निर्णय नं. ६०९९ - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं

निर्णय नं. ६०९९ ने.का.प. २०५२ अङ्क ११
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०४७ सालको रिट नं. ८९७
आदेश मिति : २०५२।९।१७।२
विषय : उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं ।
निवेदक : काठमाडौं जिल्ला का.न.पा. वडा नं. १७ ठहिटी बस्ने वर्ष ५६ को केदार मानन्धर
ऐ ऐ बस्ने वर्ष ४६ को रत्नकाजी मानन्धर ।
ऐ ऐ बस्ने वर्ष ४० को हेरादेवी मानन्धर ।
ऐ ऐ बस्ने वर्ष ५२ की रत्नमाया मानन्धर ।
ऐ ऐ बस्ने वर्ष ५० को काजी मानन्धर ।
विरुद्ध
प्रत्यर्थी : ऐ.ऐ. बस्ने अं. वर्ष ७० को चैत्यनारायण मानन्धर ।
काठमाडौं नगरपालिका काठमाडौं ।
काठमाडौं नगरपालिका अध्यक्ष तथा कार्यकारिणी सचिव श्री धन बहादुर बस्नेत ।
§ आफ्नो निर्विवाद हकाधिकार भएको जग्गामा कानुन अनुरुप घरको तला थप्ने नक्शा पास गरी सकेपछि बलेसी पानी खसाउन नपाउने कारणले मात्र घर बनाउन नपाउने भन्ने कुरा कतै कानुनले बन्देज लगाएको नदेखिने ।
(प्रकरण नं. १३)
§ यसरी यो यति कारणले का.न.पा. को मिति २०४७।७।१४ को नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल भै निवेदकको संवैधानिक हक अधिकारमा परोक्ष वा प्रत्यक्ष रुपमा आघात परेको छ भनी देखाउन नसकेको अवस्थामा केवल संविधान प्रतिकूल भएको भन्ने निवेदन कथनबाट मात्रै नगरपालिकाको उक्त नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल छ भनी मान्न मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं. १३)
§ बलेसी पानीको निकास बन्द हुने अवस्था भए कानुन बमोजिमको अन्य उपचारको बाटो अपनाउनु पर्ने अवस्था रहंदा रहंदै पनि अन्य उपचारको बाटो नअपअनाई असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट क्षेत्रमा प्रवेश गरी आएकोले निवेदकको माग बमोजिम रिट जारी गर्न नमिल्ने।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
आदेश
प्र.न्या. सुरेन्द्रप्रसाद सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :–
२. हामी निवेदकहरुको नाउामा का.जि.का.न.पा. वडा नं. १७ कि.नं. १६३३ क्षे.फ. ०–०–१–० जग्गा कित्ता १ र ऐ. कि.नं. १६३२ क्षे.फ. ०–०–१–० जग्गा १ समेत २ कित्ता जग्गामा का.न.पा.बाट नक्सा पास गरी घर बनाई बसी आएका थियौं । उक्त २ नं. कित्ता बनेको घरको बलेसीको पानीको निकास विपक्षी चैत्यनारायण मानन्धरको नाममा दर्ता रहेको का.जि.का.न.पा. वडा नं. १७ को कि.नं. १७३६ को जग्गाको उत्तरतर्फबाट पानी जाने गरी निकास थियो । हाम्रो घरको बलेसीको पानी विपक्षीको उल्लेखित जग्गाको उत्तरपट्टिबाट पूर्वबाट पूर्व पट्टिको शाझा चोकमा खसाली बसी भोग गरी आएकोमा विपक्षी मध्येका चैतयनारायणको घर निर्माण गर्न पाउने गरी नक्सा पास हुने ठहर्याएकोले, उक्त फैसला दुषित र सर्वमान्य प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल तथा साविक देखि चलि आएको निकास समेत बन्द गरी मुलुकी ऐन घर बनाउनेको ३ नं. अन्तर्गत हामीहरुको निकास उपभोग गर्न पाउने मौलिक हकको हनन् भएकोले उपचारार्थ सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्र समक्ष यो निवेदनपत्र प्रस्तुत गरिएको छ ।
३. अतः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) १०(१) तथा १७(२) द्वारा प्रदत्त मौलिक हकबाट वञ्चित भएकोले, हामीहरुको उल्लेखित कि.नं. १६३२ र १६३३ को जग्गामा नक्सा पास बमोजिम बनेको घरको दक्षिणतर्फबाट खस्ने बलेसीको पानी पूर्व तर्फको साझा चोकमा पुग्ने गरी विपक्षी चैत्यनारायण मानन्धरको कि.नं. १७३६ को घर जग्गाबाट पानी जाने निकास कायम गरी मात्र नक्सा पास गरी दिनु भन्ने उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी प्रत्यर्थीहरुको नाममा जारी गरी प्रत्यर्थी का.न.पा. बाट भएको मिति २०४७।७।१४ को फैसला कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने रिटनिवेदन ।
४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीका नाउँमा सूचना पठाई लिखितजवाफ परेपछि वा पर्ने अवधि नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको आदेश ।
५. विपक्षी निवेदकको कि.नं. १६३२, १६३३ को घर अग्लो भएकोले निजको बसेसी छानाको पानी सोसँगको ३ तलामात्र भएको चैत्यनारायणको घर छानामा खसाल्ने गरी आएको देखिन्छ । त्यसरी बलेसीको पानी खसाली आएको नाताले सँगैको होचो घरको तल्ला नै थप्न पाइँदैन भन्न मिल्ने कुरा होइन । घर बनाउनेको १ नं. ले सँगैको जग्गावालाले आफ्नो जग्गामा घरवालाले बलेसी बनाई राखेको भए सो बलेसी काटी घर बनाउन पाउँछ भन्ने उल्लेख भएकोले बसेसीबाट खस्ने गरी आएको पानी पूर्ववत प्रत्यर्थी चैत्यनारायणको घरमा खसाल्न पाउँ भन्नु उक्त १ नं. को ठाडै विपरीत छ । जहाँसम्म घर बनाउनेको ३ नं. ले दिई आएको निकास थुन्नु हुँदैन भन्ने व्यवस्था छ त्यसतर्फ हेर्दा अर्काको जग्गामा पर्ने गरी बनाई राखेको टप बलेसी त भत्काएर लैजान पाइन्छ भन्ने ऐनले व्यवस्था गरेको हुनाले पूर्ववत रुपमा पानी खसाल्न दिई राख्न पर्दछ भन्ने ऐनको मनसाय नभई जमीनमा पहिले देखि दिई आएको ढल निकास थुन्न बन्द गर्न हुँदैन भन्ने हो ।
६. यसरी विपक्षीको कुनै संवैधानिक हक हनन् नभएको र यस नगरपालिकाले नक्सा पास गर्न गरेको निर्णय कानुन अनुरुप आफ्नो अधिकार क्षेत्र भित्र रही गरिएको हुनाले त्यस्तो निर्णय बदर हुन नसक्ने हुनाले विपक्षीको रिट निवेदन लाग्न नसकी खारेज हुनु पर्दछ भन्ने काठमाडौं नगरपालिका समेतको लिखितजवाफ ।
७. विपक्षीले घर बनाउनेको ३ नं. दिएको कानुन हक तथा संवैधानिक हक हनन् भएको भनी रिट निवेदन दिनु भएकोमा विपक्षी र मेरो घरको छतको पानी बलेसीबाट झर्ने हो । कुनै ढल वा बाटोको निकासको कुरा होइन । बलेसी पानीको निकास दिनु पर्ने भन्ने घर बनाउनेको ३ नं. को मनसाय होइन । विपक्षीले उक्त साविकको पुरानो घर भएको जग्गामा पक्की घर निर्माण गरी सक्नु भएको छ । ढलान घरको छतको पानी आ–आफुले पाइपद्वारा झार्नु पर्ने कुरामा दुईमत हुन सक्दैन । विपक्षीले घर बनाउनेको ३ नं. को गलत व्याख्या गरी रिट निवेदन गरेको प्रष्ट छ । रिट निवेदनमा दावी गरिएको नक्सा पासको निर्णय बदर हुन सक्दैन । मैले पक्की घर बनाई सकेको र विपक्षीले पनि मेरो भन्दा पछि नक्सा पास गराई पक्की घर निर्माण गरी सकेको प्रस्तुत अवस्थामा विपक्षीको रिट निवेदनको कुनै सार्थकता पनि छैन । यसरी विपक्षीको कुनै संवैधानिक तथा कानुनी हक हनन् नभएको र सबुद प्रमाणको मूल्यांकन नगरी न.पं.ले नक्सा पास हुने गरी भएको निर्णयमा सबुद प्रमाणको मूल्यांकन गरी पाउँ भन्ने जस्ता रिट क्षेत्रको विषय भित्र नपर्ने जस्ता कुराको माग दावी लिई दिनु भएको रिट निवेदन खारेज गरी पाउँ भन्ने विपक्षी चैत्यनारायण मानन्धरको लिखितजवाफ ।
८. तत्कालिन काठमाडौं नगरपञ्चायतले मिति ०४३।५।१८ मा गरेको निर्णयको सक्कलै फाइल झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
९. काठमाडौं नगरपालिकाबाट प्राप्त नक्सापास सम्बन्धी निर्णय सहितको फाइल संलग्न रहेको।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत उत्प्रेषण मुद्दामा रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले विपक्षी चैत्यनारायण मानध्रको बलेसीको पानी कि.नं. १७३६ को जग्गामा जाने गदथ्यो । र त्यहाँबाट साझा चोक हुँदै ढलमा जाने गर्दथ्यो । विपक्षी का.न.पा. ले भुइँको पानीलाई मात्र निकास दिनु पर्ने आकाशको पानीलाई निकास दिनु पर्ने होइन भनी मुलुकी ऐन घर बनाउनेको २ नं. को गलत व्याख्या गरी निर्णय गरी विपक्षीको घर बनाउने नक्सा पास समेत गरी दिएको र सो जग्गामा विपक्षी चैत्यनारायणले पुरै घर जोडेर घर बनाएको देखिएको हुँदा मेरो पक्षको कानुनी तथा संवैधानिक हक अधिकारको हनन् भएको देखिन्छ । तसर्थ विपक्षी का.न.पा. को निर्णय बदर गरी कि.नं. १७३६ को घरजग्गाबाट पानी जाने निकास कायम गरी मात्र नक्सा पास गरी दिनु भन्ने उत्प्रेषणयुक्त परमादेश लगायत अन्य आज्ञा, आदेश वा पुर्जी प्रत्यर्थीहरुको नाममा जारी गरी पाउँ भन्ने बहस प्रस्तुत गर्नु भयो ।
११. रिट निवेदकहरुको निवेदन जिकिर प्रत्यर्थीहरुको लिखितजवाफ र विद्वान अधिवक्ताको बहस समेतलाई विचार गरी हेर्दा विपक्षी काठमाडौं नगरपालिकाले मिति २०४७।७।१४ मा गरेको नक्सा पासको निर्णयबाट निवेदकको कानुनी तथा संवैधानिक हक अधिकारको हनन् भएको छ, छैन ? र निवेदकको माग बमोजिम हक प्रचलन गराउन आदेश जारी गर्नु पर्ने हो होइन ? भन्ने प्रश्नहरुको निरुपण गर्नु पर्ने देखिन आयो ।
१२. यसमा विपक्षी काठमाडौं नगरपालिकाले हामीहरुको बलेसीको निकास बन्द हुने गरी विपक्षी मध्येका चैत्यनारायण मानन्धरले घरको चौथो र पाँचौं तला निर्माण गर्न पाउने गरी नक्सा पास हुने गरी मिति २०४७।७।१४ मा भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दक्षिणतर्फबाट खस्ने बलेसीको पानी पूर्वतर्फको साझा चौकमा पुग्ने गरी विपक्षीको कि.नं. १७३६ को घर जग्गाबाट पानी जाने निकास कायम गरी पाउन परमादेश लगायत अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने रिट निवेदन जिकिर भएकोमा विपक्षीको संवैधानिक तथा कानुनी हक हनन् भएको नहुँदा र सबुद प्रमाणको मूल्यांकन गरी पाउँ भन्ने जस्ता रिट क्षेत्रको विषय भित्र नपर्ने कुराको माग दावी लिई दिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने चैत्यनारायण मानन्धरको र विपक्षीको कुनै संवैधानिक हक हनन् नभएको र यस नगरपालिकाले नक्सा पास गर्न गरेको निर्णय कानुन अनुरुप आफ्नो अधिकार क्षेत्रभित्र रही गरिएको हुनाले त्यस्तो निर्णय बदर हुन नसक्ने हुँदा रिट निवेदन खारेज हुनु पर्दछ भन्ने काठमाडौं नगरपालिका समेतको लिखितजवाफ भएको देखिन्छ ।
१३. निर्णयतर्फ विचार गर्दा निवेदकहरुले का.जि.का.न.पा. वडा नं. १७ को कि.नं. १६३२ र १६३३ को जग्गामा ४ तला सम्मको घर बनाई बसी आएकोमा सोही घर जग्गासँग दक्षिणतर्फ जोडिएको विपक्षी चैत्यनारायणले कि.नं. १७३६ को जग्गामा ३ तला मात्र घर बनाई बसी आएको देखिन्छ । यसरी आफ्नो पूर्ण हक स्वामित्व भएको जग्गामा निवेदकले ४ तला सम्मको घर बनाई त्यसको बलेसी पानी विपक्षी चैत्यनारायणले ३ तलामा भएको घरको छतमा खसाएको देखिएकोमा विपक्षी चैत्यनारायणले पनि आफ्नो पूर्ण हक स्वामित्व भएको कि.नं. १७३६ को जग्गामा चौंथो र पाँचौ तला निर्माण गर्ने उद्देश्य राखी काठमाडौं नगरपालिकामा नक्सापासको लागि निवेदन दिई काठमाडौं नगरपालिकाबाट कानुन अनुरुप नै विपक्षी चैत्यनारायण मानन्धरले चौथो र पाँचौं तला निर्माण गर्न पाउने गरी नक्सा पास गरी दिएको देखिन्छ । यसरी आफ्नो निर्विवाद हकाधिकार भएको जग्गामा कानुन अनुरुप घरको तला थप्ने नक्शा पास गरी सकेपछि बलेसी पानी खसाउन नपाउने कारणले मात्र घर बनाउन नपाउने भन्ने कुरा कतै कानुनले बन्देज लगाएको देखिँदैन र निवेदकको आफ्नो घरको बलेसी पानी निरन्तर रुपमा विपक्षी चेत्यनारायणकै घरमा खसाउन पाइनै रहनु पर्दछ भन्ने पनि कुनै कानुनी एवं तर्कोचित आधार निवेदकले दिन सकेको पाइँदैन । यसरी यो यति कारणले का.न.पा. को मिति २०४७।७।१४ को नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल भै निवेदकको संवैधानिक हक अधिकारमा परोक्ष वा प्रत्यक्ष रुपमा आघात परेको छ भनी देखाउन नसकेको अवस्थामा केवल संविधान प्रतिकूल भएको भन्ने निवेदन कथनबाट मात्रै नगरपालिकाको उक्त नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल छ भनी मान्न मिल्ने अवस्था देखिँदैन । त्यस्तै निवेदकको घरको नक्सा पास गर्ने गरेको निर्णयमा सबूद प्रमाणको मूल्यांकन गरी पाउँ भन्ने जस्ता निवेदन दावीमा प्रस्तुत रिट क्षेत्रबाट प्रमाणको मूल्यांकन समेत हुन सक्ने अवस्था नभएको र बलेसी पानीको निकास बन्द हुने अवस्था भए कानुन बमोजिमको अन्य उपचारको बाटो अपनाउनु पर्ने अवस्था रहँदा रहँदै पनि अन्य उपचारको बाटो नपअनाई असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट क्षेत्रमा प्रवेश गरी आएकोले निवेदकको माग बमोजिम रिट जारी गर्न मिलेन । खारेज हुने ठहर्छ। प्रस्तुत मुद्दाको मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्वत् २०५२ साल पौष १७ गते रोज २ शुभम् ।