शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०५३ - उत्प्रेषणयुक्त परमादेश

भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक:

निर्णय नं. ५०५३    ने.का.प. २०५२ अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

सम्वत् २०५० सालको रिट निवेदन नं. २८९१

आदेश मिति    : २०५१।८।२८।४

विषय : उत्प्रेषणयुक्त परमादेश

 

निवेदक   : सिराहा जिल्ला कृष्णपुर गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ६२ की मुनरी यादवनीको     वारिस भिम बहादुर ढकाल ।

विरुद्ध

विपक्षी    : पुनरावेदन अदालत, राजविराज ।

सिराहा जिल्ला सन्हैठा गा.वि.स.वार्ड नं. ४ बस्ने नागेन्द्र प्रसाद यादव ।

सिराहा जिल्ला अदालत सिराहा ।

 

  एकपटक अंशबण्डा भै छुट्टी भिन्न भैसकेपछि पुनः माना जोडी सगोलमा बस्ने मुलुकी ऐन रजिष्ट्रेशन महलको १ नं. अनुसार पारित गरिनु पर्ने कानुनी व्यवस्था भएको पाइने ।

 (प्रकरण नं. १०)

  मिति २०४७।१।१ को साहु नागेन्द्र प्रसाद यादव ऋणी यिनै निवेदिकाको छोरा रामविलास यादव बीच भएको रु. ५१,०००।को तमसुकी लिखतमा निवेदिका साक्षी बस्दा एकासगोलको आमा भनी सहिछाप गरेको देखिए तापनि सो व्यहोरा लेखी साक्षी बस्दैमा एकसगोलमा रहेकी भन्न र निवेदिका अंशबण्डा गरी मिति २०४७।१।१ को लिखित हुनु अगावै २०४४।५।२ मा छुट्टि भिन्न भैसकेको व्यक्तिको सम्पत्तिबाट ऋण असूल गर्ने कारवाही गर्न कानूनले नमिल्ने।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट  : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की

विपक्षीतर्फबाट  : विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी

अवलम्बित नजीरःX

आदेश

न्या.ओमभक्त श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :

२.   म निवेदिकासँग मिति २०४४।५।२ गते अंशबण्डा भै भिन्न बसी अलग व्यवहार गर्दै आएको मेरो छोरा राम विलास यादवलाई प्रतिवादी बनाई विपक्षी नागेन्द्रप्रसाद यादव वादी भई २०४७।७।१ को कपाली तमसुकको म्यादभित्र साँवा ब्याज नबुझाएको भनी लेनदेन मुद्दा दिई सिराहा जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा प्रतिवादी बनाइएका मेरो छोरा राम विलास यादवको नाममा दर्ता रहेको सिराहा कृष्णपुर गा.वि.स. वडा नं. ९(क) कि.नं. ५३५, ५४३, ५४५, ५४९, ४३ र ५६१ समेतको घडेरी जोताहा जग्गा ०१२ जग्गा साथै सोही लेनदेन मुद्दामा अरु कसैको हक नलाग्ने म निवेदिकाको नाममा दर्ता रहेको मेरो एकलौटी हक भोगको सिरहा कृष्णपुर गा.वि.स. वडा नं. ९ कि.नं. ५३२ को ०१० ऐ ऐ को कि.नं. ५३९ को ०० समेत जम्मा ०१० जग्गा सिरहा जिल्ला अदालतले रोक्का राखेकोले मैले मिति २०४४।५।२ छोरा रामविलास यादवसँग अंशबण्डा भइसकेको कागज पेश गरी निवेदन दिएकोमा सिरहा जिल्ला अदालतबाट मिति २०४९।९।४।५ मा मेरो नाममा उक्त रोक्का जग्गाहरु फुकुवा गर्ने आदेश गरेको थियो । सिरहा जिल्ला अदालतको उक्त आदेश उपर विपक्षी नागेन्द्रप्रसाद यादवले पुनरावेदन अदालत राजविराज सप्तरीमा निवेदन दिएकोमा पुनरावेदन अदालत राजविराजले वादी नागेन्द्रप्रसाद यादवबाट प्रतिवादी राम विलास यादवले ऋण लिई लिखत गर्दाको अवस्थामा ऋणीको एकासगोलको आमा मुनरी यादवनी भनी लिखतमा साक्षी बसेको देखिँदा रोक्का भइसकेको निज मुनरी यादवनीको नामको जग्गा फुकुवा गर्ने सिरहा जिल्ला अदालतको आदेश मिलेको देखिएन, बदर गरी दिइएको छ । पुनः रोक्का राखी कानुन बमोजिम गर्नु भनी आदेश भएको थियो । म निवेदिकाले पुनरावेदन अदालत राजविराजको आदेशमा चित्त नबुझी वेरितको आदेश बदर गरी पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिएकीमा दोस्रो तह १७ नं. को निवेदन दिन नपाइने भन्ने कारणले गर्दा मेरो निवेदनमा कानुन बमोजिम गर्नु भन्ने आदेश भै मेरो नाममा दर्ता रहेका उक्त जग्गाहरु हालसम्म रोक्का नै रहिरहेको छ ।

३.   म निवेदिकाको एकलौटी हक हुन आएको जग्गा मेरो छोराले विपक्षी नागेन्द्रप्रसाद यादवबाट ऋणीको एकासगोलको आमा मुनरी यादवनी भनी लेखिएको आधारमा रोक्का हुनुपर्ने होइन । मिति २०४४।५।२ मा अंशबण्डा को कागज भएकोमा मेरा नामका जग्गाहरु रोक्का राख्ने गरी गरेको पुनरावेदन अदालत राजविराजको आदेश त्रुटिपूर्ण छ । म निवेदिका एक अशिक्षित अनपढ महिला भएकी हुँदा लिखत गर्दाको अवस्थामा के कस्तो व्यहोरा पारी मलाई साक्षी राखियो सो कुरा मलाई थाहा भएन । एकासगोलमा नरहेकी म निवेदिकाको जग्गा रोक्का राख्न लेनदेन व्यवहारको ८ न. तथा अंशबण्डाको १८ नं. समेतले मिल्दैन । म निवेदिका साक्षी बसेको आधारमा म बाट ऋण असूल गर्न मिल्ने होइन । तसर्थ विपक्षी नागेन्द्र प्रसाद यादव र अंशबण्डा भै भिन्न बसेको मेरो छोरा बीच भएको लेनदेन मुद्दामा म निवेदिका वादी प्रतिवादी नै नभएको र मलाई सरोकार नै नभएको उक्त मुद्दामा मेरो नाममा दर्ता रहेको मेरो एकलौटी हकभोगको कृष्णपुर गा.वि.स. वार्ड नं. ९ कि.नं. ५१२ को ०१० र ऐ ऐ. को कि.नं. ५३९ को ०० समेत जम्मा ०१० जग्गा रोक्का राख्ने गरी भएको पुनरावेदन अदालत राजविराजको आदेशमा लेनदेन व्यवहारको ८ नं. र अंशबण्डाको १८ नं. बाट प्रदत्त कानुनी हकका साथै नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १७ द्वारा प्रदत्त हकमा आघात पुगेकोले पुनरावेदन अदालतको उक्त आदेश बदर गरी पाउँ, रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म मेरा नाम दर्ता रहेको उक्त जग्गाहरु लिलाम गर्ने लगायतका कुनै काम कारवाही नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदकको रिट निवेदन जिकिर ।

४.   यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाउनु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति २०५०।८।१५।३ को आदेश ।

५.  अ.बं. १७ नं. को प्रक्रिया टुङ्गी सके उपरको प्रस्तुत रिट निवेदन कानुनसंगत नहुनुका साथै आमा भई साक्षी बसी सकेपछि रोक्का रहेको जग्गा फुकुवा गर्ने भनी दिइएको निवेदन कानुनसंगत नहुँदा खारेज गरी पाउँ भन्ने समेत विपक्षी पुनरावेदन अदालत राजविराजको लिखित जवाफ ।

६.   वादी नागेन्द्रप्रसाद यादवबाट प्रतिवादी राम विलास यादवले २०४७।१।१ मा रु. ५१,०००।कर्जा लिएकोमा सो नतिरेकोले साँवा ब्याज र कोर्ट फी समेतमा लेनदेन मुद्दामा यस सिरहा जिल्ला अदालतबाट फुकुवा भएको वादीको निवेदन परी पुनरावेदन अदालत राजविराजबाट रोक्का राख्ने आदेश भएको र सो निवेदनको अन्तिम किनारा नलागेसम्म यो बिगो मुद्दा स्थगित गरी पाउँ भनी निज मुनरी यादवनीको यस अदालतमा निवेदन पर्न आएकोमा सर्वोच्च अदालतमा परेको निवेदनको किनारा भै नआएसम्म कारवाही स्थगित गर्नु भन्ने आदेश भै उक्त मुद्दाको कारवाहीयुक्त अवस्थामा नै रहेकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत सिरहा जिल्ला अदालतको लिखित जवाफ ।

७.  २०४७ सालमा राम विलासले मसँग कर्जा लिई कपाली नगरी दिँदा निवेदिकाले सो लिखतमा ऋणीको एकासगोलको आमा भनी सहिछाप गरिदिएको र सो सही झुक्याएर वा कुनै किसिमबाट भएको भनी छुट्टै कुनै उजुरी समेत नगरेको परिप्रेक्ष्यमा सगोल छँदाको व्यवहार भएकोले निजको सम्पत्तिबाट भरी पाउने प्रष्ट नै छ । अर्कोतर्फ स्वयं निवेदकले कानुनी प्रक्रिया अपनाई तह तह अ.बं. १७ नं. अनुसार आई विवादित पुनरावेदन अदालतको आदेश उपर पनि यस सर्वोच्च अदालतमा निवेदन दिएको र सो निवेदन खारेज भएको निवेदिका स्वयंले रिट निवेदनमा उल्लेख गरेबाट साधारण अधिकार क्षेत्र हुँदा हुँदै असाधारण अधिकार क्षेत्र गुहार्ने निवेदिकाको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी नागेन्द्र प्रसाद यादवको लिखितजवाफ ।

८.   नियम बमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको फाइल । अध्ययन गरी निवेदिका तर्फका विद्वान अधिवक्ता श्री हरिकृष्पण कार्कीले मेरो पक्ष र निजको छोरा राम विलास यादव मिति २०४४।५।२ मा नै छुट्टि भिन्न भएको पारीत लिखत छ । विपक्षी नागेन्द्रप्रसाद यादवले निज राम विलास यादवलाई ऋण दिई गराएको २०४७ को कपाली लिखतमा साक्षीमा एकासगोलमा रहेकी भनी मेरो निरक्षरी पक्षको सही गराएको आधारमा अंशबण्डा भई अलग बसेकी मेरो पक्षको हक हितमा असर पर्ने गरी निजका नाममा दर्ता रहेका जग्गा रोक्का राख्ने गरी भएको पुनरावेदन अदालत राजविराजको आदेश त्रुटिपूर्ण हुँदा बदर हुनु पर्ने भन्ने व्यहोराको बहस र विपक्षी नागेन्द्र प्रसाद यादवको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारीले मिति २०४७।१।१ को लिखतमा ऋणीको एकासगोलकी आमा भनी सही गरेकोबाट एकासगोलमा रहेको भनी जिम्मेवारी लिएबाट ऋण तिर्नु पर्ने दायित्वबाट निवेदिकाले फुर्सद नपाउने हुँदा पुनरावेदन अदालत राजविराजको आदेश यथावत हुनु पर्ने भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

९.   यसमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सोको निर्णय दिनु पर्ने हुन आयो ।

१०.  निर्णयतर्फ विचार गर्दा म निवेदिका र मेरो छोरा रामविलास यादव मिति २०४४।५।२ मा लिखत पारित गरी भिन्न भएकोमा पुनरावेदन अदालत राजविराजले वादी नागेन्द्रप्रसाद यादवबाट प्रतिवादी रामविलास यादवले ऋण लिई लिखत गर्दाको अवस्थामा ऋणीको एकासगोलको आमा भनी लिखतमा साक्षी बसेको भन्ने आधारमा मेरा नामका जग्गाहरु फुकुवा गर्ने सिरहा जिल्ला अदालतको आदेश बदर गरी पुनः रोक्का राख्ने भनी गरेको मिति २०४९।२।१६ को आदेश बदर गरी पाउँ भन्ने रिट निवेदिकाको मुख्य जिकिर रहेकोमा २०४७।१।१ को लिखतमा ऋणीको सगोलको आमा भनी साक्षी बसेको भन्ने प्रत्यर्थीहरुको लिखितजवाफ रहेको छ । यसमा मिति २०४४।५।२ मा यही निवेदिका मुनरी यादवनी र निजको छोरा रामविलास यादव र शत्रुघन यादव बीच अंशबण्डा पारीत भएको लिखतको निवेदिकाले पेश गरेको फोटोकपीबाट देखिएको छ । एक पटक अंशबण्डा भई छुट्टी भिन्न भई सकेपछि पुनः माना जोरी सगोलमा बस्न मुलुकी ऐन रजिष्ट्रेशनको महलको १ नं. अनुसार पारीत गरिनु पर्ने कानुनी व्यवस्था भएको पाइन्छ । मिति २०४७।१।१ को साहु नागेन्द्रप्रसाद यादव ऋणी यिनै निवेदिकाको छोरा रामविलास यादव बीच भएको ५१,०००।को तमसुकी लिखतमा निवेदिका साक्षी बस्दा एकासगोलको आमा भनी सही छाप गरेको देखिएतापनि सो व्यहोरा लेखी साक्षी बस्दैमा एकासगोलमा रहेकी भन्न र निवेदिका अंशबण्डा गरी मिति २०४७।१।१ को लिखत हुनु अगावै २०४४।५।२ मा छुट्टी भिन्न भैसकेको व्यक्तिको सम्पत्तिबाट ऋण असूल गर्ने कारवाही गर्न कानुनले नमिल्ने हुँदा निवेदिकाको सम्पत्ति रोक्का राख्ने पुनरावेदन अदालत राजविराजको मिति २०४९।२।१६ को आदेश त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु

 

न्या.कृष्णकुमार वर्मा

 

इतिसम्वत् २०५१ साल मार्ग २८ गते रोज ४ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु