शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२६० - लिखित पारित

भाग: २७ साल: २०४२ महिना: बैशाख अंक:

निर्णय नं. २२६०     ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको दे.पु.नं. ४६५

मुद्दा : लिखित पारित ।

 

पुनरावेदक/वादी: जिल्ला कास्की पोखरा न.पं.वा.नं. ४ भै पाटन बस्ने डिल्ली नाथ कोइराला र आफ्ना हकमा समेत चक्रपाणी गोतामे ।

विरूद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ वा.नं. १९ घर भै हाल जि.चितवन माडी गर्दी गा.पं.वा.नं. २ बस्ने धनसरी तिमिल्सीना

फैसला भएको मिति:२०४२।१।३।२ मा

     लेखक साक्षी एवं फट्के साक्षी समेतलाई अदालतबाट बकपत्र गराएको नभई बयान गराएकोमा त्यस्तो अवस्थाको साक्षीहरूलाई जिरह गर्न पाउने भन्ने प्रमाण ऐन, २०३१ मा व्यवस्था भएको पाइँदैन ।

(प्रकरण नं.११)

पुनरावेदक/वादी तर्फबाट: विद्वान व.अ. श्री मुकुन्द रेग्मी

विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

उल्लेखित मुद्दाःX

फैसला

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः    पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकार रहेछ ।

२.    ९१ सालका जाँचमा भूसाल सिं जिम्मा झुत्ता द.नं. ४० मोठ नं. ७९१ मा कैयौंका नाममा दर्ता भएको निज दर्तावाल मरी अपुतालीबाट हक हुने भिमप्रसाद भन्ने भिमलालबाट ०२८।६।२०।४ मा मेरो आर्जनको रुपैयाँबाट मैले राजीनामा रजिष्ट्रेशन पारित गरिलिएको बिजपाथी ।२।६ मध्ये पूर्व सो दर्ता भट्ट भनेको निज विपक्षीको जग्गा र डहर साँध, पश्चिम सुकला गण्डकी साँध, उत्तर पूर्णखर दाहालको साँध, दक्षिण खेमलालको साँध यति ४ किल्ला भित्रको तिरो रु. १।३७ लागेको बिजपाथी ।१।४।४ को हालको सर्भेमा कि.नं. ५१६ मा निजै विपक्षीका नाउँमा कित्ता काटिएको दाहालको वारी भन्ने पाखो जग्गा र सो जग्गामा बनेको घर धनसारसमेत विपक्षीले रु.४९,०००। मबाट कर्जा लिई राजीनामा गरिदिएकोमा कानुनका म्यादभित्र पारित गरिनदिएकोले पारित गराई पाउँ भन्ने समेत व्यहोरोको ०३५।२।१७।३ को चक्रपाणी गौतमको फिरादपत्र ।

३.    वादी दावीको लिखत २०३४।७।२० को नभई ०३३।१२।२० मा वडा भएको हो । उक्त जग्गा करीब ६ रोपनी जग्गा मलाई बाँकी राखी अन्य रु. २५,५००। दाम तय गरी विपक्षीबाट उक्त रुपैयाँ रु. १०,०००। मैले लिएको र बाँकी मैले लिनु पर्ने रु. १५,५००। पास हुँदाको दिन चक्रपाणीले मलाई बुझाउने शर्तमा ०३३।१२।२० का दिन रु. ३०,०००। को राजीनामा लेखी साहु चक्रपाणीले लिई र मैले लिनुपर्ने रु. १५०००। को चक्रपाणीले गरिदिएको तमसुक भर्पाई मैले लिएको हुँ, म्याद नाघी दायर भएको र मैले पाउनुपर्ने रुपैयाँ पाई नसकेको हुँदा मैले लिखत पारित गरिदिनुपर्ने होइन भन्ने समेत व्यहोराको धनसरी तिमिल्सिनाको प्रतिउत्तरपत्र रहेछ ।

४.    वादी दावीअनुसारको लिखत पारित हुने ठहर्छ भन्ने समेत मिति ०३६।१०।२७।१ को कास्की जि.अ.को फैसला ।

५.    उक्त फैसला उपर प्रतिवादीको पुनरावेदन परेकोमा कास्की जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको ०३७।६।३ को गण्डकी अञ्चल  अदालतको फैसला ।

६.    सो फैसला उपर प्रतिवादीको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्ने पश्चिमान्चल क्षेत्रीय अदालतसिङ्गल बेञ्चको ०३८।७।५ को आदेश ।

७.    प्रतिवादी नबनाइएका विवादित लिखतको अन्तरसाक्षीहरूको बकाईलाई प्रमाण लिन प्रमाण ऐन, २०३१ को दफा ५० बमोजिम जिरह गर्ने मौका दिई बाध्यात्मक रूपमा पालन गर्नुपर्ने कार्यविधिको उल्लंघन गरी ती साक्षीहरूको बयानलाई प्रमाण लिई उक्त कानुनको विपरीत शुरू कास्की जि.अ.ले गरेको इन्साफ सदर गरेको ग.अं.अ.को फैसलालाई त्रुटिपूर्ण हुँदा दुबै फैसलाहरू बदर गरिदिएको छ कानुन बमोजिम कारवाही किनारा गर्न मिसिल कास्की जि.अ.मा पठाउने भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालतको ०३९।७।२३ को फैसला ।

८.    पश्चिमान्चल क्षेत्रीय अदालतको उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने डिल्लीनाथ समेतको निवेदनमा बयान र बकपत्रमा हुने ताŒिवक अन्तरलाई दृष्टिगत गरी फैसला गर्नुपर्नेमा अ.बं. १३९ बमोजिम भएको बयानमा प्रमाण ऐन, २०३१ को दफा ५० को कार्यविधि नअपनाएको भनी गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको ०३९।७।२३ को निर्णयमा प्रमाण ऐनको उक्त ५० नं. को त्रुटि देखिएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालतको डिभिजन बेञ्चको मिति २०४०।८।२१।४ को आदेशानुसार पुनरावेदनको लगतमा चढी पेश हुन आएको रहेछ।

      ९.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फका विद्वान व.अ. श्री मुकुन्द रेग्मी र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।

१०.    अब पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपरेको छ ।

११.    निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी धनसरी जि.अ.मा बयान गर्दा विवादित लिखतको लेखक साक्षी डिल्लीनाथ कोइराला समेतलाई पोल गरेको देखिन्छ । धनसरीको बयान भइसकेपछि उक्त लिखतका फट्के साक्षीहरू समेतलाई बुझ्न आवश्यक देखिएको भनी जिल्ला अदालतबाट आदेश भई निजहरूको बयान गराएको देखिन्छ । कागजका यस्ता लेखक साक्षी एवं फट्के साक्षी समेतलाई अदालतबाट बकपत्र गराएको नभई बयान गराएकोमा त्यस्तो अवस्थाको साक्षीहरूलाई जिरह गर्न पाउने भन्ने प्रमाण ऐन, २०३१ मा व्यवस्था भएको पाइँदैन यस प्रकारका साक्षीहरूलाई जिरह गर्न नदिई प्रमाण ऐन, २०३१ को दफा ५० को त्रुटि गरेको भनी जिल्ला अदालत तथा अञ्चल अदालतको फैसला बदर गरी पुनः कारवाही किनारा गर्न जि.अ.मा पठाउने भनी पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको नदेखिँदा उक्त फैसला बदर हुने ठहर्छ । अब कानुन बमोजिम कारवाही किनारा गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल पश्चिमान्चल क्षेत्रीय अदालतमा पठाई दिने ठहर्छ उल्टीमा मा.न्या.द्वय श्री महेशराम भक्त माथेमा तथा ओमभक्त श्रेष्ठको रेकर्ड राख्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वी बहादुर सिंह

 

इतिसम्वत् २०४२ साल बैशाख ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु