निर्णय नं. २२९५ - अंश

निर्णय नं. २२९५ ने.का.प. २०४२ अङ्क ३
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् ०४१ सालको दे.फु.नं. ६४
मुद्दा : अंश ।
निवेदक/प्रतिवादी:का.जि.का.न.पं.वार्ड नं. १७ क्षेत्रपाटी धोविचौर बस्ने छिरिङ फिन्जो ।
विरूद्ध
विपक्षी/वादी:ऐ.ऐ. वडा नं. ३० ज्याठा टोल बस्ने दावाङ गोल्छेन ।
फैसला भएको मिति:२०४२।३।२१।६ मा
कुनै अंशियारको हित सम्बर्धनमा धेरै रकम खर्च भयो भन्दैमा उक्त रकमलाई निजले अंश वापत पाउने रकम हो भनी अंश हकबाट वञ्चित गर्न मिल्ने पनि देखिँदैन ।
(प्रकरण नं.११)
निवेदक/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान
विपक्षी/वादी तर्फवाट :विद्वान व.अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. पिता सोनाम केलर र आमा छेमलाबाट विपक्षी छिरिङ फिन्जो, म र एक बहिनी भएकोमा बहिनीको विवाह भइसकेको र पिताको स्वर्गवास भएपछि पिताले आर्जन गर्नुभएको सम्पत्ति र हामीले कमाएको समेत विपक्षी दाज्यूको जिम्मामा भएकोले अंश छुट्याई माग्दा मिति ०३५।१।२३ गते जो गर्नुपर्छ गर भन्ने जवाफ दिएकोले विपक्षीसँग भएको सम्पत्तिको तायदाती लिई मेरो अंश छुट्याई पाउँ भन्ने समेत ड्वाङ गेल्छेनको फिरादपत्र रहेछ ।
३. चुं जे दस्तूर तिरी बस्ने गरी विपक्षीलाई ०७ सालमा तिब्बत ल्हासा स्थित धेपु गुम्वाङ्गकपा धार्चामा विपक्षीलाई लामा भिक्षु बनाई राखेकोमा ०१५ सालमा निज १६ वर्ष पुगेपछि गुम्बाको नियम बमोजिम ठूलो दर्जा दिई धेरै पैसा खर्च गरिएको थियो । जन्मभरी भिन्न भई बस्न सक्ने गरी चाहिएको सरसामानहरू समेत दिइएको थियो । विपक्षी भिक्षु भइसकेको हुँदा अंशबण्डाको ९ नं. ले पनि अंशमा दावी नपुग्ने हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र रहेछ ।
४. वादीबाट रु. ५०१८। को र प्रतिवादीबाट दाइजोको रु. १,००,०००। बैङ्कमा डिपोजिट भएको ऋण धनका हकमा अचल घर ल्हासामा भएको हुँदा नेपालमा बण्डा नलाग्ने र अरू ऋण धनका हकमा दिनुपर्ने ९,०६,०००। लिन पर्ने रु. ८९,६९०। को तायदाती रहेछ ।
५. वादीले आफ्नो अंश अघि बुझी लिई गुम्बामा भिक्षु बनी सकेको देखिएको हुँदा एकपटक आफ्नो अंश लिई आफूखुस गरी सकेपछि पुनः यी प्रतिवादी दाज्यूले अंश भोग्दै आएको भन्ने वादीको फिराद दावी पुग्न सक्दैन भन्ने समेत शुरू जि.अ.को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको।
७. सन् १९५० देखि १९५९ सम्म ड्वाङ गेल्छेन ड्रेपुङ गुम्बामा डनर्पा ढाँचामा भिक्षु बनी छुन्जे पदवी लिई गुरू साम्बे ग्वाछोसँग बसेका थिए । त्यस बेलाको प्रचलन अनुसार भिक्षु बन्न ठूलो रकम लाग्ने भएको भिक्षु बन्न चाहनेले आफ्नो अंशको रकम त्यसको लागि खर्च गर्ने चलन भएको व्यहोराको पत्र नेपाली दुःख निवारण कल्याण कोष, ल्हासाको मिति ०३६।३।१४ को पत्र चीनको स्वसाशित प्रदेश तिब्बतको परराष्ट्र मामला सम्बन्धी कार्यालयको १९७८ जुन २८ को पत्रमा पनि ड्वाङ गेल्छेन सन् १९५० देखि १९५९ सम्म ड्रेपुङ गुम्बामा भिक्षु भएर बसेको व्यहोरा प्रमाणित गरेको पत्र पाइएकोले अंशको प्रमाण लाग्ने नै हुँदा उक्त प्रमाणबाट वादी भिक्षु भइसकेको देखिन आएकोले भिक्षु बन्नु नै भौतिक दृष्टिकोणले पारिवारिक हक दायित्व छाडी विजय होम गर्नु हुने हुँदा मुडिई विजयहोम गरी सकेपछि अंशबाट बञ्चित हुने र भेषधारी बनी अंशबाट वञ्चित भइसकेपछि पुनः गृहस्थाश्रममा प्रवेश गर्नेले अंश पाउने कानुनी व्यवस्था भएको पनि नपाइएकोले वादीको दावी नपुग्ने ठहर्याएको शुरूको इन्साफ मनासिव छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
८. क्षेत्रीय अदालतको उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी बादीले निवेदन दिएकोमा विजयाहोम गरेको भन्ने सबूत प्रतिवादीबाट आउन नसकेको अवस्थामा अंश पाउँदैन भनी ठहर गर्नु अंशबण्डाको ९ नं. को त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालतबाट मिति ०३८।५।१७।४ मा आदेश भएको रहेछ ।
९. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा वादी ड्वाङ ग्याल्छेन अंशियार हो भन्ने कुरामा विवाद नदेखिएको र वादीले अंश पाइसकेको भन्ने कुराको प्रमाण प्रतिवादीले गुजार्न नसक्नुको अतिरिक्त मिसिल सामेल रहेको नेपाली दुःख निवारण कल्याण कोष ल्हासाको मिति ०३६।३।१४ र चीन स्वशाशित प्रदेश तिब्बतको परराष्ट्र मन्त्रालयको जुन २८, १९७९ को पत्रहरूबाट वादीले अंश पाइसकेको भन्ने प्रमाणित भएको भन्न पनि मिल्दैन । साथै प्रतिवादी जिकिर अनुसार वादीलाई अंशबाट वञ्चित गराउन अंशबण्डाको ९ नं. को अवस्था अर्थात मुडिई विजयाहोम गरेको भन्ने तथ्ययुक्त किटानी प्रमाण हुनु पर्नेमा सो भएको नदेखिँदा अंश नपाउने ठहराएको शुरू इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा वादी दावी बमोजिम बण्डा छुट्याई दिनु भनी पक्षहरूलाई तारेख तोकी मिसिल जिल्ला अदालतमा पठाई दिनु भन्ने डिभिजन बेञ्चको ०३९।६।१८।२ को फैसला ।
१०. निवेदक तर्फबाट उपस्थित विद्वान व.अ. श्री दिनेशमान प्रधान तथा विपक्षी वादी तर्फवाट उपस्थित विद्वान व.अ. श्री कृष्ण प्रसाद भण्डारीको बहस समेत सुनियो ।
११. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादी प्रतिवादी अंशियार भएमा कुनै विवाद देखिँदैन । वादी प्रतिवादी बीच अंशबण्डा भएको भन्ने पनि कुनै प्रमाण आउन सकेको छैन । वादीलाई भिक्षु बनाउँदा धेरै पैसा खर्च भएको जन्मभर लामा भिक्षु भई बस्न सक्ने गरी चाहिएको सरसामान नगद जिन्सी छुट्याइएको भन्नेसम्म प्रतिवादीको जिकिर देखिन्छ । प्रतिवादीको उक्त जिकिरको अलावा निजले आफ्नो जिकिरलाई समर्थन हुने किसिमको कुनै सबूत प्रमाण गुजार्न सकेको देखिँदैन । कुनै अंशियारको हित सम्बद्र्धनमा धेरै रकम खर्च भयो भन्दैमा उक्त रकमलाई निजले अंश वापत पाउने रकम हो भनी अंश हकबाट वञ्चित गर्न मिल्ने पनि देखिँदैन । अब प्रतिवादी भिक्षु बनेको कारणले अंशबण्डाको ९ नं. बमोजिम अंश दिन नपर्ने भन्ने प्रतिवादीको जिकिरको हकमा उक्त अंश बण्डाको ९ नं. मा मुडिई विजयाहोम गर्नेले अंशमा दावा गर्न पाउँदैन भन्ने व्यवस्था रहेको देखिन्छ । प्रतिवादीकै भनाईमा वादी भिक्षु बनेको भन्ने छ अंशबण्डाको ९ नं. अनुसार मुडिई बिजया होम गरेको भन्न सकेको छैन । अंशबण्डाको ९ नं. ले गरेको व्यवस्था मुडिई विजयाहोम गर्नेलाई मात्र लागू हुने हो तसर्थ उक्त व्यवस्थाबाट वादीलाई अंश दिनु नपर्ने भन्न मिल्ने देखिएन ।
१२. अतः उपर्युक्त कारणहरूबाट प्रस्तुत मुद्दामा वादीले प्रतिवादीबाट दुई भागको एकभाग अंश पाउने ठहराएको डिभिजन बेञ्चको ०३९।६।१८ को इन्साफ मनासिव ठहर्छ । पेश भएको तायदातीबाट वादी दावी बमोजिम दुई भागको एकभाग बण्डा छुट्याई दिनु भनी पक्षहरूलाई तारेख तोकी मिसिल का.जि.अ.मा पठाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वी बहादुर सिंह
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल आषाढ २१ गते रोज ६ शुभम् ।