शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०९४ - खिचोला हक कायम समेत

भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १०

निर्णय नं. ६०९४   ने.का.प. २०५२                  अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्वत् २०५० सालको दे.पु.नं. ११८१

फैसला मिति  : २०५२।४।९।३

मुद्दा : खिचोला हक कायम समेत ।

पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर नगरपालिका वार्ड नं. २ बस्ने वाणीबहादुर विष्ट

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. ११ बस्ने सुवर्णप्रसाद जोशी

§  मूलतः जब दर्तावाला जगतमाया उल्लेख भई जग्गावालाको तर्फबाट रु. १० धरौट स्याहा आम्दानी भएको मालको श्रेस्ताबाट देखिन्छ भने जग्गावालाले रैकरमा परिणत गर्ने कारवाहीको लागि निवेदन नदिएको भन्न नमिल्ने ।

(प्रकरण नं. १२)

§  जग्गावालाले आफ्नो नाममा रैकरमा परिणत नगराएको अवस्थामा त्यसपछि मात्र जोताहा मोहीले रैकरमा परिणत गराउन पाउने निजको हक पुग्न सक्ने हुँदा जब प्रतिवादी जोताहा वाणीबहादुरले मिति २०३८।९।२३ मा निवेदन दिनु भन्दा पहिले नै मिति २०२०।१२।३० मा नै जग्गावालाको तर्फबाट मालमा धरौट रु. १०।दाखिल समेत भइसकेको देखिएबाट जग्गावालाले रैकरमा परिणत गराउन नचाहेको अथवा कारवाही नै नचलाएको भन्न मिल्ने स्थिति नदेखिने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

विपक्षी तर्फबाट : x

अवलम्बित नजीर : x

फैसला

    न्या.अरविन्दनाथ आचार्य : पुनरावेदन अदालत पाटन, ललितपुरको मिति २०५०।२।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

    २.  मावलीपट्टिका जिजुबज्यै जगतमाया र म्वानी थंकु भन्ने ज्ञानी थंकु, राजकुमारी र आमा वेटी जोशीको नाममा जिल्ला पा. सोगल ७४ नं. मा दर्ता भएको छासीखेल ।। ।।३ को जग्गा विपक्षी मध्येका वाणीबहादुरले मोहियानीमा कमाई आएको हाल नापीमा ललितपुर नगरपालिका वार्ड नं. २(ख) कि.नं. ३६ कायम भएको दर्तावाला बज्यैहरु परलोक भएपछि आमा वेटी जोशीको नाममा एकलौटी हक कायम भै आमाले विपक्षी ताराप्रसादलाई २०१० सालमा शेषपछिको बकसपत्र गरी दिएकोमा निजले हेरविचार नगरेको कारणले उक्त बकसपत्र बदर गरी आमा वेटी जोशीले अष्टलौह बक्सपत्र गरी मलाई दिएकोले मेरो हक हुन आएको उक्त जग्गा विपक्षी मोही वाणीबहादुर भन्दा पहिले जग्गाधनीले रैकर परिणत गरी पाउँ भनी निवेदन दिइसकेकोमा पछि विपक्षी वाणी बहादुरले आफ्नो नाउँमा रैकर परिणत गरी पाउँ भनी र विपक्षी ताराप्रसादले कि.नं. ३६ को मेरो एकलौटी हकको जग्गामा ४ खण्डको ३ खण्ड मेरो हकको भनी निवेदन दिएको कारणले हकबेहकको प्रश्न समावेश भएको देखिँदा अदालतबाट हकबेहक गराई आउनु भनी ललितपुर मालपोत कार्यालयबाट निर्णय भएकोले यो नालेश गर्न आएको छु । तसर्थ दुवैको खिचोला मेटाई जग्गा मेरो नाममा रैकर परिणत गरी एकलौटी हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

    ३.  वादी दावीको कि.नं. ३६ को जग्गा विर्ता जग्गा भएको र विर्ता उनमूलन ऐन, बमोजिम विर्तावालाले तोकिएको म्यादमा रैकर परिणत नगराएमा कमाउने मोहीले आफ्नो नाममा रैकर परिणत गरी दर्ता गर्न सक्ने व्यवस्था हुँदा मोहीको हैसियतले मालपोत कार्यालयमा निवेदन दिई मिति २०४१।१।१३ को निर्णयले रैकर परिणत गर्ने निर्णय भएको तथा रैकर परिणत गरी पाउँ भनी जग्गाधनी ताराप्रसादको निवेदन परेकोमा निजले समेत मेरो नाममा रैकर परिणत भएमा मञ्जुर छ भनी मालपोत कार्यालयमा निवेदन समेत दिई सकेकोले मेरो नाममा रैकर परिणत हुनु पर्नेमा विवाद छैन । वादीले समयमा रैकर परिणतको लागि निवेदन दिई कारवाही गराउन नसकेकोले हाल दिएको फिराद व्यहोरा झुठ्ठा हुँदा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वाणी बहादुर विष्टको प्रतिउत्तर जिकिर ।

    ४.  दर्तावाला जगतमाया र राजकुमारी मरी भवानी थंकुको हक भएको निजले मिति १९७७।८।९ मा वेटी र कान्छी बज्यै सेतीलाई बकसपत्र गरी दिएको सेतीको छोरा सिद्धिमंगल मरेपनि निज सेतीको सौतेनी छोरा हामी वादी प्रतिवादीको बाबु दुर्गाप्रसाद जीवित हुँदा सेतीको मृत्यु पछि निजको हक बाबुमा गएको हो । आमा वेटीमा गएको भन्ने वादी व्यहोरा झुठ्ठा हो । बाबु दुर्गाप्रसाद र आमा वेटीले २०१०।८।२४ मा मलाई बकसपत्र गरी दिनु भएकोमा २०१५ सालमा बाबु परलोक भएपछि आमाले २०३६।१२।८ मा उक्त बकसपत्र बदर गराउनु भएकोले बाबुको हक भोगको सम्पूर्ण जग्गा मेरो हकमा आएको ललितपुर नगरपालिका वार्ड नं. २(क) कि.नं. ३६ को सम्पूर्ण जग्गा मेरो हक कायम गरी मेरो नाममा दर्ता गरी पाउँ भन्ने वादी दावी झुठ्ठा भएकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ताराप्रसाद जोशीको प्रतिउत्तर जिकिर।

    ५.  हकै नपुगेको व्यक्ति प्रतिवादी ताराप्रसादले आफ्नो हकमा २०२०।१२।३० मा निवेदन दिएकोमा सो निवेदनलाई म्यादभित्रको मानी मान्यता दिन नमिल्ने र वेटी जोशीले जीवित अवस्थामा विर्ता उन्मूलन ऐनको म्याद भित्र रैकर परिणतको लागि निवेदन दिएको देखिएको र मालपोत कार्यालयको मिसिल संलग्न रहेको ताराप्रसादले जोताहा कै नाममा दर्ता भएमा मञ्जुर छ भनी निवेदन दिएको देखिँदा समेत खिचोला मेटाई रैकर परिणत गरी एकलौटी हक कायम गरी दर्ता गरी पाउँ भन्ने फिराद दावी पुग्न सक्दैन भन्ने २०४७।१।१० को ललितपुर जिल्ला अदालतको फैसला ।

    ६.  ललितपुर जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर्‍याई गरेको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी फिराद दावी बमोजिम गरी पाउँ भनी वादीको तत्कालिन वागमती अंचल अदालतमा परेको पुनरावेदनपत्र ।

    ७.  अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत ललितपुरको आदेश ।

    ८.  प्रतिवादी वाणीबहादुरको मिति २०३८।९।२३ मा मात्र रैकर परिणत गराई माग्न मालपोत कार्यालयमा निवेदन परेको देखिँदा (ख) श्रेणीको विर्तावाल वेटीमायाका तर्फबाट मिति २०२०।१२।३० मा दिएको विवरण भन्दा पछि निवेदन दिएकोले विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(४) ले निज प्रतिवादी वाणिबहादुरलाई मद्दत गर्न सक्ने देखिएन । उक्त ऐनको दफा ७(१) बमोजिम वादीको नाउँमा दर्ता हुने देखिँदा दावी बमोजिम दावीको कि.नं. ३६ को जग्गा प्रतिवादीको खिचोला मेटाई वादीको हक कायम गरी निजकै नाममा दर्ता हुने ठहर्छ । वादी दावी पुग्न सक्दैन भनी गरेको ललितपुर जिल्ला अदालतको मिति २०४७।१।१० को फैसला नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५०।२।१७ को पुनरावेदन अदालत पाटनको फैसला ।

    ९.  पुनरावेदन अदालत पाटनले गरेको फैसलामा चित्त बुझेन । उक्त अदालतको फैसला अ.बं. ८२, १८४(क) १८५ विर्ता उन्मुलन ऐन, २०१६ को दफा ७(१)(२)(४) को विपरीत भएकोले सो फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वाणीबहादुर विष्टको यस अदालतमा परेको पुनरावेदनपत्र ।

    १०. नियम बमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा ललितपुर जिल्ला अदालतबाट अदालत नगरपालिका वार्ड नं. २(ख) कि.नं. ३६ को ०११० जग्गामा खिचोला मेटाई रैकर परिणत गरी एकलौटी हक कायम गरी दर्ता गरी पाउँ भन्ने फिराद दावी पुग्न नसक्ने ठहर गरेकोमा वादी सुवर्णप्रसाद जोशीको पुनरावेदन पर्दा पुनरावेदन अदालत पाटनबाट सो शुरुको इन्साफ उल्टी गरी दावीको जग्गामा वादीको हक कायम गरी निजैको नाममा दर्ता हुने भनी ठहराएको फैसला उपर प्रतिवादी वाणीबहादुर विष्टको प्रस्तुत पुनरावेदन रहेछ ।

    ११.  पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले उक्त कि.नं. ३६ को ०११० जग्गाको विर्ता उन्मुलन ऐन, २०१६ अनुसार जग्गावालाबाट रैकरमा परिणत नगराएकोले मेरो पक्ष जोताहाको मिति २०३८।९।२३ मा रैकरमा परिणत गर्न निवेदन दिएको हुँदा निजको हक कायम हुनु पर्ने हो । हस्ते मनि ताराप्रसाद जोशीले मालपोत कार्यालयमा मिति २०२०।१२।३० मा रु. १०।दाखिल गरेको विवरणलाई रैकरमा परिणत गर्दाको विवरण बापतको दस्तुर मान्न मिल्दैन । सो केवल मालपोत बापतको धरौट बुझी लिएको रसिद सम्म हो । साथै निज ताराप्रसद जोशीले त वादी दावीको उक्त कि.नं. ३६ को जग्गा नै मेरो पक्ष जोताहा कै नाममा दर्ता भएमा मञ्जुर छ भनी मालपोत कार्यालयमा लेखि दिएको समेत देखिएको छ र हकै नपुग्ने निज ताराप्रसाद जोशीले मिति २०२०।१२।३० मा दाखिल गरेको विवरणलाई जग्गावालाकै तर्फबाट रैकरमा परिणत गर्न निवेदन दिएको मान्न मिल्दैन भन्ने समेत मुख्य बहस जिकिर प्रस्तुत गर्नुभयो ।

    १२. उपयुक्त कुराहरु समेतलाई ध्यानमा राखी निर्णयतर्फ विचार गरी हेर्दा विवादको जगतमाया समेतको नामको जिल्ला पा.सौगल ७४ नं. मा दर्ता भएको छासीखेल कि.नं. ३६ को ०११० जग्गा (ख) श्रेणीको विर्ताजग्गा भन्ने भएकोले विर्ता उन्मूलन ऐन, २०१६ लागू भएपछि सोही ऐनको दफा ७(१) मा व्यवस्था भए बमोजिम जग्गावालाले रैकरमा परिणत नगराएमा जोताहा मोहीले आफ्नो नाममा रैकर परिणत गर्न पाउने देखियो । अब दर्तावालाको हक खाने वेटी जोशीले उक्त व्यवस्था अनुसार सो कि.नं. ३६ को ०११० जग्गा रैकरमा परिणत गराउनु पर्ने भएकोमा मिति २०२०।१२।३० मा ताराप्रसाद जोशीको हस्तेवारीबाट ललितपुर मालमा उक्त सौगल ७४ नं. जग्गाको धरौट स्याहा रु. १०।दाखिल गरेको विवरण वादी पक्षबाट पेश भएकोले सो विवरणलाई जग्गावालाको तर्फबाट रैकरमा परिणत गराउँदाको विवरण मान्न मिल्ने नमिल्ने के हो ? सो नै मुख्य विचारणीय देखिन आएको छ । मिसिल संलग्न उक्त मिति २०२०।१२।३० को विवरण कागज हेर्दा धरौट स्याहा भएको नं. ९३७ सौगल ७४ नं. जगतमायाको हस्ते ताराप्रसादले रु. १०।दाखिल गरेको भन्ने उल्लेख भएको देखिन्छ । सो विवरणबाट जग्गावालाले रैकरमा परिणत गराएको भन्ने देखिने नभै केवल मालपोत तिरेको रसिद सम्म हुन सक्छ भन्ने प्रतिवादीतर्फबाट जिकिर लिइएको पनि पाइयो । तर मूलतः जब दर्तावाला जगतमाया उल्लेख भई जग्गावालाको तर्फबाट रु. १० धरौट स्याहा आम्दानी भएको मालको श्रेस्ताबाट देखिन्छ भने जग्गावालाले रैकरमा परिणत गर्ने कारवाहीको लागि निवेदन नदिएको भन्न मिल्ने देखिँदैन । उक्त धरौट रु. १० दाखिल गरेकोलाई प्रतिवादीको जिकिर अनुसार मालपोत तिरोको धरौट रसिद नै सम्म मानी लिंदा पनि जग्गावालाले तत्काल रैकर परिणत गराउनै नसक्ने भएको भए सो जग्गाको ललितपुर मालबाट मालपोत वा कुनै दस्तुर बुझी लिने अवस्था नै हुँदैन । यसर्थ सो मिति २०२०।१२।३० को धरौट स्याहा भएको विवरणबाट जग्गावालाको तर्फबाट रैकरमा परिणत गर्न कारवाही चलाएको रहेछ भन्ने स्पष्ट देखिन आयो । वास्तवमा जग्गावालाले आफ्नो नामको रैकरमा परिणत नगराएको अवस्थामा त्यसपछि मात्र जोताहा मोहीले रैकरमा परिणत गराउन पाउने निजको हक पुग्न सक्ने हुँदा जब प्रतिवादी जोताहा वाणीबहादुरले मिति २०३८।९।२३ मा निवेदन दिनु भन्दा पहिले नै मिति २०२०।१२।३० मा नै जग्गावालाको तर्फबाट मालमा धरौट रु. १०।दाखिल समेत भइसकेको देखिएबाट जग्गावालाले रैकरमा परिणत गराउन नचाहेको अथवा कारवाही नै नचलाएको भन्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा देखिन आएन । अतः विद्वान अधिवक्ताले सो मिति २०२०।१२।३० को रु. १०।धरौट दाखिल गरेको रसिदसम्म हुँदा सो सम्बन्धी विवरणबाट जग्गावालाले रैकरमा परिणत गराउन कारवाही चलाएको मान्न मिल्दैन भनी गर्नु भएको बहस जिकिरसँग यो इजलास सहमत हुन सकेन ।

    १३. ताराप्रसाद जोशी हक प्राप्त व्यक्ति नै होइनन् र निजले दाखिल गरेको विवरणको आधारमा जग्गावालाको तर्फबाट रैकरमा परिणत नै हुन सक्ने होइन भन्ने अर्को जिकिरका सम्बन्धमा पनि विवादको उक्त कि.नं. ३६ को ०११० जग्गाको जग्गावाला वेटी जोशी भएकी र निजै वेटी जोशीले निज ताराप्रसाद जोशीलाई मिति २०१०।८।२४ मा शेष पछिको बकसपत्र गरी दिएको र पछि मिति २०३६।८।१२ मा सो निजलाई दिएको बकसपत्र बदर गरेको भएपनि मिति २०२०।१२।३० मा निज तारा प्रसाद जोशीले उक्त रु. १०।धरौट दाखिल गर्दाको अवस्था निजले जग्गाधनी वेटीमायाको तर्फबाट हस्तेवारी भई रैकर परिणत गराउन सक्ने नै भएबाट तत्काल सो विवरण दाखिल गर्दाको बेला हक प्राप्त व्यक्ति थिएन भन्न मिल्ने देखिन आउँदैन । अब निज ताराप्रसाद जोशीले जोताहाकै नाममा दर्ता गर्न मञ्जुरी लेखी दिएको भन्ने हकमा पनि जग्गावाला वेटीमाया जोशीले निज ताराप्रसाद जोशीलाई दिएको बकसपत्र बदर गरी सुवर्णप्रसाद जोशीलाई मिति २०३७।३।१४ मा अष्टलोह बकसपत्र गरी दिएको भएबाट निज सुवर्णप्रसाद जोशीको हकमा आएको सम्पत्तिको सम्बन्धमा निज ताराप्रसाद जोशीले त्यस्तो मञ्जुरनामा लेखी दिएकै भएपनि सोही आधारमा प्रतिवादीले हक प्राप्त गर्न सक्ने अवस्थै आउँदैन । अतः मिति २०२०।१२।३० मा ललितपुर मालमा ताराप्रसाद जोशीको हस्तेवारीबाट रु. १०।धरौट स्याहा भएको पा. सौगल नं. ७४ को जग्गाको विवरणबाट जग्गावालाको तर्फबाट रैकरमा परिणत गर्न पहिले नै कारवाही चलाएका रहेछन् भन्ने स्पष्ट देखिन आएको हुँदा त्यसपछि मिति २०३८।९।२३ मा मात्र प्रतिवादी वाणीबहादुर विष्टको निवेदन परेको देखिएको हुँदा प्रतिवादीको भन्दा पहिले दाखिल भएको जग्गावालातर्फको विवरण अनुसार नै जग्गावालाको नाममा रैकर परिणत हुने देखिएको र साथै जग्गाधनी वेटीमायाको मिति २०४०।११।६ मा मृत्यु भएपछि यी वादी सुवर्णप्रसाद जोशीको विवादको सो कि.नं. ३६ को जग्गामा हक स्थापित हुन आएको समेत स्पष्ट देखिने भएबाट पुनरावेदन अदाल पाटनले शुरु ललितपुर जिल्ला अदालतको इन्साफ उल्टी गरी दावी बमोजिम प्रतिवादीको खिचोला मेटाई वादीका हक कायम गरी निजको नाममा दर्ता हुने ठहर्‍याएको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिप्रसाद शर्मा

 

इति सम्वत् २०५२ साल श्रावण ९ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु