शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२९८ - लेनदेन

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २२९८     ने.का.प. २०४२            अङ्क ३

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको फु.नं. ३४

मुद्दा : लेनदेन ।

 

पुनरावेदक/वादी:सिरहा ईटाटार तेनवापती गा.पं.वा.नं. ९ बस्ने रामेश्वर यादव ।

विरूद्ध

विपक्षी/प्रतिवादी:जिल्ला धनुषा लक्कडबम नादरवाल गा.पं.वा.नं. १ बस्ने हरिहर गोइत यादव ।

फैसला भएको मिति:२०४२।२।२२।३ मा

     प्रतिवादीको जिकिरबाट रुपैयाँ लिए नलिएको विवाद उठेपछि लिखतका साक्षीहरूलाई अ.बं. १३९ नं. बमोजिम बुझी गराएको बयानलाई अन्यथा सम्झन मिल्ने देखिएन ।

(प्रकरण नं.२२)

पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री महादेव यादव

विपक्षी तर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    प्रतिवादीले मसँग भा.रू. २५,००१। कर्जा लिई त्यसको सयकडा १० का दरले ब्याज समेत बुझाउँला भनी ०१७।१।५ मा कपाली तमसुक लेखिदिएकोमा साँवा ब्याज केही पनि नदिएकोले जम्मा साँवा ब्याज रू. ६२,०७३।३७। र अन्तिम फैसला मितिसम्मको ब्याज समेत भराई पाउँ भन्ने समेत वादीको फिराद ।

३.    तमसुकमा उल्लेख भएको मितिमा म तमसुक भएको भनिएको ठाउँमा उपस्थित नरहेको र उक्त तमसुक सत्य साँचो व्यवहारबाट गराएको नभई पञ्चायतको गर्ने सिलसिलामा पञ्चहरूले बन्देजको रूपमा गराउनुभएको सोही बमोजिमको अरू नै जालसाज तमसुक भएको हुँदा त्यस्तो तमसुकको आधारबाट निजले दावी गरे बमोजिमको साँवा ब्याज कोर्टफी मैले बुझाउनुपर्ने होइन । वादी रामेश्वर यादव सिराहा जिल्लाको र प्रतिवादी धनुषा जिल्लाको भएको हुँदा पक्की घर बनाउन अनाज र जग्गा बिक्री गरेको कुरा मलाई थाहा हुन नसक्ने,

४.    मेरो छोरा, भतिजा नाउँको नम्बरी जग्गाहरू  समेत जबरजस्ती आफ्नो घडेरी जग्गामा मिलाउने प्रयास गर्नुभएकोमा निज बौकुको र मेरो बीचमा वैमनस्यता उत्पन्न भएको थियो । धनुषा जिल्लाको र सिराहा जिल्लाको समेत प्रमाणमा उल्लिखित गन्यमान्य व्यक्तिहरूले मिलाउने विचार गरी ०२१ साल श्रावण २६ गतेका दिन बकड गा.पं. मा उपस्थित भई पञ्चायतको निर्णयबाट कसैले पनि उम्कन नपाओस् भन्ने उद्देश्यबाट पञ्चायत गर्नु भन्दा अगावै निज बोकु र मसँग समेतमा भा.रू. २५,००१। का दरले पृथकपृथक कागज लेखाई सो कागजमा उस दिनको मिति राखे प्रशस्त टिकट लाग्ने र त्यतिको टिकट उपलब्ध हुन नसक्ने हुँदा टिकट प्रथा लागू हुनुभन्दा अगाडिको मिति ०१७।१।५।१ को मिति राख्न लगाइयो ।

५.    कागज जिम्मा राख्ने जमुनाप्रसाद सिंहको मेरो छोरा नकुललाल गोइतसँग चुनावको सम्बन्धमा रिस परेको अदालतमा परिराखेको र बौकु यादवसँग मिलापत्र गराई दिए भनी निज बौकुले पनि भित्रभित्रै रिस कायम राखी छाडेको रहेछ दुवैजना मिली उक्त कागज लिनु दिनु गरी विपक्षी रामेश्वर यादवबाट यो मुद्दा चलाउन लगाएको हुनुपर्छ भन्ने प्रतिउत्तर जिकिर ।

