शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०६२ - करारनामा बमोजिम लिखत पास गराई पाउँ।

भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक:

निर्णय नं. ६०६२   २०५२, ने.का.प.        अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५१ सालको दे.पु.नं. २३२१

फैसला मिति  : २०५२।५।७।३

विषय : करारनामा बमोजिम लिखत पास गराई पाउँ।

पुनरावेदक/वादी : नन्दलालको छोरा जिल्ला पर्सा विरगञ्ज नगरपालिका वडा नं. ७ बस्ने घनश्याम अग्रवाल

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला बारा बहुअरी गा.वि.स. वडा नं. ८ घर भै हाल जिल्ला पर्सा विरञ्ज न.पा. वडा नं. ७ अब्दुल कैयुम अन्सारी

§  वादीले दावी लिएको विवादको कि.नं. ३१७ को जग्गा प्रतिवादी अब्दुल कैयुम अन्सारी समेत ३ जनाको नाउँमा संयुक्त दर्ता रहेको देखिन्छ । तिन जनाको नाउँमा संयुक्त दर्ता रहेको जग्गा एक जनाले मात्र बिक्री गरी दिने गरी बैना लिनु दिनु गरेको लिखतलाई करारको संज्ञा दिन नमिल्ने ।

(प्रकरण नं. ७)

§  विवादको सम्पूर्ण जग्गामा हक दावी गर्नेले बैना दिएको रकम कटाई बाँकी रकम धरौट राखेर मात्र उजूर गर्नु पर्नेमा सो बापतको रकम धरौट नराखेबाट वादीले आफ्नो दायित्व पुरा गरेको सम्झन नमिल्ने ।

(प्रकरण नं. ७)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा.

प्रत्यर्थी तर्फबाट : x

अवलम्बित नजीर : x

फैसला

    न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

    २.  यसमा विपक्ष अब्दुल कैयुमले म घनश्याम अग्रवालबाट अब्दुल कैयुम महिमदिन अन्सारी नमुदिन अन्सारीको नाउँमा संयुक्त दर्ताको सगोलको जिल्ला बारा लिपनी माल गा.पं. वार्ड नं. ८ को कि.नं. ३१७ को दोयम ज.वि. ०६ को मोल कठ्ठा १ को रु. २१५००।को दरमा बिक्री गर्ने तय गरी उक्त जग्गाको हुने मोल रु. मध्ये बैना बापत रु. २०,०००।बुझि लिई ०४६ साल आषाढ सम्ममा रजिष्टे«शन पास गरी दिने छु भनी घरको मुख्य अब्दुल कैयुमले करार गरी मिति २०४५।१०।२१ गते करारनामाको कागज लेखी अक्षरबाट दुवै बुढी औंठाको ल्याप्चे सहिछाप गरी दिनु भएको उक्त मिति ०४६ साल आषाढ सम्ममा विपक्षीको कुनै उक्त जग्गाको सम्पूर्ण रुपैयाँ बुझाई रजिष्टे«शन पास गरी दिनुस भनी विपक्षीसँग बराबर भन्दा र लिखित जानकारी दिँदा समेत आज सम्म करार बमोजिम लिखत पास गरी नदिई करारको शर्त पुरा नगरी दिएबाट करार बमोजिम बाँकी रुपैयाँ विपक्षीलाई म बाट दिलाई शर्त पुरा गराई विपक्षी समेतको दाजुभाइका नाउँमा संयुक्त दर्ता भएको कि.नं. ३१७ को ज.वि. ०६६ जग्गा मेरो नाउँमा लिखत पास गराई दर्ता समेत गराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र ।

    ३.  वादी मेरो चिनजानका मानिस हुँदा निजसँग रु. १०,०००।सापटी माग गर्दा निजले म त्यस्तै रुपैयाँ दिन कागज गर्नु पर्छ भनी भन्दा निजले कपाली कागज मात्र होइन जग्गा तपाईहरुको नाउँमा संयुक्त हक रहेको सो जग्गा मलाई बिक्री गर्ने करारनामाको कागज गरी दिनुस भन्दा तिनजनाको संयुक्त दर्ता रहेको जग्गाको मैले एक जनाले करार गर्न मिल्दैन भनी भन्दा तपाईको जग्ग लिनु दिनु छैन । विश्वासको लागि कागज गरी दिनु पर्यो भने वादीले अनुरोध गरेबाट निजको भनाई अनुसार रु. १०,०००।लिई दोब्बरको कागज बनाउने प्रचलन अनुसार रुपैयाँ २०,०००।को बैनाको कागज सम्म वादीको चित्त बुझाउन भाखा राखी कागज गरेको सम्म हुँ । तर कुनै जग्गा खरिद बिक्री गर्ने उद्देश्यबाट भए गरेको होइन । त्यसरी धेरै मोल पर्ने जग्गा कम मुल्य देखाई दुःख हैरान गर्न सम्मको लागि यो झुठ्ठा फिराद गरेको मात्र हो भन्ने समेत व्यहोराको प्रत्युत्तर जिकिर ।

    ४.  विवादको जग्गा प्रतिवादी अब्दुल कैयुम समेत ३ जवानको संयुक्त दर्ता भै संयुक्त स्वामित्वमा रहेको र कैयुमको उक्त जग्गामा ३ भागको १ भाग मात्र हक हुने देखिँदा र निजले रीत पूर्वकको वैनाको लिखत लेखि दिएको समेत हुँदा उक्त लिखतम लेखिएको दर रेट बमोजिम नपुग जग्गा प्रतिवादीलाई दिने गरी कि.नं. ३१७ को जग्गामा ३ भागको १ भागको लिखतसम्म मात्र पास हुने ठहर्छ भन्ने बारा जि.अ.को मिति २०४७।३।२८ को फैसला ।

    ५.  वादी दावी र पुनरावेदन जिकिर एवं लिखतको शर्त हेर्दा पुनरावेदक वादीले वैनापत्रमा उल्लेख भए बमोजिम प्रति कठ्ठा रु. २१,५००।को दरले ज.वि. ०६ को कुल मोलमा आफूले बैना दिएको रकम कट्टाई बाँकी रकम धरौट राखेर मात्र कि.नं. ३१७ को पुरै जग्गामा दावी लिनु पर्नेमा प्रथमतः त्यसो गर्न नसकी पुरै जग्गामा दावी लिएको देखिएको र वैनापत्रमा उल्लेखित कि.नं. ३१७ को जग्गा अब्दुल कैयुम निजका भाइहरु महिमदिन, मुदिन समेतको नाउँमा संयुक्त दर्ता रहेकोले यसरी संयुक्त नाममा रहेको जग्गा पारित गर्ने भनी एकजना प्रतिवादीले मात्र कागज गरेको र सो कागजमा पनि पास गरी नदिएमा कानुन बमोजिम गर्ने भनी जग्गाको विषयमा के गर्ने स्पष्ट उपचारको व्यवस्था नगरी भउको अस्पष्ट कागजलाई अचल सम्पत्ति जग्गा हस्तान्तरण गर्ने विषयमा मान्यता दिन नमिल्नेमा मान्यता दिई प्रतिवादीको हिस्सा सम्मको जग्गा पारित गरी दर्ता समेत गरी दिने ठहर्‍याई गरेको ईन्साफ नमिलेकोले सो हदसम्म शुरुको फैसला उल्टी हुने ठहर्छ । सम्पूर्ण जग्गा नै पारित हुने ठहरिनु पर्ने भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने पु.वे.अ. हेटौंडाको फैसला ।

    ६.  नियम बमोजिम पेशी सूचीमा चढी ईजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा.ले प्रतिवादीले विवादित जग्गा पास गरी नदिएमा कानुन बमोजिमले गरी लिनु पर्ने गरी लिनु भनी करारको शर्त राखिएको र साथै प्रतिवादी घरका लेनदेन व्यवहार ८ नं. बमोजिमको मुख्य व्यक्ति हुँदा फिराद दावी बमोजिम गरी पाउँ भनी आफ्नो बहस जिकिर प्रस्तुत गर्नु भयो ।

    ७.  विद्वान अधिवक्ताले गर्नु भएको बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला मिले नमिलेको के छ भन्ने कुरामा निर्णय दिनुपर्ने देखियो । वादीले दावी लिएको विवादको कि.नं. ३१७ को जग्गा प्रतिवादी अब्दुल कैयुम अन्सारी समेत ३ जनाको नाउँमा संयुक्त दर्ता रहेको देखिन्छ । तिन जनाको नाउँमा संयुक्त दर्ता रहेको जग्गा एक जनाले मात्र बिक्री गरी दिने गरी बैना लिनु दिनु गरेको लिखतलाई करारको संज्ञा दिन नमिल्ने देखिन्छ । साथै विवादको सम्पूर्ण जग्गामा हक दावी गर्नेले बैना दिएको रकम कटाई बाँकी रकम धरौट राखेर मात्र उजूर गर्नु पर्नेमा सो बापतको रकम धरौट नराखेबाट वादीले आफ्नो दायित्व पुरा गरेको सम्झन नमिल्ने हुँदा प्रतिवादीको हिस्सा सम्मको जग्गा पारित गरी दर्ता गरी दिने ठहर्‍याएको शुरुको ईन्साफ सो हदसम्म उल्टी गरी वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५२ साल भाद्र ७ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु