शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२६१ - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: बैशाख अंक:

निर्णय नं. २२६१     ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको रि.नं. १९९०

विषय : उत्प्रेषण ।

 

निवेदक      : बाग्लुङ जिल्ला राङखानी गा.पं.वा.नं.५ भेडीखर्क बस्ने नेत्र बहादुर राना मगर

ऐ.ऐ बस्ने धनमाया राना मगर

विरूद्ध

विपक्षी :धवलागिरी अंचल अदालत बाग्लुङ

जिल्ला अदालत वाग्लुङ

जि.ब.राङखानी गा.पं.नं.५ डाडाखानी बस्ने मन बहादुर पुन मगर

ऐ.ऐ भेडीखर्क बस्ने जित बहादुर रान मगर

आदेश भएको मिति:२०४२।१।६।५ मा

     नाबालकले विवाह खर्च बापत पाएको सम्पत्ति समेत जायजात हुनुपर्ने भन्ने व्यवस्था उल्लिखित नं. मा भएको पाइँदैन ।

 (प्रकरण नं.१२)

निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल

उल्लेखित मुद्दाःX

आदेश

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ ।

२.    हाम्रा पति, पिता जीत बहादुरले इज्जत आमद अनुसार खान लाउन नदिई अन्याय गरेकाले निज उपर २०३६। १२।२८।२ मा अंश मुद्दा दिएकोमा हामीलाई अंश दिनुपर्ने ठहर्‍याई जि.अ.बाट ०३८।२।८।५ मा फैसला भई मिति २०३८।९।१।४ मा भएको बण्डा छुट्याउने मुचुल्का अनुसार आफ्नो भागको अंश पाएका थियौं । हामीले २०३६।१२।२८।२ मा मुद्दा दिइसके अंशपछि विपक्षी मन बहादुर र जीत बहादुर मिली २०३७।६।१२ मा लेनदेन मुद्दा दिई, दिनलगाई विपक्षी जीत बहादुरबाट विगो २६२०३। भरी पाउने ठहर्‍याई जि.अ.बाट २०३८। ८।४ मा फैसला भएपछि फैसला बमोजिम भरी पाउने विगो जीत बहादुरको अंश भागको सम्पत्तिबाट दिलाई पाउँ भनी मन बहादुरले दर्खास्त दिई मुचुल्का समेत भई आएपछि सो मुचुल्का बदर गरी हाम्रो जेथाबाट समेत भराई पाउँ भनी पुनः विपक्षीले जिल्ला अदालत समक्ष दिएको निवेदनको आधार लिई हामी समेतको अंशहरूको जग्गाबाट दिलाई भराई दिनेतर्फ कारवाही चलाउने भन्ने ०३९।४।३१।१ को आदेशानुसार हाम्रो अंश भागमा पारेको राङखानी गा.पं.वा.नं. ५ कि.नं.  ७७, १५८ र ३३३ समेतबाट तायदाती गराई ल्याएपछि हाम्रो अंश भागको कि.नं. ७७, १५८ र ३३३ समेतको जग्गा लिलाम गर्न मिल्ने होइन भनी निवेदन गर्दा जीत बहादुरको भागमा परेको कि.नं. २७, १०९, ७६ को तायदाती भई मूल्य समेत कायम भइसकेकोमा पुनः तायदाती गरी छुट्टी भिन्न भइसकेकोबाट दण्ड सजायँको ४२ र लेनदेन व्यवहारको १९ नं. समेतले मिल्दैन । असामीको तायदातीबाट नपुगे असामीलाई नै कैद गराउन पाउने व्यवस्था भएकोले धनमाया र नाबालकको अंशबाट भराई दिन मिलेन, ०३९।३।२१।२ मा भई आएका तायदाती मुचुल्का अनुसार र जीत बहादुरको अंशबाट मात्र भरी पाउने भन्ने समेत जि.अ.बाट ०४०।२।५।५ मा आदेश भएपछि विपक्षी मन बहादुरले सोआदेश उपर अञ्चल अदालतमा निवेदन गर्दा अञ्चल अदालतबाट जि.अ.को २०४०। २।५ को आदेश ०४०।४।१३ मा बदर भएउपर पश्चिमान्चल क्षेत्रीय अदालतमा निवेदन गर्दा कानुनबमोजिम गर्नु भन्ने ०४०।६। ७ मा पश्चिमान्चल क्षेत्रीय अदालतबाट आदेश भएपछि जि.अ.ले म नाबालकको अंश हक तथा विवाह खर्च वापतको कि.नं. ७७ को र म धनमायाको अंश हकको कि.नं. ३३३ र १५८ को जग्गा समेत ०४०।७।२३ को आदेशानुसार ०४०।८।२९ गते लिलाम गरी विपक्षी मन बहादुरलाई नै सकार गराई ०४०।९।१५।६ मा चलानी पुर्जी दिने आदेश गरी २०४०।९।२१।५ मा चलानी पुर्जी गरी दिइयो । त्यसरी हाम्रो अंश हकको लिलाम गर्न मिल्ने होइन भनी अ.बं. १७ नं. र दण्ड सजायँको ६१ नं. अनुसार निवेदन गर्दा वाग्लुङ जि.अ.ले गरेको यस सम्बन्धी कार्य बेरीतको नदेखिँदा कानुन बमोजिम गर्न भनी ध.अं.अ.बाट ०४०।१०।२०।६ मा आदेश भयो ।

३.    लेनदनेमा विपक्षी मन बहादुरको विपक्षी जीत बहादुर उपर मुद्दा २०३७।६।१२ मा पर्नु अगावै ०३६।१२।२८ मा विपक्षी जीत बहादुर उपर अंश मुद्दाको फिराद परी अंश पाउने ठहरी २०३८।९।१ मा बण्डा छुट्याई लिएको हुँदा अंश मुद्दा परी सकेपछि दिइएको लेनदेन मुद्दाबाट लिलाम गर्न कदापि मिल्ने होइन । लेनदेन व्यवहारको २१ नं. अनुसार असूल उपर गर्न नसकेमा असामीलाई नै कैद कट्टी गराउन पाउने सुविधा भएको र विपक्षी जीत बहादुरको कि.नं. १०९ को जग्गा बाँकी नै हुँदा सो जग्गाबाट असूल उपर गराउने तर्फ कारवाही गर्न पर्ने । म नेत्र बहादुर ११ वर्षको नाबालक हुँदा मुलुकी ऐन दण्ड सजायँको २६ नं. ले नाबालकको अंश तथा विवाह खर्च वापतमा राखिएको कि.नं. ७७ को अचल सम्पत्ति लिलाम गर्न मिल्ने होइन । म नाबालकले विपक्षी जीत बहादुर समेत उपर रु. ४०००। भराई लिन पाउने भनिएकोमा त्यसरी भराई लिन पाउने कानुनी व्यवस्था नै छैन । म धनमायाका हक अंशको कि.नं. ३३३ को मोल रु. १३०००। र कि.नं. १५८ को मोल रु. ११०००। पर्ने जग्गा लिलाम गरिएको छ भने विपक्षी जीत बहादुरको अंश हकको कि.नं. २७ र ७६ को जम्मा रु. ६०००। मोल कायम गरिएको छ । अंश छुट्टिई सकेको हामी निवेदकको हकको जग्गा लिलाम गर्न कुनै प्रचलित कानुनले मिल्ने होइन । द.सं. को २६ नं. लाग्ने हो भने पनि दामासाहीको हिसाब गर्नुपर्ने । तसर्थ यसरी लाग्नै नसक्ने कानुन लगाई जि.अ.बाट लिलाम गर्ने गरेको ०४०।७।२३।४ को आदेशानुसार ०४०।८।२९ गते गरिएको लिलाम र २०४०।९।१५।६ को आदेश तथा २०४०।९।२१।५ को चलानी पुर्जी एवं अञ्चल अदालतको २०४०।१०।२० को आदेश समेतका हाम्रो जग्गा लिलाम गर्ने सम्बन्धमा भए गरिएका यावत काम कारवाही तथा  निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी हनन् भएको हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

४.    विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने सिङ्गल बेञ्चको आदेशानुसार प्राप्त लिखित जवाफहरू संक्षेपमा यस प्रकार रहेछ ।

५.    अञ्चल अदालतको अन्तिम आदेश उपर क्षेत्रीय अदालत नियमावली, ०३६ को नियम ५ अनुसार पुनरावेदन गर्ने अनुमतिको लागि क्षेत्रीय अदालतमा निवेदन दिन पाउने व्यवस्थालाई पन्छाई एकैचोटि रिट क्षेत्र गुहार्नु निवेदकको शुद्ध हृदय नहुँदा रिट निवेदन खारेज होस् भन्ने समेत धवलागिरी अञ्चल अदालत ।

६.    प्रचलित कानुन बमोजिम निवेदकहरूको हक मेट्ने गरेको भए तत्काल जीत बहादुरको हकको जग्गा हो भनी तायदाती गर्दा गराउँदा सरजमीनमा हुने व्यक्ति पञ्च तथा सो बमोजिम गराउने मान बहादुरले गराएको व्यवहार कानुन विपरीत भई मर्का परेको भए निजहरू उपर कानुन बमोजिम उपचारको लागि जि.अ.मा नै उजूर गर्ने व्यवस्थाबाट वञ्चित भएको नदेखिँदा र सो बमोजिम नगरी असाधारण अधिकार क्षेत्रको प्रयोग गराउनको प्रयोजन नदेखिँदा भएको व्यहोरा जनाई लिखित जवाफ पेश गरेको भन्ने समेत जि.अ.बाग्लुङ ।

७.    जीत बहादुरले प्रतिउत्तर तायदात र लिखित जवाफ गर्नु नगर्नुुबाट म साहुको थैलीको विगो वापत भएको लिलाम र चलानी पुर्जीलाई प्रतिकूल असर पर्न सक्तैन साहुको विगो अलपत्र पार्न ढिलासुस्ती गर्न अदालतको फैसला कार्यान्वयन गराउन व्यवधान दिने एकमात्र नियत रहेको र सफा शुद्ध भावना नराखी रिट क्षेत्रमा प्रवेश गरेको र कानुन बमोजिम भएको निर्णयमा निवेदनको लेखाई बमोजिमको त्रुटि नहुँदा समेत रिट निवेदन खारेज होस् भन्ने समेत मान बहादुर पुन मगर ।

८.    विपक्षी जीत बहादुर राना मगरको नाममा रीतपूर्वक म्यादतामेल भएको तर लिखित जवाफ पेश नभएको ।

९.    नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदकहरूतर्फका विद्वान व.अ. श्री मुकुन्द रेग्मी र विपक्षी कार्यालय तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विपक्षी मन बहादुर पुन मगरतर्फका विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेलले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।

१०.    अब निवेदन माग अनुसार आदेश जारी हुनुपर्ने नपर्ने के हो सोको निर्णय दिन परेको छ ।

११.    निर्णयतर्फ विचार गर्दा यसमा जीत बहादुर राना मगर उपरको मन बहादुर पुन मगरले दिएको लेनदेन मुद्दामा वादीले भरी पाउने ठहरे बमोजिम विगो भराउन निमित्त जग्गा लिलाम गर्दा अंश मुद्दाबाट अंश पाई कानुन बमोजिम छुट्टी भिन्न भएको यी रिट निवेदकहरू मध्ये नाबालक नेत्र बहादुरको विवाह खर्च वापत पाएको कि.नं. ७७ को जग्गा समेत लिलाम गरेको देखिन आयो ।

१२.   दण्ड सजायँको २६ नं.मा “...दुनियाँको बिगो वापत जायजात गर्दा सो धन खाने बाह्र वर्षदेखि माथिका ऐन बमोजिम मानु छुट्टी संग बसेका वा  सो धन खाँदा संग बसेका पछि भिन्न हुनेको समेत ... अंशियारको जायजात गर्नु पर्छ ।...भन्ने व्यवस्था भएको देखिन्छ । यसबाट नाबालकले विवाह खर्च वापत पाएको सम्पत्ति समेत जायजात हुनुपर्ने भन्ने व्यवस्था उल्लिखित नं. मा भएको पाइँदैन ।

१३.   रिट निवेदक नेत्र बहादुर १२ वर्षभन्दा मुनिका नाबालक भएकोमा विवाद देखिँदैन । तसर्थ उपरोक्त ऐनको विपरीत नाबालकको विवाह खर्च वापतको कि.नं. ७७ को जग्गा समेत लिलाम गर्ने गरेको ०४०।७।२३ को वाग्लुङ जिल्ला अदालतको आदेशानुसार ०४०।८।२९ मा भएको लिलाम ०४०।९।१५ को आदेशानुसार ०४०।९।२१ को चलानी पुर्जी र अञ्चल अदालतको ०४०।१०।२० को आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम पुनः कारवाही किनारा गर्नु भनी विपक्षी बाग्लुङ जि.अ.तथा धवलागिरी अञ्चलअदालतको नाममा परमादेशसमेत जारी हुने ठहर्छ । जानकारी निमित्त महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षीहरू कहाँ आदेशको प्रतिलिपि पठाई नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वी बहादुर सिंह

 

इतिसम्वत् २०४२ साल बैशाख ६ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु