निर्णय नं. ९१६७ - चोरी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
फैसला मिति : २०७०।९।१८।५
०६६–CR–०६६५
मुद्दा : चोरी
पुनरावेदक/वादी : सुनील चौधरीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : कञ्चनपुर जिल्ला, भिमदत्त न.पा. वडा नं. ४ बस्ने महेश चौधरी
§ आफैँले किटानीसाथ चोरी भएको भनी जाहेरी दिने तर आफैँले भूलबश शङ्का मानी जाहेरी दिएको भनी बकपत्र गर्ने र मौकामा कागज गर्ने व्यक्तिसमेतलाई मौकामा चोरी भएको भनी भन्ने तर पछि भूलबश भनेको भन्नेसमेत देखिएको स्थितिमा जाहेरवालाले झूट्ठा (बनावटी) जाहेरी दिएको मान्नुपर्ने अवस्था देखिन आउँदा चोरी जस्तो गम्भीर कसुरमा शङ्का र हतारमा किटानी जाहेरी दिने जाहेरवाला स्वयम् सजायका भागीदार हुनुपर्ने ।
(प्रकरण नं. ५)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री उद्धव पुडासैनी
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ प्रमाण ऐन, २०३१ को दफा ९, १८
§ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२)
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री पदमराज भट्ट
पुनरावेदन तहमा फैसला गर्न ׃
मा.न्या. श्री डिल्लीराज आचार्य
मा.न्या. श्री बाबुराम रेग्मी
फैसला
न्या. प्रकाश वस्ती : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर निम्न प्रकार छ :
मिति २०६५।३।२२ गतेको राति छिमेकी महेश चौधरी र राजु डगौरा मेरो घरमा आई सुते । यसअघि पनि कहिलेकाहीँ आई सुत्ने गर्दथे । महेश चौधरीलाई मेरो घर कोठाका बारेमा सबै जानकारी थियो । राति कतिबेला उठेर मेरो बाकस फोडी त्यसमा रहेको रू.४१०७५ (एकचालीस हजार पचहत्तर) लगी लत्ता कपडाहरू खेतबारीमा फालिदिएका रहेछन् । बिहान उठ्दा मात्र थाहा भयो । निजलाई पक्राउ गरी चोरीमा कारवाही गरी सजाय गरी पाउँ भन्ने सुनील चौधरीले वडा प्रहरी कार्यालयमा दिएको मिति २०६५।३।२३ को निवेदनपत्र ।
पूर्व टीकाराम डगौराको खेतवारी, पश्चिम टीकाराम डगौराको पक्की घर, उत्तर प्रकाश चौधरीको खाली जमिन, दक्षिण मानसिँह खत्रीको घर यति चारकिल्लाभित्रको सुनील चौधरीको घरमा जाहेरीमा उल्लेख भएबमोजिम चोरी भएको घटनास्थल भन्ने मिति २०६५।३।२३ को घटनास्थल वस्तुस्थिति मुचुल्का ।
जाहेरवालाको खाली जमिनमा रहेको टिनको बाकसको अगाडितर्फको कुण्डी (लक) टुटी बाकस खाली र खुल्ला अवस्थामा रहेको बाकसको नजिक तरकारी काट्ने छुरा (चक्कु) रहेको, पायन्ट एकवटा र यत्रतत्र छरिएर रहेका क्यासेटका चक्काहरू रहेका भन्ने मिति २०६५।३।२३ को खानतलासी बरामदी मुचुल्का ।
प्रतिवादी महेश चौधरी बस्ने घरको कोठामा रहेको स्टिल दराजको सबै भन्दा माथिल्लो खण्डमा रहेको हरियो कभर भएको किताबको बीचमा एक/एक हजारको दुईवटा नोट बरामद भएको भन्ने मिति २०६५।३।२५ को बरामदी मुचुल्का १ र अन्तुराम चौधरीको घरको देवाल नजिक काठको बासा (चूली) मा डोराले बाँधी राखेको माटोको करूवाभित्र रू.१००० का नेपाली नोट ३५ वटा, पाँचसय भारूको नोट एक, १०० नेपालीका दुई, २० नेपालीको एक र ५ नेपालीको एक, गरी जम्मा रू.३६०२५। (छत्तीस हजार पच्चीस) नेपाली रूपियाँ बरामद भएको भन्ने सोही मितिको अर्को बरामदी मुचुल्का ।
