शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६८ - मानाचामल दिलाई पाउँ

भाग: १२ साल: २०२६ महिना: बैशाख अंक:

निर्णय नं.  ४६८     ने.का.प. २०२६

फुल बेञ्च

माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

२०२५ सालको देवानी फु.नं. ९५

निवेदक : का.इ.बालाज्यु तौडेल बस्ने ठाकुर भन्ने चन्द्रबहादुर बलामी

विरुद्ध

विपक्षी : ऐ.ऐ बस्ने हाकु बलामी

मुद्दा : मानाचामल दिलाई पाउँ

(१)   अंशको निम्ति कहीं उल्लेख नगरेमामिसिलबाट अंश दिनुपर्ने र पाउनुपर्ने नदेखिएमावादीले अंश दिन नपरोस भनेकै आधारबाट वादी मानाचामलको दावी लिई मुद्दा दायर गरेमातायदाती नआएको मुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिन नमिल्ने ।

            प्रतिवादीले अंश पाउँ भन्ने कहीं उल्लेख गरेको देखिन आउँदैन र अंश दिनुपर्ने होइन र पाउनु पर्छ भन्ने पनि मिसिल प्रमाणबाट देखिन नआएको, वादीले अंश दिन नपरोस भनेकै आधारबाट वादी मानाचामलको दावी लिई दायर गरेको प्रस्तुत मुद्दालाई तायदाती नआएको अंश मुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिन मिल्ने देखिएन ।

(प्रकरण नं. १३)

फैसला

      १.     छोरा चन्द्रबहादुरले मलाई नहेरी दुःख दिएकोले गाउँ पञ्चसमेत बोलाई सम्झाउदा अबदेखि बदमासी गर्ने छैन भनी कागज लेखिदिएको, सो बमोजिम नगरेकोले फेरि पञ्च राखी जो भएको जग्गा जमिन अन्यायी छोराले नै कमाउने खाने मलाई महिना १ को चामल ।७४ तेल करुवा नगदी रु.५। बर्ष १ को कपडा जोर १ कुखुरा ६ दिने लिने गरी २०१८।९।१३।४ मा कबुलियत गरेको सो बमोजिम नदिएकोले २०१९ साल आषाढ देखि भाद्रसम्म ३ महिनाको लेखिएबमोजिम दिए जिन्सी र नदिए महिना ३ को चामल मुरी १।२।४ रु.१०३, १० तेल करुवा ३ को रु.१६।१० नगदी १५ समेत जम्मा १३४।६० र लुगा कुखुराको ५२। र फैसला हुँदाका मितिसम्मको ठहरेको दर भाउले मानाचामल भराई दिलाई पाउँ र मेरो जिउ छउन्जेल अंश दिन मञ्जुर छैन, कवुलियतमा लेखिएको जग्गाको निजको हक छुटाइ मेरो हक कायम गराई पाउँ भन्नेसमेत वादीको निवेदन बयान ।

      २.    वादी मेरो बाबु हो । हामी बाबु छोरा दुईजना मात्र अंशियार भई २०१६ सालमा सानी आमा ल्याई मलाई दुःख दिएकोले हामी बाबु छोराले बण्डा गरी घर अंशबण्डा र सानी आमाबाट छोरी जन्मिएकोले छोरीलाई विवाह खर्च ने.रु.१००। वादीले मबाट लिई भर्पाई गरी दिई अरु जग्गा बाबु र छोराले आधी आधी गरी २०१६।२।३०।७ मा बण्डापत्र भई भिन्न भयो र आफ्नो आफ्नो अंश आफु आफुले भोगेको सानी आमा पोइल गएपछि बाबु अकेला भएबाट मेरो अंश आधी पनि तिमी छोराले चलन भोग गर, मलाई पालनपोषण गर्ने मानाचामल दिनु भनी बाबुले भनेबाट हुन्छ भनी मैले मञ्जुर गरी २०१८।९।१३ मा परस्पर कागज भयो । सो कागज कानूनले पास गर्नुपर्नेमा नगरिदिएको र बाबुको अंश भाग मलाई चलन गर्न पनि नदिएको बाबुले नै चलन गरिरहेको र महिनावारी ।७।४ चामल बाबुको दावी छ । खेत छँदै छैन । त्यसो हुँदा बाबुको अंश बाबुले नै चलन गरी हालसम्म खाइरहेकोले वादी लेखबमोजिम मैले बाबुलाई मानाचामल दिन नपर्ने हुँदा झुठ्ठा फरेवबाट फुर्सदपाउँ भन्ने प्रतिवादी चन्द्रबहादुरको बयान ।

      ३.    वादीतर्फको जमिनमा अं.८।९ मुरी मकै उब्जा हुने हुँदा बर्षको रु.३००। जति प्र.ले मानाचामल खर्च दिनुपर्ने हो भन्ने वादीको १ जना साक्षीको बकपत्र ।

      ४.    वादीलाई प्र.ले २०१८।९।१३ मा गरिदिएको कागज पूर्णरुप नै मोहीले तलसिंलाई गरिदिएको कागजसरह सम्म भएन । बाबुलाई छोराले पालनपोषन गर्नुपर्ने छोराको कर्तव्य औंल्याई गराइएको सर्त कागजसरह जस्तो भएकोले सम्पूर्ण जग्गाबाट हटाइपाउँ भन्ने वादीको भनाई मनासिव देखिएन । तसर्थ वादीले प्र.बाट दावी गरेको रु.१८६।६०भरिपाउने जग्गाको हकबारे अंशमा उजूर परेकाबखत ठहरेबमोजिम हुने । सम्पूर्ण जग्गाबाट प्र.लाई हटाईपाउँ भन्ने वादी दावी नपुग्नेसमेत ठहर्छ भन्ने २०२१।२।२६।२ को का.दे.इ.अदालतको फैसला ।

      ५.    जग्गाबाट हटाई पाउँ भन्ने तर्फ ठहराउन नमिल्ने भनी मलाई हराएको कलममा मेरो चित्त नबुझेकोले जग्गाबाट समेत हटाइ पाउँ भन्ने वादी ।

      ६.    वादीलाई मैले मोहरू १८६।६० दिनुपर्ने ठहराएको इलाका अदालतको फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको अपील ।

      ७.    बाबु छोराको बीचको शर्तबमोजिम जग्गा खाने र मानाचामल दिने लिखत शर्तबमोजिम नदिएपछि लिखत बदर भई शर्त कायम रहन नसक्ने लिखत शर्तको म्याद बाँकी भई नालेस परी शर्त कायम नभएपछि दौरा सुरुवाल कुखुरा दिलाउने गरेको सुरुको इन्साफ गल्ति अरु इन्साफ मनासिव भन्नेसमेत काठमाडौं जिल्ला अदालतको फैसला ।

      ८.    दौरा शुरुवाल कुखुराको बिगो नभराउने गरेकोले जग्गाबाट प्र.लाई हटक गर्नुपर्ने नगरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत हाकु बलामीको दोश्रो अपील ।

      ९.    मानाचामल मैले भर्नै नपर्नेमा भराई दिने काठमाडौं जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्र.ठाकुर भन्ने चन्द्रबहादुरको दोश्रो अपील ।

      १०.    चन्द्रबहादुर आगे भएको २०१८ साल पौष १३ गतेको कवुलियतमा लेखिएको जग्गा दर्ता भई श्रेस्ता रहेको अड्डा खुलाई निवेदन दिन्छु, बुझी पाउँ भनी अपीलाटले रोहवरमा यस बेञ्च समक्ष अनुरोध गरेकोले उक्त चन्द्रबहादुर आगे भएको फा.नं.३ को कवुलियतमा लेखिएको जग्गा दर्ता भई श्रेस्ता रहेको अड्डा खुलाई निवेदन दिएपछि के कति जग्गा रहेछ, जग्गाको किसिम र सो जग्गा कसका नाउँमा दर्ता छ खुल्न सक्नेसम्म खुलाई दर्ताको १ प्रतिउत्तर पठाइदिनु भनी सम्बन्धित अड्डालाई लेखी पठाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने डिभिजन बेञ्चको २०२२।९।२५।१ को आदेश ।

      ११.    अंशको कुरासमेत हुँदा अपीलको म्याद दिने भनी अं.अं.तले अपीलको म्याद दिएकोबाट यो मुद्दामा अपील पर्न आएको देखियो । तापनि वादीको बयान दावीमा अंश दिलाइपाउँ भन्ने दावी भएको नभई लिखतबमोजिमको मानाचामल दिलाइपाउँ भन्ने मुख्य दावी भएको र त्यसै सिलसिलामा मेरो जिउ छउन्जेल अंश दिन नपरोस् भन्नेसम्म वादीको बयान उल्लेख भएको देखिन्छ । अंश दिन नपरोस् भन्नेकै आधारबाट लागे वादीले मानाचामलको दावी लिई दायर गरेको मुद्दालाई अंशमुद्दाको संज्ञा दिई अपीलको म्याद दिनमिल्ने देखिंदैन । प्रस्तुत मुद्दालाई अं.अ.बाट केहिउल्टी भनिएको कारणबाट पनि अपील लाग्नसक्ने नदेखिएको हुँदा अपीलको म्याद दिई परेको यो अपील खारेज हुनेठहर्छ भन्ने २०२३।२।३२।३ को डि.बेञ्चको आदेश ।

      १२.   सर्वोच्चअदालत डि.बेञ्चको २०२३।२।३२।३ को फैसलामा चित्त नबुझेकाले १ पटक फु. बेञ्चबाट उक्त मुद्दा दोहर्‍याई पाउँ भनी न्यायिकसमिति मार्फत श्री ५ महाराजाधिराजका हजुरमा हाकु बलामीले चढाउनु भएको निवेदनमा न्यायिकसमितिबाट यसमा उजूरी बयान को रुपबाट मुद्दा उब्जनाको कारण र भावसमेत विचारगर्दा वादी बाबुको सम्पत्ति प्र. छोराको जिम्मा लगाएको बखत मानाचामल दिने शर्त पुरा नभएबाट अंश दिन कर नलाग्ने भनी सो व्यवहार बदर गरी साविकमा जस्तो थियो, उस्तै स्थिति कायम राख्ने दावी लिएको देखिंदा प्रस्तुतकेश न्या.प्र.विविध व्यवस्था (संशोधन) ऐन, २०२१ दफा ८ बमोजिम नै तायदाती नआएको अंशमुद्दा समेत कायम मानी हेर्नुपर्नेमा मानाचामल मुद्दामात्र कायम गरी र मुद्दा हदमुनि भनी स.अ.ले खारेजगरेको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस जाहेरहुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइदिनु भन्ने हुकुुम बक्सेको छ भनी मौसुफसरकारको प्रमुखसचिव राजदरवारबाट मिति ०२५।२।२७।१मा लेखिआएको हु. प्र.सहितको निवेदनपत्रको व्यहोरा पेश हुनआएको पेश भयो । यसमा बक्स भइआएका हु. प्र.बमाजिम गर्नानिमित्त नियमको रीतपुर्‍याई लगतमा दर्तागरी मिसिल झिकाई दुवैपक्ष राखी फु.बे.मा पेशगर्नू भन्ने २०२५।३।३।१ को श्री माननीय प्रधान न्यायाधीशको आदेश ।

      १३.   यसमा निवेदक हाकु बलामी र विपक्षीका वारिस सूर्यबहादुरसमेतलाई रोहवरमा राखी प्रस्तुतमुद्दा बुझ्दा तायदाती नआएको अंशमुद्दा भनी पुनरावेदनको म्याद दिनुपर्ने, नपर्ने भन्ने निर्णय दिनुपर्ने देखिन आयो । अंशको कुरासमेत हुँदा अपीलको म्याद दिने भनी अं.अ.ले अपीलकोम्याद दिएकोबाट डि.बे.मा पुनरावेदन पर्नआई उक्त बेञ्चबाट हदमुनिको ठहराई पुनरावेदन नलाग्ने निर्णय भएको देखिन आयो । वादीको बयान दावीमा अंश दिलाइपाउँ भन्ने दावी भएको नभई लिखतबमोजिमको मानाचामल दिलाइपाउँ भन्ने मुख्य दावी भएको र त्यसै सिलसिलामा मेरो जिउ छउञ्जेल अंश दिन नपरोस् भन्नेसम्म वादीको बयानबाट देखिन्छ । प्रतिवादीले अंशपाउँ भन्ने कहीं उल्लेख गरेको देखिन आउँदैन र अंश दिनुपर्ने होइन र पाउनु पर्छ भन्ने पनि मिसिलप्रमाणबाट देखिन नआएको, वादीले अंश दिन नपरोस् भनेकै आधारबाट वादी मानाचामलको दावी लिई दायरगरेको प्रस्तुतमुद्दालाई तायदाती नआएको अंशमुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिनमिल्ने देखिएन । तसर्थ ०२३।२।३२।३ को डि.बेञ्चले पुनरावेदन खारेज गर्ने गरेकोमा यो बेञ्च पनि सहमत छ । कोर्टफी राखी डिभिजन हुन आएकोले निवेदकलाई केही गर्नु परेन मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०२५ साल माघ ४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु