निर्णय नं. ५०५४ - मोही प्रमाणपत्र पाउं

निर्णय नं. ५०५४ ने.का.प. २०५२ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
सम्वत् २०५० सालको दे.पु.नं. १२३४
आदेश मिति : २०५१।९।४।२
मुद्दा : मोही प्रमाणपत्र पाउं
पुनरावेदक/वादी: जि.महोत्तरी खुट्टा पिपराढी गा.वि.स. वडा नं. ८ बस्ने शान्ति देवी यादव ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: ऐ ऐ वडा नं. ५ बस्ने देवु साह सुडी ।
मोही मरेपछि मोही हक अपुताली जस्तो गरी प्राप्त हुने हक नभै निजको पत्नी, छोराहरु मध्ये जग्गा धनीले पत्याएको व्यक्तिले मात्र मोही हक पाउन सक्ने कानुनी व्यवस्था भएको र वादीको लोग्नेलाई मोहीको मृत्यु पश्चात मोही पत्याएको भन्ने कुरा वादीले नै उल्लेख गर्न नसकेको समेत अवस्थामा वादी मोहीको छोरा बुहारीले मोही हक पाउने भन्न नमिल्ने ।
(प्रकरण नं. ९)
आदेश
न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको संक्षिप्त तथ्य यस प्रकार छ :–
२. जग्गा धनी विपक्षी प्रतिवादीका नाउँमा दर्ता रहेको जि.म. खुट्टा पिपराडी गा.पं. वा.नं. ८ (क) कि.नं. २१२ को ०–८–० जग्गाको सर्वप्रथम मोही मेरो एका सगोलका स्व. सासु सुगिया यादव हुनु हुन्थ्यो । निज आफ्नो कालगतिबाट परलोक हुँदा निजको शेषपछिको अपुताली खाने म बुहारीले जोती कमाई आएको जग्गा धनीलाई साल सालको कूत बुझाउँदै आएकोले उक्त जग्गाको मेरो नाउँमा मोही प्रमाणपत्र पाउँ भन्ने व्यहोराको वादी ।
३. वादीको जग्गाको सुगिया यादव हक प्राप्त मोही भएको निजको मृत्यु पश्चात उक्त जग्गा आफैंले जोतकोड आवाद गरी आएको छु । यस कार्यालयबाट उक्त जग्गाको ०४५।३।३ गतेमा मोही लगत कट्टा भई सकेको हुनाले वादी दावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र ।
४. साविक मोही सुगिया पश्चात वादीकै जोत कमोद हकाधिकारमा जग्गा देखिन आएकोले दावी अनुसारको जग्गाको मोही हक कायम गरी मोही प्रमाण पत्र दिने ठहर्छ भन्ने ०४६।११।२९ को जि.भु.सु.का. को ०४६।१२।२९ को फैसला ।
५. म पुनरावेदकका नाउँमा नम्बरी दर्ता रहेका जि.म. खुट्टापिपराडी गा.पं. वा.नं. ८(क) कि.नं. २१२ को जग्गामा सुगिया यादव हक प्राप्त मोही थियो । निजको मृत्यु पश्चात उक्त जग्गाको मोही लगत कट्टा गरी पाउँ भनी कारवाही चलाएकोमा उक्त जग्गाको मोही लगत कट्टा गरी दिने ठहर्याई ०४५।३।३० गतेमा निर्णय भएको छ । सो निर्णय बदर नगरी विपक्षीको दावी अनुसार मोही प्रमाणपत्र दिने ठहर गरेको कानुन संगत भएन भन्ने देवु साहु सुडीको पुनरावेदनपत्र।
६. यसमा शुरु निर्णय विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने जनकपुर अञ्चल अदालतको ०४७।१०।६ को आदेश ।
७. प्रत्यर्थीलाई मोही हक कायम गरी मोहियानी प्रमाणपत्र दिने भनी गरेको निर्णय स्वच्छ सुनवाईको समेत प्रतिकूल हुन जाने देखिन आएकोले मोही कायम गरी मोही प्रमाणपत्र दिने भनी जि.भू.सु.का. ले मिति ०४६।१२।२ मा गरेको निर्णय नमिलेको हुँदा उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत जनकपुरको फैसला
८. पुनरावेदन अदालत जनकपुरको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी पाउँ भन्ने वादी शान्ति देवीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदकको वा.धिरजकुमार यादवलाई छल फलमा राखी निर्णय तर्फ विचार गर्दा यस्मा जि.म. खुट्टापिपराडी गा.पं. वडा नं. ८(क) कि.नं. २१२ को ०–८–० जग्गाको मोही स्व.सासु सुनिया यादव परलोक भएको हुँदा निजको शेषपछि हक खाने म बुहारीले जोति कमाई साल सालै जग्गा धनीलाई बाली बुझाउँदै आएको हुँदा उक्त जग्गाको मेरा नाउँमा मोही कायम गरी पाउँ भन्ने वादी र सुगियाको मृत्यु पश्चात उक्त जग्गा आफैंले जोतकोड गरी आएको कारण २०४५।३।३ मा मोही लगत कट्टा समेत भैसकेको हुँदा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर भएकोमा मोही हक कायम गरी मोही प्रमाणपत्र दिने ठहर्छ भन्ने जि.भू.सु.का. को निर्णय उपर प्रस्तुत पुनरावेदन गर्न आएको देखियो । मोही मरेपछि मोही हक अपुताली जस्तो गरी प्राप्त हुने हक नभै निजको पत्नी, छोराहरु मध्ये जग्गा धनीले पत्याएको व्यक्तिले मात्र मोही हक पाउन सक्ने कानुनी व्यवस्था भएको र वादीको लोग्नेलाई मोहीको मृत्यु पश्चात मोही पत्याएको भन्ने कुरा वादीले नै उल्लेख गर्न नसकेको समेत अवस्थामा वादी मोहीको छोरा बुहारीले मोही हक पाउने भन्न मिल्ने देखिएन । यी वादी र जग्गा धनी प्रतिवादी बिच कबुलियत लिखत भएको भन्ने पनि वादीले भन्न सकेको पनि छैन । साथै प्रमाण निमित्त झिकाइएको मोही लगत कट्टा मुद्दाको भू.सु.का.को मिसिलबाट २०४५।३।३ मा मोही सुगियादेवीको मोही लगत कट्टा गर्ने निर्णय समेत भै कायम रहेको अवस्थामा सो निर्णय कानुनतः बदर नहुँदै पुनः वादीलाई मोही कायम गर्ने गरी सोही निकायबाट भएको निर्णय मिलेको नदेखिँदा उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु
न्या.नगेन्द्रबहादुर न्यौपाने
इतिसम्वत् २०५१ साल पौष ४ गते रोज २ शुभम्