शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२७५ - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक:

निर्णय नं. २२७५    ने.का.प. २०४२      अङ्क २

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४१ सालको रि.नं. १३२३

विषय : उत्प्रेषण ।

 

निवेदक      : का.न.पं. १९ वार्ड का.जि.ढोकाटोल बस्ने बलभद्र मिश्र समेत ।

विरूद्ध

विपक्षी : जिल्ला भूमि सुधार कार्यालय काठमाडौं डिल्लीबजार ।

का.न.पं. १९ वार्ड का.जि. दमाईटोल बस्ने प्राणमाया महर्जन ।

आदेश भएको मिति: २०४२।२।३।२ मा

     मोहीको मृत्यु पछि मोही हक कसलाई प्राप्त हुने भन्ने कानुनी व्यवस्था तर्फ हेरिएमा भू.सं. ऐन, २०२१ को दफा २६(१) मा...मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई हुने ।

(प्रकरण नं.१६)

     बुहारी नाताकी व्यक्तिलाई भर्पाई गरिदिएकै भए पनि उक्त भर्पाईहरूले प्रत्यर्थीलाई मद्दत गर्न नसक्ने र हकदारहरूले जोत नामसारीका लागि मञ्जूरी दिन सक्ने कानुनी व्यवस्था समेत नदेखिने ।

 (प्रकरण नं.१६)

निवेदक तर्फबाटःX

विपक्षी तर्फबाट      :विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल र विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार

उल्लेखित मुद्दाःX

आदेश

न्या.बब्बर प्रसाद सिंह: नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर निम्न प्रकारको रहेछ :

२.    का.न.पं. १९ वार्ड का.जि.ढोकाटोल बस्ने बलभद्र मिश्र समेतको हक भोगको का.जि.स्वयंभू गा.पं.वा.नं. ५ को कि.नं. २१० को क्षेत्रफल रोपनी ०२ र ऐ. ऐ. कि.नं. २१६ रोपनी २११० समेत जग्गा रोपनी ३२ सो जग्गाको जोताहा मोही मेरो ससुरा का.जि.दमाईटोल बस्ने अष्टमान महर्जन भएकोमा निज ससुरा अष्टमान महर्जन आफ्ना कालगतिबाट २०२३ सालमा परलोक हुनु भएबाट निजको नजिकको हकदार निजको हक खाने निजको सहोदर बुहारी म निवेदिका बाहेक अरू कोही पनि नभएको र निज ससुरा परलोक भएपछि उक्त जग्गा मैले नै जोती भोगी कमोद गरिआएकोले सो जग्गाहरू म निर्विवाद जोताहा मोही भएकोले उक्त मेरा ससुराको नाममा जोताहा मोहीबाट कट्टा गरी म निवेदिकाको नाममा जोताहा नामसारी गरिपाउँ भनी सम्बन्धित वडाको सिफारिश र क्षेत्रीय पुस्तिकाको प्रतिलिपि समेत राखेर भू.सु.का. मा २०३९।१२।१७।५ मा विपक्षीले निवेदन दिएको ।

३.    यो मोही नाउँसारी गरिपाउँ भनी भनेको जग्गाको मोही विपक्षीको ससुरा अष्टमान हो निज परलोक भएको र निजको पत्नी र छोराहरू जीवित छँदाछँदै यो विपक्षी निवेदिका बुहारीलाई दिने ऐन प्रतिकूल कार्य हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएका व्यक्तिलाई प्राप्त हुनेछ भनिएबाट निवेदिका उक्त नाता भित्रको व्यक्ति नभई छोरा बुहारी भएकोले कानुन प्रतिकूल कार्य गरी विपक्षीलाई  दिने हाम्रो मञ्जूर छैन भनी २०४०।१०।२३।२ मा म बलभद्र मिश्र समेतको संयुक्त बयान भएको ।

४.    यसै बीच पुनः विपक्षीले ०४१।१।३ मा ज.ध.लाई बाली बुझाएको ०३०।६।२६।५ को भर्पाई १, २०२७ सालको १ र २०२६ सालको १ समेत भर्पाई थान ३ र ०४० सालको बाली धरौट राखेको बैङ्कको भौचर १ समेत कागज थान ४ पेश गरेको छु प्रमाण लगाई पाउँ भन्ने निवेदन दिएकोमा विपक्षीको ससुरा अष्टमान महर्जनको नाता प्रमाणित गरी पठाएको प्रमाणपत्रबाट मृतक अष्टमानको नातामा श्रीमती माया महर्जनी १ छोरा आलुचा भन्ने भाजुनारायण महर्जन १ छोरा मचाकाजी महर्जन १ बुहारी विपक्षी प्राणमाया १ समेत ५ जना हकदारहरू छन् भन्ने ०४०।६।१०।२ को जि.का. काठमाडौंको नाता प्रमाणितबाट स्पष्ट देखिएको छ ।

५.    विपक्षीका अंशियार हकदार सासु, भानुमाया, जेठाजु आलुचा भन्ने भाजुनारायण देवरानी प्राण महर्जन देवर मचाम महर्जन समेतले अघि देखि निवेदिकाले नै कमाई आएकीले निजैको नाममा मोहियानी दर्ता होस् भनी ३ जनाको हकमा ०४०।६ वेगतेको वारेसनामा समेत राखी आफ्नो हकमा समेत भनी ०४०।८।८ मा मचाकाजिले निवेदन दिई सनाखत गरेको थियो ।

६.    पुनः ०४१।३।१८।१ मा बयान गराउँदा मृतक मोहीको हकदारहरूले दावी नगरेको हुँदा कसैलाई पनि पत्याउँदिन मैले भर्पाई गरी बाली बुझी लिएको छैन भन्ने समेत ताराप्रसादको बयान भएको ।

७.    जग्गावाला तराप्रसाद मिश्रलाई बयान गराउँदा मृतक मोहीको हक खाने हकदारका साथै निवेदिका प्राणमाया महर्जनलाई समेत मोही पत्याउँदिन भन्ने व्यहोराको बयान गरिदिएको र निवेदिकाबाट २०२६, २०२७, २०३० सालको बाली बुझाएको भर्पाई र २०४० सालको बाली धरौटी भर्पाई नक्कल १ समेत पेश हुन आएको निवेदिकाले पेश गरेको भर्पाई अर्कै जग्गाको हो भनी ज.ध.ले बयान गरे तापनि उक्त भर्पाईमा कि.नं.उल्लेख भएको देखिँदैन र जग्गावालाले बयानमा कसैलाई पनि पत्याउँदिन भनी बयान गरे तापनि भू.सं. ऐनको दफा २६(१) मा पत्याउनै पर्ने व्यवस्था भएको संकलन प्रमाणहरू अध्ययन गर्दा निवेदिकाले नै जग्गा कमाई आएको र ज.ध.लाई पनि बाली बुझाई आएको भन्ने देखिएको ज.ध.लाई बकपत्र गराउँदा निवेदिकालाई मोही पत्यार गर्दिन भनी भने तापनि ज.ध.हरू मध्येकै बलभद्र मिश्रले बाली बुझी लिएको भर्पाई पनि मोही प्राणमाया भनी दस्तखत गरेको देखिन्छ । मोहीको हकदारहरूले पनि ०४०।८।८ मा यस कार्यालयमै आई निवेदिकाकै नाममा जोत नाउँसारीका लागि मञ्जूर दिई निवेदन सनाखत भएको ज.ध.ले समेत भू.सं. ऐन अनुसार एकजनालाई पत्यार गर्नुपर्ने बाध्यता भएकोमा निवेदिकाका परिवारले साविक देखि नै जग्गा कमाई ज.ध.लाई बाली समेत बुझाउँदै गरेको देखिँदा माग अनुसार निवेदिका प्राणमाया महर्जनका नाउँमा जोत नामसारी गर्ने गरी ०४१।३।१९ मा निर्णय गर्नुभयो ।

८.    भू.सं. ऐनको दफा २ को (ग) मा बुहारीलाई मोहियानी हक सर्ने व्यवस्था गरेको पाइँदैन । ३४(१) बमोजिमको कबुलियत रसिद हुनुपर्ने र पेश गर्न सक्नुपर्ने र दफा २६(क) मा मोहियानी हक खरिद गर्न वा दान दातव्यको रूपमा वा अरू किसिमले हक छोडी लिन र दिन पाईने छैन भन्ने उल्लेख छ यस्तोमा भू.सु.का.बाट ०४१।३।१६ को निर्णयमा भू.सं. ऐन, २०२१ को दफा २(ख)(ग) २६(१) ३४(१) समेतको त्रुटि हुँदा जो चाहिने आज्ञा, अदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

९.    विपक्षीहरूबाट लिखतजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालतको सिंगल बेञ्चको आदेश ।

१०.    मोही अष्टमान महर्जनको परलोक भई हकखाने एकमात्र बुहारी प्राणमायाको नाउँमा मोही  नामसारी गर्ने सम्बन्धमा निजले ज.ध.लाई बाली बुझाउँदै आएको र हकदारहरूले समेत निजकै नाउँमा नामसारी गर्न मञ्जूर गरी सनाखत गरिदिएको देखिएकोले मोहीनामसारी हुने गरी यस कार्यालयबाट गरेको निर्णय कानुनसंगत भएकोले  रिट निवेदन खारेज गरीपाउन अनुरोधछ भन्नेसमेत भू.सु.अ.को लिखित जवाफ रहेछ ।

११.    स्वयंभु गा.पं. वडा नं. ५ कि.नं. २१० को क्षेत्रफल ०२ कि.नं. २१६ को क्षेत्रफल ३११ जग्गाको जग्गाधनी बलभद्र मिश्र समेत भएको जोताहा मेरा ससुरा अष्टमान महर्जन भई अघिदेखि जोती भोगी आएको ससुरा अष्टमान २०२३ सालमा कालगतिले परलोक हुनुभएको र निज ससुराको शेषपछि मेरो हक हुने भई मोही हक नामसारी गरिपाउँ भनी मेरो निवेदन परी अधिकारप्राप्त अधिकारीले कानुन बमोजिम गरेको निर्णयबाट निवेदकको हक हितको अपहरण भएको समेत नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्राणमाया महर्जनको लिखित जवाफ रहेछ ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको वा.स. सागरप्रसाद र विपक्षी प्राणमायाको तर्फबाट बहसमा उपस्थित विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल र विपक्षी भू.सु.का. को तर्फबाट खटी आउनुभएका विद्वान सर्वोच्च अदालतवलिराम कुमारको बहस जिकिर समेत सुनियो ।

१३.   प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आज्ञा, आदेश जारी हुने हो होइन निर्णय दिनु पर्ने हुन आयो ।

१४.   यसमा तहतह गरी टिप्पणी उठाई मिसिल संलग्न प्रमाणहरू अध्ययन गर्दा निवेदिकाले नै जग्गा कमाई आएको र ज.ध.लाई पनि बाली बुझाई आएको भन्ने देखिएको ज.ध.लाई बयान गराउँदा निवेदिकालाई मोही पत्यार गर्दिन भनी भने तापनि ज.ध.हरू मध्यकै बलभद्र मिश्रले बाली बुझी लिएको भर्पाई पनि मोही प्राणमाया भनी दस्तखत गरेको देखिन्छ । ज.ध.ले बयान दिँदा स. ४ (०४१।३।१८) मा उल्लेख गरेको हकदाहरूले पनि ०४०।८।८ मा यस कार्यालयमा आई निवेदिकाकै नाउँमा जोत नामसारीका लागि मञ्जूरी दिई निवेदन सनाखत गरेको, ज.ध.ले समेत भू.सं. ऐन अनुसार एकजनालाई पत्यार गर्नुपर्ने बाध्यता भएकोमा निवेदिकाको परिवारले साविक देखि नै जग्गा कमाई ज.ध.लाई बाली समेत बुझाउँदै गरेको देखिँदा माग अनुसार निवेदिका प्राणमाया महर्जनका नाउँमा जोत नामसारी हुन मनासिव देखी पेश गरेकोछु भन्ने व्यहोरा पेश भई सोव्यहोरा ०४१।३।२२ मा भू.सु.अ.बाट सदर भएको देखिन्छ ।

१५.   मेरा ससुरा अष्टमान महर्जन आफ्नो कालगतिले ०२३ सालमा परलोक भएको निजको शेषपछि हकखाने म बुहारी निवेदिका बाहेक अरू कोही पनि नभएकोले ससुराका नामबाट जोताहा मोही कट्टा गरी म निवेदिकाको नाउँमा जोताहा नामसारी गरिपाउँ र जोताहाको प्रमाणपत्र पाउँ भन्ने मिति ०३९।१२।१७ मा भू.सु.का. मा प्रत्यर्थी प्राणमायाको निवेदन परेको, त्यस्मा निवेदक प्रतिवादीको प्रतिउत्तर जिकिर र नाता प्रमाणपत्रको नक्कलमा मर्ने अष्टमानको श्रीमती र अरू २ छोरा समेत भएको भन्ने उल्लेख भएको पाइन्छ ।

१६.    मोही अष्टमानको ०२३ सालमा मृत्यु भएको र निजको मृत्यु पछि निजको हक खाने श्रीमती भनी माया महर्जन र छोराहरू आलुचा भन्ने भाजुनारायण महर्जन र मचाकाजि महर्जन जीवितै रहेको भन्नेमा विवाद छैन । मोहीको मृत्यु पछि मोही हक कसलाई प्राप्त हुने भन्ने कानुनी व्यवस्था तर्फ हेरिएमा भू.सं. ऐन, २०२१ को दफा २६(१) मा ....मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई हुनेछ भन्ने व्यवस्था भएको देखिने, उक्त कानुनी व्यवस्था अनुसार मोही सम्बन्धी हक बुहारीलाई नहुने, प्रत्यर्थी  प्राणमायाले अष्टमानको श्रीमती र छोराहरू छँदाछँदै हक खाने म बाहेक अरू कोही पनि नभएको भन्ने झुठ्ठा कुरा उल्लेख गरी स्वच्छ ह्दय र सफा हातले निवेदन दिएको समेत नदेखिने, ज.ध. मध्यकै बलभद्र मिश्रले बाली बुझी लिएको भर्पाईमा पनि मोही प्राणमाया भनी दस्तखत गरेको र हकदारहरूले पनि ०४०।८।८ मा निवेदिकाकै नाउँमा जोत नामसारीका लागि मञ्जूरी दिई निवेदन सनाखत भएको भन्ने हकमा भर्पाई सुनाई मात्र प्रमाण लाग्ने र कानुनले मोही सम्बन्धी हक हुन नसक्ने बुहारी नाताकी व्यक्तिलाई भर्पाई गरिदिएकै भए पनि उक्त भर्पाईहरूले प्रत्यर्थीलाई मद्दत गर्न नसक्ने र हकदारहरूले जोत नामसारीका लागि मञ्जूरी दिन सक्ने कानुनी व्यवस्था समेत नदेखिँदा अष्टमानको बुहारी प्रत्यर्थी प्राणमाया महर्जनको नाउँमा मोहियानी नामसारी गरिदिने गरी गरेको भू.सु.अ.को ०४१।३।२२ को टिप्पणी सदर उक्त भू.सु.ऐनको दफा २६(१) अनुरूप नभएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि सम्बन्धित कार्यालयमा पठाउन म.न्या.कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु