शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२२२ - अंश

भाग: २७ साल: २०४२ महिना: बैशाख अंक:

निर्णय नं. २२२२         ने.का.प. २०४२      अङ्क १

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

सम्वत् २०४१ सालको दे.फु.नं. ८४

मुद्दा : अंश ।

 

निवेदक/प्रतिवादी: प्रेम बहादुर राउत क्षेत्री मरी मु.स.गर्ने ऐ को छोरा ल.पु.जि.गौदाम चौर गा.पं. वार्ड नं. ३ बस्ने नारायण बहादुर राउत क्षेत्री ।

विरूद्ध

विपक्षी/वादी: ऐ.ऐ. बस्ने धनकुमारी राउत क्षेत्री ।

ऐ.ऐ बस्ने अंकुर राउत क्षेत्री

ऐ.ऐ बस्ने अंकुर क्षेत्री

फैसला भएको मिति: २०४२।१।२५।३ मा

     अलगअलग विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन ।

(प्रकरण नं. १८)

निवेदक प्रतिवादी तर्फबाट: विद्वान व.अ.श्री वासुदेव प्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री बद्री प्रसाद शर्मा

विपक्षी वादी तर्फवाट: विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

उल्लेखित मुद्दाःX

फैसला

न्या.धनेन्द्रबहादुर सिंहः रुलिङ्ग बाझियो भनी सर्वोच्च अदालतनियमावलीको नियम ३३(ख) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    परलोक भइसकेका सासु ससुराबाट जेठा रामकृष्ण भन्ने उदय बहादुर, माहिलो मेरो विवाह हुनु भन्दा अगावै परलोक भएको, साहिला राम रावन र कान्छा नारायण राउत जम्मा ४ छोरा र ५ छोरी भएकोमा जेठा उदय बहादुर ०२५ सालमा परलोक भएको वहाँकी २ श्रीमती मध्ये जेठीको मृत्यु भइसकेको, जेठी तर्फबाट १ मात्र छोरा, सुदर्शन भएको र कान्छी मेरी पट्टी पनि एउटा अंकुर राउत छ । साहिला रामरावन, कान्छा नारायण र छोरीहरू सबैको विवाह भइसकेकोले ४ भागमात्र अंशबण्डा गर्नुपर्नेमा घरको हैसियतअनुसार खानलाउन नदिई त्यसबाट वञ्चित गराई अंश माग्दा नदिएकोले अंशबण्डाको २० नं. बमोजिम तायदाती माग गरी ऐ. १, , ५ र १२ अनुसार ४ बण्डा मध्ये पतिको भागमा पर्ने १ भागको ३ खण्डको २ खण्ड पाउँ भन्ने फिराद दावी रहेछ ।

३.    वादीका लोग्नेले अंश लिइसकेको र अंश दिन  बाँकी केही छैन । लोग्नेको नाउँबाट आफ्नो नाउँमा नामसारी गरी झगडियाको दरकारमा लागी चल जेथा बिक्री गराई आफ्नो स्वार्थ पूर्ति गरी आर्थिक प्रलोभनमा परी झुठ्ठा आरोप लगाएको हो । अंश भागमा परेको ०२१ सालको भू.सु.नापीमा गोदामचौर गा.पं.वा.नं. ९(ख) को समेत जम्मा कित्ता ७ भोग गरिआएको र सौतेनी छोरा विष्णु परलोक हुँदा औषधी गर्न काजकृया गर्न रु.१९०० को कर्जा लिँदा यही जग्गा मध्ये गोदामचौर गा.पं. वा.नं. ७ (ग) कि.नं. २४ को माटो रोपनी २१२० जग्गा वादीको छोरा सुदर्शनले मेरो बाबुको अंश भोगको भनी धितोबन्धकी समेत राखेका हुन्, निज सुदर्शन बुझी पाउँ, अंशियार मध्ये मेरो अर्को छोराले पनि अंश बुझी सकेको छ । अंशियार बुझी वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर रहेछ ।

४.    बाजेबाट बाबु उदय बहादुरले र काकाहरूले पनि अंश अघि नै लिई भिन्न बसिसक्नु भएकोले दोहरो अंश लिन नालेश गरेको हो । बाबुको अंशमा परेको ज.रो.२।।। बाबु परलोक हुँदा जग्गा कृष्ण बहादुरलाई भोगबन्धकी दिई निजबाट रु. १९००। लिई बाबु र दाजुको काजकृयासमेत गर्नुभएकोबाट अंश लिइसकेको सिद्ध छ भन्ने समेत सुदर्शनको बयान ।

५.    प्रेम बहादुरको ४ छोरामा मेरा ससुराहरू अंश लिई छुट्टाछुट्टै बसेको हुन । सासु गुनकुमारी र धन कुमारीबाट जायजन्म अंशबण्डा समेत नभएको अंशियार सबैको हक भोगमा हुनुपर्ने । सौतेनी सासु धनकुमारीले ससुराको नाउँमा रहेको हरिसिद्धीको जग्गा आफ्नो नाउँमा नामसारी गरी बुढा ससुराको नाममा दिएको प्रतिवादीमा मेरा श्रीमान विष्णु बहादुर र म समेत गुम गरी अंश मार्ने नियत गरेकोले र मेरो देवर सुदर्शनले मेरा श्रीमानको मृत्यु हुँदा लिएको कर्जा रु. १९००। बाट धितोबन्धकी दिएको हामी अंशियारलाई बण्डा गरी दिलाइयोस् वादीबाट अंश पाउनुपर्ने हो भन्ने भौरी रावतको वा नरेशलालको बयान ।

६.    वादीको लोग्नेकै पालामा अंश लिई भिन्न बसी आएको छ । कान्छा छोरा नारायण प्रतिवादीसँग बसेको छ भन्ने प्रतिवादीको साक्षी कान्छाको बकपत्र ।

७.    अंशियार सम्बन्धमा वादी प्रतिवादीको मुख मिलेकै देखिएको बिक्री व्यवहार हुँदैमा अंश नपाउने भन्न नहुने हुँदा अंश पाउने ठहरी ०३४।२।११।३ मा पेश गरेको तायदाती परस्पर सुनाउँदा कुनै पक्षबाट विरोध समेत भएको नदेखिँदा वादी दावी बमोजिम ४ भागको १ भाग मध्ये ३ खण्डको २ खण्ड वादीहरूले अंश पाउने ठहर्छ भन्ने समेत ल.पु.जि.अ.को फैसला ।

८.    उक्त ल.पु.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने बा.अं.अ.मा परेको पुनरावेदन ।

९.    शुरू ल.पु.जि.अ.ले गरेको फैसलामा कानुनी त्रुटि नदेखिँदा शुरूले गरेको फैसला मनासिव छ भन्ने बा.अं.अ.को फैसला ।

१०.    बा.अं.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतसिङ्गल  बेञ्चको आदेश ।

११.    अंशियारहरूमा अंशबण्डा भएको बण्डापत्र पेश गर्न नसकेको, अंशियारहरूको नाममा पृथकपृथक जग्गा दर्ता देखिए पनि भाग शान्ति अनुसार दर्ता भोग भएको देखिँदैन । सुदर्शनले लेखिदिएको दृष्टिबन्धकी लिखतमा वादी साक्षी बसेको नदेखिएको, जुरेलीले दिएको अंश मुद्दाबाट अंगेरी पोइल गइसकेको देखिनाले निजको अंश छुट्याउने अवस्था देखिन आएन, विष्णु बहादुरकी छोरी जुरेली भएको कुरामा जुरेलीले दिएको अंश मुद्दाको प्रतिउत्तरबाट वादीले स्वीकार गरेको प्रस्तुत मुद्दामा रत्न बहादुरको बयानबाट पनि जुरेली देखिने हुँदा निजको विवाह खर्च पर सार्नु पर्नेमा सो विवाह खर्च पर नसारेको सम्म बा.अं.अ.को फैसला त्रुटियुक्त देखिँदा सो हद सम्मको फैसला उल्टी हुन्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

१२.   क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा यस अदालत डिभिजन बेञ्चबाट प्रतिवादीको नारायण बहादुर समेतका नाउँमा जग्गा छुट्टाछुट्टै दर्ता भई भोगचलन गरेको देखिएकोमा वादी धनकुमारी राउत समेतले अंश पाउने ठहर्‍याई गरेको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा अंशबण्डाको ३० नं. को त्रुटि देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको ।

१३.   अंशियारहरूको नाममा अलगअलग जग्गाहरू दर्ता भोग देखिन आए तापनि मिसिल संलग्न जग्गाधनी प्रमाण पूर्जाबाट त्यस्तो दर्ता भोगको जग्गा प्रेम बहादुरको नाममा ज.रो. ५१५, रत्न बहादुरको १२२ नारायण बहादुरको १२३ र उदय बहादुरको ९११५ देखिन आई समान देखिन नआएकोले अंशबण्डा गर्दा अंश पाउने सबैको अंश बराबर गर्नु पर्छ भन्ने मुलुकी ऐन, अंशबण्डाको नं. २ को विपरीत भएको देखिन्छ ।

१४.   यस प्रकारको स्थितिको विद्यमानतालाई प्रतिवादीको सिर्फ अंशबण्डा भइसकेको भन्ने ठोस प्रमाणरहित जिकिरले खण्डन गरेको भन्ने सम्झनु कानुनसंगत नहुने स्वतः सिद्ध भएकोले वादी दावी अनुसार प्रतिवादीले वादीलाई अंश दिलाउने गरेको शुरू जिल्ला अदालतको इन्साफ सदर गरेको क्षे.अदालतको फैसलामा पुनरावेदन जिकिर अनुसार कुनै कानुनी त्रुटि भएको नदेखिएकोले मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मनासिव छ भन्ने मिति २०४०।६।६।५ मा डिभिजन बेञ्चको फैसला ।

१५.   निवेदक रघुनाथ यादव समेत विपक्षी लडुवती यादवनी भएको अंश मुद्दा र प्रस्तुत मुद्दा दुवैमा अंश पाउँ भन्ने वादी दावी छ, अघि नै अंशबण्डा भोगचलन समेत भइसकेकोले अंश नहुनु भन्ने प्रतिवादी कथन भएबाट दुवैमा अंशबण्डाको ३० नं. को कानुनी व्यवस्थाको आधारमा निर्णय हुनुपर्ने देखिएको छ । यस्तो समान स्थितिको मुद्दामा एकै अदालतका दुई डिभिजन बेञ्चबाट अलगअलग सिद्धान्त कायम हुने गरेको देखिएकोले रूलिङ  बाझिएको नै भन्नुपर्ने देखियो सर्वोच्च अदालत नियमावलीको नियम ३३(ख) बमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ फुल बेञ्च समक्ष पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको मिति ०४१।१।१३।४ को आदेश ।

१६.    उपरोक्त आदेश बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीको तर्फबाट विद्वान व.अ. श्री वासुदेवप्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री बद्रिप्रसाद शर्मा र विपक्षी वादीकातर्फबाट विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले गर्नुभएको बहस समेत सुनियो ।

१७.   आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा सर्वप्रथम रूलिङ बाझिएको छ छैन सो नै हेर्नु पर्ने हुन आयो । एउटै विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट दुई भिन्न भिन्न सिद्धान्त स्थापित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ बाझिएको भन्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा रूलिङ बाझियो भनेको निवेदक रघुनाथ यादव समेत विपक्षी लड्डुवती यादवनी भएको (सम्वत् २०३५ सालको दे.वि.नं. ४९) अंश जग्गा दर्ता मुद्दामा २००४ सालमा नै अंश हकको जग्गा वादी प्रतिवादीका नाउँमा अलगअलग दर्ता रही आफ्नो भाग भोगी आएको भएपछि वादीले कानुनले नै अंश लिन नपाउने हुँदा वादीको अंशमा दावा नपुग्ने भन्ने समेत ०३७।५।२ मा निर्णय भएको देखिन्छ । उक्त मुद्दामा अंशबण्डाको ३० नं.को प्रश्न उपस्थित भएको र सोही प्रश्नमा डिभिजन बेञ्चबाट निर्णय भएको पाइन्छ । तर प्रस्तुत मुद्दामा भने अंशियारहरूको नाउँमा अलगअलग जग्गाहरु दर्ता भोग देखिन आए तापनि मिसिल संलग्न जग्गाधनी दर्ता प्रमाण पूर्जाबाट त्यस्तो दर्ता भोगको जग्गा प्रेम बहादुरको नाममा ५१५, रत्न बहादुरको १२२ नारायण बहादुरको १२३ र उदय बहादुरको ९११५ देखिन आई समान देखिन नआएकोले अंशबण्डा गर्दा अंश पाउने सबैको अंश बराबर गर्नु पर्छ भन्ने अंशबण्डाको २ नं. विपरीत भएको देखिएकोले अंश पाउने ठहराएको शुरू इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरी डिभिजन बेञ्चबाट ०४०।६।६।५ मा निर्णय भएको पाइन्छ ।

१८.   यसरी रूलिङ बाझियो भनेको निवेदक रघुनाथ यादव समेत विपक्षी लडुवती यादवनी भएको माथि उल्लिखित अंश जग्गा दर्ता मुद्दामा अंशबण्डाको ३० नं. को प्रश्न विद्यमान रहेको र डिभिजन बेञ्चबाट उक्त प्रश्नमा नै निर्णय भएको देखिन्छ भने प्रस्तुत मुद्दामा अंशबण्डाको २ नं. को प्रश्न विद्यमान रहेको र सोही बुँदामा डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ । यसरी अलगअलग विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । रूलिङ बाझिएको नै नदेखिएको हुँदा प्रस्तुत मुद्दामा केही विचार गरी रहन परेन। मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

न्या.बब्बर प्रसाद सिंह

न्या.त्रिलोक प्रताप राणा

 

इतिसम्वत् २०४२ साल बैशाख २५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु