निर्णय नं. ६११७ - परमादेशको आदेश जारी गरी पाउं ।

निर्णय नं. ६११७ ने.का.प. २०५२ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०५० सालको दे.पु.नं. १४३६
आदेश मिति : २०५२।८।१२।३
विषय : परमादेशको आदेश जारी गरी पाउं ।
पुनरावेदक : जिल्ला धनुषा सप्तोतर गा.वि.स. वडा नं. २ बस्ने वर्ष ५६ को रामशरण राय अमात
विरुद्ध
विपक्षी : कृषि विकास बैंक उपशाखा कार्यालय सवैला ।
जि.ध. मखनाहा गा.वि.स. बार्ड नं. ७ बस्ने वर्ष ४५ को टकु सहनी मलाह ।
§ निवेदक स्वइच्छाले ऋण बापत आफ्नो जग्गा धितो राखी जमानी बसेपछि सो ऋण रकम चुक्ता नभएसम्म निवेदकको धितो रहेको जग्गा फुकुवा हुन नसक्ने ।
(प्रकरण नं. ५)
§ बैंकमा राखिएको धितो वापत ऋण रकम चुक्ता भएमा निवेदकको जग्गा फुकुवा हुने नै हुंदा यसबाट निवेदकको कुनै किसिमको हक हनन् भएको नदेखिने ।
(प्रकरण नं. ५)
पुनरावेदक तर्फबाट : x
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या.मोहनप्रसाद शर्मा : पुनरावेदन अदालत जनकपुरबाट मिति २०५०।१।११ मा भएको आदेश उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा निर्णय यस प्रकार छ :–
२. म निवेदक र विपक्षी ठकुर सहनीको आपसी मित्रताले गर्दा निजले कृषि विकास बैंक उपशाखा कार्यालय सवैलाबाट माछा पालनको लागि लिएको ऋण रु. १२,०००।– बापत मैले आफ्नो नाउँको जि.ध. सतीखर गा.वि.वा.नं. २ को कि.नं. २०७ को ०–९–१० जग्गा सुरक्षण बापत दिएको थिए विपक्षी ठाकुर सहनीलाई पटक पटक ऋण बुझाई मेरो जग्गा फुकुवा गराई दिनु भन्दा कुनै चासो नदेखाएकोले बैंकमा आफैं गै बुझ्दा ३४,०२०।३८ बुझाउनु पर्ने बाँकी छ भनी भनेकोले ०४९।३।२९ मा २९,१७७।५० र ४,८४२।८८ भौचर तथा नगद समेत गरी बुझाएको थिए । सो बुझाई दिँदा पनि बैंकका कर्मचारीले ऋण असुली पुर्जा दिँदा निज जिम्मा रु. २९,६००।– अझै बाँकी छ त्यो समेत बुझाएपछि मात्र जग्गा फुकुवा हुने छ भनी भनेकोले मैले विपक्षी ठकुर सहनी मल्लाहलाई सोद्धा बैंकलाई भूल भएको हुनुपर्छ भन्नु भयो । मैले बैंक गै भूल सच्याउनु भनी भन्दा ठकुर सहनीले तेरो जग्गा के भयो मलाई थाहा छैन जहाँ जानु छ जा भनी जवाफ दिएकोले बाध्य भै अदालतको शरणमा आउन परेको छु । विपक्षीहरुको षडयन्त्रपूर्ण मिलेमतोबाट मेरो संविधान प्रदत्त सम्पत्ति भोग गर्ने र बेच बिखन गर्ने अधिकार हनन् भएकोले मेरो उक्त जग्गा फुकुवा गरी दिन विपक्षी कृषि विकास बैंक उपशाखा कार्यालय सबैलाको नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र ।
३. विपक्षीको कानुनी कर्तव्य के रहेका र कर्तव्यको पालना नगरेकोले कस्तो हकमा आघात पर्न आएको सो सम्बन्धमा निवेदन प्रष्ट नहुँदा यस्तो अप्रष्ट भ्रामक दावी भएको हुँदा निवेदन तामेलीमा राखी दिनु भन्ने समेत पुनरावेदन अदालत जनकपुरबाट मिति २०५०।१।११ मा भएको आदेश।
४. पुनरावेदन अदालत जनकपुरको तामेली आदेश बदर गरी विपक्षीहरुबाट लिखितजवाफ मगाई मैले जमानी बापत राखेको जग्गा फुकुवा गरी दिनु भनी विपक्षी बैंकका नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेत निवेदकको यस अदालतमा पर्न आएको धरौटी पुनरावेदनपत्र ।
५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत पुनरावेदन तथा मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा निवेदकले निवेदन व्यहोराको प्रकरण नं. (४) मा निवेदकले जमानी बसेको ठकुर सहनी उपर रु. २९,६००।– बाँकी देखाई त्यो बुझाएपछि मात्र निवेदकको जग्गा फुकुवा हुने भनी कृषि विकास बैंक उपशाखा कार्यालयले जवाफ दिएको भनी निवेदनमा उल्लेख गरेको देखिन्छ । निवेदक विपक्षीसँगको मित्रताले आफ्नो स्वइच्छाले ठकुर सहनीको ऋण बापत कृषि विकास बैंक उपशाखा कार्यालयमा आफ्नो कि.नं. २०७ को जग्गा धितो राखी जमानी बसेको हुँ भन्न देखिन्छ । त्यसरी निवेदक स्वइच्छाले ठकुर सहनीको ऋण बापत आफ्नो जग्गा धितो राखी जमानी बसेपछि सो ऋण रकम चुक्ता नभएसम्म निवेदकको धितो रहेको जग्गा फुकुवा हुन नसक्ने हुन्छ । अतः बैंकमा राखिएको धितो वापत ऋण रकम चुक्ता भएमा निवेदकको जग्गा फुकुवा हुने नै हुँदा यसबाट निवेदकको कुनै किसिमको हक हनन् भएको नदेखिएकोले पुनरावेदन अदालत जनकपुरबाट निवेदन तामेलीमा राखी दिने भन्ने समेत भएको आदेश मुनासिब देखिएकोले सोही सदर हुने ठहर्छ । निवेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत् २०५२ साल मंसीर १२ गते रोज ३ शुभम् ।