निर्णय नं. २२४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २२४७ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४१ सालको रि.नं. २१०६
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
निवेदक : भ.पु.जि.न.पं. वडा नं. १६ बस्ने तेखाचो कृष्णदेवी जोन्छेनी
ऐ.ऐ बस्ने नारायण भक्त जोन्छे
विरूद्ध
विपक्षी :प्रधान पंच श्री ज्ञानबहादुर न्याई च्याई
भक्तपुर नगर पंचायत
आदेश भएको मिति:२०४२।१।१० मा
विवादको जग्गाहरू यो यसको हो वा होइन भनी हक बेहक छुट्याउने अधिकार नगर पञ्चायत ऐन, ०१९ को दफा १७(८) ले नगर पञ्चायतलाई प्रदान गरेको देखिन्न ।
(प्रकरण नं.७)
आदेश
न्या.त्रिलोक प्रताप राणाः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ ।
२. भक्तपुर जिल्ला हाल न.पं. वडा नं. १६ तेखाचो टोल अन्तर्गत पूर्व साझा चोक, पश्चिम पोखरी उत्तर गणेशबहादुरको घर, दक्षिण ऋणीकै बाँकी घर, यति ४ किल्ला भित्रको पूर्व मोहडा उत्तर दक्षिण लम्बाई २० हातको १ नाले ४ तल्ले दक्षिणतर्फको लम्बाई १४।। हात भएको झिंगटी घर र सोको उत्तरतर्फको लम्बाई ५।। हातको कच्ची पराले घर मध्ये उत्तरतर्फको छेडी माटन चोटा तल्लासम्म ५।। बाहेक गरी भ.पु.जि. तेखाचो बस्ने विष्णुहरीबाट जोन्छेसँग रु. २९९९। मा मिति ०१९।१।१४ गते र पूर्व साझा बाटो, पश्चिम तेखा पोखरी, उत्तर गणेशबहादुरको घर, दक्षिण ऋणीको घर यति ४ किल्लाभित्रको भ.पु. तेखाचो टोल नं. १।५६ को उत्तर दक्षिण लङको पूर्व मोहडाको १।। कवले ३ तल्ले पक्की झिंगटी घर र सो घरले चर्चेको लगापात समेत रु. १,६९९ मा भ.पु.तेखाचो बस्ने मिश्री नानीवाटा जोन्छेनीसँग म निवेदिका मध्येकी कृष्णदेवी जोन्छेनीले मिति ०२०।१।१७ गते रजिष्ट्रेशन मार्फत फार्छे कागज गरी लिई मेरो हक भोग प्राप्त भई लिखत बमोजिम अद्यापितक सोही घरमा बसोबास गरी भोगी आएको हुँदा लिखत तथा लिखतका किल्लाभित्र घर र घरले चर्चेको लगापात समेत अवछिन्न रूपमा भोगी आएको थिएँ । यसै बीच विपक्षी पञ्चायतका जा.नारायणभक्त प्रजापतीले निवेदक मध्येको म नारायणभक्त जोन्छे न.पं.को स्वामित्व भएको जग्गामा स्वीकृत नलिई जथाभावी मकै छरी राखेको भनी मलाई पक्राउ गरी विपक्षीको कार्यालयमा उपस्थित गराई बयान लिएकोमा मैले तेखा पोखरी देखि पूर्व र मेरो श्रीमती कृष्णदेवीको घर देखि पश्चिम पट्टीको जग्गा मध्ये मेरो श्रीमतीको घर देखि पश्चिमा अन्दाजी पूर्व पश्चिम १० फुट उत्तर दक्षिण ८ फिट जति मेरो श्रीमतीको हकको जग्गा र अरू पश्चिमतर्फ पर्ति जग्गा भइरहेकोमा सो गाउँमा टोलका जनताहरूले दिसा पिसाव गरी धेरै फोहर मैला भई घरमा समेत बस्न नहुने गरी दुर्गन्ध भएको, सुग्घर सफा गरी अरू केही जतन नभएकोले बाँसले बार बाँधी फूलवारी गर्ने गरी कहीँ मकै छरी राखेको हो, पर्ति जग्गा मिच्ने मनसायले गरेको होइन भन्ने समेत व्यवहोराको म नारायणभक्त जोन्छेले लिखत समेत पेश गरी बयान गरेको प्रस्तुत मुद्दामा विपक्षी नगर पञ्चायतका प्रधानपञ्चले तेखा पोखरीको पूर्वको पर्ति जग्गामा मकै छर्यो भन्ने जाँचकी र फोहर हटाउन फूलवारी गर्न र कहीं कहीं मकै छरेको हो भन्ने प्र.को साविती बयान कागज हुँदा बिना स्वीकृतिले त्यसरी पर्ति जग्गामा मकै छरी जथाभावी गरेतर्फ न.पं. ऐनको दफा ५४ बमोजिम निज प्र.लाई तजविज रु. २५। जरिवाना गरी असूल गर्ने र तेखा पोखरीको पूर्व मेरो श्रीमतीको घर देखि पश्चिम अं. १०। फिट मेरो श्रीमतीको जग्गा बाँकी छ भन्ने सम्बन्धमा पेश भएको मिति ०१९।१।२४ गतेको र मिति ०२०।१।१७ को तमसुकमा, घर मात्र उल्लेख भएको र सो घर देखि पश्चिम पाताल छ भन्ने उल्लेख नहुनुको साथै ४ किल्ला साँधमा पश्चिम तेखा पोखरी उल्लेख भएकोले प्र. को दावी बमोजिम निजको जग्गा नभई तेखा पोखरीकै पर्ति जग्गा देखिएकोले साविकै बमोजिम पर्ति जग्गा खुल्ला गरिदिनु भन्ने ०४०।१०।२० गते पर्चा गर्नुभयो । हक बेहकमा छुट्याउनु पर्ने विषयमा उजूरी सुनि निर्णय गर्ने पाउने गरी विपक्षीलाई कानुनले अधिकार प्रदान गरेको छैन । सबूत प्रमाण बुझी हक छुट्याउनु पर्ने अवस्थाको मुद्दामा सुनी लिखतभित्रको म कृष्णदेवीको भोगाधिकारको अचल सम्पत्तिलाई पोखरीको पर्ति भनी ठहर गर्न विपक्षी प्रधानपञ्चलाई न.पं. ऐन, ०१९ को दफा १७(८) ले अधिकार प्रदान गरेको छैन । आफूलाई अधिकार नभएको मुद्दा हेर्न छिन्न हुँदैन । हेरी छिनेको भए पनि बदर हुने गरी अ.बं. ३५ नं.मा व्यवस्था गरिएको छ । यस प्रकार म वास्तविक लिखतबाट हक प्राप्त व्यक्तिलाई नबुझी हक बेहक समेतको निर्णय गरेको विपक्षी न.पं.को उक्त पर्चाबाट क्षेत्राधिकारको अतिक्रमण हुनगएको हुँदा उक्त पर्चा अ.बं. ३५ नं.ले बदरभागी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेतको निवेदन जिकिर ।
३. यसमा विपक्षीबाट लिखित जवाफ मगाई पेश गर्नु भन्ने सिङ्गल बेञ्चको मिति ०४१।३।१५को आदेश ।
४. विपक्षीहरूको दावी जिकिर अनुसार यस पञ्चायतले कुनै हक बेहकको कुनै अनधिकृत निर्णय भए गरिएको छैन । तेखा पोखरीको पूर्व विपक्षीको घर पश्चिमतर्फको पोखरी साँघुरिदै बन्न भएको डिल पर्ति जग्गामा विपक्षीले मकै छरी आफ्नो गराउन खाजेकोमा त्यस्तो नगर्नु साविक बमोजिम पर्ति खुल्ला राख्ने भन्ने सम्म यस पञ्चायतले निर्णय गरेको सम्म हो तसर्थ प्रस्तुत निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी नगर पञ्चायतको लिखित जवाफ ।
५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदकको जिकिर फाइल समेत अध्ययन गरियो ।
६. प्रस्तुत केशमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सो कुराको निर्णय गर्नुपरेको छ ।
७. यसमा मकै छरेको विवादको जग्गा मेरो श्रीमती कृष्णदेवी समेतको हक हो भनी नारायणभक्तले भक्तपुर नगर पञ्चायतमा बयान गरेको देखिन्छ । कृष्णदेवीलाई भक्तपुर नगर पञ्चायतले अ.बं. १३९ नं. बमोजिम बुझेको देखिन्न । “पेश भएको ०१९।१।१४ र ०२०।१।१७ को तमसुकमा घर मात्र उल्लेख भएको र सो घर देखि पश्चिममा पाताल छ भन्ने उल्लेख नहुनुको साथै ४ किल्ला साँधमा पश्चिम तेखा पोखरी उल्लेख भएकोले प्रतिवादीको दावी बमोजिम निजको जग्गा नभई तेखा पोखरीकै पर्ति जग्गा देखिएकोले साविक बमोजिम पर्ति जग्गा खुल्ला गरिदिने” भन्ने भक्तपुर नगर पञ्चायतबाट ०४०।१०।२० मा निर्णय भएको देखिन्छ । विवादको जग्गाहरू यो यसको हो वा होइन भनी हक बेहक छुट्याउने अधिकार नगर पञ्चायत ऐन, ०१९ को दफा १७(८) ले नगर पञ्चायतलाई प्रदान गरेको देखिन्न ।
८. अतः एवं भक्तपुर नगर पञ्चायतको ०४०।१०।२० को निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी उक्त कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४२ साल बैशाख १० गते रोज शुभम् ।