निर्णय नं. ६०६८ - निषेधाज्ञा

निर्णय नं. ६०६८ ने.का.प. २०५२ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०४९ सालको दे.पु.नं. ६१५
आदेश मिति : २०५२।७।२२।४
मुद्दा : निषेधाज्ञा ।
पुनरावेदक/निवेदक : जि.ललितपुर लुभु गा.वि.स. वडा नं. ५ भगवतीलाछी बस्ने वर्ष ६४ को सानुमान श्रेष्ठ
विरुद्ध
विपक्षी/प्रत्यर्थी : जि.ललितपुर टिकाथली गा.वि.स. वडा नं. ६ बस्ने राम बहादुर खत्री
§ निषेधाज्ञा मुद्दाबाट मोही हक सम्बन्धी कुराको निरोपण गरी पुनरावेदन जिकिर बमोजिम निषेधाज्ञा जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ८)
§ आफ्नु अधिकारमा कसैले आघात गर्न लागेमा उजूर दिन सक्ने र निषेधाज्ञा जारी हुने कानुनी व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा निवेदकले आफ्नो अधिकारमा विपक्षीबाट आघात हुने अवस्था देखाई आफ्नो दावीलाई पुष्टी गर्ने प्रमाणित आधार देखाउन सकेको पाइन्न । यस्तो अवस्थामा निषेधाज्ञा जारी हुनु पर्दछ भन्ने निवेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्रकरण नं. ८)
पुनरावेदक निवेदक तर्फबाट : x
विपक्षी, प्रत्यर्थी तर्फबाट: x
अवलम्बित नजीर : x
आदेश
न्या. त्रिलोकप्रताप राणा : पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :–
२. ल.पु. टाकाथली वार्ड नं. १ कि.नं. २९१ को ०–१३–२ वडा नं. ६ कि.नं. ५४२ को १–३–२ कि.नं. ४१ को ०–४–० कि.नं. ५६४ को ०–११–३ कि.नं. ४२८ को ०–६–० कि.नं. ५११ को ०–६–० समेतका जग्गाहरुको मोही केशरमान सिं र जग्गा धनी म भएकोले बाली लिन जाँदा भूमिसुधारबाट मोही रामबहादुर हुने गरी निर्णय भइसकेको छ, उसैसँग बाली लिन जानु भनी जवाफ दिएको, रामबहादुरबाट बाली भराउन उजूर गर्दा रामबहादुरबाट बाली भराउन नमिल्ने र केशर सिं पनि मरी सकेकाले निजबाट पनि बाली भराउन नमिल्ने भनी ल.पु.जि.अ. बाट वादी दावी खारेज गरियो । ल.पु.जि.अ.को यस फैसलाले रामबहादुरलाई मोही नमानेकोले उक्त जग्गाहरु मैले नै कमाई आएकोमा विपक्षीले मोही हक जाँदैन भन्दै ०४९ सालको धानवाली समेत लुटपिट गरी लगेकोले उक्त जग्गाहरुमा प्रवेश गर्न विपक्षीलाई रोक लगाउन निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको सानुमानको अदालतमा परेको निवेदन ।
३. निवेदन दावीमा उल्लेखित जग्गाहरुको जग्गा धनी ४ जवान भएकोले म मोही भएको जानकारी दिने भन्ने समेतको मिति २०२६।५।२५ मा भु.प्र.का. ललितपुरमा निर्णय भए मुताविक निवेदक सानुमान समेतले जानकारी पाई सकेका छन्, जोताहाको स्थायी प्रमाण पुर्जा समेत मैले पाइसकेको छु सम्पूर्ण जग्गाहरुको बाली वादीले खाई पाई आएका हुँदा म मोहीलाई जग्गामा प्रवेश गर्न नमिल्ने भन्ने विपक्षीको निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको रामबहादुरको लिखितजवाफ ।
४. मोही हो होइन भन्ने विवादमा निषेधाज्ञाको आदेशद्वारा निर्णय हुन नसक्ने र विपक्षीले यस किसिमबाट दावी अनुसारको कार्य गर्न लागेको भनी आशंका समेतको अवस्था देखाई दावी लिएको देखिन आउँदैन । निवेदकले आफ्नो दावी पुष्टि गर्ने प्रमाण पेश गर्न नसके समेतबाट निषेधाज्ञाको आदेश जारी गर्न मिलेन । निवेदन दावी खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०४९।४।१५ को फैसला ।
५. मैले मोही सम्बन्धी तेरो मेरो हक बेहक तर्फ दावी लिएको भए भु.सु.का.बाट हेर्ने भन्ने फैसला गर्न मिल्ने हो । तर सो नभई जग्गामा प्रवेश गर्न रोक लगाई पाउँ भन्ने मेरो निवेदन परेपछि त्यो तर्फ भु.सु.का.ले हेर्ने होइन । कानुन भन्दा बाहिर गई पु.वे.अ. ले हचुवा फैसला गरेकोले सो फैसला बदर गरी दावी बमोजिम दावीका जग्गामा विपक्षीले प्रवेश गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत यस अदालतमा परेको पुनरावेदन ।
६. विवादित कि.नं. २९१, ५४२, ५४१, ५६४, ४२८, ५११ का जग्गाहरुमा विपक्षी रामबहादुरलाई मोही कायम नगरी शुरु ल.पु.जि.अ.बाट मिति २०४१।१०।१५ मा सो फैसला बा.अं.अ. र म.क्षे.अ.ले सदर गरी राखेको, भु.सु.का.ल.पु.बाट २०२६।५।२५ मा विपक्षीलाई मोही कायम गरे पनि अदालतबाट चलन नदिएको भन्ने पुनरावेदकको जिकिर रहेको र भू.सु.का.ल.पु.को मिति २०२६।५।२५ को निर्णयले केशर सिंह र जग्गाधनी दर्ता श्रेस्तामा संशोधन गरी दिने भन्नेमा हालसम्म पनि संशोधन नभएको भन्ने जिकिर हुँदा यस विषयमा निवेदन लेखाईमा मुख मिलेकै भएपनि अदालतको अन्तिम फैसलाका कुरालाई अन्यथा हुने गरी गरेको पु.बे.अ.पाटनको फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासबाट भएको मिति २०५१।४।१८ को आदेश ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? सो कुराको ईन्साफ दिनु पर्ने हुन आयो ।
८. यसमा विवादित कित्ता जग्गाको विपक्षी मोही होइन । उक्त जग्गाहरुमा प्रवेश गर्न विपक्षीलाई रोक लगाउन निषेधाज्ञा जारी गरी पाउँ भन्ने निवेदकको मूल जिकिर र म मोहीलाई जग्गामा प्रवेश गर्न नदिने भन्ने निवेदन जिकिर निरर्थक हुँदा निवेदन खारेज गरी पाउँ भन्ने विपक्षीको भनाई रहेको पाइन्न । निषेधाज्ञा मुद्दाबाट मोही हक सम्बन्धी कुराको निरोपण गरी पुनरावेदन जिकिर बमोजिम निषेधाज्ञा जारी गर्न मिल्दैन । आफ्नु अधिकारमा कसैले आघात गर्न लागेमा उजूर दिन सक्ने र निषेधाज्ञा जारी हुने कानुनी व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा निवेदकले आफ्नो अधिकारमा विपक्षीबाट आघात हुने अवस्था देखाई आफ्नो दावीलाई पुष्टी गर्ने प्रमाणित आधार देखाउन सकेको पाइन्न । यस्तो अवस्थामा निषेधाज्ञा जारी हुनु पर्दछ भन्ने निवेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । झगडिया झिकाउने यस अदालतको आदेशबाट सहमत नहुँदा निवेदन खारेज गरेको पुनरावेदन अदालत पाटनको ईन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. उदयराज उपाध्याय
इति सम्वत् २०५२ साल कार्तिक २२ गते रोज ४ शुभम् ।