मिति २०६५।३।२२ गते आफ्नै घरमा खाना खाई सुनील चौधरीको घरमा सुत्न गएको हुँ । सुनील चौधरी खाना खान गएको मौकामा त्यही कोठाको दायाँ साइडमा सानो बाकस देखें । पछि छिमेकी साथी राजु डगौरा पनि आयो । तीनैजना दुईवटा खटिया मिलाएर सँगै सुत्यौं । उनीहरू निदाएपछि टिनको बाकसलाई बाहिर ल्याई बरण्डामा रहेको चक्कुले चाबी टुटाई बाकसभित्र रहेका पैसा मैले खल्तिमा हालेँ । बाकसलाई निजकै खेतमा राखी दिएँ । फेरि सुत्न गएँ । भोलिपल्ट बिहान उठी घर गएँ । चोरीको रकम दुई हजार स्टिलको दराजमा राखेको र अरू रकम घरको देवाल नजिक काठको बासामुनि भाडोमा लुकाई राखेको थिएँ । चोरी म एक्लैले गरेको हुँ भन्नेसमेत व्यहोराको महेश चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
वडा प्रहरी कार्यालयमा निवेदन दिएअनुसारको चोरीको नगदमध्ये बरामद भएको नगद मेरो हो । म जाहेरवाला र राजु डगौरा सुतेको अवस्थामा निजले चोरी गरेको हुन् । बाकस र चक्कुसमेतका सामानहरू मेरै घरको खेतमा भेटिएका बरामद भएका सामानहरू हुन् । महेश चौधरीले रू.४१०७५।– चोरी गरेका हुन् । यस चोरीमा अरू कसैको संलग्नता छैन । कानूनबमोजिम कार्वाही गरी पाउँ भन्ने सुनील चौधरीको मिति २०६५।३।३० को जाहेरी ।
देखाइएको बाकस र चक्कुसहितका सामानहरू देखेँ । बरामद भएको नगद रू.३८०२५ मेरो भएको हुँदा हेरी, चिनी यो सनाखात कागज गरेँ भन्ने सुनील चौधरीको मिति २०६५।४।१ को सनाखत कागज ।
म जानुभन्दा पहिले नै महेश चौधरी सुनीलको घरमा गएर बसेका थिए । राति सँगै सुतेका हौं । राति महेशले सुनीलको पैसा चोरेको र चोरीको रकम प्रहरीले बरामद गरेको भन्ने भोलिपल्ट महेशले भनेर थाहा पाएको हुँ । महेश चौधरीबाहेक अरू कसैको संलग्नता छैन भन्नेसमेत राजु डगौराको कागज ।
सुनील चौधरीको घरमा सुत्न गएको अवस्थामा महेश चौधरीले सुनील चौधरीको पैसा चोरेको र चोरिएको रकम प्रहरीले बरामद गरेको भन्ने सुनी थाहा पाएका हौं भन्ने रामबहादुर चौधरी, पल्टुराम चौधरी र बलराम चौधरीले मौकामा गरिदिएको कागज ।
चोरी भएको भनी किटानी जाहेरी परेको, मौकामा कागज गरिदिनेहरूले पनि चोरी भएको भनेका र स्वयम् प्रतिवादीले नै जाहेरीवालाको रकम चोरी गरेको भनी स्वीकार गरी बयान गरेको र रू.३८०२५।– बरामद तथा अन्य सामानहरूसमेत बरामद भएको हुँदा प्रतिवादी महेश चौधरीलाई चोरीको १ नं. बमोजिमको कसुरमा ऐ.को १२ नं.बमोजिम सजाय गरी पाउँ । बरामद भएको नगद र सामान जाहेरवालालाई फिर्ता दिलाई नपुग रू. ३०५०।– चोरीका १० नं. बमोजिम प्रतिवादीबाट जाहेरवाला सुनील चौधरीलाई भराई पाऊँ भन्ने अभियोगपत्र ।
सुनील चौधरी, राजु डगौरा र म सँगै सुतेका हौँ । एकापट्टि राजु र मबीचमा भई सुतेका हौँ । भोलिपल्ट आफ्नो पायन्ट खोज्दा भेट्याएन । तीनैजानको पायन्ट बाहिर फ्याँकिएको देखेँ । पैण्टमा हिलो लागेकोले धुनलाई राखी म खेतमा मिड हाल्न गई मिड हाली बिहानको खाना खाई पायन्ट धुनका लागि गोजीमा हेर्दा रू.३८,०००।– भेट्टाएँ । डरले कसैलाई केही नभनी घरको माटोको घैँटामा लुकाई राखेको हुँ । जाहेरवालाको घरबाट मैले चोरी गरेको हैन । जाहेरवाला सुनील चौधरीलाई मसँगको सङ्गत छुटाउन पहिलेदेखि नै निजको परिवारले निजलाई गाली गरिरहन्थे । चोरीमा फसाएपछि त सङ्गत छुट्ला भन्ने परिपञ्चबाटै झूट्ठा परिपञ्च गरी जाहेरवालाबाटै जाहेर गर्न लगाइएको हो । अनुसन्धानको क्रममा मैले चोरी गरेको हुँ भनी भनेको हैन, लेख्नेले आफैँ लेखी लौ सही गर भने । मैले पढेर सुनाउन भन्दा बढी भएको “थरूवा ” भन्दै कुटपीट गर्न थालेकोले सहन नसकी बाध्य भएर सही गरेको हुँ । हातका नङहरूमा आलपिन ठोकेका थिए । हल्का डामसम्म देखिन सक्छ । जाँच भने गराइन । देखाइएको पायन्ट जाहेरवालाको हो । यो पायन्टबाट बरामद भएको हैन । मेरो पायन्टको खल्तीमा भेट्टाएको हुँ । दावीअनुसारको कसुर मैले नगरेको हुँदा सफाइ पाउनुपर्दछ भन्नेसमेत प्रतिवादी महेश चौधरीले अदालतमा गरेको बयान ।
रू.४१,०७५।– मैले काम गर्ने पसलबाट लगेर घरमा गएको थिएँ । महेश, राजु र म एउटै कोठामा सुतेका थियौं । पायन्ट सबैको कालो रङ्गको थियो । सुत्नुअघि महेशको पायन्ट हो भन्ने थाहा नपाई मेरै पायन्ट सम्झी त्यसैमा पैसा राखेँ । पसलमा गई खल्तीमा हेर्दा रकम नदेखी राजुलाई सोधेँ । राजुले मैले लिएको छैन भन्यो । त्यसपछि महेशको घरमा गएँ । महेश घरमा नरहेकोले पैसा लिएर भाग्यो भन्ने शङ्का लागी तुरून्तै जाहेरी दिएँ । प्रतिवादी महेश चौधरीले चोरी गरेको छैन । मेरै गल्तीबाट आफ्नो पायन्ट सम्झी महेशको खल्तीमा राखेको हुँ । मेरो पैसा मिल्दैन कि भन्ने शङ्काले मात्र जाहेरी दिएको हुँ । प्रतिवादी महेश चौधरीले चोरी नगरेको हुनाले सजाय पाउनु पर्ने हैन भन्ने जाहेरवाला सुनील चौधरीको बकपत्र ।
सुनील, राजु र महेश सँगै बस्ने, खाने उठ्ने व्यक्तिहरू हुन् । तीनैजना सँगै सुतेका र सुनीलले आफ्नो पायन्ट सम्झेर महेशको पायन्टमा पैसा राखेको रहेछ । तीनै जनाको पायन्टको रङ्ग कालो थियो । भूलबश सुनीलले महेश चौधरीको पायन्टमा पैसा राखिदिएको हो । महेश चोरी गर्ने खालको व्यक्ति हैनन् र शङ्काले जाहेरी दिएको हो । प्रहरीले मिलापत्र गरिदिन्छु भनी मबाट कागज बनाएको हो । व्यहोरा पढाएनन्, सही मात्र गराएका हुन् भन्ने वस्तुस्थिति मुचुल्काका पल्टुराम चौधरीको बकपत्र ।
जाहेरवाला र महेशसँगै बस्ने सुत्ने साथी हुन् । जाहेरवालाको पायन्टको कलर र महेशको पायन्टको कलर एउटै भएकोले जाहेरवालाले झुक्किएर पैसा राखेको रहेछ । बिहान महेश खेतमा काम गर्न गएको हुँदा पायन्टमा पैसा नपाएपछि महेशले मेरो पैसा लगेर भाग्यो कि भनेर जाहेरी दिएको रहेछ । यो कुरा सुनील आफैँले भनेपछि थाहा पाएको हुँ । महेश सीधा चालचलनको मान्छे हो । चोरी नगरेको हुँदा महेशले सफाइ पाउनुपर्दछ । अनुसन्धानको सिलसिलामा भएको कागजको व्यहोरा मेरो हैन, सही मेरो हो भन्ने प्रतिवादी महेश चौधरीको साक्षी तथा अनुसन्धानको सिलसिलामा कागज गर्ने व्यक्ति बलराम चौधरीको बकपत्र ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज, अनुसन्धानको क्रममा भेटिएका सामान र बरामदी मुचुल्कासमेतबाट पुष्टि भएको छ । जाहेरवालाले अदालतमा गरेको बकपत्र अनुसन्धानको सिलसिलामा तयार भएका कागज प्रमाणहरूमा आधारित नहुँदा महेश चौधरीले अभियोग दावीअनुसार चोरी गरेको ठहर्छ । चोरीको बिगो रू.४१०७५।–बमोजिम जरीवाना र एक महिना कैद हुन्छ र रू.३८००।– प्रतिवादी महेश चौधरीबाट जाहेरवालाले भरिपाउने ठहर्छ भन्ने कञ्चनपुर जिल्ला अदालतको मिति २०६५।१०।१ को फैसला ।
जाहेरवाला र वस्तुस्थिति मुचुल्काका साक्षीहरूले समेत चोरी गरेको हैन, भूलबाट जाहेरवाला आफैँले मेरो पायन्टको खल्तीमा राखिदिएको हो भनी बकपत्र गरेको अवस्थामा अनुसन्धानको सिलसिलामा भएका कागज र बयानलाई मात्र आधार मानी कसुरदार कायम गरिएको छ । रू.३८०२५।– मात्र बरामद भएको भनिएको छ, जबकि दावी रू.४१०७५।– को रहेको छ । अनुसन्धानको सिलसिलामा तयार भएको कागजलाई अदालतबाट बुझिएको अवस्थामा मौकामा कागज गर्नेहरूको अदालतमा भएको बकपत्रबाट पुष्टि भएमा मात्र प्रमाणमा लिन मिल्ने प्रमाण ऐन, २०३१ को दफा १८ को प्रतिकूल मूल्याङ्कन गरी चोरी गरेको ठहर्याएको कञ्चनपुर जिल्ला अदालतको मिति २०६५।१०।०१ को फैसला अन्यायपूर्ण र त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्ने प्रतिवादी महेश चौधरीले पुनरावेदन अदालत, महेन्द्रनगरमा लिएको पुनरावेदन जिकिर ।
जाहेरवालाले अदालतमा गरेको बकपत्रको मूल्याङ्कन नगरी भएको सुरूको फैसला प्रमाणको मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकीलको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६६।६।२८ को आदेश ।
जाहेरवाला तथा बरामदी मुचुल्कामा रहेका साक्षीहरू पल्टुराम चौधरीसमेतको अदालतमा भएको बकपत्रबाट प्रतिवादीले चोरी गरेको भन्ने देखिन नआएकोले आरोपित कसुरबाट प्रतिवादी महेश चौधरीले सफाइ पाउने ठहरी सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०६५।१०।१ को फैसला उल्टी हुने ठहर्छ । झूट्ठा बनावटी जाहेरी दिने जाहेरवालालाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२)(क) अनुसार तजवीजी रू. १०००।– एकहजार जरिवाना हुनेसमेत ठहर्छ भन्ने पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला ।
जाहेरवाला र प्रतिवादी साथी भएका र जाहेरवालाले आफ्नो चोरी भएको रकमको महत्त्वपूर्ण हिस्सा प्राप्त गरी सकेपछि प्रतिवादीसँग मिलोमतो गरी निजलाई सफाइ दिलाउने मनसायले अदालतसमक्ष प्रतिकूल (Hostile) बकपत्र गरेको देखिन्छ भने अन्य वादी पक्षका साक्षीहरूसमेतले सोही मिलानको बकपत्र गरी न्याय निरूपणको विषयलाई जटिल बनाउने दुष्प्रयास गरेको तथ्यतर्फ कुनै विवेचना नगरी साथै बरामद हुन आएको दसी अपराध सम्बन्ध दसी प्रमाणलाई उपेक्षा गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी हुँदा सुरू कञ्चनपुर जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला प्रमाण र कानूनको त्रुटिपूर्ण भई बदरभागी हुँदा सो फैसला बदर गरी प्रतिवादी महेश चौधरीलाई सुरू अभियोग मागदावीबमोजिम सजाय गरी पाउँ भन्ने वादी नेपाल सरकारले यस अदालतमा लिएको पुनरावेदन जिकिर ।
यसमा घटनास्थल प्रकृति मुचुल्का मौकामा भए गरेको कागज तथा बरामद दसी प्रमाणबाट प्रतिवादीले चोरी गरेको देखिएको साथै जाहेरवालाको अदालतमा भएको बकपत्रलाई बरामदी मुचुल्का र दसी प्रमाणले खण्डन गरेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १८ को कानूनी व्यवस्थाको समेत त्रुटि रहे भएकोले प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६६।९।२८ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको २०२ नं. बमोजिम प्रस्तुत मुद्दामा प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।१२।१६ को आदेश ।
नियमानुसार दैनिक पेसीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट रहनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री उद्धव पुडासैनी प्रतिवादी अधिकारप्राप्त अधिकारीसमक्ष चोरी गरेकोमा साबित मात्र छैनन्, चोरीको रकमसमेत बरामद भएको छ । अदालतमा इन्कारी बयान गर्दा मेरो पायन्टमा राखिदिएछन् डरले भनिन, रकम लगेर लुकाएर राखेँ भनेको पाइन्छ । तर, ईमान्दारीपूर्वक तत्काल रकम भने दिएको अवस्था छैन । बरू फरकफरक स्थानमा लुकाई राख्दछन् । यसबाट पनि महेश चौधरीको असल नियत देखिँदैन । चोरी अपराध सिङ्गो समाजको विरूद्धको नैतिक पतन हुने अपराध हो । यस्तो अपराधमा जाहेरवालाले जाहेरी दिएको व्यहोराविपरीत बकपत्र गरेको आधारमा निर्दोष भन्ने हो भने सिङ्गो समाजमा नै नकारात्मक असर पर्दछ र चोरी गर्नेले हौसला पाउने अवस्था आउने हुँदा पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी प्रतिवादीले चोरी गरेको ठहराएको सुरू कञ्चनपुर जिल्ला अदालतबाट भएको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिरसमेत सुनियो ।
२. निर्णयतर्फ विचार गर्दा जाहेरवाला सुनील चौधरीले आफूसँगै आफ्नो कोठामा सुतेका प्रतिवादी महेश चौधरीले कोठामा रहेको टिनको बाकस फोडी नगद रू.४१०७५।– चोरी गरेकोमा कारवाही गरिपाउँ भनी इलाका प्रहरी कार्यालयमा निवेदन दिएका र पछि जाहेरी दिदाँसमेत सोही व्यहोरा नै उल्लेख गरी लेखाई दिएको पाइन्छ । जाहेरीअनुसारको पूरै रकम बरामद हुन नसके पनि केही कम रकम अर्थात रू.३८०२५।– बरामद भएको छ । ताल्चा फोडिएको टिनको बाकससहितका चक्कु पायन्टलगायतका सामानहरू बरामदसमेत भएका छन् । मौकामा कागज गर्ने पल्टुराम चौधरी, बलराम चौधरी, रामबहादुर चौधरी र सँगै सुतेका राजु डगौराले सुनील चौधरीले भनेअनुसार महेश चौधरीले चोरी गरेको भनी कागज गरेका छन् ।
३. प्रमाण ऐन, २०३१ को दफा १८ ले तहकिकात वा जाँचबुझको सिलसिलामा तयार भएका लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीका रूपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा किटानी जाहेरी दिने जाहेरवाला सुनील चौधरीले तीनैजनाको पायन्टको रङ्ग कालो भएकोले भूलबश पैसा मैले नै महेश चौधरीको पायन्टमा राखिदिएछु । तत्काल महेशलाई खोज्दा भेट नभएकोले चोरी गरी भागेको सम्झेर जाहेरी दिन पुगे । महेशले चोरेको हैन, म आफैँले भूलबश राखेको हुँ । चोरी गरेको अभियोगमा महेशलाई सजाय गर्नुपर्दैन भनी अनुसन्धानको सिलसिलामा भएको कागजको ठीकविपरीत हुने गरी बकपत्र गरेका छन् । तहकिकात वा जाँचबुझको सिलसिलामा वस्तुस्थिति मुचुल्कामा रहेका पल्टुराम चौधरी र बरामदी मुचुल्कामा रहेको बलराम चौधरीलेसमेत जाहेरवालाकै बकपत्रसँग मिल्ने गरी बकपत्र गरेका छन् । बरामदी मुचुल्कामा रहेको यिनै बलराम चौधरीले नै प्रतिवादी महेश चौधरीको साक्षीको रूपमा अदालतमा उपस्थित भई बकपत्र गर्दा जाहेरवाला र महेश चौधरी सँगै बस्ने, खाने, उठ्ने गर्ने साथी साथी भएको भन्दै निजको चालचलन राम्रो भएको सिधा व्यक्ति रहेको र निजले चोरी गरेको नभै जाहेरवाला सुनील चौधरीले नै भूलबश महेशको पायन्टमा पैसा राखिदिएकोले चोरीमा सजाय हुनुपर्ने हैन, सफाइ पाउनुपर्दछ भनी बकपत्र गरेका छन् । प्रहरीमा भएको साबितीलाई अन्य प्रमाणहरूबाट पुष्टि हुनुपर्ने हुन्छ । जाहेरी दरखास्त र प्रहरीमा भएको साबिती बयानको आधारमा मात्र कसुरदार ठहर गर्नु कानून एवम् न्यायसङ्गत हुँदैन । जाहेरवाला र मौकामा कागज गर्नेहरूबाट आरोप प्रमाणित हुनुको बदला प्रस्तुत मुद्दामा आरोप नै खण्डित हुन गएको अवस्था देखिन आएको छ ।
४. प्रतिवादी र जाहेरवाला पायन्ट खोलीसँगै सुतेकोमा दुबैको पायन्टको रङ्ग कालो रहेको भन्ने निजहरूको कथनबाटसमेत खुलेको अवस्थामा रातिको समयमा भूलवश एकामा राखेको भनी अर्कोमा भूलवश राख्न सक्ने कुरा स्वाभाविक पनि हुन सक्छ । प्रतिवादी भोलिपल्ट उठी आफ्नो घरतर्फ गएको र जाहेरवालासँग जाहेर दिनुअगावै भेट भएको भन्ने तथ्य पनि मिसिलबाट खुलेको देखिँदैन । यसबाट पनि घटनाक्रमबारे जाहेरवाला र प्रतिवादीबीच कुनै संवाद छलफल नै नभई भूलवश एवम् शङ्काको आधारमा जाहेरी परेको भन्ने तथ्यलाई थप पुस्ट्याइँ गरेको छ । त्यस्तै वादी पक्षको सबै साक्षीहरू वादी दावी नै खण्डित हुने गरी प्रतिवादी पक्षका लागि आरोपित कसुरबाट सफाइ पाउन आधार प्रमाणका रूपमा एकमतका साथ प्रस्तुत भएका छन् । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबितीलाई र बरामदी मुचुल्कालाई आधार मान्ने हो कि भन्नलाई पनि प्रतिवादीले अदालतमा बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज आफूले भनेबमोजिम लेखिएको नभै तयार गरेको कागजमा सही गर्न भनेका र पढेर सुनाउन “भन्दा थरूवा साले......” लगायतका अपशब्दहरू प्रयोग गरी औँलामा आल्पिनले घोची यातना दिएकाले बाध्य भै सही गरेको हुँ भनी बयान (स.ज. ११) गरेका छन् ।
५. प्रमाण ऐन, २०३१ को दफा ९ ले मुद्दामा कुनै पक्षले व्यक्त गरेको कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था गरेको छ तर त्यसरी व्यक्त गरेको कुरा निजलाई बाध्य पारी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छाविरूद्ध सो कुरा व्यक्त गरेको होइन भन्ने देखिनुपर्ने (दफा ९.२(क) को देहाय २ मा) व्यवस्था गरेको छ । इच्छाविरूद्ध बयान कागज गर्न बाध्य पार्ने क्रियाकलापका रूपमा गाली गलौज गरेको र नङमा आल्पिनले घोचेका भनी क्रमबद्धरूपमा आफ्नो बकपत्रमा भनेका छन् । यसबाट प्रमाण ऐन, २०३१ को दफा ९(२) को आधारमा आरोप खम्बीर भएको अवस्था छ भन्ने पनि देखिन आएन । प्रतिवादीको प्रहरीमा भएको साबिती बयान कागज डर धम्की र मानसिक तथा शारीरिक यातनाबाट गराएको भन्ने कुरा मौकामा कागज गर्ने बरामदी मुचुल्का र बस्तुस्थिति मुचुल्काका साक्षीहरूको बकपत्र र स्वयम् जाहेरवालाको बकपत्रबाटसमेत चोरी गरेको हैन भन्ने तथ्य नै पुष्टि भएको पाइन्छ । आफैँले किटानीसाथ चोरी भएको भनी जाहेरी दिने तर आफैँले भूलबश शङ्का मानी जाहेरी दिएको भनी बकपत्र गर्ने र मौकामा कागज गर्ने पल्टुराम चौधरी र बलराम चौधरीसमेतलाई मौकामा चोरी भएको भनी भन्ने तर पछि भूलवश भनेको भन्नेसमेत देखिएको स्थितिमा जाहेरवालाले झूट्ठा (बनावटी) जाहेरी दिएको मान्नुपर्ने अवस्था देखिन आयो । चोरी जस्तो गम्भीर कसुरमा शङ्का र हतारमा किटानी जाहेरी दिने जाहेरवाला स्वयम् सजायका भागीदार हुनुपर्ने देखिन आयो । जाहेरवाला वर्ष १८ का कलिलो उमेरको भन्ने देखिएकोले झूट्ठा (बनावटी) जाहेरी दिएको कसुरमा निजलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२)(क) अनुसार तजवीजी रू.१०००।– जरीवाना हुने ठहराएको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला मिलेकै देखिन आयो ।
६. अतः माथि उल्लिखित प्रमाण र कानूनको विवेचित आधार एवम् जाहेरवाला तथा बरामदी मुचुल्कामा रहेका साक्षीहरू पल्टुराम चौधरीसमेतको अदालतमा भएको बकपत्रबाट प्रतिवादीले चोरी गरेको भन्ने देखिन नआएकोले आरोपित कसुरबाट प्रतिवादी महेश चौधरीले सफाइ पाउने देखिन आएकोले अभियोग दावीबमोजिम प्रतिवादी महेश चौधरीलाई चोरीमा सजायसमेत हुने ठहर्याएको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०६५।१०।१ को फैसला उल्टी हुने ठहराई झूट्ठो एवम् बनावटी जाहेरी दिने जाहेरवालालाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२) अनुसार तजवीजी रू.१०००।– जरीवाना हुनेसमेत ठहर्याएको पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६६।९।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । यो मिसिलको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल पुस १८ गते रोज ५ शुभम्
इजलास अधिकृत : हर्कबहादुर क्षेत्री