निर्णय नं. ६०८६ - मोही कायम

निर्णय नं. ६०८६ ने.का.प. २०५२ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०५१ सालको दे.पु.नं. २३२४
फैसला मिति : २०५२।१०।२४।४
मुद्दा : मोही कायम ।
पुनरावेदक : जिल्ला बारा अमृतजंग गाउँ विकास समिति वडा नं. २ बस्ने जगतनारायण राय यादव
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने गोपालप्रसाद यादव
§ पेश हुन आएको कबुलियत भनिएको कागजको व्यहोरा भूमिसम्बन्धी ऐन नियमको निर्दिष्ट रीत ढांचामा नभएकोले सो कागजलाई कबूलियतनामाको संज्ञा दिन नमिल्ने ।
(प्रकरण नं. १३)
§ सक्कल पेश गर्ने सम्बन्धमा पुनरावेदकलाई दिइएको म्यादभित्र निजले पेश गर्न नसकी खोजतलाश गर्दा फेला नपरेको भनी निवेदन दिएको देखिनाले सक्कल दाखिल गर्न नसकेको अवस्थामा उक्त कबूलियतनामा र भर्पाई दुवैको नक्कल कागजलाई मात्र आधार ग्रहण गरी कानुनी मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. १३)
§ नक्कल कागज प्रमाणले सक्कलको स्थान ग्रहण गर्न नसक्ने ।
(प्रकरण नं. १३)
§ सक्कल कबूलियत र भर्पाईको अभाव एवं पेश भएको कबूलियत समेत कानुन बमोजिमको रीत ढांचामा नदेखिँदा भूमिसम्बन्धी ऐन नियम बमोजिमको निर्दिष्ट पूर्वावस्थाको परिपालना नभई मोहियानी हक प्राप्ति हुन नसक्ने कतिपय सिद्धान्त समेत यस अदालतबाट प्रतिपादन भई आएको पाइने ।
(प्रकरण नं. १३)
पुनरावेदक तर्फबाट : x
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या.ओमभक्त श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको मिति २०५०।२।२४ गतेका फैसला उपर वादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. विपक्षीका पिता धुर्वलाल राउत अहिरका नाममा दर्ता रहेको जिल्ला बार अमृतजंग गा.वि.स. वडा नं. ५ कि.नं. १७२ को ६–०–० मध्ये दक्षिणतर्फबाट जग्गा विगहा ४–०–० मैले मोही भई जोती मोही कायम गरी पाउँ भनी निवेदन गर्दा मिति २०४३।३।२५ मा यसै कार्यालयबाट मोही कायम गर्ने निर्णय भएको थियो । उक्त मिति २०४३।३।२५ गतेको निर्णय बदर गरी पाउँ भनी विपक्षी गोपाल प्रसादले सर्वोच्च अदालतमा रिट निवेदन गर्दा स.अ.बाट भूमिसुधार कार्यालय बाराले प्रतिवादी कायम गरेको रिट निवेदकलाई झिकाउँदै नझिकाई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ भनी मिति २०४५।४।२४ मा सर्वोच्च अदालतबाट आदेश भइसकेको हुँदा विपक्षीलाई झिकाई मेरो पूर्व माग दावी बमोजिम मोही कायम समेत गरी पाउँ भन्ने समेत व्यहोराको जगतनारायण राय यादवको निवेदनपत्र ।
३. वादी दावी बमोजिम जग्गाको मोही विपक्षी नभएको हुँदा अ. ८२ नं. बमोजिम विपक्षीलाई फिराद गर्ने हकदैया नै छैन । २०३३ सालमै स्वर्गवास भईसक्नु भएको पिता उपर विपक्षीले मिति २०४२।११।२२ मा उजुरी गरेको हुँदा अ.बं. १० नं. बमोजिम फिराद खारेज भागी छ साथै विपक्षीलाई २०३४ साल देखि नै उक्त जग्गा मोहीमा जोत्न दिएको भए मौकैमा मोही कायम गराउन सक्नु पर्ने कूतवाली तिरे बुझाएको भरपाई दाखिल गर्न सक्नु पर्नेमा सो सकेको छैन र विपक्षीले दाखिल गरेको लिखतहरु देखिँदा अ.बं. ७८ नं. बमोजिम बयान गर्ने नै छु । तसर्थ विपक्षीको झुठ्ठा बनावटी र कानुन विपरीत उजुरी दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको गोपादप्रसादको मिति २०४७।७।५ गतेको प्रतिवादी ।
४. भूमिसुधार कार्यालय बाराबाट जग्गा कसको जोतमा छ भनी सरजमीन बुझ्न पठाएकोमा वादी प्रतिवादीको रोहवरमा सरजमीन हुँदा बहुसंख्यक व्यक्तिले विवादित जग्गा विपक्षी मोहीको जोतमा रहेको भनी सरमजीन भई आएको ।
५. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) बमोजिम अमृतजंग गा.वि.स. वडा नं. २ कि.नं. १७२ को ज.वि. ६–०–० मध्ये दक्षिणतर्फबाट ज.वि. ४–०–० जग्गामा वादीको नाममा मोहिहक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय, बाराको मिति २०४७।९।२६ गतेको निर्णय ।
६. विपक्षीले पेश गरेको लिखत अ.बं. ७८ नं. बमोजिम मलाई देखाउनु सुनाउनु पर्नेमा नसुनाई अ.बं. ७८ नं. को प्रकृया नै नअपनाई मेरो विरुद्धमा लिएको उक्त प्रमाण कानुनसंगत नहुनुको साथै सरजमीनले वादीको दावीलाई समर्थन गरेको समेत नहुँदा शुरु निर्णय बदर गरी शुपथ न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदनपत्र ।
७. प्रत्यर्थी वादीले प्रमाण स्वरुप पेश गरेको कबुलियतनामा दाखिल गराउने र कबुलियतनामा र भरपाई सम्बन्धमा अ.बं. ७८ नं. को प्रक्रिया नअपनाई गरेको शुरुको निर्णय विचाराधिन हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी प्रत्यर्थीलाई झिकाई हाजिर भएपछि निज प्रत्यर्थीबाट मिति २०४२।११।१८।७ को सक्कल भरपाई र मिति २०३४।१।१० गतेको कबुलियतनामा दाखिल गराउने र कबुलियतनामा प्रत्यर्थीसँग नभए सम्बनिधत गा.वि.स.बाट सक्कलै झिकाई दाखिल भएमा अ.बं. ७८ नं. बमोजिम पुनरावेदकलाई सुनाउन इजलास समक्ष पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश ।
८. मिति २०४३।११।१८ गतेको सक्कल भरपाई खोज तलाश गर्दा फेला नपरेको र मिति २०३४।१।१० गतेको कबुलियतनामाको सक्कल यसै अदालतमा पेश भएको भन्ने जगत नारायण यादवको वा.बद्रीप्रसाद पोखरेलको निवेदनपत्र ।
९. गोपालप्रसाद यादवले जगत नारायणलाई २०३४।१।१० मा गरी दिएको कबुलियतनामा समेतका कागजातहरु त्यस पालाको प्रधानपञ्च महेन्द्रप्रसाद कुश बाहाको परलोक भएबाट शुरु देखि २०३८ सालसम्मको कुनै कागज पत्र यस गा.वि.स.मा नबुझाएको भन्ने गा.वि.स. अमृतजंग, बाराको मिति २०४९।८।२१ गतेको पत्र ।
१०. विवादित मिति २०३४।१।१० गतेको कथित कबुलियतनामा २०४२।११।१८ गतेको विवादित भरपाई समेतको सक्कल पेश हुन नसकेको भुमिसुधार ऐन, नियम २०२१ लागू भएपछि मोहियानीको प्राप्ति र बर्खास्ती सम्बन्धमा भएको कानुनी प्रक्रिया अन्तर्गत नभएको काम कुराले कानुनी मान्यता प्राप्त गर्न नसक्ने हुँदा कानुनले निर्दिष्ट गरेको काम कारवाही लिखतको अभावमा सरजमीनलाई प्रमाण लिई मोहियानी हक प्रदान गर्न सकिने कानुनी व्यवस्थाको अवभामा र मिसिल संलग्न सबूद प्रमाण समेतबाट विवादित जग्गामा मोही कायम गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । मोही हक कायम हुने ठहराएको भूमिसुधार कार्यालय, बाराको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुन्छ भन्ने समेतको पुनरावेदन अदालत हेटौंडाको मिति २०५०।२।२४ गतेको फैसला ।
११. उक्त फैसलामा चित्त नबुझेकोले बदर वातिल गरी मेरो मोहियानी हक कायम गर्ने गरेको शुरु फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादी जगत नारायण राय यादवको यस अदालतमा परेको पुनरावेदनपत्र ।
१२. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी शुरु भूमि सुधार कार्यालय बाराको निर्णय उल्टी गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन सोही विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा धुर्ववाल राउत यादवको नामको कि.नं. १७२ को ६–०–० मध्ये दक्षिणतर्फबाट ०–४–० जग्गामा म मोही भई २०३४ सालदेखि नै जोति कमाई जग्गाधनीलाई कूत बुझाउँदै आएकोले उक्त जग्गामा मेरो मोही लगत कायम गरी मोहीको स्थायी निस्सा पाउँ भन्ने नै निवेदक वादीको मुख्य माग दावी रहेको पाइन्छ । निवेदनमा जग्गाधनीसँग कबुलियत भएको भन्ने कुरा खुल्न आएको नदेखिए तापनि निवेदन पत्र साथ पेश हुन आएको कबुलियतनामा भनिएको जुन कागज छ सो को व्यहोरामा कि.नं. १७२ को ज.वि. ६–०–० जगतनारायणप्रसाद यादवलाई मोहीमा जोत्न दियएकोले यस पञ्चायतमा यो कबुलियतनामा गरी दिएको छु भन्ने बोली परेको तथा सोको शिरमा यो कबुलियतनामाको नक्कल सरोकारवालाले सारी गल्दा प्रमाणित गरी नक्कल दिएको छ भनी प्रधानपञ्चले दस्तखत गरी दिएको देखिन्छ । यसरी एकातर्फ पेश हुन आएको कबुलियत भनिएको कागजको व्यहोरा भूमिसम्बन्धी ऐन नियमको निर्दिष्ट रीत ढाँचामा नभएकोले सो कागजलाई कबूलियतनामाको संज्ञा दिन नमिल्ने प्रष्ट छ भने अर्कोतिर सो कागज शिर व्यहोराबाटै नक्कल भएकोले सक्कल कागज पठाउन सम्बन्धित गाउँ विकास समितिलाई लेखी पठाउँदा २०३८ सालसम्मको कुनै पनि कागजपत्र खाता वही समेत यस गाउँ विकास समितिमा नबुझाएको भनेन गाउँ विकास समितिको कार्यालय, अमृतजंगबाट मिति २०४९।८।२१ गतेमा लेखी आएको पाइन्छ । जग्गाधनी धुपलालले बाली बुझी गरी दिएको भनिएको मिति २०४२।११।१८ गतेको भरपाईको फोटोकपी मिसिल संलग्न रहेकोमा सोको सक्कल पेश गर्ने सम्बन्धमा पुनरावेदकलाई दिइएको म्यादभित्र निजले पेश गर्न नसकी खोजतलाश गर्दा फेला नपरेको भनी निवेदन दिएको देखिनाले सक्कल दाखिल गर्न नसकेको अवस्थामा उक्त कबूलियतनामा र भर्पाई दुवैको नक्कल कागजलाई मात्र आधार ग्रहण गरी कानुनी मान्यता दिन नमिल्ने देखिएन । नक्कल कागज प्रमाणले सक्कलको स्थान ग्रहण गर्न नसक्ने र सक्कल कबूलियत र भर्पाईको अभाव एवं पेश भएको कबूलियत समेत कानुन बमोजिमको रीत ढाँचामा नदेखिँदा भूमिसम्बन्धी ऐन नियम बमोजिमको निर्दिष्ट पूर्वावस्थाको परिपालना नभई मोहियानी हक प्राप्ति हुन नसक्ने कतिपय सिद्धान्त समेत यस अदालतबाट प्रतिपादन भई आएको पनि छ । तसर्थ उपरोक्त आधार कारणहरुबाट वादी दावी पुग्न नसक्ने भनी शुरु भूमिसुधार कार्यालय बाराको फैसला उल्टी गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । दस्तुर रही पुनरावेदन दायर भएको देखिँदा केही गरी रहन परेन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.उदयराज उपाध्याय
इति सम्वत् २०५२ साल माघ २४ गते रोज ४ शुभम् ।