शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१२२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।

भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२

निर्णय नं. ६१२२   ने.का.प. २०५२          अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५१ सालको रिट नं. २४९२

आदेश मिति   : २०५२।६।३०।२

विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं

रिट निवेदक : जिल्ला पर्सा वीरगञ्ज नगरपालिका वा.नं. २ बस्ने तुल्सी शाह सोनारको छोरा हिरालाल सोनार

विरुद्ध

विपक्षीत : मालपोत कार्यालय, पर्सा, विरगञ्ज ।

जि. पर्सा विरगन्ज नगरपालिका वा.नं. २ बस्ने बाबुनन्द शाह सोनार ।

ऐ ऐ बस्ने परमानन्द शाह सोनार ।

ऐ ऐ बस्ने बाबुनन्द शाह सोनारको छोरा गेनालाल शाह सराफ ।

§  अचल सम्पत्तिको सट्टा पट्टा हुदा रजिष्ट्रेशनको १ नं. ले पारित हुनु पर्ने अनिवार्यता छ । सो बमोजिम नभएपछि सट्टापट्टा भएको मान्न नमिल्ने ।

(प्रकरण नं. ९)

§  बण्डापत्रबाट आफ्नो भागमा परेको जग्गा यथावत आफ्नो ठाउमा छदा छदै भूलवस कित्ता नम्बर फरक पर्न गएकोमा मा.पो.का. ले सो गल्ती अर्थात कि.नं. सच्याई श्रेस्ता अद्यावधिक पार्दैमा निवेदकको हकहितमा प्रतिकूल असर परेको भनी मान्न नमिल्ने ।

(प्रकरण नं. ९)

§  निवेदकले दावी लिएको कित्ताको सबै भन्दा पूर्वको जग्गा निवेदकको हकमा आउदै नआएको अवस्थामा सो कित्ताको नम्बर ट्रायल चेकबाट जस्ताको तस्तै गरी श्रेस्ता सच्याइएकोलाई कानुनन् अनधिकृत भयो भनी मान्न नमिल्ने ।

(प्रकरण नं. ९)

रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र पाठक, विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्ल

अवलम्बित नजीर : x

आदेश

    न्या.गोविन्दबहादुर श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अनुसार यस अदालतको अधिकार क्षेत्रभित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न अनुसार छ :

    २.  म रिट निवेदक समेत रामानन्द, बाबुनन्द ब्रम्हानन्द र हिरालाल ४ भाइहरु बुबा तुल्सी सोनारका छोरा भएका र हामी दाजुभाइ अंशियारहरु सगोलमा रही बसी रहेकोमा हामी अंशियारहरुको मनोमान खुसीराजीले केही सम्पत्ति अबण्डा राखी छोडी अरु जग्गा जमीन धनसम्पत्ति भागबण्डा गरी बण्डापत्र लेखी लेखाई मालपोत कार्यालय पर्सामा र.नं. ३४८१ मिति २०४९।११।२१।५ मा पारीत गरी समेत लिएका जस अनुरुप मेरो नाममा दर्ता रहेको सगोलको जग्गा वीरगंज नगरपालिका वा.नं. ४ कि.नं. ५८ जग्गा विगहा १११० हामी ४ अंशियारहरुमा बराबर बण्डा गरी कित्ताकाट हुँदा कि.नं. ३२२ म निवेदक हिरालाल साहको नाममा म देखि पश्चिम कि.नं. ३२३ प्रमानन्दको नाउँमा र प्रमानन्द देखि पश्चिमको कि.नं. ३२४ रामानन्दका नाउँमा कायम हुन आएकोमा माथि उल्लेखित जग्गाको जग्गाधनी प्रमाण पुर्जा लिने क्रममा विपक्षी दाजु बाबुनन्द साहले म निवेदकको भागमा परेको कि.नं. ३२२ र बाबुनन्दको भागमा परेको कि.नं. ३२१ आपसमा सट्टापट्टा गरौं भन्नु भएकोले कि.नं. ३२२ को विपक्षी बाबुनन्दको र कि.नं. ३२१ को मेरो नाममा जग्गाधनी प्रमाण पूर्जा आफू आफूले लियौं । मेरो हकभोगमा कार्य भएको कि.नं. ३२१ को कित्ताफोड भई ०१५ जग्गा मध्ये ०१५ जग्गा म आफ्नै हकभोगमा राखेकै कि.नं. ३३८ र मैले हक हस्तान्तरण गरिदिएकोमा बाबुनन्दको कि.नं. ३३५ परमानन्दको कि.नं. ३३७ र गेनालालको कि.नं. ३३६ कायम भई मा.पो.का. पर्सामा श्रेस्ता समेत कायम भई हामी आआफ्नो भोगचलन गरी आएकोमा यस्तैमा विपक्षी बाबुनन्दले मिति २०५१।४।६ मा कि.नं. २३१ को ०१५ सम्पूर्ण जग्गा मेरै हो बण्डापत्रमा कि.नं. ३२१ को मेरो भागमा परेको छ तिम्रो भागमा कि.नं. ३२२ को जग्गा हो तिमीले २०५०।४।१९ मा पारित गरि दिएको बकसको जग्गा तिम्रो कि.नं. ३२२ बाट लिन्छु तिमीले यो जग्गा खाली गरी देउ भन्नु भएकोमा मैले मा.पो.का. पर्सामा मेरो नाममा कि.नं. ३२२ कायम गराई तिमीले कि.नं. ३२१ बाट हक हस्तान्तरण गर्दा कायम भएको कि.नं. ३३५, ३३७, ३३८, ३३६ मैले कि.नं. ३२२ कायम गराई सकेको छु भनी निज दाजु विपक्षी बाबुनन्दले भन्नु भएको र सोही अनुरुप हकदैया न.नं. ४ कि.न.. ५८ कित्ताकाट भई बाबुनन्द नाउँमा कि.नं. ३२१ कायम गर्नु पर्नेमा कि.नं. ३२२ कायम हुन गएकोलाई संशोधन गरी कि.नं. ३२१ कायम गर्नु पर्नेमा र कि.नं. ३२२ हिरालालका नाउँमा कायम गर्नु पर्नेमा कि.नं. ३२१ कायम हुन गई सो कित्ता पनि कित्ताकाट भई कि.नं. ३३५, ३३६, ३३७ अन्य व्यक्तिलाई गई कि.नं. ३३८ हिरालालको नाउँमा बाँकी रहेकोलाई उक्त कि.नं. ३२१ लाई संशोधन गरी कि.नं. ३२२ बाट कि.नं. ३३५, ३३६, ३३७ र ३३८ कायम गर्न मे.ना.शा. पर्साका नाउँमा आदेश गरी श्रेस्ता अध्यावधिक गर्नुपर्ने भनी अधिनस्थ कर्मचारीले उठाएको टिप्पणीलाई सदर गर्ने गरी टिप्पणी निर्णय २०५०।९।६ मा उठाएको छ । विपक्षी बाबुनन्दले उक्त कि.नं. ३२२ को जग्गाधनी प्रमाणपूर्जा लिँदाकै अवस्थामा निजलाई थाहा थियो साथै झुठ्ठा कुरा उल्लेख गरी मालपोत कार्यालय पर्सामा निवेदन दिनु भएकोले निजले दुरासययुक्त भाषाबाट प्रेरित भई निवेदन दिएको निवेदन गर्ने अधिकारीले आफू स्वयंले नयायिक मनको प्रयोग गरी आफैं निर्णय गर्नु पर्नेमा सो नगरी मातहतका कर्मचारीले उठाएको टिप्पणीलाई सदर गर्ने गरी गरेको र मेरो हक असर पर्ने विषयको निर्णय गर्दा मलाई प्रतिवादको मौका समेत दिनुपर्ने प्राकृतिक न्याय सिद्धान्तको समेत उपेक्षा गरी गरेको विपक्षी मालपोत कार्यालयको निर्णय मालपोत ऐन, २०३४ को दफा ३२ न्याय र कानुनको समेत विपरीत रहे भएको उपरोक्त निर्णयबाट मेरो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२)(ङ), १७(१) द्वारा प्रदत्त मौलिक हकमा आघात पुग्न गएको र उपचारको अन्य मार्ग समेत नभएकोले धारा २३।८८(१) बमोजिम मालपोत कार्यालय पर्सा मेरो संवैधानिक तथा कानुनी हकमा आघात पर्ने गरी २०५०।९।६ मा गरेको निर्णय सो निर्णयबाट भएको सम्पूर्ण काम कारवाही उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा आदेशद्वारा बदर गरी साविक बमोजिम यथास्थितिमा राखी पाउन परमादेश वा अन्य उपर्युक्त आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र ।

    ३.  यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? लिखितजवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

    ४.  निवेदन जिकिर बमोजिम कि.नं. ३२१ हिरालालले कि.नं. ३२२ बाबुनन्दले लिने दिने गरी सट्टापट्टा गरेको होइन, हिरालालबाट निजको अंशबण्डाको को ०१५ मध्येबाट ०१५ का दरले मस मेतले हक हस्तान्तरण गराई लिँदा मेरो पूर्व साँध मिलाई र निजका छोरा गेनालाल समेतले लिँदा बाबु नन्दको पश्चिम साँध मिलाई लिँदा मालपोत कार्यालयले भुल गरी हिरालालको किनं. ३२१ लेखी दिएबाट सोही कित्ता उल्लेख गरी लिखत पारीत भए तापनि वास्तवमा कि.नं. ३२१ बाबुनन्देको कि.नं. ३२२ हिरालालको भई हिरालालको कि.नं. ३२२ मध्येबाट हामीले लिई पाएका छौं कित्ता फरक परेपछि बाबुनन्दलाई जानकारी हुन आएको र संशोधन भइसकेको छ । निवेदकले बदनियत चिताई प्रस्तुत झुठा बनावटी निवेदन गरेको मात्र हो । रिटनिवेदन गर्न अनुचित विलम्ब भएको छ ।

    ५.  यसमा तथ्यगत कुरामा विवाद देखाउन खोजिएबाट यो रिट क्षेत्रबाट हेर्न नमिल्ने, नापी शाखाको राय लिई निर्णय गरे अनुरुप नापी शाखाले समेत श्रेस्ता सं शोधन गरिसकेकोमा नापी शाखालाई विपक्षी नबनाई दिएको रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको परमानन्द साह सोनारका लिखितजवाफ ।

    ६.  निवेदक हिरालालको अंश भागको कि.नं. ३२२ लाई ३२१ नै संझी लिखत भए तापनि निजको अंश भागको जग्गामध्ये पूर्वतर्फबाट हामी बाबुनन्द गेनालाललाई र पश्चिमतर्फबाट परमानन्दलाई प्लट मिलाई दिएकोबाट समेत निवेदन जिकिर झुठ्ठा र बनावटी रहेको छ । पछि मात्र मालपोत कार्यालयको गल्ती जानकारी हुन आएकोले कि.नं. संशोधन गरी पाउन २०५०। ।४ मा मालपोत कार्यालय पर्सामा निवेदन दिएको हो । रिट निवेदन अनुचित विलम्ब गरी परेको निवेदक सफा हात नआएको कित्ता नम्बर सट्टा पट्टा नभएको हुँदा रिट निवेदकको कुनै संवैधानिक वा कानुनी हकहितमा आघात नपुगेको सट्टा पट्टाको निर्विवाद प्रमाण पेश गर्न नसकेको विवादास्पद कुरामा प्रमाण बुझी रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने भएबाट रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको बाबु नन्द सोनार र गेनालाल साह सराफको संयुक्त लिखितजवाफ ।

    ७.  मिति २०४९।११।२१ को पारित अंशबण्डाको लिखत बमोजिम अंश भाग लगाई नापी शाखाबाट कित्ताकाट हुँदा कि.नं. ३२१ बाबुनन्दलाई कि.नं. ३२२ हिरालाल सोनारलाई कि.नं. ३२३ प्रमानन्दलाई कि.नं. ३२४ रामानन्दलाई कायम भै आएकोमा सोही अनुसार दाखेल खारेज गरी श्रेस्ता पुर्जा कायम गर्नु पर्नेमा भूलबाट कि.नं. ३२१ को सट्टा कि.नं. ३२२ बाबुनन्दलाई र कि.नं. ३२२ को सट्टा कि.नं. ३२१ हिरालाललाई दाखेल खारेज हुन गएको रहेछ । उल्लेखित अंशियार मध्येका बाबुनन्द सोनारको २०५०।९।४ मा पर्न आएको निवेदन अनुसार बण्डापत्र बमोजिम निज बाबुनन्दको नाउँमा कि.नं. ३२१ को जग्गा कायम हुनु पर्नेमा हिरालालको नाउँको कि.नं. ३२१ को जग्गा कायम हुन गएकोले बण्डापत्र र नापीको कित्ताकाट विवरण अनुसार कित्तानम्बर संशोधन गरी पाउँ भनी निवेदन परी कारवाही चल्दा यस कार्यालयले नापी शाखा पर्सा सँग राय माग्दा कि.नं. ३२१ को जग्गा बाबुनन्द साहको नाउँमा र कि.नं. ३२२ को जग्गा हिरालाल साहका नाउँमा कायम राखी कि.नं. ३२२ को जग्गा मध्ये फायल नक्सा समेत संशोधन गर्न र कित्ताकाटको आदेश आएमा सोही आदेशानुासर साविक कि.नं. ३३५, ३३६, ३३७ र बाँकी कि.नं. ३३८ हिरालालको नाउँमा कायम रहने गरी २०५०।९।६ को पत्रबाट राय प्राप्त भएको र सोही राय मुताविक साविक कि.नं. ५८ बाट कित्ताकाट भै बाबुनन्द साहको नाउँमा कि.नं. ३२१ कायम हुनु पर्नेमा कि.नं. ३२२ कायम हुन गएकोलाई संशोधन गरी ३२१ कायम गर्नु पर्ने र कि.नं. ३२२ हिरालालको नाउँमा कायम हुनु पर्नेमा कि.नं. ३२१ कायम हुन गै सो कि.नं. ३२१ कित्ताकाट भै कि.नं. ३३५, ३३६, ३३७ उल्लेखित व्यक्तिलाई दाखेल खारेज भै कि.नं. ३३८ निज हिरालालकै नाममा बाँकी रहेकोलाई कित्ता नम्बर ३२१ लाई संशोधन गरी कि.नं. ३२२ कायम गरी सोही कि.नं. ३२२ बाट कि.नं. ३३५, ३३६, ३३७ र ३३८ कायम गर्न मेन्टीनेन्स नापी शाखा पर्सालाई मिति २०५०//६ को टिप्पणी बमोजिम श्रेस्ता अद्यावधिक गरिएकोले सो कार्य यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने भएकोले संशोधन गरी श्रेस्ता अद्यावधिक गरिएकोले विपक्षीका झुठ्ठा उजूरीबाट फूर्सद गरी पाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय पर्साको लिखित जवाफ ।

    ८.  नियम बमोजिम दैनिक पेशी सूची चढी पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदन तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ट अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले कित्ता नम्बर ३२२ को लालपूर्जा बाबुनन्द लिनु भएकोमा निजले अन्यथा भन्न नमिल्ने भएबाट निजका हकमा निवन्धन लाग्दछ, मेरो पक्षलाई सुनुवाईको मौका नै नदिई निजको संवैधानिक तथा कानूनी हकमा असर पर्ने गरी गरेको विपक्षी निर्णय कानूनी त्रुटीपूर्ण रहेबाट रिट जारी हुनु पर्दछ भन्ने र मालपोत कार्यालय पर्साका तर्फबाट उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र पाठकले श्रेस्ता अद्यावधिक गर्ने कार्य मालपोत ऐन, २०३४ को दफा ८ को प्रयोगबाट रहने, नापीबाट ट्रायल नम्वर मिलाउनु सकिन्छ भन्ने नापीको रायको आधारमा मालपोत कार्यालयले कानून बमोजिम निर्णय गरेको भन्ने र विपक्षी गेनालाल साह सोनार र बाबुनन्द सोनारका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री चुडामणी राजसिंह मल्लले मेरो पक्षको अंश भागको कि.नं. ३२१ मा मेटल उद्योग छ त्यो हत्याउने चालले निवेदन दिएको सट्टा पट्टा गरेको भए कारखाना समेत भएको घर उल्लेख नभएकोले रिट निवेदक सफा हातले नआएको र रिट निवेदकको हक हितमा कुनै असर नपरेकोले रिट निवेदन खारेज हुनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनि रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने नपर्ने के हो ? सो उपर निर्णय दिनु पर्ने भएको छ ।

    ९.  यसमा हाम्रो साविकको कि.नं. ५८ को अंशवण्डा रहँदा मेरो भागमा सो कित्ता फोड गरी मेरो नाममा कि.नं. ३२२ र बाबुनन्दको भागमा कि.नं. ३२१ परेकोमा विपक्षी बाबुनन्दको अग्रसरतामा निजको र मेरो उपरोक्त कि.नं. सट्टा पट्टा गर्नु हाम्रो मञ्जुरी भएकोमा पछि आएर विपक्षी बाबुनन्दले सट्टा पट्टाबाट मेरो हक अधिकारमा रहे भएकोमा विपक्षीले मेरो हक अधिकारमा रहेको कि.नं. ३२१ माथी वण्डा पत्र बमोजिम आफ्नो हक भएको भनी मालपोत कार्यालय पर्सामा मेरो हक भोगको कित्ता नम्बर ३२१ को जग्गा भूलबाट मेरो (हिरालालको) नाउँमा दर्ता भएको भनी संशोधन गरी पाउँ भनी विपक्षी बाबुनन्दले निवेदन दिएकोमा सो को आधारमा विपक्षी मालपोत कार्यालयले मेरो हक भोगको कित्ता नम्बर ३२१ को फोठ भई मेरो नाममा रहेको कि.नं. ३३८ र मैले हक हस्तान्तरण गरी दिएको कि.नं ३३५, ३३६, ३३७ विपक्षीको नाउँमा दर्ता गर्ने गरी गरेको मिति २०५०//६ को निर्णय गरियो जुन निर्णय गर्दा प्राकृतिक न्याय सिद्धान्तको उपेक्षा गरी न्यायिक मन प्रयोग नगरी गरेको विपक्षीको उपरोक्त निर्णय बदर गरी यथास्थिति राख्नु भनी परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर र रिट निवेदन परेको र तथ्यगत कुराहरुमा रिट निवेदकले विवाद उठाएकोले यस सम्बन्धमा रिट क्षेत्रबाट हेर्न नमिल्नाका साथै मालपोत कार्यालय पर्साले मालपोत ऐन, २०३४ को र प्रचलित कानून बमोजिम कानून अनुरुप निर्णय गरेबाट रिट निवेदन खारेज गरीपाउँ भन्ने मुख्य लिखित जवाफ रहेको यसमा विद्वान अधिवक्ताहरुको वहस समेत सुनि निर्णय तर्फ विचार गर्दा, निवेदक र प्रत्यर्थी साख्खै दाजु भाई भएको र निजहरु ४ भाई बीच ०४८/११/२१/५ मा अंशवण्डा पारित भएकोमा साविक कि.नं. ५८ को ज.वि. १११० मध्ये प्रत्यर्थी बाबुनन्दनको भागमा पूर्वतर्फ ०१५ सो देखि पश्चिम निवेदक हिरालालको भागमा ०१५ सो देखि पश्चिम परमानन्दको भागमा ०१५ र सो भन्दा पश्चिम रामानन्दको भागमा ०१५ जग्गा बाँडफाँड भएको तथ्य टड्कारै देखिन्छ । तत्पश्चात पनि निवेदकले दाजु बाबुनन्दन१ भाई परमानन्द१ र बाबुनन्दको छोरा गेना१ लाई आफ्नो भागको ०१५ मध्ये केहि जग्गा बकसपत्र गरी पारित दिँदाको बकसपत्र कागजबाट कि.नं. ५८ को १११० को जग्गाको सबैभन्दा पूर्व तर्फ बाबुनन्दको भागमा ०१५ जग्गा परेको र तत्पश्चात पश्चिमतर्फ निवेदकको भागको ०१५ जग्गा परेको समेतमा विवाद देखिएन । अब अंशवण्डा पश्चात खट्टा पट्टाबाट दाजु बाबुनन्दनको जग्गा मेरो भागमा परेको भन्ने निवेदकको कथनको समर्थनमा कुनै प्रमाण पेश भएको देखिएन । अचल सम्पत्तिको सट्टा पट्टा हुँदा रजिष्ट्रेशनको १ नं. ले पारित हुनु पर्ने अनिवार्यता छ । सो बमोजिम नभएपछि सट्टापट्टा भएको मान्न मिल्दैन । अतः एवं बण्डापत्रबाट आफ्नो भागमा परेको जग्गा यथावत आफ्नो ठाउँमा छँदा छँदै भूलवस कित्ता नम्बर फरक पर्न गएकोमा मा.पो.का. ले सो गल्ती अर्थात कि.नं. सच्याई श्रेस्ता अद्यावधिक पार्दैमा निवेदकको हकहितमा प्रतिकूल असर परेको भनी मान्न मिलेन । निवेदकले दावी लिएको कित्ताको सबै भन्दा पूर्वको जग्गा निवेदकको हकमा आउँदै नआएको अवस्थामा सो कित्ताको नम्बर ट्रायल चेकबाट जस्ताको तस्तै गरी श्रेस्ता सच्याइएकोलाई कानुन् अनधिकृत भयो भनी मान्न पनि नमिल्ने र निवेदकको हक हितमा नै असर नपर्ने तथ्य प्रष्ट रुपमा प्रथम दृष्टि नै नदेखिँदा उत्प्रेषणको आदेश जारी गर्नु पर्ने अवस्था नै नदेखिँदा रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरबिन्दनाथ आचार्य

 

इति सम्वत् २०५२ साल असोज ३० गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु