शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१०३ - कुत बाली मोही निष्काशन ।

भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११

निर्णय नं. ६१०३ ने.का.प. २०५२              अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५१ सालको देवानी पुनरावेदन नम्बर २१०१

फैसला मिति    : २०५२।१०।३।४

मुद्दा : कुत बाली मोही निष्काशन ।

पुनरावेदक/प्रतिवादी : जिल्ला पर्सा सुगौली दा.पु. गाउँ विकास समिति वडा नं. ६ बस्ने महेश पण्डित कुम्हाल ।

ऐ ऐ बस्ने गणेश पण्डित कुम्हाल ।

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.ऐ. रामगढवा गाउँ विकास समिति वडा नं. १ बस्ने राजेश्वर दुवे ब्राम्हण

§     दर्तावाला मोही परलोक भएपछिको जग्गाको मोहियानी हकको स्थिति सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको कानुनी व्यवस्था हेर्दा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी ऐजन ऐनको दफा २६(१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विधिवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुनसक्छ । अन्यथा आपसी व्यवहार र आचरणबाट मात्र मोही कायम हुन नसक्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पूर्णचन्द्र दाहाल

प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ

अवलम्बित नजीर : x

आदेश

    न्या. ओमभक्त श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा चढी आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

     २.   मेरो नाम दर्ताको जिल्ला पर्सा सुगौली दा.पु. वडा नं. १ कि.नं. ९२ को जग्गा विगाहा ०१५१० जग्गाको मोही रतन पण्डित कुम्हाल भई जोती आएकोमा निज परलोक भएपछि निजको छोरा विपक्षीले जोती आएको, ०४१।४२, ०४४ सालको बाली नदिएकोले मेरो पर्सा जिल्ला अदालतमा फिराद पर्दा बाली भरी पाउने फैसला भएको छ । पुनः २०४७ सालको बाली नबुझाएको र अन्य धरौटी समेत राखेको जानकारी नपाएकोले कुत धान मन ६१३० को दिए जिन्सी नै नदिए बजार भाउले हुने रु. १,१३१।विपक्षीबाट दिलाई मोहीबाट निष्काशन समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

     ३.   दावी बमोजिमको सालको बाली जग्गा धनीलाई बुझाई सकेको छु । भर्पाई माग गर्दा कलम नभएकोले पछि दिउँला भनी भर्पाई नदिनु भएकोले वादी दावी खारेज गरी पाउँ भन्ने समेतको प्रतिउत्तर पत्र ।

     ४.   पटक पटक बाली नबुझाई मोहीले गर्नु पर्ने कर्तव्य पुरा नगरी बस्ने मोहीलाई मोहीमा स्थापित गरी राख्नु कानुनतः उपयुक्त नदेखिएकोले दावी बमोजिम मोही हकबाट निष्काशन गरी दिने ठहर्छ भन्ने समेतको मिति २०४८।८।१२ गतेको भूमिसुधार कार्यालय पर्साको निर्णय पर्चा ।

     ५.   मोहियानीबाट निष्काशन गरेको भूमिसुधार कार्यालय, पर्साको उल्लेखित निर्णयमा चित्त नबुझी प्रतिवादी महेश पण्डित कुम्हाल समेतको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र।

     ६.   पटक पटक बाली नबुझाई जग्गा धनीलाई दुःख दिने नियत प्रतिवादीहरुको देखिएको तथा २०४७ सालको बाली बुझाएको प्रमाण प्रतिवादीहरुले गुजार्न नसकेको आधारमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम प्रतिवादीहरुको मोही हक वञ्चित गरी दिने गरी भएको भूमिसुधार कार्यालय, पर्साको निर्णय मनासिब छ, भन्ने समेतको श्री पुनरावेदन अदालत, हेटौंडाको मिति २०४९।२।२६ गतेको फैसला ।

     ७.   हाम्रो पिता रत्न पण्डित कुम्हाल विवादित जग्गाका मोही भएको कुरालाई फिरादीले स्वीकार गर्नु भएको छ । पिताको मृत्यु पछि निजको श्रीमती तथा छोराहरु मध्ये एक जनालाई मोही पत्याउनु पर्ने दायित्व जग्गा धनीको हो तर निजले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसारको सो दायित्व पूरा गर्नु भएको छैन । यसरी विपक्षीले हामी २ जनालाई मोही पत्याएको प्रष्ट देखिन्छ । हाम्रो आमा जीवित रहेको अवस्थामा हामीलाई मोही रोज्न मिल्दैन । त्यस्तै हामीले प्रमाणको लागि पेश गरेको भर्पाईको नक्कल अ.बं. ७८ नं. को प्रकृया पुरा गरी विपक्षीलाई सुनाई सनाखत समेत गर्नु पर्नेमा सो समेत गरेको छैन । तसर्थ मोही निष्काशन गरेको भूमिसुधार कार्यालय, पर्साको निर्णय सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा अ.बं. १८४, १८५ तथा १८९ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ र ने.का.प. २०४५ नि.नं. ३४१५ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएकोले मुद्दा दोहोर्‍याई हेरी इन्साफ गरी पाउँ भनी प्रतिवादीहरुको यस अदालतमा परेको निवेदन ।

     ८.   दर्तावाला मोहीको धेरै छोराहरु भएकोमा कुनै एकजनालाई पत्याउनु पर्नेमा दुई छोराहरुलाई मोही देखाई परेको नालेशबाट मोही निष्काशन गर्ने गरेको समेत भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को व्याख्यात्मक त्रुटि देखिन आएकोले निवेदकलाई पुनरावेदन अदालत, हेटौंडाको मिति २०४९।२।२६ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार दोहोर्‍याउने निस्सा दिइएको छ, भन्ने समेतको यस अदालत संयुक्त इजलासको मिति २०५१।३।२२ गतेमा आदेश भई प्रस्तुत मुद्दा पुनरावेदनको लगतमा दर्ता भएको ।

     ९.   नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पूर्णचन्द्र दाहालले दर्तावाला मोही मरे पछि दुई छोरा र एक पत्नी भएको अवस्थामा एकजनालाई मोही रोज्नु पर्नेमा त्यो प्रकृया पुरा नगरी दुवै जना छोरालाई मोही मानी निष्काशनको दावी लिएको नमिलेकोले दावी बमोजिम मोही निष्काशन गरेको निर्णय स्तर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी र प्रत्यर्थी वादीको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठले विवादित जग्गाको २०४१।०४२, ०४४ सालको बाली विषयमा मुद्दा पर्दा बालीबुझाएको भर्पाई नदिएको भनी प्रतिउत्तर गरेकोले मोही मानेको प्रष्ट छ । तर प्रतिवादी अनुमतिमा आउँदा मोही होइन भनी नयाँ विवाद उठाएको देखिन्छ । पछि आएर नयाँ विवाद उठाउन नपाइने र अदालतले समेत दावी भन्दा बाहिर गएर निर्णय गर्न नमिल्ने हुँदा अदालतको फैसला न्यायोचित छ भनी गर्नु भएको बहस सुनियो ।

     १०.  अब विद्वान कानुनी व्यवसायीहरुले गर्नु भएको उल्लेखित बहस जिकिरलाई मध्य नजर राखी पुनरावेदन सहितको मिसिल कागजात हेरी शुरु निर्णय सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ, छैन । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो सो विषयमा निर्णय दिनु परेको छ ।

     ११.   निर्णयतर्फ विचार गर्दा मेरो नाम दर्ताको जिल्ला पर्सा सुगौली दा.पु.गा.वि.स. वडा नं. १ कि.नं. ९२ को जग्गा विगहा ०१५१० को जग्गाको मोही रतन पण्डित कुम्हाल भई निजको मृत्यु पछि निजका छोराहरुले जोती आएकोमा २०४७ सालको बाली नबुझाएकोले कानुन बमोजिम बाली दिलाई मोहीबाट निष्काशन समेत गरी पाउँ भन्ने फिराद दावी बमोजिम मोही निष्काशन गरेको भूमिसुधार कार्याललय पर्साको निर्णय सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर यस अदालतबाट दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा चढी आएको देखियो ।

     १२.  फिराद दावीको जिल्ला पर्सा सुगौली दा.पु.गा.वि.स. वडा नं. १ कि.नं. ९२ को जग्गा विगहा ०१२१० जग्गाको दर्तावाला मोही यी पुनरावेदक प्रतिवादीहरुको पिता रतन पण्डित कुम्हाल भएको र निजको मृत्यु समेत भई सकेको कुरामा विवाद देखिएन । निज मोही रतनलाल पण्डित कुम्हाल भएको र निजको मृत्यु समेत भई सकेको कुरामा विवाद देखिएन । निज मोही रतनलाल पण्डित कुम्हालको मृत्यु पछि उल्लेखित जग्गा मोहीका हैसियतले यी प्रतिवादीहरुले कमाई जग्गाधनीलाई बाली समेत बुझाई आएकोले वादी प्रतिवादीको आपसी आचरण, स्वभाव र व्यवहारबाट मोही कायम गरी मानी आएको देखिनछ जुन व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ मा भएको देखिँदैन । दर्तावाला मोही परलोक भएपछिको उक्त जग्गाको मोहियानी हकको स्थिति सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको कानुनी व्यवस्था हेर्दा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी ऐजन ऐनको दफा २६(१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विधिवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुनसक्छ अन्यथा आपसी व्यवहार र आचरणबाट मात्र मोही कायम हुन सक्दैन । अन्यथा आपसी व्यवहार र आचरणबाट मात्र मोही कायम हुन सक्दैन । यहाँ उक्त जग्गामा जग्गा धनी वादीले प्रतिवादीहरु मध्ये कसैलाई पनि कानुन बमोजिम मोही रोजी जग्गा कमाउन दिई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को खण्ड(ख) बमोजिमको प्रकृया पुरा गरेको देखिँदैन । यस सन्दर्भमा निवेदक वहिद खाँ पठान विपक्षी रामकान्हु बानियाँ भएको सम्वत् २०४७ सालको नि.पु.इ.सं. ६० को उत्प्रेषण मुद्दामा यस अदालत पूर्ण इजलासबाट कानुनद्वारा निर्धारित आधार विना मोही प्राप्तिका आधार स्वभाव वा व्यवहार वा भर्पाई हुन सक्दैन भनी मिति २०५०।११।२७ गतेमा सिद्धान्त प्रतिपादन भई रहेको समेत देखिन्छ । यसरी विधिवत रुपमा कायम नभएको मोहीलाई निष्काशन गर्नु पर्ने औचित्य र अवस्था समेत देखिँदैन । अतः उल्लेखित प्रतिपादित सिद्धान्तको अतिरिक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ बमोजिम जग्गा धनीले दर्तावाला मोहीको मृत्युपछि निजको स्वास्नी वा छोराहरु मध्ये कसैलाई मोही पत्याई विधिवत मोहीको लगत कट्टा गरी नामसारी गरेको समेत नदेखिएको अवस्थामा विवादित जग्गाको मोहीबाट निष्काशन गरेको भूमिसुधार कार्यालय, पर्साको २०४८।४।१२ गतेको निर्णयलाई सदर गरेको पनुरावेदन अदालत हेटौंडाको मिति २०४९।२।२६ गतेको फैसला त्रुटिपूर्ण देखिँदा सो फैसलाहरु बदर भई उल्टी हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५२ साल माघ ३ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु