निर्णय नं. ६०९३ - अंश दर्ता

निर्णय नं. ६०९३ ने.का.प. २०५२ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५१ सालको दे.पु.नं. २१०५
फैसला मिति : २०५२।५।२१।४
मुद्दा : अंश दर्ता ।
पुनरावेदक/प्रतिवादी : जि.पर्सा सितको गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ४८ की मतिसरी तुरहिन
ऐ ऐ बस्ने वर्ष २६ को धुरसा तुरहा
ऐ ऐ बस्ने वर्ष ४६ को बाबुलाल सा तुरहा
विरुद्ध
विपक्षी/वादी : जि.पर्सा सिवर्वा गा.वि.स. वडा नं. ७ बस्ने जगमतिया देवी तुरहिन
§ वादी प्रतिवादीहरु अंशियार भएकोमा विवाद देखिदैन । वादी प्रतिवादी बीच अंशबण्डा पारित भएको भन्ने भनाई पनि नभएको तथा सर्भे नापीमा विभिन्न अंशियारका नाउँमा नापी भै दर्ता भएकोले व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रतिवादीहरुको कथनलाई अंशबण्डाको ३० नं. बमोजिम बिक्री व्यवहार भै दाखिल खारेज समेत भएको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. १२)
§ अंशियारका छोरा छोरीहरुको विवाह खर्च पर सार्नु पर्ने कानुनी व्यवस्था भएको नदेखिने ।
(प्रकरण नं. १२)
§ अंशबण्डा भएको प्रमाणको अभाव भएको, नापीमा विभिन्न अंशियारका नाउँमा नापी दर्ता मात्र भएकोलाई अंशबण्डाको ३० नं. अनुसार बिक्री व्यवहार प्रमाणबाट अंशबण्डा भएको भनी भन्न सकिने अवस्था नहुने ।
(प्रकरण नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत हेटौंडाको फैसला उपर दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :–
२. मुल पुरुष फिरंगीको दुई भाइ छोरामा पुरण साह, सुखाडी भै पुरण साहको छोरा राजकुमार साहसंग मेरो विवाह भएको लोग्ने हुनुहुन्छ । सुखाडीको दुई भाइ छोरामा जेठा प्रतिवादी बाबुलाल र कान्छा खुवलाल भएकोमा परलोक हुनु भएकोले निजको श्रीमती प्रतिवादी मतिसरी र छोरा प्रतिवादी धुरी भएकोले हामी सबै सगोलको अंशियार हुन । मेरो श्रीमान राजकुमार साह २०४५ सालमा फाल्गुणमा परलोक हुनु भएको वहाँको करणीबाट मेरो गर्भबाट ४ छोरा ३ छोरीको जायजन्म भएको छ । २०४५ साल श्रावण देखि म तथा मेरो नाबालक छोराछोरीलाई समेत प्रतिवादीहरुले खान लाउन बन्द गरी घरबाट निकाला गरी दिनु भएकोमा अंश माग्दा मेरो हातखुट्टा नै भाँची दिने भयत्रास दिनु भएकोले नालेश गर्न आएको छु । मेरो साक्षी सबद बुझी प्रतिवादीहरुबाट श्री सम्पत्तिको फाँटवारी लिई ३ खण्डको १ खण्ड अंश र ७ जना छोराछोरीको विवाह खर्च समेत दिलाई मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । विपक्षीले माग गरे बमोजिम हामीले निजलाई अंश दिनु पर्ने होइन, छैन मुल पुर्खा फिरंगी साहको जग्गा जमीन सम्पत्ति केही नभएकोले निजका जेठा छोरा पुरनले फिरंगीको स्वर्गवास पछि आफ्ना कान्छा भाइ सुखाडी साहसँग अलग भई आफ्नो श्रम मेहनत आर्जनबाट केही जग्गाहरु खरीद गर्नु भएको थियो । पुरन साहको स्वर्गवास भएपछि निज पुरणको जेठा छोरा सुकदेव साहको पनि स्वर्गवास भै सकेकोले सो जग्गा राजकुमार साहले आफ्नो नाउँमा नामसारी गराई २०२१।०२२ सालमा जग्गाको सर्वे नापी हुँदा सो जग्गा राज कुमार साहको नाममा सिवर्वा गा.पं. वडा नं. ७ को कि.नं. ६ को ज.वि. ०३५ कायम भएको छ । राजकुमार साहले आफ्नो जिवनकालमा जि.पर्सा सिवर्वा गा.पं. वडा नं. ७ को कि.नं. ४५ को ज.वि. ०–०–३ घडेरी जग्गा खरिद गरी आफ्नो नाममा नापी गराएका छन् । हाम्रो पिता ससुरा बाजे सुखाडी साहको सम्पत्तिको अंश पाउने हाम्रो बाबुलाल मतिसरी र धुरी साह मात्र हो । विपक्षीले सुखाडी साहको सम्पत्तिमा अंश पाउने छैन । हामी प्रतिवादीहरुको जग्गा बेग्लाबेग्लै बाँडेमा बेग्लाबेग्लै रहेको छ र घडेरी जग्गा र घर समेत बेग्लाबेग्लै छ । ०२१।०२२ सालमा जिल्लामा भूमिसुधार लागू भई आफ्नो जग्गाको सर्भे नापी हुँदा बेग्लाबेग्लै सर्भे नापी भएको छ । विपक्षीको फिराद कानुन विपरीत झुठ्ठा भएकोले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तरपत्र ।
३. विपक्षी वादीको साक्षी मोतीलाल महतो र प्रतिवादीको साक्षी सुक साह कानुको बकपत्र ।
४. दाखिल हुन आएको तायदाती बमोजिम श्रीसम्पत्ति वादी दावी बमोजिम ३ खण्डको १ खण्डको अंश वादीले प्रतिवादीबाट छुट्याई लिन पाउने र वादीका नाउँमा दर्ता समेत हुने ठहर्छ । विवाह खर्चको हकमा भाइभाइको अंश गर्दा भाइभाइको छोराछोरीहरुलाई विवाह खर्च पर सार्नु पर्दैन भन्ने अंशबण्डाको १७ नं. मा कानुनी व्यवस्था भएको देखिँदा त्यसतर्फ वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु पर्सा जिल्ला अदालतको मिति २०४७।६।२४ को फैसला ।
५. वादीलाई अंश दिलाउन गरेको शुरु जिल्ला अदालतको निर्णय प्रमाणको अवभामा प्रत्यक्ष कानुनी त्रुटिपूर्ण देखिन आएको हुँदा सो फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुले तत्कालिन नारायणी अञ्चल अदालतमा चढाएको पुनरावेदनपत्र ।
६. यसमा दाखिल हुन आएको तायदाती बमोजिम वादी दावी उल्लेख भए बमोजिम ३ खण्डको १ खण्ड अंश वादीले प्रतिवादीबाट पाउने र वादीका नाउँमा दर्ता समेत हुने ठहर गरी भाइ भाइ बीचको अंशबण्डामा भाइभाइको छोराछोरीको विवाह खर्च पर सार्नु पर्दैन भन्ने अंशबण्डाको १७ नं. मा उल्लेख भएकोले शुरु पर्सा जिल्ला अदालतको फैसला मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको पुनरावेदन अदालत हेटौंडाको मिति २०४८।९।२८ को फैसला।
७. पुनरावेदन अदालत हेटौंडाले गरेको फैसलामा चित्त बुझेन । उक्त अदालतको फैसलामा अंशबण्डाको ३३ नं. र संशोधन सहितको अंशबण्डाको ३० नं. को व्याख्या सम्बन्धी कुरामा गलत त्रुटि भएकोले सो फैसलाको इन्साफ न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्याई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको निवेदन पत्र ।
८. यसमा यसै लगाउको नि.नं. १९७ को लिखत दर्ता बदर मुद्दामा आज यसै अदालतबाट पुनरावेदन अदालतको फैसला दान बकसको ५ नं. तथा अ.बं. ८२ नं. को त्रुटि गरी गरेको देखिएकोले दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत आदेश भएकोले प्रस्तुत निवेदनपत्रमा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को (१) को अवस्था विद्यमान देखिएकोले दोहोर्याउने निस्सा प्रदान गरिएको छ । नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस अदालत संयुक्त इजलासको मिति २०५१।३।१५ को आदेश ।
९. नियम बमोजिम दैनिक पेशीसूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री तिर्थराज बसौलाले पु.वे.अ.को फैसलामा अंशण्डाको ३० नं. विपरीत भएको हुँदा अ.बं. २०२ नं. अनुसार विपक्षी झिकाउने आदेश हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
१०. अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? सो को निर्णय दिनुपरेको छ ।
११. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादीहरुबाट अचल श्रीसम्पत्तिको फाँटवारी लिई ७ जना छोराछोरीको विवाह खर्च परसारी ३ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने वादीको फिराद दावी र वादीलाई हामीले अंश दिनु पर्ने होइन छैन भन्ने प्रतिउत्तर जिकिर भएकोमा अंशबण्डा भएको विश्वासनीय प्रमाण नभएकोले वादीले अंश पाउने ठहर्याएको शुरु पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा दोहोर्याई पाउँ भनी यस अदालतमा परेको प्रतिवादी मनोहरी तुरहिन समेतको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदनको रुपमा प्रस्तुत हुन आएको देखियो ।
१२. वादी प्रतिवादीहरु अंशियार भएकोमा विवाद देखिदैन । वादी प्रतिवादी बीच अंशबण्डा पारित भएको भन्ने भनाई पनि नभएको तथा सर्भे नापीमा विभिन्न अंशियारका नाउँमा नापी भै दर्ता भएकोले व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रतिवादीहरुको कथनलाई अंशबण्डाको ३० नं. बमोजिम बिक्री व्यवहार भै दाखिल खारेज समेत भएको भनी मान्न मिल्ने देखिएन । साथै अंशियारका छोराछोरीहरुको विवाह खर्च पर सार्नु पर्ने कानुनी व्यवस्था भएको देखिँदैन । तसर्थ अंशबण्डा भएको प्रमाणको अभाव भएको, नापीमा विभिन्न अंशियारका नाउँमा नापी दर्ता मात्र भएकोलाई अंशबण्डाको ३० नं. अनुसार बिक्री व्यवहार प्रमाणबाट अंशबण्डा भएको भनी भन्न सकिने अवस्था पनि नभएको यस स्थितिमा वादीले दाखिल भएको दायदातीको सम्पत्तिबाट ३ खण्डको एक खण्ड अंश पाउने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत् २०५२ साल भाद्र २१ गते रोज ४ शुभम् ।