६.    लिखत सद्दे हो भन्ने समेत व्यहोराको प्रतिवादीको वारिस राजगिर गोइतको बयान।

७.    मैले रहिमान कुन्जरालाई कुनै कागज गरिदिएको छैन । कुनै कागज जुमना जिम्मा राखेको पनि छैन भन्ने समेत बौकु यादवको बयान ।

८.    बौकु र हरिहर यादवको बीच जग्गा विषयमा झगडा भई मिलाउँदा पञ्च भलाद्मी बसी कुरा नमाने कारवाही गर्नलाई भा.रू. २५,००१।को हरिहरले रामेश्वरको नाममा र बौकुले मेरो नाममा भा.रू. २५,००१।को तमसुक गरी मिति अगाडि राखेको हो । दुवै तमसुक जुमना जिम्मा राखियो । रूपियाँ लिई कागज गरेको होइन भन्ने व्यहोराको रहिमन कुन्जराको बयान ।

९.    भा.रू. २५,००१।को लिखतमा वादी प्रतिवादी पञ्च भलाद्मी समेतले तिमी सहिछाप गरिदेउ परपञ्चायत भई हाल्छ भनेबाट साक्षीमा सहिछाप गरेको हुँ रुपैयाँ दिए लिएको मैले देखिँन भन्ने समेत लेखक साक्षी खडकलाल यादवको बयान ।

१०.    वादी प्रतिवादी तथा पञ्च समेतले तमसुक लेखी दिनुस् भनेबाट मैले तमसुक लेखेको हुँ । रुपैयाँ खोई दिएको भन्दा हामी दुवैको मञ्जूरी भइसकेको छ । यस विषयमा पञ्चायत भई हाल्छ भने, पञ्चायत भयो भन्ने सुनेँ, पछि के भयो मलाई थाहा छैन भन्ने समेत लेखक साक्षी बैजनाथ यादवको बयान ।

११.    लिखत हेर्दा कारणीको सहिछाप प्रष्ट नदेखिएको कागज जाँचको ६,७ नं. ऐनको रीत नपुगेको देखिएकोले खारेज हुन्छ भन्ने शुरू धनुषा जि.अ.को फैसला र सो इन्साफ सदर ठहर्छ भन्ने जनकपुर अं.अ.को फैसला ।

१२.   शुरू धनुषा जिल्ला अदालत, जनकपुर अञ्चल अदालतले खारेज गर्ने गरेको फैसला नमिलेकोले बदर हुने ठहर्छ । यसै मिसिलबाट कानुन बमोजिम जे बुझ्नुपर्ने छ बुझी निर्णय गर्नु भनी दुवै पक्षलाई तारिख तोकी मिसिल शुरू धनुषा जिल्ला अदालतमा पठाई दिने भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१३.   सद्दे साँचो व्यहोराबाट भएको लिखत भन्न नमिल्ने हुँदा वादी दावी बमोजिम प्रतिवादीले तिर्न बुझाउन नपर्ने भन्ने शुरू धनुषा जिल्ला अदालतको फैसला ।

