शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०९१ - लेनदेन

भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १०

निर्णय नं. ६०९१  ने.का.प. २०५२              अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५० सालको दे.पु.नं. १३७५

फैसला मिति    : २०५२।५।५।२

मुद्दा : लेनदेन ।

पुनरावेदक/वादी : जिल्ला भक्तपुर, भ.पु.न.पा. वडा नं. १४ तेखाँची टोल बस्ने हर्ष बहादुर भुजु

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. वडा नं. १७ भाखाचो टोल बस्ने आशबहादुर दुवाल

§  लेनदेन व्यवहारको २ नं. मा तमसुक शब्द उल्लेख भएको पाइन्छ । तमसुकको आधिकारीक व्याख्या कानुनमा नभए पनि ऋणी र धनीको सम्बन्धमा स्थापना भएको लिखत भनी सामान्य रुपमा अर्थ गरिने ।

(प्रकरण नं. ९)

§     बहिखाता सामान्यतया व्यापारिक कार्यमा प्रयोग हुने दस्तावेज हो ।

(प्रकरण नं. ९)

§     लिखतको विषयवस्तु हेर्दा आसबहादुरले ६० बोरा धान लिएको अर्थात किनेको सो को पूरा रकम चुक्ता नभएकोले धान बिक्रेताले बाकी रकम माग गर्दा बही खातामै यति बाकी भनी हिसाब गरी सो हिसाबबाट बाकी रहन आएको देखिएको रकम बुझाउने शर्त गरी दिएको देखिदा छुट्टै लिखतमा ऋणी धनीको सम्बन्ध स्थापना गर्ने उद्देश्यले खडा गरेको लिखत भन्न लिखतको प्रकृति र आकृतिबाट पनि नमिल्ने देखिदा कपाली तमसुक बाहेकको लिखत देखिन आयो । त्यस्तो लिखतको आधारमा गरिने फिरादको हदम्याद लेनदेन व्यवहारको ४० नं. अन्तर्गतको २ वर्ष नै हुने ।

(प्रकरण नं. ९)

 

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा

प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली

अवलम्बित नजीर : x

फैसला

    न्या.लक्ष्मणप्रसाद अर्याल : पुनरावेन अदालत पाटनको मिति २०४८।१०।६।२ को फैसला उपर मुद्दा दोहोर्‍याई पाउँ भनी वादीको यस अदालतमा निवेदन परी मुद्दा दोहोर्‍याउने आदेश भै नियम बमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

     २.   भाखा १ महिनाभित्र रुपैयाँ बुझाउन सकिन भने ऐन बमोजिम सयकडा रु. १०।का दरले ब्याज समेत राखी लिनु भनी विपक्षीले मसँग मिति २०३७।३।२४ मा बहि किताबमा लेखी दायाँ बायाँ ल्याप्चे सहिछाप गरी रु. १०,९३२।७१ को धान लिएकोमा भाखामा नबुझाएको आजसम्म ९ वर्ष ११ महिना २९ दिनको हुने ब्याज रु. १०,९२९।६७ र साँवा रु. १०९३२।७१ समेतको हुने रु. २१,८६२।३८ समेत र मुद्दा किनारा हुने दिनसम्मको ब्याज समेत विपक्षीबाट दिलाई भराई पाउन लेनदेन व्यवहारको २, ४ नं. समेतको आधारमा फिराद गरेको छु भन्ने समेत व्यहोराको मिति २०४७।३।२२।६ को वादी दावी ।

     ३.   विपक्षी र निजको भाइ नारायण भक्त जना २ को संयुक्त व्यापारमा मैले फिराद दावी बमोजिमको धान लिई रुं ११,४३२।७१ दिनु पर्नेमा तत्काल रु. ५००।बुझाई रु. १०,९३२।७१ बाँकी रहेको विपक्ष र निजको भाइ भएमा पटक पटक गरी २।३ हजारको हिसाबले रु. ४७३२।बुझाएको व्यहोरा नारायण भक्तले अर्को बहिखातामा सोही मितिमा रु. ६२००।मात्र असुल हुन बाँकी जनाएको कुरा निजलाई बुझेमा यथार्थ खुल्ने छ । उल्लेखित व्यहोराबाट वादीले मसँग बाट पाउनु पर्ने भन्दा बढी दावी गरेको कानुन अनुरुप तमसुक खडा भएको नभै व्यापारिक कारोबारमा दावी रहन गएको भन्ने वादीको भनाई देखिएकोले विपक्षले लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र नालेश नगरी २ नं. को म्याद लगाई पर्न आएको फिराद ने.का.प. २०३६ अंक ७ र ८ म प्रकाशित नजीरहरु समेतबाट वादी दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर ।

     ४.   दावीको लिखत ऐन, बमोजिम ऋणी खडा भै कर्जा लिए दिए भन्ने बोली परी कानुन अनुरुप तमसु खडा भै लेनदेन गरेको रीतपूर्वकको तमसुक नभएको हुँदा ने.का.प. २०३६ भाग २१ अंक ८ पृष्ठ २४९ मा प्रकाशित पुनरावेदक मदनलाल माडवारी विपक्ष मोहन दाश थारु भएको लेनदेन मुद्दाको नजीर सिद्धान्त समेतको आधारबाट लेनदेन व्यवहारको ४० नं. को २ वर्ष हदम्याद नघाई नालेश परेको हुँदा फिराद खारेज हुने ठहर्छ भन्ने समेत शुरु भक्तपुर जिल्ला अदालतको मिति २०४७।१०।२।४ को फैसला ।

     ५.   उक्त फैसलामा चित्त बुझेन, ब्याज लिने खाने नभएको लिखतको बारेको नजीर ब्याज लिने खाने, दिने, लिने, भएको लिखतको मुद्दामा प्रयोग गर्नु नजीरको उल्टा र पुल्टा हो । नजीरको लेनदेन व्यवहारको २।६ नं. को कानुनको गम्भीर विचार विमर्श व्याख्या नगरी शुरुबाट भएको गलत त्रुटिपूर्ण फैसला हुँदा बदर गरी वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत तत्कालिन वागमती अञ्चल अदालतमा परेको वादीको पुनरावेदन जिकिर ।

     ६.   रीतपूर्वकको तमसुक हो भन्न सकिने व्यवस्था विद्यामान नरहेको, यस्तो लिखतलाई लेनदेन व्यवहारको २ नं. आकर्षित नभई ४० नं. आकर्षित हुने ठहर गरी भइरहेको नजीरहरुका आधारमा हदम्याद नाघी पर्न आएको फिराद खारेज गर्ने गरी शुरुबाट भएको निर्णय सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०४८।।१०।६।२ को फैसला ।

     ७.   पुनरावेदन अदालत पाटनको उक्त फैसलामा कानुन नजीर सिद्धान्त समेतको त्रुटि भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क)(ख) अनुसार मुद्दा दोहोर्‍याई हेरी वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत वादीको यस अदालतमा परेको निवेदन ।

     ८.   वादीको लेखाइको स्वरुप हेर्दा सो साँवा ब्याज बुझाउने भाखा तथा व्याज समेत उल्लेख भएको र व्यापारिक प्रयोजनको लागि लिएको भनी त्यसमा लेखिएको नदेखिँदा व्यापार गर्ने उद्देश्यले नै लिएको भनी किटानी गर्न तर्कयुक्त नहुँदा शुरु भक्तपुर जिल्ला अदालतको खारेजी फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम प्रस्तुत मुद्दामा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५०।६।६।४ को आदेश ।

     ९.   नियम बमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले बापत समेत जनाई रकमका सम्बन्धमा भाखा राखी ब्याज लेखी विपक्षले मेरो पक्षलाई गरी दिएको लिखत र कारोबारको प्रकृतिबाट लेनदेन व्यवहारको २ नं. अन्तर्गत पर्ने धनी ऋणी खडा भै गरेको लिखत हुँदा वादी दावी बमोजिम मेरो पक्षले इनसाफ पाउनु पर्छ भनी र प्रत्यर्थीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीले २०३७।३।२४ को कागज तिन पुस्ते खोलेर ऋणी धनी बनी लेखिएको हुनु पर्ने, साक्षी पनि छैन, मुकाम उल्लेख गरिएको छैन, लेनदेन व्यवहारको २ नं. नलाग्ने र सोही ऐनको ४० नं. को हदम्याद नाघेको फिराद खारेज गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुँदा सो कायम होस भनी गर्नु भएको बहस समेत सुनी फिराद खारेज गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०४८।१०।६।२ को फैसला मनासिब छ छैन भनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत विवादमा पेश भएको मिति २०३७।३।२४ को आश बहादुर दुवालले गरिदिएको भनेको लिखतको फोटोकपी हेर्दा व्यहोरा बहिखातामा लेखिएको देखियो । लेनदेन व्यवहारको २ नं. मा तमसुक शब्द उल्लेख भएको पाइन्छ । तमसुकको आधिकारीक व्याख्या कानुनमा नभए पनि ऋणी र धनीको सम्बन्धमा स्थापना भएको लिखत भनी सामान्य रुपमा अर्थ गरिन्छ । बहिखाता सामान्यतया व्यापारिक कार्यमा प्रयोग हुने दस्तावेज हो । लिखतको विषयवस्तु हेर्दा आसबहादुरले ६० बोरा धान लिएको अर्थात किनेको सो को पूरा रकम चुक्ता नभएकोले धान बिक्रेताले बाँकी रकम माग गर्दा बही खातामै यति बाँकी भनी हिसाब गरी सो हिसाबबाट बाँकी रहन आएको देखिएको रकम बुझाउने शर्त गरी दिएको देखिँदा छुट्टै लिखतमा ऋणी धनीको सम्बन्ध स्थापना गर्ने उद्देश्यले खडा गरेको लिखत भन्न लिखतको प्रकृति र आकृतिबाट पनि नमिल्ने देखिँदा कपाली तमसुक बाहेकको लिखत देखिन आयो । त्यस्तो लिखतको आधारमा गरिने फिरादको हदम्याद लेनदेन व्यवहारको ४० नं. अन्तर्गतको २ वर्ष नै हुने हुँदा फिराद खारेज गर्ने गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०४८।१०।६।२ को इन्साफ मुनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

    

उक्त रायमा म सहमत छु ।

 

न्या.अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५२ साल भाद्र ५ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु