निर्णय नं. ६०८७ - जग्गा खिचोला चलन चलाई पाउँ ।

निर्णय नं. ६०८७ ने.का.प. २०५२ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
सम्वत् २०५० सालको दे.विविध नं. १२३
फैसला मिति : २०५२।१०।२४।४
मुद्दा : जग्गा खिचोला चलन चलाई पाउँ ।
निवेदक/वादी : गण्डकी अञ्चल, लमजुङ्ग जिल्ला चिती गाउँ विकास समिति वडा नं. ३ बस्ने गुरु प्रसाद बराल
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने कोमलनाथ बराल
ऐ ऐ बस्ने रघुनाथ बराल ।
§ वादी बाबु आमासंग सगोलमै रहे बसेको अवस्थामा बाबु आमाको देहावसान पश्चात सो बाबु आमाको नछुट्टिएको अंश भागमा अपुताली परेको भन्ने प्रश्न नै उठ्न नसक्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिवक्ता मो. शेप आब्वास
अवलम्बित नजीर : x
फैसला
न्या.ओमभक्त श्रेष्ठ : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर इन्साफ जाँच गरी पाउँ भन्ने समेतको निवेदक वादीको विन्तिपत्र यस अदालतमा प्राप्त भई इजलास समक्ष पेश हुँदा न्याय नमिलेको देखिँदा मुद्दाको लगतमा दर्ता गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५०,४।१३ गतेको आदेशानुसार दर्ता इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. पिता दधिराम बरालका ४ छोरामा जेठा म फिरादी माहिला कोमलनाथ, साहिंला विपक्षी रघुनाथ, र कान्छा तोयनाथ परलोक भएका निजकी श्रीमती छदैंछन् । विपक्षी रघुनाथ कोमलनाथ समेत भई म फिरादी गुरु प्रसादसमेत उपर अंश मुद्दा दायर गरी अंश मुद्दा चल्दै जाँदा सर्वोच्च अदालत समेतबाट फैसला भई विपक्षीहरु समेतले अंशबण्डा छुट्टयाई पाउँ भनी यसै अदालतमा दर्खास्त दिई मिति २०४१।१०।१९ गते यस अदालतबाट डोर खटी गई अंश भाग बुझी लिई बसेका हुन् । यस्तै अवस्था २०४४ साल पौष महिनामा पिता माताको परलोक पछि कृयाबाट निस्केपछि विपक्षी रघुनाथ बराल, कोमलनाथ बराल, समेत जना दुईले मेरो हकाधिकारको जि.मु. रामचन्द्र, जि.मु. रण्बहादुर जिम्माको पिताजी दधिरामका नाममा दर्ता भएको कि.नं. ३४४ को पश्चिम तर्फबाट ०–१५–०–३ को कित्ता १, कि.नं. ३४४ को पूर्वतर्फबाट १–१४–१–२ को कित्ता १ कि.नं. १३०७ को ४–३–०–० को कित्ता १ कि.नं. ६७९ को १–३–२–३ को कित्ता १ समेतका जग्गा हामीले खान पाउने हो अब हामी चलन गर्दछौं भनी मिति २०४४।१०।११ गते जग्गामा खिचोला गरी मेरो घरमा ताला चाबी लगाई बन्द गरी घरजग्गा खिचोला गरेकाले खिचोला मेटाई उक्त घर जग्गामा चलन समेत चलाई पाउँ भन्न समेत फिरादपत्र ।
३. विपक्षीसँग अंश मुद्दा पर्नु अगाडि देखि र परेपछि पनि वादी आमा अरुहरु र विपक्षीसँग बेगल बसी आएका छौं । अदालतबाट अंश छुट्याउने अवस्थामा हामी प्रतिवादीहरु नै अंश मुद्दामा अंश माग्ने गरी वादी भएकाले हाम्रो अंश छुट्टयाए तापनि सो काम अनुसार विपक्षी र बाबा आमाको अंश पनि छुट्याएको थियो । सो बमोजिम बाबु आमाका केही जग्गा बाबा दधिरामको नाममा दर्ता भई सकेको र केही जग्गा कित्ताकाट भई फिल्डबुकमा जनिएको छ । एकासगोलमै हौं भनी वादीले लिनु भएको दावी झुठ्ठा हो । बाबु आमाको अंश बाबुको नाममा अलग दर्ता भएको र कित्ताकाट भएको अपुतालीमा दावी लिने वादीले दर्ता दाखिल खारेज सम्बन्धमा दावी नलिएको र अपुतालीको महलको १० नं. ले सबै छोरालाई अंश दिई बेग्लै बसेका बाबु आमाको अंश अपुताली सबै छोराहरुले बराबर बाँडी खान पाउने कानुनी व्यवस्था भएको हुँदा अपुतालीको महलको १, २, १० नं. बमोजिम बाबु आको अंश हामी प्रतिवादीले खान पाउने गरी झुठ्ठा वादी दावी बाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु कोमलनाथ, रघुनाथ बराल समेत जना दुईको संयुक्त प्रतिउत्तर पत्र ।
४. सबै अंशियारले बराबर बण्डा लगाई खान पाउनेमा वादीले मेरो हक भएको घर जग्गामा खिचोला गरेको भन्न मनासिब नहुँदा प्रतिवादीहरुले खिचोला गरेको नठहरी वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत शुरु लमजुङ जिल्ला अदालतको फैसला ।
५. लमजुङ जिल्ला अदालतको उक्त फैसलामा चित्र नबुभलेकोले उक्त फैसला बदर गरी मेरो वादी दावी बमोजिमको जग्गा मेरो एकलौटी कायम राखी खिचोला गरेमा विपक्षीहरुलाई सजाय गरी पाउँ भन्ने वादी गुरुप्रसाद बरालको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. वादी र निजका बाबु दधिराम तथा आमा दमयन्ती एका सगोलमा नै रहे भएको मान्नु पर्ने हुँदा वादी दावी बमोजिम प्रतिवादीहरुको घर तथा जग्गामा खिचोला गरेको देखिँदा वादी दावी बमोजिम खिचोला मेटाई वादीको हक कायम भई चलन समेत चलाई पाउने ठहर्छ शुरुले प्रतिवादीहरुले खिचोला गरेको ठहर्दैन भनी गरेको फैसला उल्टी हुन्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको फैसला ।
७. गण्डकी अञ्चल अदालतको फैसला कानुन प्रतिकुल हुँदा बदर गरी शुरुको फेसला सदर कायम राखी पाउँ भन्ने समेतको प्रतिवादीहरुको परेको पुनरावेदन पत्रमा बाबु आमा र वादी गुरुप्रसाद बराल सगोल बेगल के हुन भन्ने विषयमा सबुद प्रमाणको समुचित मूल्याङ्कन नभई गुरुप्रसाद समेतबाट भाइहरुले अंश लिई बेगल भएको भन्ने मात्र आधार लिई वादी गुरुप्रसाद बाबु आमासँग सगोलमा रहेको भनी गण्डकी अञ्चल अदालतले गरेको इन्साफमा फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत, पोखराको आदेश ।
८. वादीले प्रतिवादीहरु उपर खिचोलामा कि.नं. ३४४ को पूर्वपट्टि २–१३–२–१ मा दावी लिएकोमा उक्त कि.नं. ३४४ को जग्गाको क्षेत्रफल क्षेत्रीय किताब उतारबाट ७–१३–०–३ भन्ने देखिएपछि मर्ने बाबुको अपुताली सबै छोराहरुले बराबरी खान पाउने भई सो अनुपातमा वादीको भागमा १–१५–१३४ पर्न आउनेमा सो कित्ता मध्ये २–१३–२–१ मा दावी लिएको भएपछि बाँकी अरु जग्गा निजकै कब्जामा रहेछ भनी सम्झनु पर्न हुन आएकोले सो कित्ता नम्बर ३४४ को जग्गा मध्येको २–१३–२–१ मा गरेको निजको दावी पुग्न नसक्ने र कि.नं. १३–०–७ र ६७९ का हकमा ४ खण्डको १ खण्ड सम्ममा वादी दावी पुग्ने भई ४ खण्डको १ खण्ड सम्म प्रतिवादीहरुले खिचोला गरेको ठहर्नेमा सो कित्ताहरु सम्पूर्णमा प्रतिवादीहरुले खिचोला गरेको ठहराएको गण्डकी अञ्चल अदालतको फैसला त्यस हदसम्म गल्ती भई केही उल्टी हुने ठहर्छ भन्ने समेतको तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराको मिति २०४६।१२।८८ गतेको फैसला।
९. अपुतालीको ६ नं. समेतको गलत व्याख्या गरी तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेका उक्त फैसला त्रुटिपूर्ण हुँदा इन्साफ जाँच गरी दिनु भन्ने सर्वोच्च अदालतका नाममा हु.प्र.बक्स पाउँ भन्ने समेत वादी गुरुप्रसाद बरालको विन्तिपत्र यस अदालतमा प्राप्त भई पेश हुँदा पहिले नै चलेको अंश मुद्दा सर्वोच्च अदालतबाट २०४०।९।२५ गतेमा ६ अंशियार कायम गरी भएको फैसला अनुसार त्यस बखतका वादी हालका प्रतिवादीले ६ खण्डको ३ खण्ड अंश पाउने ठहर भए बमोजिम अंश छुट्याई लिई सकेपछि २०४४ सालमा अपुताली पर्न आएकोमा सो अपुताली पर्दा हालका वादी गुरुप्रसाद आमा र बाबुसँग रहेको कुरा उपरोक्त अनुसार ३ जनामात्र अंश छुट्टी गएको पाइन्छ । बाँकी ३ जना सगोलमै रहेको ती सगोलका ३ जना मध्ये आमा बाबु र वादी गुरुप्रसाद देखिँदा अपुताली पर्दा सँगै बस्नेले अपुताली खान पाउने भिन्न बेगल बस्नेले नपाउने कुराको व्यवस्था अपुतालीको ६ नं. ले गरेको देखिँदा बेगल भैसकेका छोराहरुले पनि अपुताली पाउने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ त्रुटिपूर्ण देखिन आयो । अतः पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।१२।२६ गतेको इन्साफमा छानविन गरी हेर्दा न्याय नमिलेको देखिँदा इनसाफ जाँच गर्नु पर्ने हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी र मिसिल समेत झिकाई मुद्दाको लगतमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने समेत यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०५०।५।१३ गतेको आदेश ।
१०. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादीको तर्फबाट विद्वान अधिवक्ता श्री रामजी विष्टले श्री सर्वोच्च अदालतका अन्तिम फैसलाबाट विपक्षी प्रतिवादीहरुले आ–आफ्नो ३ भाग अंश छुट्याई लिई पाएको अवस्थामा मेरो पक्ष निजको बाबु आमासँग सगोलमै रहे भएको मान्नु पर्ने भई अपुतालीको ६ नं. ले बाबुआमाको शेषपछि निजहरुको अंश भागमा मेरो पक्षको एकलौटी हक हुनेमा आंशिक खिचोला गरेको ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नहुँदाबदर गरी वादी दावी बमोजिम समुच्च जग्गामा खिचोला ठहर हुनु पर्छ भनी बहस प्रस्तुत गर्नुभयो । त्यस्तै विपक्षी प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले मर्ने बाबु आमाको सम्पत्ति एकजना छोराले मात्र खान पाउने भन्ने अपुतालीको ६ नं. को मनासय किमार्थ होइन, सर्वोच्च अदालतका फैसलाले ६ अंशियार कायम गरेको भएपछि वादी र मर्ने बाबु आमा सगोल मै रहे बसेका भनी अर्थ गर्न मिल्ने पनि होइन तसर्थ पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै हुँदा सदर हुनु पर्छ भन्ने र विपक्षी प्रतिवादीतर्फबाट अर्को विद्वान अधिवक्ता मो शेष अव्वासले मर्ने बाबु आमाको सँगसाथ वादी बसेको बाबु आमाको पालन पोषण गरेको र शेषपछि निजले मात्र काज कृया गरेको भन्ने वादीको कथन सप्रमाण पुष्टि भएको नहुँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर कायम हुनु पर्छ भनी बहस जिकिर लिनु भएको छ । विद्वान कानुन व्यवसायीहरुको उपरोक्त बहस जिकिरलाई मध्य नजर राख्दै मिसिल कागजातको अध्ययन अवलोकन गरी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा गण्डकी अञ्चल अदालतको इन्साफ केही उल्टी गरी कि.नं. ३४४ को जग्गा मध्येको २–१३–२–१ मा दावी पुग्न नसक्ने र कि.नं. १३–०–७ र ६७९ का हकमा ४ खण्डको १ खण्ड सम्मा प्रतिवादीहरुले खिचोला गरेको ठहराएको तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ, छैन सोही विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
११. निर्णयतर्फ विचार गर्दा यसमा मिति २०४०।९।२५ गतेको यिनै प्रतिवादी रघुनाथ बराल समेत वादी र यिनै वादी गुरु प्रसाद बराल समेत प्रतिवादी भएको अंश मुद्दामा वादी दावी बमोजिम ६ भागको ३ भाग अंश उस बखतका वादीहरुले अंश भाग पाउने ठहर भई मिति २०४१।१०।१९ गतेमा डोर खटी गई ६ भागमा ३ भाग वादीहरु क्रमशः कोमलनाथ, रघुनाथ, र तोयनाथको श्रीमती दीर्घकुमारी बरालले छुट्याइएको आ–आफ्नो अंश भाग बुझी लिई चलन समेत पाएको प्रमाण मिसिलबाट देखिएको छ । यसबाट यी वादी गुरुप्रसाद बराल निजका बाबु दधिराम बराल निजकी आमा दमयन्तीसँग एकासगोलमा रहे बसेको देखिनुको साथै यी वादी गुरुप्रसाद बरालले उक्त अंश मुद्दामा प्रतिवाद गर्दा छुट्टी बेगल बसेको भनी जिकिर लिएको सन्दर्भमा श्री सर्वोच्च अदालतको उक्त फैसलाले वादी गुरुप्रसाद बराललाई अंशियार समेत कायम गरी निजको सम्पत्ति बाबु आमाको अंश भागसँग सगोलमै राखी दिएपछि निजको छुट्टी भिन्न भएको भन्ने जिकिरको निरोपण गरी दिएको छ । वादी बाबु आमासँग सगोलमै रहे बसेको अवस्था बाबु आमाको देहावसान पश्चात सो बाबु आमाको नछुट्टिएको अंश भागमा अपुताली परेको भन्ने प्रश्न नै उठन नसक्ने र जुन छोरासँग बाबु आमा सगोलमा बसेका छन निजहरुको मृत्यु पछि सँग बसेको छोराले निजहरुको सम्पत्ति यी वादी छोरा गुरुप्रसाद बरालको अंश भागमा स्वतः सन्निहित हुने कानूनी व्यवस्था भएको देखिनाले समेत वादी दावी बमोजिम प्रतिवादीहरुले दावीको घर जग्गामा खिचोला गरेको भनी चलन समेत पाउने गरी शुरुको उल्टी गरी भएको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । गण्डकी अञ्चल अदालतको इन्साफ केही उल्टी गरी कि.नं. ३४४ को जग्गा मध्येको २–१३–२–१ मा दावी पुग्न नसक्ने र कि.नं. १३०७ र ६७९ का हकमा ४ खण्डको १ खण्ड सम्ममा प्रतिवादीहरुे खिचोला गरेको ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।१२।२८ गतेको फैसला नमिलेको हुँदा बदर हुने ठहर्छ। अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम भईपश्चिमाञ्चल क्षेत्रीय अदालत, पोखराको मिति २०४६।१२।२८ गतेको फैसला बदर हुने र गण्डकी अञ्चल अदालतको मिति २०४६।४।१७ गतेको फैसला मनासिब ठहरेकोले पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला बमोजिमको लगतहरु कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी गण्डकी अञ्चल अदालतको फैसला बमोजिमको लगतहरु कायम गर्नु भनी शुरु लमजुङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु १, निवेदक वादी गुरुप्रसाद बरालले निजले यस अदालतका आदेश बमोजिम यस अदालतमा राखेको कोर्ट फी रु. ६।– विपक्षी प्रतिवादीहरुबाट भराई पाउँ भनी निजले ऐनका म्यादभित्र दरखास्त परेमा देहायका प्रतिवादीहरुबाट देहायका दरले भराई दिनु भनी शुरु लमजुङ्ग जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु २,
प्रतिवादी कोमलनाथ बरालबाट रु.३।–
प्रतिवादी रघुनाथ बरालबाट रु.३।–
६।–
निवेदक वादी गुरुप्रसाद बरालको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाले निजबाट प्रतिवादीहरुलाई भराई दिने गरेको कोर्टफी रु. ६।७५ यस अदालतका मिति २०५०।६।१७ गतेका पत्रबाट का.जि.अ.तहसिलमा धरौट रहेको देखिँदा उक्त रकम फिर्ता पाउँ भनी ऐनका मयादभित्र निजको दरखास्त परेमा फिर्ता खर्च लेखी दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु ३, सरोकारवालाले फैसलाको नक्कल माग गरेमा कानुनको रीत पुर्याई नक्कल सारी सराई दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ४
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति सम्वत् २०५२ साल माघ २४ गते रोज ४ शुभम् ।