निर्णय नं. ५०४९ - जग्गा खिचोला

निर्णय नं. ५०४९ ने.का.प. २०५२ अङ्क २
पूर्ण इजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
पु.ई.नं. १००
फैसला मिति : २०५१।१।८।५
मुद्दा : जग्गा खिचोला
निवेदक/प्रतिवादी: जि.सुनसरी धरान नगरपालिका वडा नं. ६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ।
विरुद्ध
विपक्षी : जि. मोरङ विराटनगर नगरपालिका वडा नं. २ बस्ने हिरण्यबहादुर बस्नेत समेत ।
वादीले प्रतिवादीको पति श्यामप्रसादसंग २ बिगाहा जग्गा खरिद गरी लिएकोमा स्वीकार नै गरेको देखिन्छ । २ विगाहा भन्दा बढी जग्गा राजीनामा गरी लिएको भनी वादीले आफ्नो दावीमा जिकिर लिन सकेको देखिदैंन । राजीनामामा नै २ बिगाहा जग्गा भनी प्रष्ट रुपमा उल्लेख हुंदा २ बिगाहा भन्दा बढी जग्गा दावी गर्न पाउने पनि होइन ।
(प्रकरण नं. १९)
ससिम भन्ने शब्दको आधारमा विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिएको बाहेकको सम्पूर्ण जग्गा राजीनामा गरी दिएको भनी व्याख्या गर्न मिल्न सक्ने स्थिति नदेखिने ।
(प्रकरण नं. १९)
२००२ सालको राजीनामामा उल्लेख गरिएका विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिएको जग्गा बाहेकको ससीम २ बिगाहा जग्गा राजीनामा गरी दिएबाट प्रतिवादी कुसुमकुमारीको जग्गा नै बा“की रहन आउंदैन भन्ने वादीको जिकिरसंग सहमत हुन सक्ने स्थिति नदेखिने ।
(प्रकरण नं. १९)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी, प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारी
अवलम्बित नजीरःX
फैसला
न्या.केशवप्रसाद उपाध्यायः श्री सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।८।१५।१ मा भएको फैसला दोहोर्याई पाउँ भनी सवारी शिविर धनकुटा मार्फत श्री ५ महाराजाधिराजमा कुसुम कुमारी श्रेष्ठले विन्तिपत्र दिएकोमा विन्तिपत्र जाहेर हुँदा न्याय मिले नमिलेको के रहेछ हेरी राय खुलाई यो विन्तिपत्र समेत साथै राखी जाहेर गर्नु भन्ने न्यायिक समितिको नाउँमा हुकुम प्रमांगी भई न्यायिक समितिबाट खिचोला गरेको ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको फैसलाबाट न्याय मिलेको नदेखिएको भन्ने व्यहोरा जाहेर हुँदा यसमा विन्तिपत्रको व्यहोरा साँचो भए त्यस अदालतको संयुक्त इजलासबाट छिनिएको विन्ति पत्रमा लेखएिको जग्गा खिचोला भन्ने मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने प्रमांगी भई यस अदालत पूर्ण इजलासमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :–
२. कुसुम कुमारीको पति श्यामप्रसादले धरान चौकी बारीको जग्गा विगाहा ५–१९–८ मध्ये नयाँ बजार पूर्व पूरा र कसाही टोल पश्चिम रिकुटे टोल उत्तर कालीप्रसाद गंगा बहादुर दक्षिण यति ४ किल्ला भित्रको जग्गा विगहा २–९–१२ जग्गा मध्ये ०–१९–१२ दाजु पदमबहादुर बस्नेतले आफू पूर्व १८ लग्गीसम्म र नापीको ४ किल्ला भित्रमा यस अघि बिक्री भै गएको मानिसलाई राजीनामा बमोजिमको जग्गा छुट्याई पुरै २ विगहा जग्गा रु. ६,००१।– मा राजीनामा गरी २००२।८।१७।१ मा रजिष्ट्रेशन पास गरी दिएको राजीनामामा लेखिएको मानिसलाई जग्गा छुट्याई प्र.प्रदमबहादुरको हकमा निजको घरबाट पूर्व १८ लग्गी सम्म लिएको भएपनि बाटा पश्चिम सन्धि सर्पन मिलाई लिई त्यसमा पर्खाल लगाई त्यसमा नपुग २ कट्टा बाटा पूर्व लिई घर बनाई पं. वासुदेवलाई दान गरेको बाँकी सो ४ किल्लाभित्रमा आफैं भोग गरिरहेको २०१७ सालमा सर्भे आउँदा अन्दाजी ०–१–१० खेमराजले अन्दाजी ०–१–१० खगेन्द्र समेतले मेरो दक्षिण पट्टिको जग्गा बजार अड्डाको घर पूर्व कुसुम कुमारीले राजीनामा गरी दिएको छ भनी खगेन्द्र खेमराजले र मेरो अरु पनि जग्गा बाँकी छ भनी कुसुमकुमारीले समेत नपाउने गरेकोमा ठहरे बमोजिम हुने भनी खारेज फैसला भै पुनरावेदन समेत सदर भै कोशी अञ्चल अदालतबाट पनि फैसला भएको हुँदा उक्त मिचिएको जग्गा मध्ये दक्षिणतर्फ म मित्रबहादुरको र अरु प्रतिवादीले जग्गा भोग गर्न नआएकोले खगेन्द्र, खेमराज, कुसुमकुमारी ज्ञानबहादुरको नाममा फिराद गर्न आएको छु । मेरो बजार तालुकको घर पूर्व खगेन्द्रले ०–१–१० कर्ण बहादुरले ०–१५–० कुसुमकुमारीले खेमराजको घर उत्तर ०–१२–० कालीप्रसादको हो भनी ०–०–४ घर जग्गामा राधे बैदारले २००४ सालको घर बनाएकोले घरमा दावा गर्न नमिली ०–०–४ धुर जग्गा समेत चार किल्ला भित्रको जग्गा भित्र भित्रै दर्ता गरी कर्णबहादुर मरेकोले निजको छोरा ज्ञानबहादुरको नाममा फिराद गर्न आएको छु । बजारको भाडा लाग्ने जग्गा हुँदा जग्गा ०–१–८ को रु. १५८३।– खगेन्द्रकुमारबाट जग्गा धुर ०–०–१५ को रु. ८४७।५० ज्ञानबहादुरबाट जग्गा धुर ०–०–१७ को रु. ९५६।५० कुसुमकुमारी खेमराजबाट भाडा दिलाई बैहकबाट पुर्जी लिई गराएको दर्ता बदर गरी पाउँ भन्ने समेत मित्रबहादुर, खुसबहादुर, योगराज समेत ३ जनाको मिति २०२३।११।११ को संयुक्त फिरादपत्र ।
३. वादी दावीको जग्गा साविकमा कुसुम कुमारी श्रेष्ठनीको दर्ताको निजै कुसुम कुमारीसँग ०–१–१२ जग्गा २०११ सालमा मेरा भाइ सोमारामले राजीनामा दिई भोग चलन गरी आएको भाइ परलोक भएकोले मेरो भोगचलन गरी आएको भन्ने समेत खगेन्द्रकुमार राईको प्रतिउत्तर ।
४. श्याम प्रसादसँग खरिद गरेको ०–०–१५ जग्गाको अघिल्लो लिखत कै भएर हो निज श्याम प्रसाद परलोक भएपछि निजको पत्नी कुसुम कुमारीले २००९।२।३ मा राजीनामा गरी दिएको बाबु परलोक भएपछि भोगी सर्बेमा समेत दर्ता गराएको हुँ । वादीको जग्गा खिचोला गरी दर्ता गरेको समेत छैन भन्ने समेत ज्ञानबहादुर लिम्बुको प्रतिउत्तर पत्र ।
५. यिनै वादीले म समेतका नाउँमा पहिले मुद्दा गरी अञ्चल अदालत समेतबाट खारेज भएकोमा दोहोर्याई नालेश गरेका हुन वादी लेख अनुसार मैले केही गरे गराएको छैन भन्ने समेत कालीप्रसादको प्रतिउत्तरपत्र ।
६. म उपर दर्ता सम्मको जिकिर लिए तापनि दर्ता बदर तर्फ दावा लिन नसकी खरिद लेखत बमोजिम जग्गा दर्ता भै सकेकोमा परिबन्दबाट यो मितिमा यो जग्गा दर्ता गराए भन्ने उजूर समेत किटानी नगरी हचुवा लेखेको दावी बमोजिम जग्गा दर्ता गराउन समेत सकेको छैन, वादीलाई पतिले बिक्री गरेको जग्गा विगहा २–०–० वादीले भोग गरी बाँकी मेरो जग्गा लिने मुरादले फिरादमा अंशियार समेत देखाई फिराद गरेको हो भन्ने समेत कुसुम कुमारी र गौरीमानको संयुक्त प्रतिउत्तरपत्र ।
७. वादीले यति जग्गा मिच्यो भन्ने र लेख्न नसके पनि मैले वादीको जग्गामा मिची सर्भेमा नापी पाएको भन्ने वादी झुठ्ठा हो भन्ने समेत सुन्दर श्रेष्ठको प्रतिउत्तरपत्र
८. वादी दावी बमोजिम प्रतिवादीहरुले खिचोला गरेको ठहर्दैन भन्ने समेतको मिति २०२७।५।२६ को सुनसरी जिल्ला अदालतको फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरुको पुनरावेदन परेकोमा न.नं., ८८ को जग्गा श्यामप्रसादले वादीलाई बिक्री गरेको बाहेक मेरो भनी कुसुमकुमारीले दावा लिएको जिकिर नपुग्ने कारण श्यामप्रसादले लिखित गरिदिँदा अरुलाई बिक्री गरेको पृथक पृथक खुलाई जग्गा लेखि दिएको कुसुमकुमारीको जग्गा बाँकी भै निजको हकमा र २०११ सालमा सोभारामलाई बिक्री गरेको जिकिर पुग्न नसकी हक नपुग्ने जग्गा दावी लिएकोले दर्ता बदर सदरको तैकात गर्न नपरेको बजार लाइनको जग्गा भए बाली पनि नलगाएको दावा पनि लिएको खाली जग्गा दर्ताको बहाल पाउँ भन्ने फिराद दावी पुग्न नसक्ने शुरुले गल्ती इन्साफ गरेको ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको मिति २०२९।३।२ को फैसला ।
१०. कोशी अञ्चल अदालतको इन्साफमा चित्त बुझेन उक्त इनसाफ उल्टाई हक इन्साफ पाउँ भन्ने समेत प्र.कुसुमकुमारी श्रेष्ठको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा न्या.प्र.सु. ऐन, २०३१ अनुसार यस अदालतमा परी आएको प्रस्तुत मुद्दामा कोशी अञ्चल अदालतबाट भएको इन्साफ गल्ती ठहर्छ भन्ने समेत मिति २०३४।४।२४ को पु.क्षे.अ.को फैसला ।
११. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको सर्वोच्च अदालतमा निवेदन परेकोमा अनुमति प्राप्त भै किनारा हुँदा यसमा पु.क्षे.अ.को इन्साफ मनासिब देखिँदा वादीको प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालतको २०३६।३।२२ को फैसला ।
१२. श्री सर्वोच्च अदालतबाट २०३६।३।२२ मा भएको निर्णय उपर इन्साफ जाँच गरी पाउँ भन्ने हिरण्यबहादुर समेतको निवेदनमा फुलबेञ्चबाट दोहर्याई इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट लेखि आई श्री सर्वोच्च अदालत फुलबेञ्चमा पेश हुँदा सिंगल बेञ्चबाट हेरी किनारा गर्नु पर्ने वा झगडिया झिकाएपछि मात्र डिभिजन बेञ्चले हेर्नु पर्नेमा प्रथम तह नै पूर्वाञ्चल क्षेत्रीय अदालतबाट डिभिजन बेञ्चले हेरी किनारा गरेको २०३४।४।२४ को इन्साफमा तात्विक त्रुटि गरेको भन्न मिल्ने देखिँदैन भनी सो इन्साफ सदर गरी डिभिजन बेचबाट २०३६।३।२२।६ मा गरेको निर्णय बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु भन्ने सर्वोच्च अदालत फुलबेञ्चको मिति २०३९।६।१२ को फैसला अनुसार पु.क्षे.अ. को पुनरावेदनमा दर्ता भएको।
१३. जग्गा विगहा ५–१९–८ मा प्रतिवादी कुसुमकुमारीको जग्गा नरहेको भन्ने नमिल्ने र विवादको कि.नं. ८८ को जग्गा मेरो हो भनी किल्ला खुलाई फिराद समेत दिएको र मिसिल सामेल रहेको नाप नक्सा हेर्दा वादीले राजीनामा गरी लिए भन्दा बढी नै नै जग्गा वादीको नाउँमा कायम रहे भएको देखिनाले समेत विवादित जग्गामा प्र.कुसुम कुमारीले खिचोला गरेको ठहराएको कोशी अं.अ. को फैसला गल्ती देखिनाले उल्टी हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१।१२ को फैसला ।
१४. पु.क्षे.अ.बाट खिचोला गरेको नठराई गरेको फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी हिरण्यबहादुर बस्नेतको यस अदालतमा मिति २०४१।२।१५ मा पर्न आएको निवेदन ।
१५. बुझ्नु पर्ने प्रमाण नबुझी राजीनामाको ४ किल्लाभित्रको ससिम जग्गामा वादी दावी बमोजिम खिचोला गरेको नठहराइको पु.क्षे.अ.को निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अ.बं. १८४(क), १८५ नं. समेतको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४१।२।१७ को आदेश ।
१६. विपक्षको जग्गा कायम गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती देखिई कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०४३।८।१५ को फैसला ।
१७. सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति ०४३।८।१५।१ मा भएको फैसला दोहोर्याई पाउँ भनी सवारी शिविर धनकुटा मार्फत श्री ५ महाराजाधिराजमा कुसुम श्रेष्ठले विन्तिपत्र दिएकोमा विन्तिपत्र जाहेर हुँदा न्याय मिले नमिलेको के रहेछ हेरी राय खुलाई यो विन्तिपत्र समेत साथै राखी जाहेर गर्नु भन्ने न्यायिक समितिको नाउँमा हुकुम प्रमांगी भई न्यायिक समितिबाट खिचोला गरेको ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको फैसलाबाट न्याय मिलेको नदेखिएको भन्ने व्यहोरा जाहेर हुँदा यसमा विन्तिपत्रको व्यहोरा साँचो भए त्यस अदालतको संयुक्त इजलासबाट छिनिएको विन्तिपत्रमा लेखिएको जग्गा खिचोला भन्ने मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने प्रमाङ्गी भई यस अदालत पूर्ण इजलासमा दर्ता हुन आएको ।
१८. नियम बमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत विन्तिपत्र सहितको मिसिल अध्ययन गरी निवेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले वादीले राजीनामामा उल्लेख भएभन्दा बढी जग्गा दावी गर्न पाउने छैन, मेरो पक्षले वादीलाई राजीनामा गरी दिए देखि बाहेकको आफ्नै दर्ता भोग तिरोको जग्गा नापी दर्ता भोगचलन गर्न पाउने नै हो । वादीले आफ्नो फिरादमा के कति जग्गा कुन तर्फबाट खिचोला गरेको हो भनी खुलाउन र प्रमाणित गर्न सकेको छैन । विवादको जग्गा वादीको भनी दावी गरेको हुँदा विवादको जग्गा आफ्नो हो भनी सबुद प्रमाण दिई खम्बीर गर्नु पर्ने, प्रतिवादीको जग्गा बाँकी रहे नरहेकोबाट हुने होइन, वादीले विवादको जग्गा प्रतिवादीको नाउँमा दर्ता गराई पुर्जा समेत लिई सकेको कुरा देखाई दर्ता बदर गरी पाउँ भनी दिएको मुद्दामा खुलाउन पर्ने कुरा नखुलाएबाट कोशी अञ्चल अदालत समेतबाट खारेज भै सकेपछि अब फेरि जग्गा दर्ता सम्बन्धमा उजुर नभै हदम्याद नाघी परेको, अदालतबाट अर्को नालेश दिनु भनी सुनाएपनि कानुनले नदिएको म्याद अदालतको फैसलाबाट दिएको मान्यता दिन नमिल्ने हुँदा उही व्यक्तिले उसै झगडाको विषयमा दिएको पिराद अ.बं. ८५ नं. ले लाग्न सक्दैन भन्ने र विपक्ष प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता द्वय श्री शिवराज अधिकारी र राजेन्द्र अधिकारीले मेरो पक्षलाई गरी दिएको राजीनामा लेखमा नै पहिला नै अन्य व्यक्तिहरुलाई दिएको जग्गा बाहेकको ससिम जग्गा राजीनामा गरी दिएको भन्ने उल्लेख भएबाट कुसुम कुमारीको जग्गा बाँकी नै रहे भएको देखिन आउँदैन । २०२० सालमा फैसला भएको यिनै कुसुम कुमारीको कर्णबहादुरसँगको दर्ता बदर मुद्दामा जग्गा बाँकी रहेको सबूद लिई आउनु भनेकोमा ल्याई पेश गर्न नसकेकोमा २०२५ सालको अर्धकट्टी रसिदको आधारमा जग्गा बाँकी रहेको भन्न नमिल्ने हुँदा सर्वोच्च अदालत संयुक्त इजलासको फैसला कायमै हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
१९. संयुक्त इजलासबाट भएको निर्णय मिले नमिले तर्फ विचार गर्दा हाम्रो ४ किल्ला भित्रको जग्गामा भित्र भित्रै दोहोरो किनबेच गरी दर्ता पूर्जा समेत लिएको बदर गरी वातिल गरी खिचोला मेटाई भाडा आयस्ता समेत दिलाई दोहोरोमा सजाय समेत गरी पाउँ भन्ने वादी र वादीलाई मेरो पनि श्यामप्रसादले जम्मा ज.वि. ५–१९–८ मध्येबाट २–०–० जग्गा बिक्री गरी दिएको सो जग्गा हालसम्म पनि निजले भोग गरी राखेकै छ, दोहोरो पारी अन्य कसैलाई दिएको छैन वादीले बाँकी जग्गा समेत लिने खाने उद्देश्यले झुट्टा फिराद गरेका हो भन्ने व्यहोराको प्रतिउत्तर परेको प्रस्तुत मुद्दामा वादीले प्रतिवादी उपर नालेश दिँदा प्रतिवादीका पति श्यामप्रसादले गरी दिएको २००२ सालको राजीनामालाई आधार मानी नालिश गरेको देखिन्छ र सोही राजीनामाबाट विवादित जग्गामा आफ्नो हकभोग भएको देखाइएको छ । प्रतिवादीका पति श्यामप्रसादले विभिन्न व्यक्तिहरुलाई राजीनामा गरिदिए बाहेकको ससिम २ विगाहा जग्गा राजीनामा गरी दिएको हँदा प्रतिवादीको जग्गा नै बाँकी छैन भन्ने वादीको मुख्य दावी जिकिर तर्फ हेर्दा २००२ सालको राजीनामाबाट कुसुम कुमारीको पति श्यामप्रसादले श्यामप्रसाद दर्ता धरान चौकी बारी तर्फको ज.वि. ५–१९–८ मध्ये विभिन्न व्यक्तिहरुलाई दिई बाँकी रहेको ससिम २–०–० जग्गा राजीनामा गरी दिएको देखिन्छ । श्यामप्रसादले विभिन्न व्यक्तिहरुलाई राजीनामा गरिदिएको जग्गा हेर्दा मनि सुन्दरलाई ०–१–१, कर्णबहादुर लिम्बुलाई ०–१–०, कसाइनीलाई ०–१–०, ल.मेघनाथलाई ०–१–१०, दिलबहादुर गुरुङलाई ०–२–०, माइला घर्तिलाई ०–०–१, खेमराजलाई ०–०–९, सकोध देवीलाई ०–५–०, पदमबहादुरलाई ०–९–७ जग्गा राजीनामा गरी दिएको र सो बाहेकको बाँकी रहेको जग्गा मध्ये २–०–० विगहा जग्गा वादीलाई राजीनामा गरिदिएको देखिन्छ । राजीनामामा उल्लेख गरिएका विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिएको जग्गा र वादीलाई राजीनामा गरी दिएको २–०–० विगाहा जग्गा समेत जोड्दा जम्मा ३ विगाहा २ कठ्ठा १५ मात्र हुन आउँदछ । वादीको जग्गा ५–१९–८ भएकोमा कुनै विवाद देखिँदैन । वादीको उक्त जग्गा ५–१९–८ मध्येबाट राजीनामामा उल्लेख गरेका विभिन्न व्यक्तिहरुलाई दिएको र वादीले पाएको राजीनामा बमोजिमको जग्गा घटाउँदा समेत जग्गा प्रतिवादी कुसुमकुमारीको जग्गा बाँकी नै रहन आएको पाइन्छ । वादीले प्रतिवादीको पति श्यामप्रसादसंग २ बिगाहा जग्गा खरिद गरी लिएकोमा स्वीकार नै गरेको देखिन्छ । २ विगाहा भन्दा बढी जग्गा राजीनामा गरी लिएको भनी वादीले आफ्नो दावीमा जिकिर लिन सकेको देखिँदैन । राजीनामामा नै २ बिगाहा जग्गा भनी प्रष्ट रुपमा उल्लेख हुँदा २ बिगाहा भन्दा बढी जग्गा दावी गर्न पाउने पनि होइन । राजीनामामा ससिम २ विगाहा जग्गा भन्ने उल्लेख भएबाट विभिन्न व्यक्तिहरुलाई राजीनामा गरिदिए बाहेकको जग्गा मध्ये २–०–० जग्गा ससीम दिएकोसम्म देखिन्छ । सो ससीम भन्ने शब्दले २–०–० जग्गा ससीम भन्ने जनिने कुरा स्पष्ट देखिन आउँछ र यसबाट विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिए बाहेकको बाँकी रहेको जग्गा मध्ये २ विगाहा मात्र मित्रबहादुरलाई राजीनामा गरी दिएको मान्नु पर्दछ । ससिम भन्ने शब्दको आधारमा विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिएको बाहेकको सम्पूर्ण जग्गा राजीनामा गरी दिएको भनी व्याख्या गर्न मिल्न सक्ने स्थिति देखिँदैन । कतिले भने श्यामप्रसादले मित्र बहादुरलाई गरिदिएको राजीनामामा पोत समेत प्रष्ट रुपमा उल्लेख गरेको देखिन आएको छ सो पोतको हिसाबबाट पनि दुई विगाहा जग्गालाई मात्र समाएको देखिन आएकोले ससीम भन्ने शब्दांसले दुई विगहा जग्गा मात्र राजीनामा गरेको देखिँदा वादीले २ विगाहा भन्दा बढी दावा गर्न मिल्ने देखिँदैन । तसर्थ २००२ सालको राजीनामामा उल्लेख गरिएका विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिएको जग्गा बाहेकको ससीम २ बिगाहा जग्गा राजीनामा गरी दिएबाट प्रतिवादी कुसुमकुमारीको जग्गा नै बाँकी रहन आउँदैन भन्ने वादीको जिकिरसंग सहमत हुन सक्ने स्थिति देखिएन ।
२०. विपक्षले गराएको दर्ता बदर गरी खिचोला मेटाई चलन पाउँ भनी नालेश गर्नको लागि सर्वप्रथम त्यसमा नालेश गर्नेको हकभोगको प्रमाण स्थापना हुन पर्दछ । वादीले २ विगाहा भन्दा बढी जग्गामा आफ्नो हक भोग भएको प्रमाण देखाउन र आफूले पाएको जग्गामा पनि जग्गा घट्यो भनी भन्न पनि सकेको देखिँदैन साथै आफ्नो यो पर्ति जग्गा यता तर्फबाट प्रतिवादीले खिचोला गर्यो भनी वादीले आफ्नो नालेसमा उल्लेख गरी प्रष्ट रुपमा खुलाउन समेत सकेको देखिँदैन । वादीले दाता श्याम प्रसादसँग २ विगाहा जग्गा राजीनामा गरी लिएको र वादीसँग हाल पनि २ विगाहा भन्दा बढी नै जग्गा कायम रहेको मिसिल संलग्न रहेको नाप नक्साबाट देखिन आएको हुँदा वादीले राजीनामा गरी लिए बमोजिमको जग्गा घट्न गई खिचोला भए गरेको देखिन आउँदैन ।
२१. साथै मिसिल संलग्न रहेको विवादित जग्गाको नाम नक्सा हेर्दा विवादित न.नं. ८८ को जग्गा न.नं. ८९ र न.नं. ६, ७, ८, ९, १०, ११, १२, १४ को बीचमा रहेको र न.नं. ८८ को विवादित जग्गा न.नं. ६, ७, ८ क्रमशः न्हुच्छे नारायण श्रेष्ठ, मान बहादुर, नारायण सुब्बा र पदमा राई देखि पूर्व रहेको देखिन्छ जुन राजीनामाको किल्लासँग भिड्न आउँदैन र न.नं. ८९ मा धरणी प्रसाद पदम बहादुरसँग दान पाएको भन्ने देखिन आउँदछ र न.नं. ११ मा शोभाराम राईको जग्गा देखिन आउँदछ । यसरी न.नं. ८९ को पश्चिम दक्षिण न.नं. ६, ७ को पूर्व रहेको न.नं. ८८ को जग्गा वादीकै हो र प्र. कुसुम कुमारीले यस तर्फबाट यसरी खिचोला गरेको हो भनी कुनै ठोस सबूद प्रमाण समेत पेश दाखिल हुन सकेको देखिन आएन ।
२२. तसर्थ माथि विवेचना गरिएको प्रमाणको आधारमा प्रतिवादी कुसुमकुमारी श्रेष्ठको जग्गा बाँकी रहेको स्पष्ट रुपमा देखिन आएको हु्ँदा विवादित न.नं. ८८ को जग्गा वादीको कायम हुन सक्ने देखिन आएन । प्रतिवादीले वादीलाई सम्पूर्ण जग्गा बिक्री गरिदिई सकेपछि प्रतिवादीको नाउँमा जग्गा नै बाँकी रहँदैन भनी खिचोला गरेको ठहर्याएको यस अदालत संयुक्त इजलासको फैसलासँग सहमत हुन सकिएन । पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिँदा सदर हुन्छ। तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम यस अदालत संयुक्त इजलासको फैसलाले राखेको लगत राख्नु परेन । लगत कट्टा गर्न का.जि.अ. मा लेखी पठाउनु १
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१।१२ को इन्साफ सदर ठहरिएको हुँदा सो फैसलाले कायम गरेको लगत बमोजिम गर्न का.जि.अ.मा लेखी पठाउनु २
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ३
उक्त रायमा हामीहरुको सहमति छ
न्या.मोहनप्रसाद शर्मा
न्या.अरविन्दनाथ आचार्य
इतिसम्वत् २०५१ साल बैशाख ८ रोज ५ शुभम्