निर्णय नं. ६०८५ - अंश

निर्णय नं. ६०८५ ने.का.प. २०५२ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
सम्वत् २०५२ सालको दे.पु.नं. १३०२, १३४९
फैसला मिति : २०५२।१०।८।२
मुद्दा : अंश
पुनरावेदक/वादी : ललितपुर जिल्ला ललितपुर न.पा. वडा नं. ५ कुमारीपाटी घर भै हाल का.जि.का. न.पा. वडा नं. २१ भोटेबहाल डेरा गरी बस्ने भिष्मकुमारी महर्जन
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर न.पा. वडा नं. ५ कुमारीपाटी बस्ने आसालाल महर्जन
ऐ ऐ बस्ने गुणकेशरी महर्जन ।
पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर न.पा. वडा नं. ५ कुमारीपाटी बस्ने आसालाल महर्जन
विरुद्ध
प्रत्यर्थी/वादी : ऐ.ऐ. वडा नं. ५ कुमारीपाटी घर भै हाल का.जि.का.न.पा. वडा नं. २१ भोटेबहाल डेरा गरी बस्ने भिष्मकुमारी महर्जन
§ ३५ वर्ष उमेर नपुगेकी विवाह नभएकी छोरीलाई अंश दिनेले कानुनको रीत पुर्याई अंश दिन्छ र लिने अविवाहितले अंश बुझी अंश छोडपत्र गरी दिन्छे भने ३५ वर्ष उमेर नपुगेको भए पनि सोह्र वर्ष नाघिसकेकी सावालख अविवाहिताले गरेको अंश छोडपत्रको लिखत अमान्य हुन्छ भन्न मिल्ने अवस्था नहुने ।
(प्रकरण नं. १३)
§ पुनरावेदक वादी भिष्मकुमारी महर्जनले गरी दिएको अंशको छोडपत्रको लिखत कागज ३५ वर्ष उमेर नपुग्दै गरेकोले अंशबण्डाको १६ नं. अनुसार अधिकारको सृजना नै नभएको व्यक्तिले गरेको कागज सदर हुंदैन भन्ने वादीको तर्क कानुनतः युक्तिसंगत देखिंदैन । अंशबण्डाको १६ नं. को ३५ वर्ष उमेर पुगेको भनिएको अवस्था छोरा सरह अंशमा दावी गर्न पाउने र अंश माग्दा नदिएमा ऐन बमोजिम उजूर गर्न पाउने सहज अवस्था हो । सो अवस्था नपुग्दै अंश बुझी छोडपत्र पारित गर्न नपाउने भन्ने कानुनको अभावमा छोडपत्र कागजलाई कानुनले तोकेको अधिकार विहीन व्यक्तिबाट छोडपत्र भएको भन्न सकिने आधार प्रमाणबाट देखिन नआउने ।
(प्रकरण नं. १३)
§ रजिष्ट्रेशनको महलको १ नं. मा धर्मपुत्रको लिखत, अचल सम्पत्ति भएको मानो छुट्टिएको वा मानो जोडिएको लिखत र बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक छाडी दिएको लिखतको रजिष्ट्रेशन गराउन पर्छ भन्ने व्यवस्था भएकोले सो बमोजिम यो पुनरावेदक वादी भिष्मकुमारीले अंश बुझी छोडपत्र पारित गरी दिन उक्त कानुनले बाधा पुर्याएको पनि पाइ“दैन । अंशबण्डाको ३५ नं. बमोजिम पाउनु पर्ने अंशमा जहिलेसुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन । जुन अंशको लागि उजूर गरेको छ सो अंश हक नै बुझी कानुन बमोजिम छोडपत्र गरी दिएको देखिन्छ । अगाडि आफैंले छोडपत्रको कागज गर्दा अंश लिन बाँकी छ भनी उजूर गर्ने छैन गरेमा यसै कागजले बदर गर्नु भनी १६ वर्ष नाघी सकेकी साबालख अविवाहिताले अंश छोडपत्र कागजमा सहिछाप गरी रजिष्ट्रेशन पारित गरिसकेकी र उक्त छोडपत्रको कागज जीवितै रहेको अवस्थामा अहिले आएर यो पुनरावेदक वादीले अंश छोडपत्र हुँदाको अवस्थामा अ.बं. ८२ नं. अनुसार मेरो अंशमा दावी गर्न सक्ने हक अधिकार नै थिएन नभएको हक अधिकार छोड्दा असर नपर्ने भै सहिछाप गरेको भनी भन्न प्रमाण ऐन, २०३१ को ३४ समेतले वादीलाई मद्दत गर्न नसक्ने ।
(प्रकरण नं. १४)
§ अंशबण्डाको कानुन बमोजिम कुनै व्यक्तिले आफ्नो जीवनमा एक पटक मात्र अंश भाग पाउँछ । एक पटक कसैले अंश पाइसकेको रहेछ भने फेरि अर्को पटक पनि अंश पाउने अवस्था रहंदैन । अंश दिनेले उमेर नपुगेका अंशियारलाई दुवैको राजीखुशीबाट अंश लिने दिने कार्य वा अंश वापत छोडपत्र गर्ने कार्य हुन्छ भने त्यस्तो कार्य गर्दा गैरकानुनी कार्य हुन्छ भन्ने कानुनी प्रावधानको अभाव छ । एक पटक उमेर नपुग्दा आफ्नो मञ्जुरीबाट अंश वापत केही कुरा वा रकम लिई अंश हक तिलाञ्जली गर्छ भने फेरि तीन चार वर्ष पश्चात आफ्नो अंशमा दावी गर्ने उमेर पुगेको आधारमा दावी गरी पूर्व अंश भाग लिएको वा छोडपत्र गरेको गैरकानुनी भएकोले अहिले पुनः अंश पाउँ भनी दावी गरे अनुरुप अंश दिलाउँदा दुई पटक अंश पाउने अवस्था सृजना हुने भै कानुन निर्माताको मनमस्तिष्कमा नै परिकल्पना नभएको अवधारणा मान्यता तथा अंशबण्डाको कानुनी सिद्धान्तको खिलाफ हुन गई एक किसिमको हाम्रो मूल्य र मान्यता प्राप्त सामाजिक व्यवस्थामा खलल हुन आउने प्रवल सम्भावना हुनुको साथै हाम्रो त्यस्तो समाज तथा व्यवहारमा विकृति पैदा भई अंश दिनेलाई दोहोरो अंश दिनु पर्दा अंश दिने व्यक्तिलाई आर्थिक दायित्वको भारले व्यवहार नै चलाउन नसकी समाजमा डामाडोलको अवस्था नै उत्पत्ति हुन आउने कुरा नकार्न नसकिने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवप्रसाद रिजाल
प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद जोशी
अवलम्बित नजीर : x
फैसला
न्या.ओमभक्त श्रेष्ठ : न्याय प्रशासन ऐन, ०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको टिपोट र ठहर यस प्रकार छ :–
२. विपक्षी आसालाल महर्जन मेरो सहोदर पिता र गुण केशरी सौतेनी आमा हुन् । विपक्षी बाबुका ५ श्रीमती जेठी आमा तुयु महर्जनको २ छोरा सानुकाजी र शेरबहादुर तथा २ छोरी आसामाय र सानुमाया जना ४ को जायजन्म भएको हो । छोरीहरुको विवाह भै सकेको र छोराहरुको पनि विवाह भै भिन्न बसेका छन् । आमा ०४५ साल पौष २९ गतेका दिन आफ्ना कालगतिले परलोक हुनु भयो । तुलसी महर्जन माइली आमाबाट एकजना छोरामात्र प्रेमलालको जायजन्म भएको र वहाँ पनि भिन्न भएको माहिली नाम गरेकी साईली म साहिली म फिरादीको आमाबाट मेरो मात्र जायजन्म भएको र आमा म बालखै छँदा घरबाट हिंडी सक्नु भएको कहिले आमा विपक्षी गुण केशरी हुनु भएको वहाँबाट कुनै सन्तानको जन्म हालसम्म पनि नभएको कान्छी आमा भुवन देवीबाट छोरी ३ सकुन्तला, सुभद्रा, विनाको जायजन्म भएको तथा १ छोरा विरेन्द्र महर्जनको जन्म भएको, मलाई भाइ शेरबहादुर महर्जन जिम्मा लगाई विवाह खर्च बापत १५,०००।– दिनु भएको थियो । ०३७ साल बैशाख १७ गते रोज ३ मा रु. ५,०००।– अंश दिएको भनी अंश हक छोडपत्रको कागज गराई मा.पो.कार्यालय काठमाडौंमा र.नं. ८०५५ बाट रजिष्टे«शन पास समेत गराई लिनु भएको थियो । जुन बखत अ.बं. ८२ नं. अनुसार अंशमा दावी गर्न सक्ने मेरो हक अधिकार नै थिएन । त्यस बखत नभएको हक अधिकार छाड्दा केही असर नपर्ने भै मैले प्रकरण नं. २ मा उल्लेखित रजिष्टे«शनको कागजमा सहिछाप गरेको थिए । २०४१ सालमा मेरो उमेर पुगेपछि र म अपाङ्ग भएको कारणबाट मेरो विवाह नभै अविवाहित भएको कारणले अंशबण्डाको १६ नं. ले छोराहरु सरह अंशमा दावी गर्न पाउने कानुनले हकाधिकार प्रदान गरेपछि विपक्षीहरुसँग अंश माग्दा किन अंश चाहियो भनी लगाई फकाई गरेपछि घरमा आई बसेकी थिए । यहि २०४५ साल फाल्गुण १४ गतेको दिन एक्कासी यो घरमा नबस तलाई खान लगाउन पनि दिंदैनौ जे गर्न सक्छेस गर भनी मलाई घरबाट निकाला गरी दिएकोले अदालतको शरण पर्न आएकी छु । फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरुसँग अंश बण्डाको २० नं. अनुसार तायदाती लिई सानुकाजी, शेरबहादुर, प्रेमलालले अंश छोडपत्र गरी सकेको दिदी बहिनी मध्ये, आसामाया, सानु माया र शकुन्तलाको विवाह भै सकेको यति बाहेक विपक्षी जना दुई र सौतेनी आमा भुवन देवी र भाइ वीरेन्द्र तथा म फिरादी समेत जम्मा ५ अंशियार छँदा दुई जना बहिनीको विवाह खर्च पर सारी ५ भाग मध्ये १ भाग दिलाई पाउँ भन्ने समेत व्यहोराको भिष्मकुमारी महर्जनको ०४५।१२।२९ को फिरादपत्र ।
३. फिरादीको दावी झुठ्ठा एवं गैरकानुनी छ । फिरादी समेतले ०३७।१।१७।३ मा अंशको छोडपत्रको लिखत पारीत गर्दा फिरादीले आफ्नो उमेर ३१ वर्ष भएको भन्ने दावी लिनु भएको छ । जबकी लिखत मै निजको उमेर ३२ वर्ष लेखिएको छ । ३२ वर्षकी भएकी फिरादीले आफूलाई खाली ३१ वर्षकी भनेर झुठ्ठा कुरा लेखिएको सोही लिखतबाटै प्रमाणित छ । फिरादीले आफू समेत आगे भै मा.पो.का. काठमाडौं मार्फत र द.नं. ८०५२ मिति २०३७।१।१७।३ मा अंश छोडपत्रको लिखत गरी दिएकोमा स्वीकार गर्नु भएकै छ । सो लिखत जालसाजी तरिकाबाट गराएको अथवा कीर्ते भनी फिरादीले भन्न सकेको छैनन् । करकापसँग् गराएको भए अ.बं. ३८ नं. को म्याद भित्र नालेश दिन सक्नु पर्ने तर कतै उजुर गर्न सक्नु भएको छैन । अंशबण्डाको ३२ नं. ले अंशमा चित्त नबुझनेले १६ वर्ष नाघेकोले बण्डापत्रको कागज भएको मितिले ३ महिनाभित्र उजुर नगरे लाग्न सक्दैन भन्ने व्यवस्था गरेकोले कानुनतः उमेर नपुगेको अवस्थामा पनि बण्डा गरी दिनु हुन्छ र त्यसरी बण्डा भएको चित्त नबुझे लिखत भएको मितिले अथवा उमेर पुगेको ३ महिनाभित्र नालेश गर्नु पर्छ । तर फिरादीले त्यसरी नालेश गर्नु भएको पनि थिएन । तसर्थ फिरादीले झुठ्ठा एवं गैरकानुनी दावीबाट फर्सद पाउँ भन्ने समेत व्यहोराको आसालाल महर्जन गुण केशरी महर्जन समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. एक पटक आफूले केही लिई अंश हक छोडपत्र गरी सकेकोमा पुनः उमेर नपुग थियो गैरकानुनी थियो भनी प्रमाण ऐन, २०३१ को दफा ३४ ले भन्न नमिल्दा र अंश जिन्गीभर पटक पटक पाउने नभै एक पटक पाउनेमा सो वादीले पाई सकेको देखिँदा समेत वादीको फिराद दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको ०४६।८।२० को ललितपुर जिल्ला अदालतको फैसला ।
५. अधिकार विहिन मान्छेसँग कुनै कागज गराउनु न्यायसंगत र कानुनले ग्राह्य नहुने त्यस्तो अनधिकृत कागजबाट कुनै कारवाही समेत गर्नु उचित नहुँदा उक्त ०३७।१।१७ को छोडपत्र मेरो हकमा गैरकानुनी छँदा त्यसलाई सबूद प्रमाण मानी त्यसको मूल्यााकन नै नगरी आधार समेत नदेखाई न्यायिक मनको अभावमा मलाई मेरो अंश नदिलाउने फैसला गर्नु न्यायिक विचार नभई त्रुटिपूर्ण हुँदा फैसला बदर गरी ४ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको भिष्मकुमारी महर्जनको वागमती अचल अदालतमा चढाएको पुनरावेदनपत्र ।
६. वादी दावीमा उल्लेख भएको अंशियार आमा भुवन देवीको मृत्यु भएको वीरेन्द्र महर्जन छुट्टि भिन्न भई सकेको देखिँदा प्र.गुण केशरीले स्त्री अंश धनको सम्पत्तिबाट खरिद गरेको भन्ने कुरा प्रतित नदेखिँदा प्र.आसालाल र गुण केशरीबाट दालिा भएको तायदाती बमोजिम ३ खण्डको १ खण्ड अंश भाग वादीले पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटन ललितपुरको फैसला।
७. पुनरावेदन अदालत पाटनको फैसलाको त्रुटिपूर्ण पक्ष सम्मको हकमा कानुन बमोजिम गरी विपक्षीहरुले पेश गरेको तायदातीमा उल्लेख गर्नु पर्ने चल सम्पत्तिको विवरण नखुलाई पुनः सम्मानीत अदालतबाट बुझिएको म पुनरावेदक प्रतिवादीको बयान र नेपाल बैंक लिमिटेड पाटन औद्योगिक क्षेत्रको नं. ३४ पाटन औद्योगिक क्षेत्रको ५५।४०१९ को मिति ०४९।८।१० को पत्र मुताविक विपक्षीसँग रहे भएको सम्पूर्ण चल सम्पत्तिको विवरणबाट कानुन बमोजिम म पुनरावेदकले पाउने चल सम्पत्ति दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी भिष्मकुमारीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
८. पारित अंश छोडपत्र कागज भएकोमा वादीले मानेको छ र सो कागज गर्दा रजिष्टे«शनको २२ नं. ले यो कागजबाट यस्तो हुन्छ भन्ने मतलब रजिष्टे«शन गर्ने हामीले सम्झाई गरेको र अर्को मुलुकी ऐन अ.बं. २४ नं. ऐनले सदर हुने सो पारित छोडपत्र कागजलाई त्यसरी अमान्य गरी भएको पुनरावेदन अदालत पाटन ललितपुरको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी शुरु ललितपुर जिल्ला अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी आसालाल र गुण केशरी महर्जनको संयुक्त पुनरावेदनपत्र ।
९. नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शिवप्रसाद रिजालले तायदाती फाँटवारी दिँदा चल अचल श्रीसम्पत्ति नखुलाएकोले बयान गराइएको छ । सो अनुसार नेपाल बैंक लिमिटेड पाटन औद्योगिक क्षेत्रबाट मुद्दा चल्दा चल्दैको अवस्थामा विपक्षीहरुले रकम झिकी लगेको विवरण मिसिलमा पेश गरी सकिएको छ । उक्त चल सम्पत्ति पनि बण्डा गर्नु पर्ने भन्ने तथ्यमा विवाद छैन । अतः पाटन औद्योगिक क्षेत्रको पत्र मुताविक चल सम्पत्ति दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नु भयो ।
१०. पुनरावेदक प्रतिवादीतर्फबाट मुकरर रहनु भएका विद्वान अधिवक्ता श्री गुरुप्रसादले अंश दिनेले ३५ वर्ष उमेर नपुगेकी अविवाहितालाई अंश दियो र अंश लिनेले पनि अंश लियो भने लिने दिने नपाउने भन्न मिल्दैन । ३५ वर्ष उमेर पुगेपछि नालेश गरेर अंश लिने अधिकार विधायिकाले बनाएको हो । तर आफैं घरसारमा अंश लिनु दिनु गरेमा ३५ वर्ष कुर्नु पर्ने देखिँदैन। पुनरावेदन अदालत पाटनको फैसला उल्टाई शुरु फैसला सदर गरी पाउँ भनी बहस गर्नु भयो ।
११. आज निर्णय सुनाउन तारेख तोकिएकोमा प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरी म फिरादी समेत जम्मा ५ अंशियार हुँदा दुई जना बहिनीको विवाह खर्च पर सारी ५ भाग मध्ये १ भाग अंश दिलाई पाउँ भन्ने समेत वादीको दावी देखिन्छ ।
१२. अंशमा चित्त नबुझ्नेले १६ वर्ष नाघेकाले बण्डा पत्रको कागज भएको मितिले र सोह्र वर्ष मुनिकाले १६ वर्ष नाघेका मितिले ३ महिनाभित्र नालेश नगरे लाग्न सक्दैन भन्ने व्यवस्था गरेकाले उमेर नपुगेका अवस्थामा पनि अंश लिन दिन हुन्छ त्यसरी बण्डा भएकोमा चित्त नबुझी लिखत भएको मितिले अथवा उमेर पुगेका मितिले ३ महिनाभित्र नालेश गर्नु पर्छ । फिरादीले त्यसरी नालेश नगरेकोले फिराद खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर भै चलेको प्रस्तुत मुद्दामा अंश जिन्दगी भर पटक पटक पाउने नभई एक पटक पाउनेमा एक पटक पाई सकेको देखिँदा वादी दावी पुग्न सक्दैन भन्ने ललितपुर जिल्ला अदालतको फैसला उपर वादीको पुनरावेदन परी पुनरावेदन अदालत पाटनबाट ३ खण्डको १ खण्ड अंश वादीले पाउने ठहर्याई भएको फैसला उपर वादी प्रतिवादी दुवैको यस अदालतमा पुनरावेदन पर्न आएको पाइन्छ।
१३. प्रस्तुत मुद्दामा पुनरावेदक वादी भिष्मकुमारी महर्जनले मालपोत कार्यालय काठमाडौं मार्फत र द.नं. ८०५२ मिति ०३७।१।१७।३ मा अंश बुझी अंश छोडपत्रको लिखत पारीत गरी दिएको देखिनछ । उक्त छोडपत्रको लिखतलाई वादीले आफ्नो मञ्जुरी बेगर जोरजुलुम करकाप गरी कागज गराएको भन्न सकेको मिसिलबाट देखिँदैन । वादीले गरी दिएको छोडपत्रको लिखतमा अंश लिन बाँकी छ भनी उजुर गर्ने छैन गरेमा यसै कागजले बदर गर्नु भनी मनोमानी खुसीराजीसँग यो कागज गरी दियौं भन्ने समेत व्यहोरा उल्लेख भै रजिष्टे«शन समेत भएको पाइन्छ । अंशबण्डाको १६ हेर्दा ३५ वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोरा सरह अंश पाउँछे भन्ने कानुनमा व्यवस्था भै अंशमा दावी गर्न पाउने उमेर पुगेपछि अंश नदिए ऐन बमोजिम उजुर गर्न पाउने सो उमेर नपुगेसम्म उजुर नलाग्ने देखिन्छ । ३५ वर्ष उमेर नपुगेकी विवाह नभएकी छोरीलाई अंश दिनेले कानुनको रीत पुर्याई अंश दिन्छ र लिने अविवाहितले अंश बुझी अंश छोडपत्र गरी दिन्छे भने ३५ वर्ष उमेर नपुगेको भए पनि सोह्र वर्ष नाघिसकेकी सावालख अविवाहिताले गरेको अंश छोडपत्रको लिखत अमान्य हुन्छ भन्न मिल्ने अवस्था हुँदैन । अंश लिनु दिनु गरी छोडपत्र पारीत गरेको मतलब र परिणाम समेत बुझ्न नसक्ने यी वादीको उमेर नपुगेको अवस्थामा प्रस्तुत मुद्दामा देखिन आउँदैन । अदालती बन्दोवस्तको २४ नं. हेर्दा सोह्र वर्ष नपुगेका नाबालकको र होस ठेगानामा नभएको वा बौलाएको मानिस समेतको कागज लिनु वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला राखी लिनु वा गराउनु पर्छ ज्यानमारा चोरी वा करणी गर्ने गर्न लाउने मानिसको अड्डाबाट कागज गराउँदा भने संरक्षक वा हकवाला नभए पनि नाबालकको कागज गराउनु हुन्छ । उपरोक्त अवस्था बाहेक आफ्नो खुशीराजीले जानी बुझी सहिछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । यस मुद्दामा यो पुनरावेदक वादी भिष्मकुमारी महर्जनले गरी दिएको अंशको छोडपत्रको लिखत कागज ३५ वर्ष उमेर नपुग्दै गरेकोले अंशबण्डाको १६ नं. अनुसार अधिकारको सृजना नै नभएको व्यक्तिले गरेको कागज सदर हुँदैन भन्ने वादीको तर्क कानुनतः युक्तिसंगत देखिँदैन । अंशबण्डाको १६ नं. को ३५ वर्ष उमेर पुगेको भनिएको अवस्था छोरा सरह अंशमा दावी गर्न पाउने र अंश माग्दा नदिएमा ऐन बमोजिम उजूर गर्न पाउने सहज अवस्था हो । सो अवस्था नपुग्दै अंश बुझी छोडपत्र पारित गर्न नपाउने भन्ने कानुनको अभावमा छोडपत्र कागजलाई कानुनले तोकेको अधिकार विहीन व्यक्तिबाट छोडपत्र भएको भन्न सकिने आधार प्रमाणबाट देखिन आउँदैन।
१४. रजिष्ट्रेशनको महलको १ नं. मा धर्मपुत्रको लिखत, अचल सम्पत्ति भएको मानो छुट्टिएको वा मानो जोडिएको लिखत र बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक छाडी दिएको लिखतको रजिष्ट्रेशन गराउन पर्छ भन्ने व्यवस्था भएकोले सो बमोजिम यो पुनरावेदक वादी भिष्मकुमारीले अंश बुझी छोडपत्र पारित गरी दिन उक्त कानुनले बाधा पुर्याएको पनि पाइँदैन । अंशबण्डाको ३५ नं. बमोजिम पाउनु पर्ने अंशमा जहिलेसुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन । जुन अंशको लागि उजूर गरेको छ सो अंश हक नै बुझी कानुन बमोजिम छोडपत्र गरी दिएको देखिन्छ । अगाडि आफैंले छोडपत्रको कागज गर्दा अंश लिन बाँकी छ भनी उजूर गर्ने छैन गरेमा यसै कागजले बदर गर्नु भनी १६ वर्ष नाघी सकेकी साबालख अविवाहिताले अंश छोडपत्र कागजमा सहिछाप गरी रजिष्ट्रेशन पारित गरिसकेकी र उक्त छोडपत्रको कागज जीवितै रहेको अवस्थामा अहिले आएर यो पुनरावेदक वादीले अंश छोडपत्र हुँदाको अवस्थामा अ.बं. ८२ नं. अनुसार मेरो अंशमा दावी गर्न सक्ने हक अधिकार नै थिएन नभएको हक अधिकार छोड्दा असर नपर्ने भै सहिछाप गरेको भनी भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ समेतले वादीलाई मद्दत गर्न सक्तैन । अंशबण्डाको कानुन बमोजिम कुनै व्यक्तिले आफ्नो जीवनमा एक पटक मात्र अंश भाग पाउँछ । एक पटक कसैले अंश पाइसकेको रहेछ भने फेरि अर्को पटक पनि अंश पाउने अवस्था रहँदैन । अंश दिनेले उमेर नपुगेका अंशियारलाई दिईसकेको राजीखुशीबाट अंश लिने दिने कार्य वा अंश वापत छोडपत्र गर्ने कार्य हुन्छ भने त्यस्तो कार्य गर्दा गैरकानुनी कार्य हुन्छ भन्ने कानुनी प्रावधानको अभाव छ । एक पटक उमेर नपुग्दा आफ्नो मञ्जुरीबाट अंश वापत केही कुरा वा रकम लिई अंश हक तिलाञ्जली गर्छ भने फेरि तीन चार वर्ष पश्चात आफ्नो अंशमा दावी गर्ने उमेर पुगेको आधारमा दावी गरी पूर्व अंश भाग लिएको वा छोडपत्र गरेको गैरकानुनी भएकोले अहिले पुनः अंश पाउँ भनी दावी गरे अनुरुप अंश दिलाउँदा दुई पटक अंश पाउने अवस्था सृजना हुने भै कानुन निर्माताको मनमस्तिष्कमा नै परिकल्पना नभएको अवधारणा मान्यता तथा अंशबण्डाको कानुनी सिद्धान्तको खिलाफ हुन गई एक किसिमको हाम्रो मूल्य र मान्यता प्राप्त सामाजिक व्यवस्थामा खलल हुन आउने प्रवल सम्भावना हुनुको साथै हाम्रो त्यस्तो समाज तथा व्यवहारमा विकृति पैदा भई अंश दिनेलाई दोहोरो अंश दिनु पर्दा अंश दिने व्यक्तिलाई आर्थिक दायित्वको भारले व्यवहार नै चलाउन नसकी समाजमा डामाडोलको अवस्था नै उत्पत्ति हुन आउने कुरा नकार्न सकिँदैन । अतः माथि उल्लेख गरे बमोजिम एक पटक अंश पाइसकेको स्थितिमा दोहोरो अंश दिलाउन नमिल्ने हुँदा ३ खण्डको एक खण्ड अंश भाग वादीले पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ उल्टी हुन्छ । वादी दावी नपुग्ने ठहर्याएको शुरु ललितपुर जिल्ला अदालतको इन्साफ मुनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर समेत पुग्न सक्तैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी आसालाल महर्जन तथा गुणकेशरी महर्जन के माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहरेकाले पुनरावेदन अदालत पाटनको ०५०।३।१०।५ को फैसलाले प्रतिवादीबाट वादीलाई भराई दिने ठहर्याएको शुरु कोर्ट फी रु. १२७०।०१ पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन दर्ता गर्दा मिति ०५०।६।७ मा दाखिल गरी धरौटीमा आम्दानी बाँड्न पठाएको देखिएकोले उक्त कोर्ट फी रु. १२७०।०१ वादीलाई भराई दिनु परेन । सो को लगत कट्टा गरी सो धरौटी रु. १२७०।०१ प्रतिवादीहरुलाई नै कानुन बमोजिम फिर्ता दिनु भनी शुरु ललितपुर जि.अ.मा लेखी पठाउनु १, माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहरेकोले पुनरावेदन अदालतले वादीलाई प्रतिवादीहरुबाट ३ खण्डको १ खण्ड अंश छुट्टयाई दिने गरी राखेको लगत कट्टा गर्नु भनी शुरु ललितपुर जिल्ला अदालतमा लगत दिनु १, पुनरावेदक आशालाल तथा गुण केशरी महर्जननी के माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालतको इन्साफ उल्टी हुने ठहरेकोले प्रतिवादी पुनरावेदकहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. १९०।– वादीहरुबाट कानुन बमोजिम भराई पाउँ भनी वादीको यस सरहदको जेथा देखाई कानुनको म्यादभित्र दरखास्त यस कानुन बमोजिम भराई दिनु भनी शुरु जिल्ला अदालतमा लगत दिनु मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०५२ साल माघ ८ गते रोज २ शुभम् ।