीमती जुमर्तीलाई मिति २०४३।५।२६ मा मालपोत कार्यालय पर्सा विरगंजबाट पारीत गरी दिएको बकसपत्रको लिखतमा उल्लेख भएको जग्गा मध्ये वादीको हक जतिको वादी दावी बमोजिम ३ खण्डको १ खण्ड ज.वि. ०–३–१७ भित्र प्रतिवादीहरुले लिनु दिनु गरेको लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने ठहर्छ भन्ने समेतको शुरु पर्सा जिल्ला अदालतको मिति २०४७।६।२४ गतेको फैसला ।
५. लिखत र दर्ता बदर गरी गर्ने गरेको शुरु जिल्ला अदालतको निर्णय फैसला प्रमाणको अभावमा अंशबण्डाको ३०, १८ नं. र लेनदेन व्यवहारको १० नं. र दानबकसको ५ नं. को प्रत्यक्ष कानुनी त्रुटिपूर्ण देखिन आएको हुँदा सो फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुले तत्कालिन नारायणी अञ्चल अदालतमा चढाएको पुनरावेदनपत्र ।
६. यसमा कानुन बमोजिम अंश पाउने अंशियारहरुको बीच बण्डा लाग्ने श्री सम्पत्ति आफ्नो श्रीमती जमुनीका नाउँमा बकसपत्र गरी दिएको मितिबाट दानबकसको महल ५ नं. को हदम्यादभित्रको फिराद दावी बमोजिम प्रतिवादी बाबुलाल साहले आफ्नो श्रीमती जमुनीलाई २०४३।५।२६ मा मालपोत कार्यालय पर्सामा पारित गरी दिएको बकसपत्रमा उल्लेख भएको जग्गा मध्ये वादी दावी बमोजिम ३ खण्डको १ खण्ड ज.वि. ०–३–१७ को वादी दावी बमोजिमको हक जतिको निज प्रतिवादीहरुले लिनु दिनु गरेको लिखत र सोको आधारमा भएको दर्ता समेत बदर हुने ठहर्याएको शुरु पर्सा जिल्ला अदालतको फैसला मुनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको पुनरावेदन अदालत हेटौंडाको मिति २०४८।९।२८ को फैसला ।
७. पुनरावेदन अदालत हेटौंडाले गरेको फैसलामा चित्त बुझेन । उक्त अदालतको फैसलामा दानबकसको ५ नं. अंशबण्डाको ३०।३३ नं. को कानुनको व्याख्यामा गम्भीर त्रुटि भएकोले ईन्साफ न्याय प्रशासन ऐनको दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम दोहोर्याई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको निवेदनपत्र ।
८. यसमा दान बकसको ५ नं. अनुसार लिखत भएको र वर्ष भित्र नालेश गर्नु पर्नेमा २ वर्षको हदम्याद नाघी नालेश गरेको मिति २०४५।७।१८ देखिएकोले पुनरावेदन अदालत हेटौंडाबाट दानबकसको ५ नं. तथा अ.बं. ८२ नं. को त्रुटि गरी फैसला गरेको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिमको अवस्था विद्यमान देखिएकोले मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ, नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस अदालतको संयुक्त इजलासको मिति २०५१।३।१५ को आदेश ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निणायार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदन तर्फका विद्वान अधिवक्ता श्री तिर्थराज बसौलाले प्रस्तुत मुद्दा हदम्यादभित्र नपरेबाट खारेज हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
१०. अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ छैन ? सो को निर्णय दिनु परेको छ ।
११. निर्णयतर्फ विचार गर्दा यस्मा प्रतिवादी बाबुलाल साह तुराहाले आफ्नो श्रीमती जुमती तुहिरिनलाई ०४३।५।२६ मा बकसपत्र गरी दिएको जग्गा मध्ये मेरो अंश भागको ३ खण्डको १ खण्ड बदर गरी पाउँ भन्ने फिराद दावी र सो जग्गा म बाबुलालले आफूखुश गर्न पाउने जग्गा भएकोले आफ्नो पत्नी जमुर्तिलाई बकसपत्र गरी दिएको हुँ फिराद दावी झुठ्ठा हो भन्ने समेतको प्रतिउत्तर भएकोमा फिराद दावी अनुसार लिखत र सो अनुसार भएको दर्ता समेत बदर हुने ठहर्याएको शुरु पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पु.वे.अ. हेटौं्रडाको फैसला दोहर्याई पाउँ भन्ने प्रतिवादी जमुर्ति तुरहिन समेतको यस अदालतमा परेको निवेदनमा निस्सा प्रदान भै प्रस्तुत मुद्दा पुनरावेदनको रुपमा पेश हुन आएको देखियो । सर्वप्रथमतः मिति २०४३।५।२६ मा बकसपत्र लिखत गरी दिएकोमा विवाद देखिँदैन । साथै मिसिल संलग्न रहेको वादीहरुको फिराद २०४५।७।१८ मा अदालतमा पर्न आएको देखिएको छ । ईन्साफ माग्न अदालत आउनेले ऐनका हदम्यादभित्र आउनु पर्छ । ऐनको हदम्यादभित्र नपरेको फिरादबाट ईन्साफ हुन सक्दैन । यस सम्बन्धी मुलुकी ऐन, दान बकसको महलको ५ नं. मा आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । उल्लेखित ऐन अनुरुप प्रस्तुत मुद्दाको फिराद पर्न आएको नदेखिई बकसपत्र गरिदिएका मिति ०४३।५।२६ बाट ऐनका म्याद २ वर्ष नाघी २०४५।७।१८ मा मात्र फिराद पर्न आएकोले प्रारम्भतः यो मुद्दाको सुनुवाई नै हुन नसक्ने भएको हुँदा तथ्यभित्र प्रवेश गरी निर्णय दिनु पर्ने नदेखिई फिराद खारेज हुने देखिन्छ । तसर्थ शुरुले तथ्यभित्र प्रवेश गरी गरेको निर्णय सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी हुन्छ । सो फैसला उल्टी हुने ठहरेकाले शुरु र पुनरावेदनले राख्न लगाएको लगत राख्न परेन कट्टा गरी दिनु । मिसिल नियमानुसार बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत् २०५२ साल भाद्र २१ गते रोज ४ शुभम् ।