निर्णय नं. २२५३ - ज्यान

निर्णय नं. २२५३ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको फौ.पु.नं. ३८५
सम्वत् २०४० सालको फौ.सा.नं. १०२
मुद्दा : ज्यान ।
पुनरावेदक/प्रतिवादी :जि.गोर्खा केराबारी विरौट घर भै जि.का.कारागार शाखा काठमाडौंमा थुनामा बस्ने चन्द्रमान तामाङ
विरूद्ध
विपक्षी/वादी:कालु तामाङको जाहेरीले वादी श्री ५ को सरकार
फैसला भएको मिति:२०४२।१।९।१ मा
मार्नका मनसाय रहेनछ ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा बिष खुवाएकोमा बाहेक लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनको म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।
(प्रकरण नं.१३)
पुनरावेदक प्रतिवादी तर्फबाटःX
विपक्षी/वादी तर्फवाट: विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः पश्चिमान्चल क्षेत्रीय अदालत को मिति ०३८।३।५ को फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. ०३७।२।७ गते राति अं. १२ बजे पिडिमा सुती निदाएको अवस्थामा चन्द्रमानले ढुङ्गाले कन्चटमा हिर्काएको वेदनाले पूर्णी तामाङनी ०३७।२।१७ गते मरेको हुँदा जाहेर गर्न आएको छु भन्ने समेतको जाहेरी दर्खास्त ।
३. मृतक लाशको घिच्रा देखि माथि कन्चट बुलबुलमा ३ इन्च जति लम्बाई आधा इन्च जति चौडाइ र आधा इन्च गहिराइको ढुङ्गाले हानेको घाउ, गिदी समेत देखिएको भन्ने ०३७।२।२१ को लाश जाँच प्रकृति मुचुल्का ।
४. चन्द्रमानको कुटाइको चोटले पूर्णी तामाङनीको मृत्यु भएको भन्ने सरजमीन मुचुल्का ।
५. संकिलत सबूत प्रमाणबाट पूर्णी तामाङनीलाई चन्द्रमानले ढुङ्गाले कुटपीट गरेको र सोही चोटले निजको मृत्यु भएको भन्ने सिद्ध हुन आएको र भागी वेपत्ता हुँदा चन्द्रमानलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन । मृतक पूर्णी तामाङनी मेरी स्वास्नी हो । ०३७।२।७ का दिन खसी बेचेको पैसा जम्मा गरी फलानो केटोसँग पोइल जान्छु भनी भनेको सुनी रिस उठी २ धार्नी जतिको डल्लो ढुङ्गो लिएर स्वास्नीको कन्चटमा लाग्ने गरेर हानेको हुँ । स्वास्नी के भएर मरी छ भनी पछि आउँदा प्रहरीले पक्रेर दाखिल गरेको भन्ने समेतको चन्द्रमानको बयान ।
६. बाबु चन्द्रमानले ढुङ्गाले हानी सो चोटले आमा मरेको भन्ने जाहेरवाला कालु तामाङको बकपत्र रहेछ ।
७. प्र. चन्द्रमानले पूउर्णी तामाङनीलाई कर्तव्य गरी मारेको देखिँदा ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेतको गोर्खा जिल्ला अदालतको फैसला।
८. उक्त निर्णय उपर साधकको लगतमा पश्चिमान्चल क्षेत्रीय अदालतमा दर्ता भएको ।
९. शुरू गोर्खा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
१०. उक्त इन्साफ उपर प्र. चन्द्रमान तामाङको यस अदालतमा पुनरावेदन पर्न आई डिभिजन बेञ्च समक्ष पेश हुँदा पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने आदेश भएको ।
११. नियम बमोजिम पेशभएको प्रस्तुतमुद्दामा पुनरावेदक प्र.चन्द्रमानतर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्यालले मार्ने मनसाय नभई ढुङ्गाले हान्दा पूर्णीको मृत्यु भएको हुँदा ज्या.सं.को १३(३) लगाएको इन्साफ मिल्दैन भन्ने समेत विपक्षी तर्फबाट विद्वान अतिरिक्त सरकारी अधिवक्ता कृष्ण प्रसाद श्रेष्ठले चन्द्रमानको कर्तव्यबाट मरेकोमा विवाद नहुँदा पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि छैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१२. प्रस्तुत मुद्दामा पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा प्र.चन्द्रमान तामाङको कर्तव्यबाट पूर्णी तामाङनीको मृत्यु भएको कुरा विवाद रहित नै देखिन्छ अब प्र.चन्द्रमान तमाङलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गरेको इन्साफ उचित छ छैन भनी हेर्दा मेरी स्वास्नी मृतक पूर्णी तामाङनीले ०३७।२।७ का दिन मसँग साठी रुपैयाँ छ रक्सी बेचेको रु. चालीस आउँछ फलानो केटोसँग रु. २ सय छ, सबै मिलाई तीनसय हुन्छ त्यसपछि म त्यो केटोसँग पोइल जान्छु भनेको सुनी असाध्यै रिस उठ्यो र २ धार्नी जतिको डल्लो ढुंगाले कन्चटमा लाग्ने गरी हानेँ मेरी स्वास्नी त्यही लडेको थिई, त्यसपछि बुढी गुरूङस्यानी कराउन थालेपछि म भागे, पछि श्रावण महिनामा स्वास्नी मरेको छैन होली भनी पुरानो हाउँ भन्ने गाउँ आउँदा ठूलो बाबु मैते तामाङले तेरी स्वास्नी मरी भन्दा थाहा पाएँ भन्ने समेत प्र.चन्द्रमान तमाङको अदालतमा भएको बयान हेर्दा आफ्नो स्वास्नी अर्कोसँग पोइल जान लागेको कुरा सुनी स्वभावतः सो रिस थाम्न नसकी ढुंगाले हानी मारेको भन्ने देखिन्छ । चन्द्रमानले मृतक पूर्णी तमाङनीलाई ढुंगाले टाउकोमा हिर्काउँदा मर्न सक्ने छ भन्ने नसोची होश नपुर्याई हेल्चेक्राई गरी ढुंगाले हिर्काउँदा भवितव्य परी पूर्णिमाको मृत्यु भएको हुँदा ज्यानसम्बन्धीको ६ नं. आकर्षित हुने हुँदा ऐ. को १३(३) बमोजिम सजायँ गरेको मिलेन भन्ने वैतनिक अधिवक्ताको बहस जिकिरसँग सहमत हुनु सकिएन । मृतक पूर्णी तामाङनीलाई मार्नु पर्ने सम्मको रिसइवी भई मार्ने मनासयबाट प्रेरित भएर योजनाबद्ध तरिकाबाट प्र.चन्द्रमानले मारेको रहेछ भन्ने देखिन आउँदैन र परिस्थितिको मनन गर्दा आफ्नो स्वास्नी दोस्रो लोग्ने मानिससँग पोइल जान्छु भन्ने मृतककै मुखबाट सुने पछि निजलाई तत्काल रिस उठनु अस्वाभाविक देखिँदैन । त्यसरी तत्काल उठेको रिस थाम्न नसकी घटनास्थलमा प्राप्त ढुंगाले हानेको चोटबाट १० दिनपछि पूर्णी तामाङनी मरेकी भन्ने देखिन आएको छ । यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३(३) आकर्षित हुने भएन । ऐ. ज्यानसम्बन्धीको १४ नं. आकर्षित हुने देखिन्छ किनभने ज्यानसम्बन्धीको १४ नं. हेर्दा ज्यान मार्नका मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेन छ, उसै मैकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा बिष खुवाएकोमा बाहेक लाठी, ढुंगा, लात मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ तसर्थ उक्त मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) प्रयोग गरी प्र.चन्द्रमानलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरू गो.जि.अ.को इन्साफ सदर गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ । पुनरावेदनको तहबाट निर्णय भएकोले साधकको लगत कट्टा गरिदिनु । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार प्र.चन्द्रमान तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० दशको सजायँ लाग्ने ठहरेकोले सो लगत कायम गरी ऐनको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको शुरू गो.जि.अ.को मिति ०३७।१०।२२।४ को फैसलाबमोजिमको लगतकट्टा गर्नु भनी गोरखा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..१
उल्टीमा मा.न्या.द्वय श्री प्रचण्डाज अनिल र मेधराजबहादुर विष्टको रेकर्ड राख्नु...२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु....३
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल बैशाख ९ गते रोज १ शुभम् ।