निर्णय नं. ६१०८ - अपुताली हक कायम जग्गा खिचोला ।

निर्णय नं. ६१०८ ने.का.प. २०५२ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५० सालको दे.पु.नं. १०८६
फैसला मिति : २०५२।३।२१।४
मुद्दा : अपुताली हक कायम जग्गा खिचोला ।
पुनरावेदक/प्रतिवादी : जिल्ला सिराहा लहान न.पा. वार्ड नं. ३ बस्ने कुर्मिया देवी कामैत ।
ऐ ऐ बस्ने संगमलाल कामैत ।
ऐ ऐ बस्ने अगम कामैतको मु.स. गर्ने विन्दि देवी कामैत ।
ऐ ऐ बस्ने जागेश्वर कामैत ।
ऐ ऐ बस्ने चन्देश्वर कामैत ।
ऐ ऐ बस्ने जुगेश्वर कामैत ।
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने देव सुनैर कामैत
§ मिलापत्र गर्दा आफ्नो सम्पत्तिमा केही शर्त बन्देज राखी करार सरहको व्यहोरा मिलापत्रमा उल्लेख भएको देखिन्छ । यस्तो मिलापत्र गराउन नपाउने भन्ने बन्देज देखि“दैन । कानुनले आफू खुशी गर्न पाउने अवस्थाको आफ्नो हकको सम्पत्तिमा जे जस्तोसुकै शर्त बन्देज हक पुग्ने व्यक्तिको इच्छा र मञ्जूरी अनुसार राख्न सकिने कुरा हो ।
(प्रकरण नं. ११)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शलीन कृष्ण खरेल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
अवलम्बित नजीर : x
फैसला
न्या. केशवप्रसाद उपाध्याय : पुनरावेदन अदालत राजविराजको मिति २०४९।९।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :–
२. स्वर्गीय पंची कामैतको २ पत्नी भएको जेठी पत्नीबाट २ छोरा जेठा प्रतिवादी तिलाई कामैत र कान्छा स्वर्गीय असर्फी कामैत भएको कान्छी पत्नी दुर्गावतिबाट म वादी देव सुनैर एकमात्र छोरी भएको हुँदा प्रतिवादी तिलाई कामैत मेरो सौतेनी दाजु र म निज प्रतिवादी तिलाईको सौतेनी बहिनी नाताकी हुँ । मेरी आमा दुर्गावतिले पिता पंची कामैत स्वर्गीय हुनु भएपछि आफ्नो २ सौतेनी छोरा तिलाई र असर्फी उपर अंश दर्ता मुद्दा दायर गरी २०२१।८।२३ गते सप्तरी जिल्ला अदालतबाट अंश लिई दिई मिलापत्र गर्दा मिलापत्रमा लेखिएको जग्गा २ छोरा तिलाई कामैत र असर्फी कामैतको मञ्जुरी लिई बेचबिखन गर्ने र निज दुर्गावतिको शेषपछि क्रिया श्राद्धमा लाग्ने खर्च दुवै दाजु भाइले लगाई खर्च गरेपछि बाँकी रहन गएको मेरो अंश फाँटको जग्गा र अरु धनमाल वादी दुवै दाजु भाइले आपसमा आधि आधि बाँडी खानु भन्ने शर्त उल्लेख भएको रहेछ । त्यसरी त्यो मिलापत्रमा लेखिएको जग्गा तत्कालिन जिमिदार पटवारीका श्रेस्तामा दर्ता भै सर्भे नापीमा मौजे विहारपुरको जग्गा तत्कालीन लहान बजार गा.पं.वा.नं. ६(क) कि.नं. १७२ को ज.वि. ०–१२–१० ऐ. ७(क) कि.नं. ८२ को ०–६–११ ऐ कि.नं. १५९ को ०–२–१ ऐ कि.नं. १६१ को ०–३–१० ऐ. कि.नं. १८२ को ०–१५–१० ऐ.ऐ. कि.नं. २०८ को ०–३–१० ऐ.ऐ. कि.नं. २१८ को ०–२–५, ऐ.ऐ. कि.नं. २६३ को ०–४–४ समेत गरी जम्मा २–१०–८ नापी भै दर्ता भएको थियो । रघुनाथ पुरको जग्गा तत्कालीन लहान बजार गा.पं. वा.नं. २ क. को कि.नं. १४१ को ०–२–५ ऐ. ७ख. कि.नं. २० को ज.वि. ०–२–७ ऐ. ऐ. कि.नं. ८७ को ०–४–१३ ऐ. ८क. कि.नं. ३२ को ०–०–१५ ऐ. कि.नं. १५ को ०–२–१६ ऐ.ऐ. कि.नं. ५३ को ०–१–० ऐ.ऐ. कि.नं. ८२ को ०–३–१८ ऐ.ऐ. कि.नं. १७७ को ०–३–३ ऐ.ऐ. कि.नं. २२२ को ०–०–१७ ऐ. ऐ. कि.नं. २२३ को ज.वि. ०–०–१८ समेत गरी जम्मा १–२–१२ समेत जम्मा ३–१३–० दर्ता भयो र केही जग्गा सर्भे नापी हुन नसकी गाउँ ब्लकमा रहेको थियो । त्यसरी आमा दुर्गावति नाउँको उक्त वा.नं. २ कि.नं. १४१ को ज.वि. ०–२–५ ऐ. ७ ख. कि.नं. २० को ०–२–७ ऐ. ७क. कि.नं. १८३ को ०–१५–१० मध्ये पश्चिम तर्फ बाट ०–५–० ऐ. ८क. कि.नं. ३२ को ०–०–१५ ऐ. ऐ. कि.नं. ३५ को ०–२–१६ ऐ.ऐ. कि.नं. ८२ को ०–३–१८ ऐ.ऐ. कि.नं. १७७ को ०–३–३ ऐ. वा.नं. ७ कि.नं. १५९ को ज.वि. ०–२–१ समेत जम्मा १–२–५ जग्गाको मलाई मिति २०३८।४।१९ मा बकस पत्रको लेखत गरिदिई मिति ०३८।४।२० मा पारित गरी दिनु भएको थियो सोही मितिमा गोपी कृष्णलाललाई उक्त वा.नं. ७(क) कि.नं. १८३ मध्ये पूर्व तर्फबाट ०–९–१० सोही कि.नं. बाट ०–०–१० हरिनारायणलाई उक्त बकस गरी दिनु भएको थियो २ उक्त वा.नं. ६क. कि.नं. १७५ को ०–१२–१० ऐ ७(क) कि.नं. ८२ को ०–६–११ ऐ. कि.नं. २०८ को ०–३–१७ ऐ. ऐ. कि.नं. २१८ को ०–२–५ ऐ.ऐ. कि.नं. २६३ को ०–४–४ ऐ. ७ ख कि.नं. ८७ को ०–४–१३ ऐ. ८क कि.नं. ५३ को ०–१–० ऐ. कि.नं. २२२ को ०–०–१८ आमा दुर्गावतिका नाउँमा नै कायम छ । मलाई मेरी आमाले गरी दिनु भएको बकसपत्रको लिखतमा असर्फीको पत्नी र निजको छोरा सत्य नारायणले कुनै किसिमको उजुर बाजुर नगरेकोले निजहरुलाई प्रतिवादी नबनाइएको छ । दुर्गावतिले म देव सुनैरलाई मिति ०३८।४।२० मा गरिदिएको बकसपत्रमा लेखिएको जग्गा विगहा १–२–५–१३ सम्पूर्ण जग्गाको लिखत बदर दर्ता बदर गरी पाउँ भनी नालिस प्रतिवादीले दिनु भएकोमा ०४२।७।२१।४ मा सिराहा जिल्ला अदालतबाट फैसला गरी उक्त बकसपत्रको लिखत मध्ये वा.नं. २ को कि.नं. १४१ को ०–२–५ ऐ. ७ ख कि.नं. २० को ०–२–७ ऐ. ७ क कि.नं. १५९ को ०–२–१ ऐ.ऐ. कि.नं. ३६२ को ०–१५–० पश्चिमबाट ०–५–० ऐ. वा.नं. ८ कि.नं. ३२ को ०–०–१५ ऐ. कि.नं. ३५ को ०–२–१६ ऐ. कि.नं. २२ को ०–३–१८ ऐ. कि.नं. १७७ को ०–३–३ मध्ये आधा ०–११–२–१२ जग्गाको लिखत र दर्ता समेत बदर भै दुर्गावतिको नाउँमा दर्ता हुने गरी फैसला भएको सो फैसला उपर मेरो र विपक्षीको समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा पुनरावेदन परेकोमा ०४३।५।१८ गतेमा सिरहा जिल्ला अदालतको फैसला मुनासिब ठहराई फैसला भयो । त्यस उपर पुनरावेदनको अनुमति पूर्वाञ्चल क्षेत्रीय अदालतमा गएकोमा अनुमति प्राप्त नभै फैसला अन्तिम भयो । त्यसरी फैसलाहरु भए पनि अदालतबाट आमाको नाउँमा फैसला बमोजिमको जग्गा दाखिल दर्ता नहुँदै आमा दुर्गावतिको मिति २०४५ साल वैशाख २ गतेमा मृत्यु भयो । तसर्थ उक्त फैसलाहरु बमोजिमको जग्गाहरु आमाको नाउँमा दर्ता हुनु पर्नेमा दर्ता हुन अगावै आमा परलोक भई सक्नु भएकोले प्रतिवादीले आफ्नो नाउँमा अदालतबाट पुर्जी गराई दर्ता गरेको रहेछन् । आमाले उक्त मिलापत्र बमोजिम लिनु भएको जग्गा मध्ये निज मर्दा निजको साथमा रहेको उक्त वा.नं. ७ ख. कि.नं. ८७ को ०–४–१३ मध्ये पूर्व तर्फबाट ०–२–६–१२ ऐ.ऐ. वा.नं. ८ क. कि.नं. ५३ को ०–१–० मध्ये उत्तरतर्फबाट ०–०–१० ऐ.ऐ. कि.नं. २२२ को ०–०–१७ मध्ये ०–०–८–१२ ऐ.ऐ. कि.नं. २२३ को ०–०–१८ पश्चिमबाट ०–०–९ ऐ.ऐ. वा.नं. ६ क. कि.नं. १७५ को ०–१२–१० मध्ये पश्चिमबाट ०–६–५ ऐ. ७ क. कि.नं. ८२ को ०–६–११ उत्तर तर्फबाट ०–३–५–१२ ऐ. कि.नं. २०८ को ०–३–२ मध्ये पूर्व तर्फबाट ०–१–१८–१२ ऐ. कि.नं. २१८ को ०–२–५ मध्ये पूर्वबाट ०–१–२–१२ ऐ. कि.नं. २६३ को ०–४–४ पूर्वबाट ०–२–२ आधीमा आफ्नो हक र आधीमा स्वर्गीय असर्फीको हक जनाई मिति ०४५।३।२६ मा नामसारीको लागि दर्खास्त दिएका रहेछन्, निजको दर्खास्त परी सूचना प्रकाशित भएपछि मैले ०४५।३।३० मा आमाको अपुताली खाने म एक मात्र छोरी भएकोले स्वर्गीय आमा नाउँको जग्गा मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने व्यहोराको दर्खास्त मालपोत कार्यालय सिराहामा दिएको छ । अपुताली महलको २ नं. विपरीतको मिति २०२१।८।२३।३ को करार भएकोले करार ऐन, २०२३ को दफा ८ को उपदफा १ को देहाय (ङ) को विपरीत भई बदर हुने सम्झौता भएकोले सो मिति २०२१।८।२३।३ को मिलापत्रलाई बदर घोषित गरी दिई, स्वर्गीय आमा दुर्गावति नाउँमा दर्ता रहेको जम्मा ज.वि. ०–१८–७–१२ जग्गा नामसारीको लागि मिति ०४६।५।२६ मा दर्खास्त दिई प्रतिवादीले खिचोला गरेको र अदालतको फेसला बमोजिम स्व. आमको नाउँमा दर्ता हुने भनिएका आमाको नाउँमा दर्ता हुन नसकेको प्रतिवादीले यस अदालतमा मलाई हकवाला नदेखाई आफूलाई हकवाला देखाई आफ्नो नाउँमा कित्ताकाट गराई दर्ता गराई लिएको जम्मा ज.वि. ०–१४–३–१२ अदालतको मिति ०४५।२।११ को पुर्जी र मिति ०४५।२।२४ को पुर्जी बमोजिम मेरो अपुताली हक हुने जग्गा आफ्नो नाउँमा दर्ता गराई खिचोला गरेकोले उक्त जम्मा ज.वि. १–१२–११ जग्गाको अपुताली हकमा खिचोला गरेकोले मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. का म्याद र अपुतालीको २० नं. को म्यादभित्रै प्रतिवादीले मेरो अपुताली हकमा गरेको खिचोला मेटाई जग्गा नामसारी दर्ता गराई माग्न र प्रतिवादीले दर्ता गराउन नहुने लहान बजार वा.नं. २ कि.नं. ४३६ वा.नं. ७ख. को कि.नं. २४६ ऐ.ऐ. ७क कि.नं. ६६८ को ६७० ऐ. वा.नं. ८(क) कि.नं. ६५१ कि.नं. ६४९ ऐ.ऐ. वा.नं. ७क कि.नं. ६६६ कि.नं. ६७२ र वा.नं. ८ को कि.नं. ६६५ को जग्गा दर्ता समेत बदर गरी माग्न र मिति २०२१।८।२३।३ को मिलापत्र करार ऐन, २०२३ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम बदर हुने करार भएकोले संशोधित अपुतालीको २ नं. को विपरीत भएकोले सो समेत बदर गरी चलन चलाई पाउँ भन्ने समेत व्यहोराको मिति ०४५।५।९ को फिरादपत्र ।
३. वादीको सम्पूर्ण दावी नै झुठ्ठा र अदालतबाट अगाडि भैसकेको अन्तिम निर्णय विपरीत भएको हुँदा त्यस्तो हकदैया नै नपुग्ने कुरामा दिएको वादीको झुठ्ठा नालेश दावी जिकिरबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्र.तिलाई कामैत गर्दा निजको हकमा निजको श्रीमती कुर्मिया देवी समेतले फिराएको मिति ०४५।७।९ को संयुक्त प्रतिउत्तरपत्र ।
४. पहिला भएका मिलापत्र र फैसला लगायतबाट प्र.का नाउँमा दर्ता हुन गएका कि.नं. ४३६ लगायतका लिखित बदरबाट प्र.का नाउँमा दर्ता हुन गएको दर्तालाई बदर भन्न मिलेन प्रस्तुत मुद्दाको वादीको सो दावी पुग्न सक्देन । मिलापत्र बदरतर्फको दावी अ.बं. १८० नं. बमोजिम खारेज हुन्छ । आमाको अपुताली म छोरीले पाउने हुँदा विपक्षीको खिचोला मेटाई पाउँ भन्ने वादीलाई अ.बं. ८२ नं. ले हक नभएकोले सो दावी समेत अ.बं. १८० नं. बमोजिम खारेज हुन्छ । वादी दावी बमोजिमको कुनै पनि जग्गा चलन चलाई दिनु पर्ने अवस्था देखिएन त्यस कारण त्यसतर्फको वादीको दावी पुग्न सक्दैन भन्ने समेत सिराहा जिल्ला अदालतको मिति २०४६।३।२० गतेको फैसला ।
५. शुरु अदालतको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गरेको छु । मुलुकी ऐन अपुतालीको २ नं. बमोजिम पुनरावेदक वादीले पाउने हो सो को ठहर निर्णय गर्नु पर्नेमा दुर्गावति मरी कहिले अपुताली पर्यो र त्यो अपुतालीमा कहिले विवाद परी म वादीलाई कहिले प्रतिकूल असर पर्यो त्यसतर्फ विचार नै नगरी हक छैन भनी वादी दावी खारेज गरेको मिलेको छैन भन्ने समेत वादी देव सुनैर कामैतको पुनरावेदन जिकिर ।
६. यसमा प्रमाणको मूल्यांकन सम्बन्धमा शुरु निर्णय विचाराणीय हुँदा अ.बं. २०२ नं. बमोजिम छलफललाई झगडिया झिकाई पेश गर्नु भन्ने तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति ०४७।२।१७ को आदेश ।
७. पैतृक सम्पत्तिमा अंशियारको नाताले पाएको जग्गा दुर्गावतिको नामा दर्ता गर्ने मिलापत्र भएको र स्त्री अंशधनको ऐन लाग्न सक्ने सम्पत्ति हो भनी प्रमाणको फैसलाले समेत बोली सकेको र दुर्गावतिको ०४५।१।२ मा मृत्यु भएको देखिँदा सो अवस्था विद्यमान अपुतालीको २ नं. बमोजिम देव सुनैरले आमा दुर्गावतिको अपुताली पाउने भएकोले वादी दावी नपुग्ने समेत ठहराई गरेको शुरु सिरहा जिल्ला अदालतको फैसला उल्टी हुन्छ । वादी दावी बमोजिम प्रतिवादीहरुले खिचोला गरेको ठहरेकाले प्रतिवादीहरुका नउाँको दर्ता बदर भै वादीले चलन समेत चलाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०४९।९।२३।५ को फैसला ।
८. मृत्यु पश्चात व्यक्तिको देवानी दायित्व समाप्त हुन्छ भन्न मिल्ने होइन । दुर्गावतिको मृत्यु पश्चात पनि निज समेत पक्ष भै गरेको मुद्दाको मिलापत्रमा निज दुर्गावति समेत सहमत भै राखेको शर्तको मान्यता नहुने भनी मिलापत्रको आधारमा हक पुग्ने सम्पत्तिमा मिलापत्रलाई वेवास्ता गरी अपुतालीको २ नं. बमोजिम मृतकको छोरीको हक लाग्ने भनी दे.पु.नं. ६८।२८ को मुद्दाको निर्णयलाई आधार मानी सर्वोच्च अदालतबाट २०३१ सालको फौ.पु.नं. २६ को एक कुमारी खड्केनी विरुद्ध चुनबहादुर खड्का समेत भएको जालसाजी मुद्दामा प्रतिपादित कानुनले आफुखुशी गर्न पाउने अवस्थाको आफ्नो हकको सम्पत्तिमा जे जस्तो सुकै शर्त बन्देज हक पुग्ने व्यक्तिको इच्छा र मञ्जुरी अनुसार राख्न सकिने भन्ने सिद्धान्त समेतको प्रतिकूल हुने गरी शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको त्रुटिपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेत प्रतिवादी जुगेश्वर कामैत समेतको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. यसमा यसै लगाउको दे.पु.नं. १०८७ को अपुताली हक कायम दर्ता बदर मुद्दामा झगडिया झिकाउने आदेश भएकोले यसमा पनि अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५१।६।१८।३ को आदेश ।
१०. नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शतीसकृष्ण खरेलले कानुनले आफुखुशी गर्न पाउने अवस्थाको हकको सम्पत्तिमा हक पुग्नेको इच्छा मुताविकको शर्त बन्देज राख्न सक्ने र त्यसरी हक पुग्ने व्यक्तिले मिलापत्रमा उल्लेखित शर्त बन्देज पालना गर्न सहमति जनाएकोलाई निजको मृत्यु हुँदामा शर्त पालना गर्नु पर्ने होइन भन्न मिल्दैन देवानी दायित्व सो हक खाने हकवालामा पनि सर्दछ । मिलापत्र उपरको उजुरी म्याद नाघी परेको समेत कारणबाट वादी दावी खारेज गर्ने ठहर्याएको शुरुको फैसला सदर हुनु पर्नेमा सोलाई बदर गरी वादी दावी बमोजिम अपुताली हक कायम गरी जग्गा खिचोला गरेको ठहर्याएको पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भनी र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले करार (मिलापत्र) करार ऐन, २०२३ को दफा ८(१) को (ङ) अनुसार प्रचलित कानुनको विरुद्धमा भएकोले कानुनी मान्यता नपाउने ०४३।५।८ को फैसला अनुसार दुर्गावतिका नाउँमा कायम हुने हो, तिलाई समेतले दर्ता गराउन पाउने होइन । दुषित दर्ताको आधारमा जग्गामा हक नपुराई विपक्षीका नाउँमा जान सक्ने होइन । मिलापत्र गर्ने दुवै पक्षको मृत्यु भैसकेको र मिलापत्र गर्ने एक पक्ष असर्फीको हक खान हकवाला अपुतालीको २ नं. ले छोरीले पाउने व्यवस्था छ । मिलापत्र गर्ने दुवै पक्षका बीच मुद्दा चलेको नभई निजहरुको हकवालाका बीच मुद्दा चलेकोले मिलापत्रको शर्त पालना भएन भन्न मिल्ने होइन । सम्पत्तिमा आफ्नो हक पुग्न आएको मितिले उजुर गर्ने म्याद शुरु हुने भएकोले शुरु जिल्ला अदालतको वादी दावी खारेज हुने ठहर्याएको फैसला उल्टी गर्ने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिँदा सदर कायम हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला मिलेको छ, छैन भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
११. दुर्गावति समेत सहमत भै मिलापत्रमा राखेको शर्तको मान्यता नहुने भनी मिलापत्रको आधारमा हक पुग्ने सम्पत्तिमा मिलापत्रलाई वेवास्ता गरी अपुतालीको २ नं. बमोजिम मृतकको छोरीको हक लाग्ने भनी शुरुको फैसला उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला बदर गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको पाइनछ । मिलापत्र गर्दा आफ्नो सम्पत्तिमा केही शर्त बन्देज राखी करार सरहको व्यहोरा मिलापत्रमा उल्लेख भएको देखिन्छ । यस्तो मिलापत्र गराउन नपाउने भन्ने बन्देज देखिँदैन । कानुनले आफू खुशी गर्न पाउने अवस्थाको आफ्नो हकको सम्पत्तिमा जे जस्तोसुकै शर्त बन्देज हक पुग्ने व्यक्तिको इच्छा र मञ्जूरी अनुसार राख्न सकिने कुरा हो । यसलाई दुर्गावतिको आफ्नो जीवनकालमा बदर गराएको छैन र यसलाई सगरमाथा अञ्चल अदालतको मिति २०३९।४।२१ को र मिति २०४३।५।१८ को फैसलाहरुले सदर कायम मानेको पाइन्छ । सो फैसलाहरु बदर नभई अन्तिम रुपमा रहेको देखिन्छ । ती फैसलाहरुले २०२१।७।२३ को मिलापत्रलाई आधार लिई दुर्गावतिबाट खरीद गर्ने र बकसपत्र लिने व्यक्तिहरुको उपर विभिन्न तीन ३ मुद्दा दिएकोमा ती फैसलाहरुले तिलाई र दुर्गावतिबाट २०२१।७।२३ को मिलापत्रबाट हक पाएको ३–१८–२–१४ जग्गा मध्ये तिलाईको उजुर परेको र असर्फीको मृत्यु भई सकेको हुनाले तिलाईको आधा र दुर्गावतिको आधा कायम गरी असर्फीको मृत्यु भएको र निजको हकवाला समेत कसैको उजुर नपरेका भन्ने आधारमा दुर्गावतिको नाउँ दर्ताको जग्गा मध्ये आधी दुर्गावति कै कायम गरेको देखिन्छ । यसरी असर्फीको भागमा जाने सम्पत्ति दुर्गावतिको हक कायम गरी भएको फैसला अन्तिम रही रहेको र दुर्गावतिको मृत्यु २०४५ सालमा भएको हुनाले दुर्गावति नाउँ दर्ताको जग्गा मध्ये आधीमा तिलाइृको हक भएको कुरा विगतका अन्तिम भैरहेको फैसलाले बोलिरहेको अवस्थामा सो दुर्गावतिका नाउँको दर्ता मध्ये आधीमा दुर्गावतिको जीवनकालमा बकस दिएको र बिक्री सदर रहेको जग्गा कटाउँदा बाँकी रहन आएको जग्गामा मात्र अपुतालीको २ नं. ले दुर्गावतिको छोरी बाहेक अरु कोही हकवाला नदेखिएकोले आधी जग्गा सम्ममा अपुताली हक कायम हुने र सो जग्गासम्ममा पुनरावेदक प्रतिवादीहरुले खिचोला गरेको तिलाईको हक कायम भएको दुर्गावति नाउँको दर्ताको जग्गा मध्ये आधीमा खिचोला गरेको ठहर्दैन । अतः अपुतालीको २ नं. बमोजिम देव सुनेरले आमा दुर्गावतिको अपुताली पाउने कानुनी व्यवस्था भएको अपुताली पाउने भै दुर्गावतिका नाउँको तिलाइको हक बाहेक आधी जग्गामा देव सुनेरको हक कायम भै सो जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्याएका हदसम्म पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला मिलेकै देखिँदा सदर हुन्छ सो हदसम्म पुनरावेदन जिकिर पुग्न सक्तैन । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत राजविराजको फैसला केही उल्टी भै तिलाईको हक कायम भएको दुर्गावति नाउँको दर्ताको जग्गा मध्ये आधी जग्गासम्ममा अपुताली हक कायम भै सो आधी जग्गासम्ममा प्रतिवादीहरुले खिचोला गरेको ठहरेकोले पुनरावेदन अदालत राजविराजको मिति २०४९।९।२३ को फैसलाले प्रतिवादीका नाउँको दर्ता बदर गरी वादीका नाउँमा जग्गा दर्ता गरिदिन सम्बन्धित मालपोत कार्यालयका नाउँमा पुर्जी गरी दिन जग्गा समेत वादीलाई चलन चलाई दिनलाई राख्ने गरेको लगत कट्टा गर्नु र वादी देव सुनेर कामैतले प्रतिवादीहरुको नाउँको आधी दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरी सो जग्गा चलन समेत चलाई पाउँ भनी कानुनको म्याद भित्र दरखास्त गरेमा वादी दावीको जग्गाका प्रतिवादीका नाउँको आधी दर्ता बदर गरी सो जग्गा निज वादी देव सुनेर कामैतका नाउँमा जग्गा दर्ता गरी दिन र निज वादीलाई उपर्युक्त अनुसारको आधी जग्गा चलन समेत चलाई दिनु भनी शुरु सिराहा जिल्ला अदालतमा लेखी पठाउनु १, माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदन अदालत राजविराजको फैसलाले वादीले शुरु जिल्ला अदालतमा राखेको कोर्टफी र पुनरावेदन अदालत राजविराजमा राखेको कोर्ट फीर पुनरावेदन अदालत राजविराजमा राखेको कोर्ट फी समेत जम्मा कोर्ट फी रु. ५२९।६९ प्रतिवादीहरुबाट भराई पाउने गरी राखेको लगत कट्टा गर्नु र वादी देव सुनेर कामैतले शुरु अदालतमा राखेको कोर्ट फी रु. ४६०।६० मध्ये रु. २३०।३० र पुनरावेदन अदालत राजविराजमा राखेको कोर्ट फी रु. ६९/०९ मध्ये रु. ३४/५४ समेत जम्मा कोर्टफी रु. २६४/८४ मात्र प्रतिवादीहरुबाट भराई दिन पाउने हुँदा वादी देव सुनेर कामैतले उक्त कोर्टफी रु. २६४।८४ प्रतिवादीहरुबाट भराई पाउँ भनी कानुनका म्यादभित्र दरखास्त गरेमा पुनरावेदक प्रतिवादीहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी कोर्ट फी रु. ५२९।६९ बाट कानुन बमोजिम भराई दिनु भनी शुरु सिराहा जिल्ला अदालतमा लेखी पठाई दिनु २, माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदक प्रतिवादीहरुले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत राजविराजको फैसलाले वादीलाई भराई दिने ठहराएको जम्मा कोर्ट फी रु. ५२९।६९ दाखिल गरी का.जि.अ. मा धरौटी रहेको देखिँदा तपसीलको देहाय २ मा उल्लेख भए बमोजिम प्रतिवादीहरुले वादीलाई भराई दिनु पर्ने कोर्ट फी रु. २६४।८४ कटाउँदा बाँकी रहन आउने धरौटी कोर्ट फी रु. २६४।८५ फिर्ता पाउँ भनी कानुनका म्यादभित्र देहायका प्रतिवादीहरुले दर्खास्त गरेमा सो रकम कानुन बमोजिम फिर्ता दिनु भनी शुरु सिराहा जिल्ला अदालतमा लेखी पठाउनु ३
(१) पुनरावेदक प्रतिवादी कुमिया देवी कामैत
(२) पुनरावेदक प्रतिवादी संगम लाल कामैत
(३) पु.बे.प्र.अगम कामैतको मु.स. गर्ने विन्दीदेवी कामैत
(४) पु.वे.प्र. जागेश्वर कामैत
(५) पु.वे.प्र. चन्देश्वर कामैत
(६) पु.बे.प्र. जुगेश्वर कामैत
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले प्रतिवादीहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. ६९।०९ मध्ये कोर्ट फी ३४।७४ वादीबाट भराई पाउँ भनी वादी देवसुनैर कामैतको यसै सरहदको जेथा देखाई कानुनका म्यादभित्र पुनरावेदक प्रतिवादीहरुले दरखास्त गरेमा उक्त कोर्ट फी वादीबाट पुनरावेदक प्रतिवादीहरुलाई कानुन बमोजिम भराई दिनु भनी शुरु सिरहा जिल्ला अदालतमा लेखी पठाई दिनु ४, मिसिल नियमानुसार गरी बुझाई ५
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्वत् २०५२ साल आषाढ २१ गते रोज ४ शुभम् ।