१४.   पुनरावेदक वादीको वारिस कृष्णदेवलाल कर्णले ०३२।११।१५ गतेको तारिख गुजारेकोले पुनरावेदन डिसमिस हुने ठहर्छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१५.   रामेश्वरको वारिस दिनेश्वरले २५ दिनभित्र तारिख थामी पाउँ भनी निवेदन दिई ०३२।११।९ मा आदेश भई धरौटी तारिखमा रहेको धरौटी फाइल ०३३।५।२।४ मा प्राप्त भएको भन्ने फा.डि. ओमकारको  प्रतिवेदन परेको र उक्त मिसिल धरौटी तारेखमा रहेको फाइल समेत साथै नरहेबाट डिसमिस हुन गएको प्रतिवेदन अनुसार नै देखिएकोले डिसमिस जगाई लगतमा दर्ता गरी कानुन बमोजिम गर्नु भन्ने समेत ०३३।५।२।४ को मध्यमान्चल क्षेत्रीय अदालतको आदेश र उक्त आदेश अनुसार डिसमिस जगाई दर्ता भएको र अ.बं. २०२ नं. बमोजिम पक्ष र विपक्ष प्रतिवादीलाई झिकाई पेश गर्नु भन्ने आदेश भएकोमा यसै अदालतले डिसमिस गरेको पुनः यसै अदालतले जगाउन सकिने कानुनी व्यवस्था भएको नदेखिँदा सो कुराको अभावमा डिसमिस जगाउन नमिल्ने र सो डिसमिस यथावत कायम रहने हुँदा उक्त अघिल्लो डिभिजन बेञ्चले जगाउने गरेको रूलिङसँग यो बेञ्च सहमत नहुँदा सर्वोच्च अदालतमा साधक जाहेर गरी पठाउने भन्ने आदेश मध्यमान्चल क्षेत्रीय अदालतको डिभिजन बेञ्चले गरेको रहेछ ।

१६.    उपरोक्त आदेश केवल कारवाही सम्बन्धी आदेश भएकोले त्यस आदेशबाट कुनै कानुनी सिद्धान्त प्रतिपादन भएको भन्न मिलेन । उक्त आदेश मुद्दाको अन्तिम रूपमा नभएको र केवल मुद्दाको कारवाही गर्ने सम्मको आशयलाई रूलिङ भन्न पनि सकिएन । यस्तो स्थितिमा प्रस्तुत मुद्दा साधक निकासाको निमित्त भनी मध्यमान्चल क्षेत्रीय अदालतबाट जाहेर गरेको मिलेको देखिएन तथा कानुन बमोजिम निर्णय गर्नु भनी मध्यमान्चल क्षेत्रीय अदालतलाई आदेश दिने ठहर्छ भन्ने समेत यस सर्वोच्च अदालतको मिति ०३५।३।१४ को आदेश ।

१७.   तमसुक बमोजिमको रुपैयाँ लिनु दिनु नगरेको अवस्था लेनदेन नभएको तमसुकलाई मान्यता दिई दिलाउन भराउन मिल्ने नदेखिँदा वादी दावी नपुग्ने गरेको धनुषा जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने मिति ०३८।६।१५।५ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१८.   मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय उपर वादीको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन पर्दा साँवा ब्याज भराई पाउँ भन्ने निवेदन वादी र रामेश्वर यादवको वादी भएकोमा प्र. हरिहर गोइत यादवले प्रतिउत्तर फिराद लिखत गरिदिएमा सावित भए तापनि तमसुक बमोजिमको रुपैयाँ लिनु दिनु नगरेकोले वादी दावी नपुग्ने भनी मध्यमान्चल क्षेत्रीय अदालतले निर्णय गरेको देखिन्छ । मिसिल हेर्दा साक्षीहरूलाई पटकपटक बुझेको पाईन्छ । यसरी पटकपटक गरी बुझ्न नहुने प्रमाण बुझेको कारणबाट मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।२।१८ को आदेश ।

१९.    निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा पैसा लिनु दिनु गरी तमसुक भएको होइन भनी प्रतिवादीका साक्षीहरूले बकेका र लिखतको लेखक साक्षी तथा अन्तर साक्षीहरूलाई धनुषा जिल्ला अदालतले प्रमाण सरह बुझी बयान गराएकोमा तमसुक बमोजिमको रुपैयाँ निजहरूको सामुन्नेमा लेनदेन भएको होइन भनी भनेको पाइन्छ । रामेश्वर र हरिहर गोइतको बीचमा भएको लिखत जस्तै बौकु यादव र रहिमान बीचमा पनि त्यस्तै कागज भएको थियो भन्ने प्रतिवादीको भनाई भएकोले निजहरूलाई पनि धनुषा जिल्ला अदालतबाट प्रमाण सरह बुझ्दा बौकु यादव आफूले रहिमान कुन्जरालाई तमसुक गरिदिएको कुरामा इन्कारी रहे तापनि हरिहर यादव र आफ्नो कैयौं कित्ता जग्गाहरू एकै ठाउँमा भएकोले निजसँग वैमनष्यता बढ्दै गएको र कैयौं पटक निजसँग परेको झगडा फछ्र्यौट गर्न गाँउघरमा पञ्चायत भएको र अहिलेसम्म पनि फछ्र्यौट हुन सकेको छैन भनी बयान गरेको पाइन्छ । त्यस्तै गरी रहिमान कुन्जराले बौकु यादव र हरिहर गोइतको जग्गा जमीन विषय लिई धेरै झगडा भएको र सोही झगडा मिलाउन पञ्चहरूले भा.रू. २५,००१।को हरिहरले रामेश्वरको नाउँमा र बौकुले भा.रू. २५,००१।को मेरो नाउँमा तमसुक गराएको र उक्त तमसुक जमुना सिंहको जिम्मा राखियो । मैले  रुपैयाँ दिई तमसुक गरेको होइन हरिहर गोइतले रामेश्वरलाई गरिदिएको तमसुक पनि त्यस्तै हो कुनै रुपैयाँ पैसा लिई गरेको होइन भनी बयान दिएबाट उक्त हरिहर गोयतले रोमश्वर यादवलाई गरिदिएको तमसुक बन्देज कागज रहेछ भन्ने कुरा स्पष्ट हुन आउँछ । तसर्थ रुपैयाँ लिनु दिनु नगरी बन्देजी रूपमा सिर्जना भएको त्यस्तो तमसुकबाट दिलाउन गराउन नमिल्ने देखिँदा मध्यमान्चल क्षेत्रीय अदालतले वादी दावी नपुग्ने ठहराएको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्रीको राय ।

२०.   वादीले फिरादमा लेखाएका साक्षीहरूले पैसा लिनु दिनु गरी लिखत भएको हो भनी बन्दसवालद्वारा बकपत्र गरेका छन् यिनै साक्षीहरूलाई अदालतले अ.बं. १३९ बमोजिम भनी पुनः बयान गराउने खडकलाल र वैजनाथले पैसा लिए दिएको देखिँन भनी बकपत्र गरेबाट पैसाको विषयमा विवाद उत्पन्न भएको देखिन आउँछ, त्यस्ता साक्षीहरू अ.बं. १३९ नं. बमोजिमका पेटबोलीमा लेखिएका मालिस हुन् भनी दोहरो बकपत्र गर्न लगाउने प्रस्तुत मुद्दाको परिस्थितिले दिएको र कानुनी मान्यता पाउने कुरा पनि होइन । यी पेटबोलीका साक्षी होइनन् । पुनः गराएको बकपत्रले मान्यता पाउने अवस्था छैन । प्रतिवादीले साक्षी दिएका मध्ये जमुनाप्रसादले अदालतमा आई बकपत्र गर्न सकेको देखिएन बौकु यादवले कागज भएका कुरालाई पूर्ण रूपमा इन्कारी गरिदिएका छन् । रहिमानले सम्म कागज भएको हो भन्ने बयान गरे तापनि सो कागज प्रमाणमा आउन नसकेको हुँदा बौकु र रहिमानका बीचको कागजलाई मान्यता दिई निर्णयमा पुग्न मिल्दैन । वादीका तीनजना लिखतका साक्षीले बकेको कुरालाई पूर्णरूपमा अमान्य गरी प्रतिवादीका पेटबोलीका साक्षीको बकपत्रको प्रमाणको समान मूल्याङ्कन हुन नसक्ने हुँदा र वादीको लेखले समर्थन गरेको प्रमाण नै गहकिलो र ग्राहृय हुनाले वादी दावी बमोजिम दिलाउने भराउने दावी नपुग्ने भन्ने शुरू र क्षेत्रीय अदालतको निर्णय उल्टी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय ।

२१.   पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेव यादव तथा विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान व.अ. श्री शम्भु प्रसाद ज्ञवालीको बहस समेत सुनियो ।

२२.   यसमा निर्णयतर्फ हेर्दा २०१७।१।५ मा भा.रू. २५,००१।को कपाली तमसुक गरेकोमा साँवा ब्याज केही पनि नदिएकोले साँवा ब्याज रु. ६२,०७३।३७ र अन्तिम फैसला मिति सम्मको ब्याज भराई पाउँ भन्ने वादी दावी भएकोमा कागज गरेकोमा प्रतिवादी सावित रही बौकु यादवसँग बराबर झगडा भई रहने हुँदा झगडा मिलाउने बौकु र मसँग भा.रू. २५,००१। को ०२१।४।२५ मा पृथकपृथक कागज लेखाई सो कागजमा उसै दिनको मिति रोखेको टिकट राख्नुपर्ने हुँदा ०१७।१।५।१ को मिति राख्न लगाइएको हो भन्ने समेत जिकिर लिएको पाइन्छ, वादी दावी एवं प्रतिउत्तर जिकिरबाट प्रस्तुत मुद्दामा प्रतिवादीले भा.रू. २५,००१। लिई कपाली तमसुक गरिदिएको हो वा झगडा मिलाउन पञ्च भलादमी बसी शर्त बन्देजको रूपमा विवादको कागज खडा गरिएको हो भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ । सो सन्दर्भमा हेर्दा प्रतिवादीका साक्षीहरूले रुपैयाँ लिनु दिनु गरी कागज भएको हैन भनी किटानी साथ बकपत्र गरेको देखिन्छ, त्यस्तै गरी लेखक साक्षी तथा अन्तरसाक्षीहरूलाई धनुषा जिल्ला अदालतले प्रमाण सरह बुझी बयान गराएकोमा खडकलाल यादव र वैजनाथ यादवले तमसुक बमोजिमको रुपैयाँ निजहरूको सामुुन्नेमा लेनदेन भएको होइन भनी भनेको पाइन्छ, रामेश्वर र हरिहर गोइतको बीच जस्तै रामेश्वरको साला बौकु यादव र रहिमान कुन्जराको बीच पनि त्यस्तै गरी भा.रू. २५,००१।को कागज भएको थियो भन्ने प्रतिउत्तर जिकिर भएकोले बुझ्दा बौकु यादवले कागज गरेको कुरामा  इन्कार रहे पनि प्रतिवादीसँग बराबर झगडा भइरहने र सो झगडाहरू मिलाउन पञ्चायती भएको कुरा स्वीकार गरेको पाइन्छ । रहिमान कुन्जराले पनि झगडा मिलाउन नै भा.रू. २५,००१।को पृथकपृथक दुईवटा कागजहरू खडा भएको, रुपैयाँ लिनुुदिनु गरी कागज खडा गरिएको हैन भनी स्पष्ट रूपले इन्कारी रहेको पाइन्छ । रहिमान कुन्जराको उक्त भनाइसँग प्रतिवादी र निजका साक्षीहरूको भनाई मेल खाएको पाइन्छ । प्रतिवादीको जिकिरबाट रुपैयाँ लिए नलिएको विवाद उठेपछि लिखतका साक्षीहरूलाई अ.बं. १३९ नं. बमोजिम बुझी गरिएको बयान अन्यथा सम्झन मिल्ने देखिएन । लिखतका लेखक तथा अन्तरसाक्षीहरूलाई अ.बं. १३९ बमोजिम बुझिँदा रुपैयाँ हाम्रो सामुन्नेमा लिनु दिनु भएको हैन भन्ने निजहरूको बयानबाट पनि वादी दावी बमोजिम रुपैयाँ लिनु दिनु गरी कागज खडा भएको रहेछ भन्न सकिने स्थिति रहेन ।

२३.   तसर्थ उपर्युक्त कारणहरूबाट रुपैयाँ लिनु दिनु गरी कागज भएको नभई बन्देज शर्तको रूपमा विवादको कपाली तमसुुकको लिखत खडा हुन गएको देखिँदा त्यस्तो तमसुक लिखतबाट दिलाउन भराउन नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहराएको शुरू इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सम्माननीय प्रधान न्यायाधीशज्यूको राय मनासिव ठहर्छ । कोर्टफी रहेको हुँदा केही गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ २२ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु