शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१११ - कुटपिट

भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११

निर्णय नं. ६१११     ने.का.प. २०५२                        अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०५१ सालको फौ.पु.नं. ८६५

फैसला मिति  : २०५२।११।१४।२

मुद्दा : कुटपिट ।

पुनरावेदक/वादी : जिल्ला कपिलवस्तु तौलिहवा हाल कपिलवस्तु नगरपालिका वार्ड नं. ५ लुम्बिनी रोड बस्ने विजयकुमार गुप्ता

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला कपिलवस्तु तौलिहवा हाल कपिलवस्तु नगरपालिका वार्ड नं. ३ लुम्बिनी रोड बस्ने छेडी भन्ने जुवेर हल्वाई मु. ।

ऐ ऐ बस्ने अलम हल्वार्इ मु. ।

ऐ ऐ बस्ने मुन्नु भन्ने अजम हल्वार्इ मु. ।

§  वादीले आफ्नो दावी सबूद प्रमाणबाट प्रमाणित गराउन सक्नु पर्नेमा साक्षी समेत उपस्थित गराउन सकेको पाइँदैन । प्रतिवादीहरुको प्रतिउत्तर जिकिर निजहरुको साक्षीको बकपत्रबाट पुष्टि गरेको देखिन आउँछ । वादी दावीलाई घा जाँच केश फारमले पुष्टि गरेको भन्ने पुनरावेदनमा जिकिर लिए तर्फ विचार गर्दा घा जाँच केश फारमले घा चोट पटक के कति कस्तो प्रकारको लागेको छ भन्ने सम्म देखाउने हुन्छ । सो केश फारमबाट प्रतिवादीहरुले नै कुटपिट गरेको भन्ने पुष्ट्याई हुन सक्ने अवस्था नहुने ।

(प्रकरण नं. १३)

§  केवल फिराद लेखको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराउन न्यायोचित नहुने ।

(प्रकरण नं. १४)

पुनरावेदक वादी तर्फबाट : x

प्रत्यर्थी प्रतिवादी तर्फबाट : x

अवलम्बित नजीर : x

फैसला

     न्या. उदयराज उपाध्याय : पुनरावेदन अदालत बुटवलको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

      २.    २०४७ साल आषाढ ७ गते वृहस्पतिबारको दिन ७.३० बजेको समयमा भन्द्र हलवाईको दाइ विपक्षी प्रतिवादी छेदी हलवाई मु. र आलम हलवाई मु. ले मेरो घरको अगाडि आई मसँग गैह्र कानुनी अपमानीत तरिकाले कुटपिट गरेकोले मिति ०४७।३।८ गतेमा घा चोट जाँच गरी पाउन जिल्ला प्रहरी कार्यालय क.व.तो. मा दरखास्त दिई प्रहरीद्वारा पृथ्वी वीर अस्पताल तौलिहवामा घाउ जाँच भएकोले विपक्षी प्रतिवादीहरुलाई कुटपिट ६, , , ११, १८ नं. समेत बमोजिम सजाय गरी घा खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

      ३.    वादीको फिराद दावी अनुसार कुटपिट समेतको कुनै वारदात कसुर भए गरेको हैन वादीको सम्पूर्ण फिराद लेख दावी झुठ्ठा हो । हाम्रो सुर्तिको पसल रहेको विपक्षी वादीले २०४७ साल बैशाख महिनामा म छेदी भन्ने महमद कुवेरसँग रु. ५००।उधारो लगेको सो रुपैयाँ २०४४ साल जेष्ठ महिनामा विपक्षीसँग माग्दा विवाद गरी रिसइवी लिई सोही कारणले विभिनन झुठ्ठा गैह्र कानुनी मुद्दा दिएका हुन । मिति २०४७।३।८ गते अं. ७ बजेको समयमा विपक्षी विजयकुमार दिसा गर्न गएको बखत वर्षातको समय हुँदा चिप्ली लडेको सोही चोटलाई देखाई जाल प्रपञ्चयुक्त कुराहरु उल्लेख गरी झुठ्ठा मुद्दा दिएका हुने फिराद दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

      ४.    आदेशानुसार वादीको साक्षीको नाउँमा समाव्हान जारी गरी पठाउँदा वादीले आफ्नो साक्षी उपस्थित गराउन नसकेको ।

      ५.    २०४७।३।८ गते विहान ७ बजेको समयमा वादी दिशा गर्न जाँदा हिलोमा चिप्ली चोट पटक निजलाई लागेको मैले देखेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी हरि राम गुप्ता समेतको बकपत्र ।

      ६.    २०४७।३।८ गतेमा भएको घाउ जाँच केश फाराम मिसिल सामेल भएको ।

      ७.    घाउ जाँच केश फाराम हेर्दा वादीका शरीरमा घा चोट लागेको देखिन आएकोले कुटपिट गरेको होइन भन्ने प्रतिउत्तर जिकिर सत्य साँचो देखिन नआएको र प्रमाण समेत पेश दाखिल गर्न नसकेको हुँदा वादीलाई घा जाँच केश फाराममा लेखिए बमोजिम घाउ चोट पारी प्रतिवादीहरुले कुटपिट गरेको ठहर्छ भन्ने शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला ।

      ८.    प्रत्यर्थी प्रतिवादीहरुले जुन किसिमको कुटपिट गरेका हुन सो कानुन बमोजिम सजाय गर्नुपर्ने कानुनी बाध्यात्मक व्यवस्था भएकोमा सो अनुसार सजाय नगरी केवल हुल भै कुटपिट गरेकाले हुल तर्फ मात्र जनही रु. ११०।का दरले जम्मा ३३०।मात्र जरिवाना गर्ने गरी कम सजाय हुने गरी भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला कानुनी त्रुटिपूर्ण भएकोले शुरु इन्साफ बदर गरी फिराद दावी बमोजिम प्रत्यर्थी प्रतिवादीहरुलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी विजयकुमार गुप्तको तत्कालीन लु.अं.अ. मा परेको पुनरावेदन ।

      ९.    हामीहरुले विपक्षी वादीलाई कुटपिट गरेको भन्ने कुरा झुठ्ठा हो । विपक्षी वादीले कुनै पनि साक्षी उपस्थित भै बकपत्र गराउन नसकी प्रमाण ऐन, २०३१ को दफा २५ ले दावी प्रमाणित गराउने भार वादीको रहेकोमा उक्त दावी प्रमाणित गराउन सकेको देखिँदैन । विपक्षी दिशा गर्न गएको बखत चिप्ली लडेर घाउ चोट भएको कुरा हामीहरुले प्रतिवाद गरेको र सो कुरालाई हाम्रो साक्षीको बकपत्र समेतबाट समर्थन भएकोले यस्तोमा घा जाँच फाराममा चोट लेखिएको भन्ने आधार लिई कुटपिट गरेको ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादी जिकिर अनुसार झुठ्ठा एवं गैरकानुनी दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको पनुरावेदक प्रतिवादी मोहम्मद जुवेर हलवाई मुसलमान समेतको तत्कालीन लु.अं.अ.मा परेको पुनरावेदन ।

      १०.    वादीले आफ्नो साक्षीलाई अदालतमा ल्याई बकाई आफ्नो दावी पुष्टि गराउन नसकेको अवस्था भएकोले शुरु कपिलवस्तु जिल्ला अदालतले प्रतिवादीहरुले कुटपिट गरेको ठहर्‍याई गरेको इन्साफ नमिलेकोले बदर भई सो इन्साफ उल्टी हुन्छ । प्रतिवादीहरुले कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, बुटवलको २०५०।७।२५ को फैसला ।

      ११.    क.व.जि.अ. को फैसला तथा पुनरावेदन अदालत बुटवलको फैसला कानुन तथा नजीरको विपरीत रहेकोले दुवै फैसला बेमुनासिब हुँदा बदर गरी उल्टाई वादी दावीमा लेखिए बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको दावीको यस अदालतमा परेको पुनरावेदन ।

      १२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।

      १३.   यसमा छेदी हल्वाई मुसलमानले मेरो घर अगाडि आई गरेको कुटपिटबाट शरीरको विभिन्न भागमा चोटपटक लागेकाले निजलाई कुटपिटको ६, , , ११, १८ नं. बमोजिम र छेदी मुसलमानले हातले हान्दा उसका भाइ आलम हल्वाई मुसलमान र मुन्नु हल्वाई मुसलमानले समेत हात हाली मद्दत गरेकाले निजहरुलाई दण्ड सजायको १ नं. र कुटपिटको १८ नं. समेत बमोजिम सजाय गरी पाउँ भन्ने वादी विजयकुमार गुप्तको फिराद दावी भएकोमा वादी दावा झुठ्ठा हो, विपक्षी विजयकुमार वरसातको समय हुँदा चिप्ली लडेको चोट देखाई झुठ्ठा मुद्दा दिएकोले फिराद दावीबाट फुर्सद गरी पाउँ भन्ने प्रतिवादीहरुले जिकिर लिएको देखिन्छ । वादीले आफ्नो दावी सबूद प्रमाणबाट प्रमाणित गराउन सक्नु पर्नेमा साक्षी समेत उपस्थित गराउन सकेको पाइँदैन । प्रतिवादीहरुको प्रतिउत्तर जिकिर निजहरुको साक्षीको बकपत्रबाट पुष्टि गरेको देखिन आउँछ । वादी दावीलाई घा जाँच केश फारमले पुष्टि गरेको भन्ने पुनरावेदनमा जिकिर लिए तर्फ विचार गर्दा घा जाँच केश फारमले घा चोट पटक के कति कस्तो प्रकारको लागेको छ भन्ने सम्म देखाउने हुन्छ । सो केश फारमबाट प्रतिवादीहरुले नै कुटपिट गरेको भन्ने पुष्ट्याई हुन सक्ने अवस्था हुँदैन । यस स्थितिमा पुनरावेदकको उक्त पुनरावेदन जिकिर स्वीकार योग्य देखिन आएन ।

      १४.   यस प्रकार केवल फिराद लेखको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराउन न्यायोचित नहुने र वादीले आफ्नो दावीलाई सबूद प्रमाणबाट पुष्टि गर्न नसकेको हुनाले वादीलाई कुटपिट गरेको ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीहरुलाई कसूरबाट सफाई दिने गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखियो । तसर्थ प्रतिवादीहरुलाई वादी दावाबाट सफाई दिने गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति सम्वत् २०५२ साल फाल्गुण १४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु