शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२९२ - लिखत बदर

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २२९२     ने.का.प. २०४२      अङ्क ३

 

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४० सालको दे.फु.नं. ५५

मुद्दा : लिखत बदर ।

 

निवेदक/वादी:जि.काभ्रेपलान्चोक सुनथान शारदा गा.पं.वा.नं. ३ बस्ने रत्न बहादुर खत्री क्षेत्री

विरूद्ध

विपक्षी/प्रतिवादी:ऐ.चलाल गणेशस्थान गा.पं.वा.नं. ४ बस्ने कृष्ण बहादुर कुँवर क्षेत्री

फैसला भएको मिति:०४२।३।२५।३ मा

     नातातर्फ कुनै कुरा नबोली लिखत बदरतर्फ वादी दावी खारेज गर्ने गरी गरेको फैसला बदर हुने ।

(प्रकरण नं.२०)

निवेदक/वादी तर्फवाट :विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल

विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना

उल्लेखित मुद्दाःX

फैसला

प्र.न्या.नयन बहादुर खत्रीः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो भए बिन्तिपत्रमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट ०३९।१।२।५ मा किनारा भएको लिखत बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    बाजे धनराजबाट मेरा बाबु मान बहादुर औमान जन्मेका मेरा बाबुबाट ४ छोरा जेठा भीमबहादुर, माइला पद्म बहादुर, साँइला हनुमान, कान्छा म खड्ग बहादुर भएका जेठा मरेका र साँइला विदेश गएका, औमानतर्फका जेठा काजीराम, माइला पद्म बहादुर, साँइला टेक बहादुर, कान्छा सिसे समेत भएका जेठो र कान्छा मरेका साँइला टेक बहादुर विदेश गएका धेरै समय काल बित्यो माइला पनि २००९ सालमा मरेका र माइला दाजुको छोरा कृष्ण पनि विदेश गएका मरे बाँचेको ठेगाना नभई बेपत्ता छन् निज दाजु पद्म बहादुर साँइला बाबुको छोरा हुँदा उनीले ०९।८।२।१ मा जगतबहादुर साहूलाई आफ्नो हकको बारी रु. ५१८। मा भोगबन्धकी पास गरिदिनु भएछ र वहाँको जिन्दगी बितेको । २०२१ सालमा भूमि सुधार लागू भएपछि बारी विजन ।।४ को दाजु पद्म बहादुरले फाराम भरी जो.अ.नि. पाएको त्यस्तैमा दाजु पद्म बहादुरका नाउँमा दुर्गा सिंले तत्कालीन भू.सु.विशेष अदालतमा उजूर गरेपछि बन्धकी साहुलाई पनि झिकाएकोमा बन्धकी जग्गा हो आयस्ता खाएको छैन भनी विशेष अदालतमा बयान भई मुद्दा गरी ०३२।५।७ मा पद्म बहादुरले मोही निष्कासन गरेको ठहरेन । बारी विजन ।।४ को जग्गाको २०२३ सालदेखि गा.पं.मा तिरो तिरी आएको, दुर्गा सिंले र दाजु पद्म बहादुरले भोग गरेनन् जग्गा बाँझै छ रेखदेख मैले गरिआएको त्यस्तैमा प्रेम बहादुर खडा गरी बिक्री गर्न लिने कृष्ण बहादुर भई का.पं.मालमा ०३०।९।२ मा  रु. २९००। मा पास गरेछन् ०३०।११।११ मा नक्कल सारी थाहा पाएँ । प्रेम बहादुरको हकै नभएको तिरो दर्ता नभएको जग्गा विपक्षहरूले गरेको २०३०।९।२ को रु. २९००। को राजीनामा पास गरेको हक नपुग्ने जग्गा बिक्री लिनुदिनु गरेको र बदर गरी पछि विदेशी कृष्णे आएमा मैले फिर्ता दिने गरी नआएसम्म मेरो हकमा रहने गरी उक्त राजीनामा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रत्न बहादुर भन्ने खड्ग बहादुर खत्री क्षेत्रीको फिराद ।

३.    मेरा पिता पद्म बहादुरको दुई श्रीमतीमा कान्छी पट्टीको छोरा प्रेम बहादुर र जेठी पट्टीको छोरा दाजु कृष्ण बहादुर भएकोमा पिता पद्म बहादुर र सौतेनी जेठी आमा समेत परलोक भएछन् दाजु कृष्ण बहादुर विदेश जानु भएछ मेरो आमा डल्ली भोटिनी ढुकुर घर्ती क्षेत्रीसँग पोइल गएको म नाबालख हुँदा मलाई पनि साथै लगेको, ढुकुरे घर्ती मरेपछि आमा पद्म बहादुर प्रहरीसँग पोइल जानु भएको मलाई पनि साथै लानु भएछ मेरो उमेर पुगेपछि वादी दावी बमोजिमको जग्गा रू. २९००। मा ०३०।९।२।२ मा राजीनामा पास गरिदिएको हुँदा झुठ्ठा वादी दिएमा वादीलाई नै सजायँ गरिपाउँ भन्ने प्रेम बहादुरको प्रतिउत्तर ।

४.    मेरो दाता प्रेम बहादुरको नाममा गा.पं.ले गरिदिएको रसिद र तालुकले जिम्मावारी लिएको भर्पाई समेत देखिएकोले उक्त रु. २९००। मा ०३०।९।२।२ मा राजीनामा पास गरिलिएको हुँदा झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने कृष्ण बहादुर कुँवर क्षेत्रीको प्रतिउत्तर ।

५.    नक्कली व्यक्ति खडा गरी लिनुदिनु गरेको लिखत बदर गरिपाउँ भन्ने दावीमा नक्कली व्यक्ति खडा गरे भन्नेतर्फ फौजदारी र लिखत बदरतर्फ देवानी छुट्टाछुट्टै फिराद गर्नुपर्नेमा एउटै फिराद गरेको हुँदा खारेज हुने ठहर्छ भन्ने समेत काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला ।

 

६.    उक्त फैसलामा चित्त बुझेन भनी वादीले दिएको पुनरावेदनमा वादीका दुई दावी भए तापनि इन्साफ गर्न नपर्ने जती कुरा दरपीठ गरी इन्साफ गर्नुपर्नेमा खारेज गरेको मिलेन कारवाई किनारा गर्नु भनी मिसिल शुरूमा पठाई दिने भन्ने समेत बा.अं.अ.को फैसला ।

७.    वादी दावीको राजीनामा लिखत बदर हुने ठहर्छ भन्ने समेत काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी कृष्ण बहादुरको बा.अं.अ.मा पुनरावेदन ।

९.    जग्गा बिक्री गर्ने भनेका प्रेम बहादुर पद्म बहादुरको छोरो हो, होइन त्यसतर्फ अ.बं. ८० नं.को कार्यविधि अपनाई लिखत बदर हुने नहुने निर्णय फैसला गर्नु भन्ने समेत बा.अं.अ.को फैसला ।

१०.    दाता प्रेम बहादुरको बाबु पद्म बहादुर २००९ साल फाल्गुणमा परलोक भइसकेको प्रेम बहादुरको दाजु कृष्ण बहादुर २००४ साल तिर विदेश गएको, प्रेम बहादुरको आमा डल्ली भोटेनी गाउँकै ढुकुरे घर्ती क्षेत्रीसँग पोइल गई निज डल्ली पछि खोपासी दानघाट बस्ने पद्म बहादुर प्रहरीसँग पोइल जाँदा प्रेम बहादुरलाई समेत साथै लगेको हो भन्ने समेत कृष्ण बहादुरको बयान ।

११.    बाजे धनराजका दुई छोरामा मान बहादुरको छोरा म हुँ र ऐमानको छोरा पद्म बहादुर र निजको छोरा कृष्ण बहादुर भई कृष्ण बहादुर २००७ सालमा विदेशतर्फ गएको हो निजको सौतेनी आमाबाट जन्मेको छोरा समेत कोही छैनन् नभएको मानिसलाई भएको भनी नक्कली प्रेम बहादुर खडा गरेको हो भन्ने समेत वादीको बयान ।

१२.   पद्म बहादुरको छोरा कृष्ण बहादुर २००७ सालमा विदेश गएको र २००९ साल फाल्गुण ९ गतेमा पद्म बहादुर परलोक भएकाले पद्म बहादुरका आमा स्वास्नी र छोरा छैनन् भन्ने समेत प्रतिवादीको पेटबोलीबाट बुझिएको पद्म बहादुरको बयान ।

१३.   प्रेम बहादुरलाई उपस्थित गराउनु भन्ने आदेश भई कागज हुँदा समेत उपस्थित गराउन असमर्थ छु भनी कागज गरेको समेत देखिएकोले प्रेम बहादुर पद्म बहादुरको छोरो हो भन्ने प्रमाण प्रतिवादीबाट गुजार्न नसकेको हुँदा प्रेम बहादुर पद्म बहादुरको छोरा देखिन नआएकोले पद्म बहादुरको नाउँको जग्गा प्र.कृष्ण बहादुरलाई बिक्री गरेको लिखत बदर हुने ठहर्छ भन्ने समेत काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला ।

१४.   उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.कृष्ण बहादुरको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१५.   प्रेम बहादुर, पद्म बहादुरको कान्छी स्वास्नी पट्टीको छोरा हो कि त भन्नलाई निज तर्फबाट सो कुराको प्रमाण जुटाउन सकेको देखिएन । प्रेम बहादुर बुझ्दा बेपत्तै म्याद तामेल भएको छ । यदि प्रेम बहादुर पद्म बहादुरको छोरा भएको भए आफू पद्म बहादुरको छोरा नठहरेमा आफ्नु बाबु पद्म बहादुरको वंशबाटै आफू विलुप्त हुने कुरामा निजले त्यसरी अरू प्रतिवादीहरूसँग लागी अदालतमा हाजिर हुन नआई बस्नु नपर्ने हो परन्तु पद्म बहादुरको छोरा प्रेम बहादुर नभएकै कारणले अदालतमा आउन बयान दिन नसकेको रहेछन् भन्ने कुरा देखिन आएबाट पुनरावेदन जिकिर पुग्न सक्दैन इन्साफ शुरूको मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१६.    उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको आदेश ।

१७.   निर्णयार्थ डिभिजन बेञ्चसमक्ष पेश हुँदा विवादको जग्गा प्रेम बहादुरका नाउँमा दर्ता भएको निजले तिरो तिरान गरिराखेको जग्गा निजले कृष्ण बहादुर कुँवरलाई राजीनामा गरिदिएको देखिन आएकोले सो विवादको जग्गामा वादीको अ.बं. ८२ नं.बमोजिम हकदैया लाग्न नसक्ने देखिनाले वादी दावीबमोजिम लिखतबदर हुने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालतको फैसला ।

१८.   निवेदक तर्फबाट उपस्थित विद्वान व.अ. श्री लक्ष्मण प्रसाद अर्यालले प्रेम बहादुर पद्म बहादुरको छोरा हैन अदालतबाट बोलाउँदा आएको छैन । डिभिजन बेञ्चले नातातर्फको मूल प्रश्नमा नबोली लिखत बदरतर्फ वादी दावी खारेज गरेको मिलेको छैन भन्ने समेत बहस गर्नुभयो विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान व.अ. श्री बासुदेवप्रसाद ढुङ्गानाले प्रस्तुत मुद्दामा मूल दावा लिखत बदर हो नाता कायम हैन वादी खूदै देवानी मुद्दा लिएर आउँछ भने अदालतले वादी दावीलाई फौजदारीमा परिणत गर्न मिल्दैन । तसर्थ वादी दावी खारेज हुने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१९.    यसमा पद्म बहादुरको छोरा तीन पूस्ताभित्रको भतिजो कृष्ण बहादुर विदेश गएको र निजको सम्पत्ति मैले रेखदेख गरिआएकोमा पद्म बहादुरको छोरा भनी नक्कली प्रेम बहादुर खडा भई ०३०।९।२ मा रु. २९००। मा पास गरी कृष्ण बहादुरलाई दिएको हुँदा पछि विदेशी कृष्णे आएमा मैले फिर्ता दिने गरी नआएसम्म मेरो हकमा रहने गरी उक्त राजीनामा बदर गरिपाउँ भन्ने समेत वादी रत्न बहादुर भन्ने खड्ग बहादुरको फिराद दावी देखिन्छ । प्रतिवादी प्रेम बहादुरले आफूलाई पद्म बहादुरको कान्छी श्रीमती डल्ली भोटेनीको छोरा भन्ने कुरा उल्लेख गर्दै विवादको सम्पत्ति बिक्री गर्न आफ्नो हक भएको भन्ने समेत जिकिर लिएको देखिन्छ । यसरी प्रतिवादीले आफूलाई पद्म बहादुरको छोरा हुँ भन्ने दावी लिएको कारणले प्रस्तुत मुद्दामा अ.बं. ८० नं. बमोजिम नाता कायमतर्फ बोल्नुपर्ने देखिन आएको छ र बा.अं.अ.ले अ.बं. ८० नं. बमोजिम नातातर्फ कारवाई गर्नु भनी शुरू काभ्रेपलान्चोक जिल्ला अदालतमा पठाउने गरी गरेको फैसलामा प्रतिवादीले चित्त  बुझाई बसेको समेत देखिन्छ । ०३०।९।२ मा विवादको जग्गा कृष्ण बहादुरलाई बिक्री गर्न प्रेम बहादुर पद्म बहादुरको छोरा हो वा होइन भन्ने तर्फ इन्साफ भएपछि मात्र विवादको लिखत बदर हुने हो होइन भन्नेतर्फ इन्साफ गर्नुपर्ने हुन्छ तर डिभिजन बेञ्चबाट प्रस्तुत मुद्दामा नातातर्फ कुनै कुरा नबोली लिखत बदरतर्फ वादी दावी खारेज गर्ने ठहर गरेको मिलेको देखिएन ।

२०.   अतः उपर्युक्त कारणहरूबाट प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट नातातर्फ कुनै कुरा नबोली लिखत बदरतर्फ वादी दावी खारेज गर्ने गरी गरेको ०३९।१।२ को फैसला बदर हुने ठहर्छ पुनः कानुन बमोजिम निर्णय गर्नु भनी फुल बेञ्चको लगत कट्टा गरी मिसिल डिभिजन बेञ्चमा पठाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल आषाढ २५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु