निर्णय नं. २२५६ - ज्यान

निर्णय नं. २२५६ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् ०४० सालको डि.फौ.पु.नं. ५१६
मुद्दा : ज्यान ।
पुनरावेदक/प्रतिवादी:जि.नुवाकोट खडक भञ्ज्याङ गा.पं. वडा नं. ८ बस्ने दुर्गा नाथ घिमिरे
विरूद्ध
विपक्षी/वादी : नरेन्द्रजंग शाहको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति: २०४२।१।१४ मा
शंका र विश्वासलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन मिल्दैन ।
(प्रकरण नं.१८)
पुनरावेदक/प्रतिवादी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे
विपक्षी वादी तर्फबाटः विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्र पन्त
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन पर्न आएकोमा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. २०३७।४।२३ गते नुरप्रसाद म कहाँ आई दुर्गानाथ घिमिरेले भाइ बुहारीसँग अनैतिक सम्बन्ध राखी गर्भधारण गरेपछि ०३७।४।१६ गते गुराँसे खोलामा लगी कर्तव्य गरी मारी भीरबाट लडेको भान पारी मलामी समेतको सहयोबाट जलाई सकेकोले जाहेर गर्न आएको छु भन्ने ०३७।४।२७ को नरेन्द्रजंगको जाहेरी दर्खास्त ।
३. मैले बुहारीलाई करणी गरी गर्भधारण गरे पछि गुराँसे खोलाको भीरबाट ०३७।४।१६ मा खसाली मारेको भन्ने समेत दुर्गानाथको प्रहरीमा भएको बयान काजग ।
४. हिरादेवीलाई दुर्गानाथले गुराँसे खोलाको भीरबाट घचेडी मारेको विश्वास लाग्छ । लाश जलाउँदा बच्चा निस्केबाट कर्तव्य गरी मारेमा शंका लाग्ने भन्ने १३ जवानको सरजमीन मुचुल्का ।
५. प्र.दुर्गानाथलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेतको प्रहरी प्रतिवेदन ।
६. बुहारीसँग अुनचित सम्बन्ध रहेको कारणबाट मैले मोरेको होइन । बुहारी आफैं लडी मरेको हो म निर्दोष छु भन्ने समेतको दुर्गानाथको अदालतमा भएको इन्कारी बयान ।
७. हिरादेवीलाई हाडनाता करणी गरी पेट बोकाई अपराधबाट बच्न मारेको विश्वास लाग्छ भन्ने नरेन्द्रजंगको बकपत्र ।
८. दुर्गानाथले नै मारेकोमा विश्वास लाग्छ भन्ने नुरप्रसाद एवं पशुपतिनाथको बकपत्र।
९. मृतक आफैं लडी मरे जस्तो लाग्छ भन्ने समेतको तेजविलास एवं चन्द्रकुमारीको बकपत्र ।
१०. यसमा प्र.हिरादेवीलाई दुर्गानाथले मारेको देख्ने चस्मदिद कोही छैनन् र मृतक फेला पर्दासम्म कसैले शंकासम्म गरेको नदेखिँदा समेत दुर्गानाथले सफाई पाउने ठहर्छ भन्ने शुरू जिल्ला अदालतको फैसला ।
११. उक्त फैसला उपर श्री ५ को सरकारतर्फबाट मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।
१२. यसमा प्र.दुर्गानाथ अधिकारप्राप्त अधिकारी समक्ष सावित देखिँदा निजलाई सफाई दिने शुरूको फैसला मिलेको नदेखिँदा दुर्गानाथलाई सूचना दिने भन्ने समेत क्षेत्रीय अदालतबाट भएको आदेश ।
१३. प्र. दुर्गानाथले मृतक हिरा देवीलाई गर्भ बोकाई भीरबाट लडाई नमारेको भए लाश जलाउँदा बच्चा जन्मेको जाहेर गर्नु पर्ने सो समेत नगरी अधिकारप्राप्त अधिकारी समक्ष सावित भएको अब ४।६ महिनाको गर्भ भए सम्म थाहा नगरेको मनासिवमाफिकको कारण नहुँदा निजले मारेको ठहर्छ भन्नेसमेतको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको दुर्गानाथको यस अदालतमा पुनरावेदन परेको ।
१५. प्र.दुर्गानाथले हिरादेवीलाई कर्तव्य गरी मारेको भन्ने प्र.को प्रहरीमा भएको साविती बाहेक अन्य किटानी सबूत समर्थित हुन नआएकोले अ.बं. २०२ नं. बमोजिम श्री ५ को सरकारलाई छलफलको निमित्त सूचना दिई पेश गर्नु भन्ने यस अदालत डिभिजन बेञ्चको मिति ०४१।११।३ को आदेश ।
१६. नियम बमोजिम पेश भई आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान व.अ. श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले निश्चयात्मक सबूतको अभावमा कसूरदार ठहराउन मिल्दैन भन्ने समेत र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले प्र.प्रहरीमा सावित छन् निजले कसूर गरेको नभए ५।६ महीनको गर्भ भएसम्म प्रकाश नगरी गोप्य रूपमा रहनु पर्ने थिएन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१७. प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
१८. निर्णयतर्फ विचार गर्दा यसमा मृतक हिरादेवीको मृत्यु दुर्गानाथको कर्तव्यबाट भएको हो कि हैन भन्ने सम्बन्धमा विचार गरी हेर्दा मृतक हिरादेवीको लाश मिति ०३७।४।१७ मा जलाएको देखिन्छ । सो लाश जलाई सकेपछि नूरप्रसादको भनाई बमोजिम मिति ०३७।४।२७ मा प्रधानपञ्च नरेन्द्रजंगको जाहेरी दर्खास्त परेको पाइन्छ । जाहेरी दर्खास्तमा दुर्गानाथले ज्यान मारेको भनी किटानी गरेको नभई विश्वास र शंकासम्म देखाएको पाइन्छ । प्र.दुर्गानाथ आरोपित कसूरमा प्रहरी समक्ष साविती देखिए पनि अदालतमा बयान गर्दा पूर्णतः इन्कारी रहेको देखिन्छ । मृतक हिरादेवी कर्तव्यबाट मरेको हो वा आफैं लडी मरेको हो भन्नलाई लाश जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम हुन सकेको नदेखिँदा द्विविधाजनक स्थिति परेको छ । प्र. दुर्गानाथले मृतक हिरादेवीलाई मरेको देख्ने चस्मदिद गवाह कोही छैन । दुर्गा नाथको वीर्यबाट नै मृतक हिरादेवीमा गर्भ रहन गएको प्रमाणित भएको छैन केवल लाश जलाउँदा बच्चा निस्केको आधारमा दुर्गानाथ उपर विश्वास र शकांसम्म व्यक्त गरेको पाइन्छ । जाहेरी दर्खास्त र सरजमीन शंकामा आधारित रहेको छ । मृतक र दुर्गानाथसँग गुराँसे खोलातर्फ गएको देखेको भनी कसैले भन्न सकेको छैन । शंका र विश्वासलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन मिल्दैन । प्र. दुर्गानाथले अधिकारप्राप्त अधिकारी प्रहरी समक्ष गरेको सावितीलाई अरू प्रमाणले समर्थित गर्न सकेको छैन । यस्तो स्थितिमा केवल शंका र विश्वासको आधारमा निश्चयात्मक सबूतको अभावमा गम्भीर फौजदारी अभियोगमा कसूरदार ठहराउन नमिल्ने हुँदा प्र.दुर्गानाथलाई सफाई दिने ठहर्याएको शुरू इन्साफ उल्टी गरी निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको म.क्षे. अ.को इन्साफ त्रुटिपूर्ण हुँदा उल्टी हुने ठहर्छ । प्र.दुर्गानाथलाई सफाई दिने ठहर्याएको शुरू नुवाकोट जिल्ला अदालतको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ । तपसीलका कलममा तपसील बमोजिम गर्नु ।
तपसील
प्र.दुर्गानाथ घिमिरे के आरोपित कसूरबाट सफाई पाउने ठहरेकोले मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४०।१०।३ को फैसलाले सर्वस्वसहित जन्मकैद गर्ने गरेको लगत कट्टा गरी निजको सर्वस्व फुकुवा गरिदिनु भनी नु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......१
मध्यमान्चल क्षेत्रीय अदालतका इन्साफ उल्टी भएकोले माननीय न्यायाधीशद्वय श्री कृष्णजंग रायमाझी र गोविन्दबहादुर श्रेष्ठको उल्टीमा रेकर्ड राख्नु...........२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु........................................३
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४२ साल बैशाख १४ गते रोज शुभम् ।