शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२७३ - लेनदेन

भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक:

निर्णय नं. २२७३    ने.का.प. २०४२      अङ्क २

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको दे.पु.नं. ७८८

मुद्दा : लेनदेन ।

 

पुनरावेदक/प्रतिवादी: धनुषा जिल्ला जनकपुर नगर पञ्चायत वडा नं. ६ बस्ने झावरमल गोयन्का

विरूद्ध

विपक्षी/वादी: राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखा धनुषाका मैनेजर वेदमान सिंह मल्ल

फैसला भएको मिति: २०४२।२।३।५ मा

     हक अधिकार नै नभएको व्यक्तिबाट दायर भएको फिरादबाट इन्साफ गर्न नमिल्ने ।

(प्रकरण नं.१४)

पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान व.अ. श्री कृष्ण प्रसाद पन्त

विपक्षी/वादी तर्फवाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी

फैसला

न्या.धनेन्द्र बहादुर सिंह: मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    जनकपुर नगर पञ्चायत वडा नं. २ स्थित बेनी माधोको घरमा राखिएको रु. ३३,०००। मूल्यको ३७ थान सुटिङका कपडाहरू सुरक्षण वापत राखी ०२८।९।२८ गते लिखत गराई उल्लिखित शर्त पालन गर्ने गरी रु. २३,००१। कर्जा दिएकोमा विपक्षीले भाषामा सावाँ ब्याज समेत नबुझाई शर्तको उल्लंघन गरेको हुँदा वा.बै. ऐन, ०३१ को दफा ४७ खण्ड (ङ) को अधीनमा रही सुरक्षण वापत राखेको कपडा ०३४।४।५ मा लिलाम गर्दा रु. ४८००। प्राप्त भएको उक्त रकम र निजले दाखिल गरेको सावाँ मध्यकै रकम कट्टा गर्दा आजसम्म बाँकी रहेको रु. ४६३७।९५ र शुरू देखिको ब्याज राष्ट्र बैङ्कले निर्धारित गरे बमोजिम हुन आउने रू. ११२०९।९४ समेत गरी जम्मा रु. १५८४७।८९ विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत राष्ट्रिय बाणिज्य बैङ्क जनकपुर शाखा धनुषाका मैनेजर बेदमान मल्लको फिरादपत्र ।

३.    मेरो ३७ थान कपडा रु. २३,१००। को लागि सुरक्षणमा राखिएको सो सामान रु. २३,१००। मा पनि निश्चित रूपले कम्तिमा २५ प्रतिशत थप मूल्यको थियो । त्यस्तो सामान ४८००। मा लिलाम भएको भन्ने भनाई फरेव हो । कानुन बमोजिम लिलाम गर्नुअघि प्राकृतिक न्याय सिद्धान्त अनुरूप मलाई सूचना दिनुपर्ने त्यस्तो गरिएन । ०३३।५।१४ मा मलाई प्रेषित गरेको पत्रमा साँवा रु. ९२५०। देखाइएको छ । फिरादमा लिलामबाट आएको रु. ४८००। कट्टा गर्दा बाँकी हुन आएको रकम रु. ४६३७।९५ देखाएको गलत छ । दावी प्रष्ट एवं तथ्यमा आधारित छैन भन्ने समेत झावरमल गोयन्काको प्रतिउत्तरपत्र ।

४.    वादी दावी बमोजिम धितो राखेको कपडा ३७ थान मध्ये १६ थान लिलाम भएको कागज देखिन्छ । बाँकी २१ थान कपडा लिलाम भएको कागज कर्जा सम्बन्धी फाइलमा नरहेको फाइलमा हेर्दा शिवचन्द्रको गोदाममा धितो राखेको कागज देखिन्छ, बेनी माधोको गोदाममा राखेको भनेको फिराद दावी बमोजिम कागज देखिँदैन भन्ने समेत व्यहोराको ०३६।६।७ मा प्रतिवादीको वा विष्णुप्रसादले गरेको बयान ।

५.    दावी बमोजिम सावाँ ब्याज रु. १५,८४७।८९ र मुद्दा फैसला हुँदाको अवस्थासम्मको बैङ्कको नियमानुसारको ब्याज समेत वादीले प्रतिवादीबाट असूल उपर गरी लिन पाउने ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको ०३८।२।२५ को फैसला ।

६.    सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी झावरमलको पुनरावेदन ।

७.    दावी बमोजिम सावाँ ब्याज भराउने गरेको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।३।२१ को फैसला ।

८.    वाणिज्य बैंक ऐन, २०३१ को दफा ६ अनुसार सञ्चालक समितिले अधिकार प्रत्यायोजन नगरेसम्म म उपर विपक्ष मैनेजर बेदमान सिंहलाई फिराद गर्ने हकदैया नभएकोमा सावाँ ब्याज भराउने गरेको निर्णय त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिनु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४१।२।३१ को आदेश ।

९.    पुनरावेदकतर्फबाट रहनुभएका विद्वान व.अ. श्री कृष्ण प्रसाद पन्तले राष्ट्रिय वाणिज्य बैंक ऐन, ०३१ को दफा ६ बमोजिम फिराद गर्ने अधिकार सञ्चालक समितिलाई मात्र छ। रा.वा.बैंक जनकपुर शाखा धनुषाका मेनेजर बेदमान सिंह मल्ललाई सो अधिकार प्रत्यायोजन गरेको छैन । प्रस्तुत फिराद हकदैया नभएका व्यक्तिले दायर गरेको हुँदा खारेज हुनुपर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ   अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले पुनरावेदकले वादीसँग कारोबार गरेको हुँदा सो कारोवार गरेको शाखाले दिएको फिरादलाई अधिकार नभएको व्यक्तिले दिएको फिराद भन्न मिल्दैन । सावाँ ब्याज भराउने गरेको क्षेत्रीय अदालतको निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१०.    प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

११.    यसमा निर्णयतर्फ हेर्दा राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ६ अनुसार प्रस्तुत फिराद दायर गर्ने अधिकार सञ्चालक समितिलाई मात्र प्राप्त छ । सो अधिकार प्रत्यायोजन भएको पनि नहुँदा विपक्षी वादी मैनेजर बेदमान सिंहलाई फिराद डायर गर्ने अ.बं. ८२ नं. ले हकै नहुँदा फिराद खारेज गर्नु पर्नेमा साँवा ब्याज भराउने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय त्रुटिपूर्ण हुँदा पुनरावदेनको अनुमति पाउँ भन्ने मुख्य प्रतिवादीको निवेदन जिकिर भएकोमा राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ६ मा बैंकको सबै काम कारवाही बैंकको नाममा सञ्चालक समितिले गर्ने भन्ने व्यवस्था भएको वादीलाई सञ्चालक समितिले अधिकार प्रत्यायोजन गरे भएको समेत देखिन नआएको हुँदा हकदैया नै नभएको व्यक्तिको फिरादबाट दावी बमोजिम रुपैयाँ भराउने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा रा.वा. बैंक ऐन, ०३१ को दफा ६ को त्रुटि देखिएको भनी पुनरावेदनको अनुमति प्रदान गरेको देखिन्छ ।

१२.   वाणिज्य बैंक ऐन, २०३१ को दफा ३ को उपदफा (३) मा बैंक संगठित संस्था हुनेछ यसले आफ्नो नामबाट नालेश उजूर गर्न सक्नेछ भन्ने उल्लेख भएको देखिन्छ । त्यसरी नालिश उजूर गर्ने सम्बन्धमा उक्त ऐनको व्यवस्थालाई हेर्दा वाणिज्य बैंक ऐन, २०३१ को दफा ६ मा यस ऐन बमोजिम बैंकले गर्ने सबै काम कारवाही बैंकको नाममा सञ्चालक समितिले गर्नेछ र सञ्चालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरू मध्ये सबै वा केही अधिकार अध्यक्ष, सञ्चालक, सञ्चालकहरूको उपसमिति महाप्रबन्धक वा बैंकका अरू पदाधिकारीलाई सुम्पन सक्नेछ भन्ने लेखिएको छ । यसबाट बैंकको तर्फबाट कुनै व्यक्ति उपर मुद्दा दायर गर्नुपर्ने भएमा सञ्चालक समितिले वा सञ्चालक समितिले अधिकार प्रत्यायोजित गरेको पदाधिकारीले मात्र नालेश दायर गर्न सक्ने व्यवस्था गरेको पाइयो ।

१३.   प्रस्तुत लेनदेन मुद्दामा राष्ट्रिय वाणिज्य बैंक जनकपुर धनुषा शाखाका मैनेजर वेदमान सिंह मल्लले प्रतिवादी उपर फिराद दायर गरेको देखिन्छ । तर सो वाणिज्य बैंक ऐन, २०३१ को दफा ६ बमोजिम सञ्चालक समितिबाट वा अधिकार प्रत्यायोजित भएको पदाधिकारीबाट प्रस्तुत फिराद दायर भएको देखिँदैन ।

१४.   त्यसरी ऐनले निर्दिष्ट गरे अनुसार सञ्चालक समिति वा समितिबाट अधिकार प्रत्यायोजित भएका पदाधिकारीले मात्र फिराद गर्न पाउनेमा अ.बं. ८२ नं. बमोजिम हक अधिकारै नभएका राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखा धनुषाको मैनेजर वेदमान सिंह मल्लको दायर भएको प्रस्तुत फिरादबाट इन्साफ तहकिकात गर्न अ.बं. ८२ नं.ले मिल्ने देखिँदैन । अतः हक अधिकार नै नभएको व्यक्तिबाट दायर भएको प्रस्तुत फिरादबाट इन्साफ गर्न नमिल्ने हुँदा प्रस्तुत मुद्दाको फिराद दावी खारेज हुने ठहर्छ । तथ्यभित्र प्रवेश गरी साँवा ब्याज भराउने गरेको जनकपुर अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।

तपसील

वादीले प्रतिवादीबाट साँवा ब्याजमा रु. १८३१७।२६ र कोर्टफी रु. ६५३।९३ जनकपुर अञ्चल अदालतका ०३८।२।२५ को फैसलाले भराउने गरेकोमा माथि लेखिए बमोजिम मुद्दा खारेज भएकोले सो बमोजिम भरी भराउन गर्नु परेन सो लगत काटी दिनु भनी धनुषा जि.अ.मा.  लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१

जनकपुर अं.अ.का ०३८।२।२५ का फैसलाले फिराद गर्दाको भोलिपल्ट देखिको हुने ब्याजको कोर्टफी रु. ११८।७७ वादीबाट लिई प्रतिवादीबाट भराउने गरेकोमा मुद्दा खारेज भएकोले सो बमोजिम गर्नुपरेन व्यहोरा जनाई सो लगत काटी दिनु भनी धनुषा जि.अ. मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..२

पुनरावेदक प्रतिवादी झावरमल गोयन्का के शुरू उपर पुनरावेदन गर्दा वादीलाई भराउने गरेको कोर्टफी रु. ६५३।९३ मध्यमान्चल क्षेत्रीय अदालत मार्फत काठमाडौं जि.अ.मा ०३८।४।२५ मा धरौट राखेको देखिँदा सो धरौट राखेको कोर्टफि फिर्ता पाउँ भनी प्रतिवादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई धरौट रहेको बाट फिर्ता दिनु भनी काठमाडौ. जि.अ. मा लगत दिनु..३      पुनरावेदक झावरमल गोयन्काले शुरू उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ११५।९४ यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ९८।१० समेत जम्मा रु. २१४।०४ वादीबाट भराईपाउँ भनी पुनरावेदक प्रतिवादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई पुनरावेदक प्रतिवादीलाई भराई दिनु भनी काठमाडौं जि.अ.मा लगत दिनु....४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु..............................५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ ३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु