शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३०० - लोग्ने कायम गरी न्वारान गराई पाउँ

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३००     ने.का.प. २०४२            अङ्क ३

 

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको फौ.पु.नं. ५१२

मुद्दा : लोग्ने कायम गरी न्वारान गराई पाउँ ।

 

पुनरावेदक/प्रतिवादी:जि.लमजुङ चिति गा.पं.वा.नं. ४ वानिया पधेंरा बस्ने दयानिधी गोल्ने ।

विरूद्ध

विपक्षी/वादी:ऐ. ऐ. बस्ने मंगल कुमारी ।

फैसला भएको मिति :२०४२।२।२९।३ मा

     जन्मेको बच्चाको पितृत्वको ठेगान गर्नु पर्दा आमाको भनाइले महत्व पाउने ।

 (प्रकरण नं. २१)

पुनरावेदक प्रतिवादी तर्फबाटःX

विपक्षी/वादी तर्फवाट :विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

उल्लेखित मुद्दाःX

फैसला

प्र.न्या. नयन बहादुर खत्रीः पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपर प्रतिवादीको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    विवाहित खसम तुल्सीप्रसादसँग अंश मुद्दामा पटकपटक तारेख लिन आवत जावत हुँदा ०२४।१२।७, ८ र ९ गते राति ३ दिनसम्म दयानिधीको र मेरो करणी लिनु दिनु भई निजको करणीबाट गर्भ रहन गई उक्त चैत्र ७ गते म रजस्वला भएको ७ दिन भएको थियो अर्को तारेखमा आउँदा निजसँग लौ के गर्ने भन्दा मेरो घरमा गई सबै विवरण खोली पितासँग भनी घरमा गई बस भन्नु भएकोले ससुरा देवीदत्तसँग भन्दा घरमा बस्न दिन्न भनी बस्न नदिएकोले खसम भएको कुन्छामा आई ४ दिनसम्म बसी मलाई साथै लिई घरमा लगी राख्नु भएपछि मलाई खान लाउन समेत नदिई घरबाट निकाला गरेकोले अंश मुद्दाको फिराद गरेपछि खसम दयानिधीले मेरो नोकरीमा धक्का पुग्छ तिमी र म लोग्ने स्वास्नी छँदै छौं भनेबाट कायलनामाको कागज गराई मुद्दा खारेज गराई आउ भनेबाट कायलनामा कागज गराई मुद्दा खारेज भएपछि मेरो यी विवाह दिर्घनिधी र एकलाल उपर अंश भाग र जालसाजी मुद्दा समेत देउ दस्तूर म दिन्छु भनी नालेश पारेपछि ०२५।८।२ गते खसम समेत भई घरबाट निकाला गरी ०२४ चैत्र ७, , ९ गतेका करणी विर्यबाट मेरो गर्भ रही ०२५।१०।३ गते छोरो जन्मेपछि न्वारान गराउनु होस् भनी खबर पठाउँदा वास्ता नगर्नु भएकोले फिराद गर्न आएकी छु भन्ने समेत व्यहोराको मंगलकुमारीको फिरादपत्र ।

३.    विपक्षी मंगलकुमारी, तुल्सीप्रसादसँगको अंश मुद्दामा तारेख लिन आवत जावत गर्दा मेरो डेरामा बसी ०२४।१२।७, , ९ गते करणी लिनु दिनु भएर निजलाई घरमा लगी बस्न दिएको र मेरो करणीबाट निजको गर्भ रही छोरो जन्मेको समेत होइन । विपक्षीले मेरो नाउँमा अंश मुद्दा समेत दिई सो मुद्दामा कायलनामा कागज गरी मुद्दा खारेज गराई सकेपछि एकलाल समेतका उपर अंश मुद्दा र दिर्घनिधी समेत उपर जालसाजी मुद्दा दायर गरेको कुरा वादी बोल्दै आएकी छिन् । वादीमा उल्लेख भए अनुसार यसै विषयको उजूर परेको छैन भन्न कसरी मिल्छ सो ख्यालै नराखी गरिएको दावी खारेज गरिपाउँ निज वादीको लोग्ने एकलाल नै हुन् वादी मेरो डेरामा बस्ने खाने गरेको र उक्त चैत्र ७, , ९ गते करणी लिनु दिनु गरेको नभई निजको विर्यबाट गर्भ रही छोरो जातक पाएकी हुन् न्वारान गराई लोग्ने कायम गरिपाउँ भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. दयानिधी शर्माको प्रतिउत्तर जिकिर ।

४.    यिनै वादी र एकलाल पाण्डे भएको अंश मुद्दामा प्रतिवादी एकलाल पाण्डे पनि आफूले यी वादीलाई करणी गरी गर्भ बोकाएको हैन छैन भन्ने तर्फ केही सबूद प्रमाण दिन गुजार्न नसकेको समेत देखिन आएकोले पर्याप्त सबूद प्रमाणको अभावमा निज वादी मंगलकुमारीको करणी गर्ने लोग्ने र जातक समेतमा प्रतिवादी दयानिधीलाई नै कायम गर्न न्यायसंगत नदेखिएकोले बुझिएसम्मका सबूद प्रमाणबाट निज वादी मंगलकुमारीलाई विवाहिते लोग्नेको सत्य डगाई दोश्रो पारी करणी गर्ने र वादीलाई गर्भ बोकाउने समेतमा एकलाल पाण्डे नै देखिन ठहर्न आएकोले निज वादीको लोग्ने एकलाल पाण्डे कायम हुने र जन्मेको जातकको न्वारान समेत निजै एकलाल पाण्डेले गरिदिनु पर्ने देखिएकोले दयानिधीलाई लोग्ने कायम गरी न्वारान समेत गराई पाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको शुरू मनाङ तथा लमजुङ जिल्ला अदालतको २०३०।४।२३ को फैसला ।

५.    उल्लिखित फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी एकलाल पाण्डेको र वादी मंगलकुमारीको छुट्टाछुट्टै यस अदालतमा पुनरावेदन परेकोमा जिल्ला अदालतले अ.बं. १३९ नं. नम्बर बमोजिम पेटबोलीबाट देखिएको एकलाल पाण्डेलाई बुझी कारवाई  किनारा गरी निर्णय गरेको देखिन नआएको शुरू जि.अ.को फैसला सम्पूर्ण नै बदर हुन्छ कानुन बमोजिम बुझ्नु पर्ने पेटबोलीका मानिसलाई तारेख तोकी मिसिल शुरू जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदलतको फैसला ।

६.    प्रतिवादी दयानिधी गोल्नेको आफ्नो विर्यबाट मंगलकुमारीले पैदा गरेको जातकको न्वारान गरिदिनु पर्नेमा नगरी म प्रति नभएको झुठ्ठा लान्छना लगाई आफ्नो प्रतिउत्तरमा जिकिर लिनु भएको, कुरा सारा झुठ्ठा हुँदा विपक्ष दयानिधी गोल्नेलाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्र. एकलालको ०३३।८।२९ को प्रतिउत्तर ।

७.    तथ्ययुक्त प्रमाणको अभावमा वादीबाट जन्मेको जातक प्र. दयानिधीकै करणी विर्यबाट जन्मेको हो भनी ठहर्‍याउन न्यायोचित नपर्ने हुँदा प्र.दयानिधी उपरको वादी दावी झुठ्ठा ठहर्छ । पेटबोलीबाट बुझिएका एकलाल पाण्डेको हकमा निज उपर वादीले नै दावी लिन नसकेको कुरामा केवल प्र. दयानिधीकै भनाइको आधारमा निजले नै वादीको करणी गरेको भनी ठहर्‍याउन नमिल्ने हुँदा निजको हकमा केही विचार गरिरहनु नपर्ने समेत ठहर्छ भन्ने समेतको लमजुङ तथा मनाङ जिल्ला अदालतको फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी मंगलकुमारीको पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

९.    अ.बं. १३९ नं. बमोजिम बुझ्दा प्रतिवादी सरह कारणी देखिन आएमा कारणी सरह नै तारिखमा राखी फैसला गर्नुपर्छ भन्ने लेखेको पाइन्छ । दयानिधीले प्रतिवाद गरी एकलालको स्वास्नी भनी देखाएपछि एकलाल लोग्ने कायम हुने नहुने भनी इन्साफ गर्नुपर्ने थियो तर एकलालका हकमा लोग्ने ठहर्ने वा नठहर्ने भनी इन्साफ गरेको नदेखिँदा शुरू अदालतबाट आंशिक निर्णय गरेको देखियो । तसर्थ शुरू जिल्ला अदालतको फैसला बदर हुने ठहर्छ । एकलाल पाण्डेलाई झिकाई इन्साफ गर्नु भनी रूजू झगडियालाई तारिख तोकी मनाङ तथा लमजुङ जिल्ला अदालतमा मिसिल पठाई दिनु भन्ने समेत पश्मिाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    प्र. एकलाल पाण्डेले शुरू जिल्ला अदालतबाट जारी भएको म्याद गुजारी बसेको ।

११.    वादी स्वयंले कहिले एकलाल हो भन्ने र कहिले दयानिधी लोग्ने हो भनी दावी लिएको देखिँदा वादी स्वयंले आफ्नो दावी अठोट गर्न सकेको नदेखिएको यस्तो स्थितिमा वादी दावी बमोमिज प्र. दयानिधी गोल्ने र प्र. एकलालउपर समेतको दावी पुग्न सक्दैन भन्नेसमेतको लमजुङ जिल्ला अदालतको फैसला ।

१२.   लमजुङ जिल्ला अदालतको उक्त निर्णय उपर वादी मंगलकुमारीको पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१३.   वादीको विवाहित लोग्ने तुल्सीप्रसाद बुझी पेश गर्नु भन्ने आदेशानुसार तुल्सीप्रसाद बुझिँदा वादी मंगलकुमारी र मेरो बीच अंश मुद्दा चलिरहेकोमा गर्भ बोकेकी छ भन्ने हल्ला भएकोले पक्राउ गर्दा दयानिधीको हो भनी कागज गरेको हुँदा निज दयानिधीकै गर्भ होला भन्ने शंका लाग्छ भन्ने समेत तुल्सीप्रसादको बयान ।

१४.   लोग्ने तुल्सीप्रसादसँगको अंश मुद्दामा तारिख लिन आउँदा प्रतिवादी दयानिधी सोही अदालतको कर्मचारी भएको निजसँग करणी भई सोही करणी विर्यबाट गर्भ रही जातक बच्चा पैदा भएको भन्ने वादीको भनाइलाई प्रतिवादी दयानिधीले केवल एकलाल उपर अंश मुद्दा गरेकी हुँदा वादीको लोग्ने एकलाल हो भनी प्रतिवाद गरेको देखिन्छ । प्रतिवादी एकलालले सो कुरालाई इन्कार गरेका मंगलकुमारीले प्रतिवादी दयानिधी उपर झुठ्ठा पोल गर्नु पर्ने कारण र उद्देश्य केही देखिँदैन । वादी दावी बमोजिम वादी मंगलकुमारीको लोग्ने प्रतिवादी दयानिधी कायम हुने र जातक बच्चाको न्वारान समेत प्र. दयानिधीले गरिदिनु पर्र्ने ठहर्छ भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालतको  फैसला ।

१५.   पश्चिमान्चल क्षेत्रीय अदालतको उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्र. दयानिधी गोल्नेको निवेदनमा मंगलकुमारीले कहिले दयानिधी गोल्नेलाई र कहिले एकलाललाई लोग्ने कायम गरी अंश पाउँ भन्ने तर्फ मुद्दा चलाएको देखिँदा वादी मंगलकुमारी आफु स्वयं निश्चित भएको देखिँदैन मंगलकुमारीले दयानिधी उपर अंश मुद्दा समेत दिएकोमा कायलनामा गरिदिनु भएको र उक्त कायलनामा कारकापबाट भएको आधारमा बदर भएको समेत नदेखिँदा उक्त कायलनामामा परेको निजको सहिछाप स्वेच्छाले भएको देखिँदा दयानिधीलाई लोग्ने कायम हुने र बालकको न्वारान समेत गराई दिने ठहराएको पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश।

१६.    पुनरावेदक वादीको वारेस प्रेम बहादुर के.सी.लाई रोहवरमा राखी विपक्षी वादी तर्फवाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाको बहस समेत सुनियो ।

१७.   यसमा निर्णयतर्फ हेर्दा प्र.दयानिधी गोल्ने वादी मंगलकुमारीको लोग्ने कायम हुने हो होइन तथा निजले मंगलकुमारीको गर्भबाट जन्मेको छोराको न्वारान गराई दिनु पर्ने हो होइन भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ । विवाहित लोग्ने तुल्सीप्रसादसँगको अंश मुद्दामा तारिख लिन जाँदा अदालतकै कर्मचारी दयानिधीसँग २०२४ साल चैत्र ७, ८ र ९ गते राति करणी लिनु दिनु भई गर्भ रहन गएको, घरमा लगी राखेपछि खान लाउन समेत नदिई घरबाट निकाला गरेकोले अंश मुद्दा दिएकोमा लोग्ने दयानिधीले मेरो जागिरमा धक्का पुग्छ कायलनामाको कागज गर भनेकोले कायलनामा कागज गरी मुद्दा खारेज भएको, त्यसपछि लोग्नेले मेरो इविवाला दिर्घनिधी र एकलाल उपर अंश र जालसाजी मुद्दा समेत देउ भनेकोले नालिश दिएको, सो नालिश दिएपछि ०२५।८।२ गते खसम समेत भई घरबाट निकाला गरे ०२५।१०।३ गते छोरा जन्मेपछि न्वारान गराउनु होस् भनी खबर पठाउँदा वास्ता गर्नु भएन, दयानिधीलाई लोग्ने कायम गरी जन्मेको छोराको न्वारान गराई पाउँ भन्ने समेत वादीले दावी लिएको पाइन्छ । वादी दावीमा इन्कार रहँदै वादीले आफू उपर दिएको अंश मुद्दामा कायलनामा गरी खारेज गराएपछि एकलाल उपर अंश मुद्दा र दिर्घनिधी उपर जालसाजी मुद्दा दिएको हुँदा म उपरको दावी खारेज गराई पाउँ भन्ने समेत प्र.दयानिधीको प्रतिउत्तर जिकिर देखिन्छ ।

२०.   सर्वप्रथम मंगलकुमारीले दयानिधी उपर दिएको अंश मुद्दामा गरेको कायलनामा तर्फ हेर्दा उक्त कायलनामा ललाई फकाई गराई गराएको भनी मंगलकुमारीको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र परी बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम मंगलकुमारीको गण्डकी अञ्चल अदालतमा पुनरावेदन परी गण्डकी अञ्चल अदालतबाट उक्त कायलनामाको कागज बदर हुने ठहर भएको र सोही इन्साफ सदर ठहरी सार्वेच्च अदालत डिभिजन बेञ्चबाट ०२७।१०।२९ मा निर्णय भई अन्तिम भइरहेको देखिन्छ । वादी मंगलकुमारीले गरेको भनेको कागज बदर हुने ठहरेपछि सो कागजको अस्तित्व नै नरहेको मान्नु पर्ने हुँदा उक्त कागज अ.बं. २४ नं. ले मंगलकुमारीको विरूद्ध प्रमाणमा लाग्छ भन्न मिल्ने देखिएन ।

२१.   वादीले कहिले दयानिधीलाई लोग्ने भनी अंश मुद्दा दिने कहिले एकलाल उपर अंश मुद्दा दिएको हुँदा वादीको दावा नै निश्चित नभएको भन्ने जिकिर सम्बन्धमा हेर्दा प्रतिवादी अदालतमा काम गर्ने कर्मचारी भएको र वादी आफ्नो साविक लोग्नेसँगको अंश मुद्दामा तारिख लिन सो तत्कालिन मनाङ तथा लमजुङ जिल्ला अदालतमा जाने गरेको कुरामा कुनै विवाद देखिँदैन । प्रतिवादीले मेरो जागीरमा धक्का लाग्छ भनी कायलनामा लेखी मुद्दा खारेज गराउन ललाई फकाई गरेबाट उक्त कायलनामाको कागज लेखेको र इविवाला एकलाल उपर अंश मुद्दा देउ  भनेबाट अंश मुद्दा दिएको भन्ने वादीको जिकिर देखिन्छ । मिसिल अध्ययन गर्दा प्रतिवादी वादी उपर त्यस्तो प्रभाव पार्न सक्ने स्थितिको व्यक्ति रहेनछ भनी सम्झन मिल्ने अवस्था छैन । मलाई फकाई वादीलाई झुठ्ठा कारवाई चलाउन लगाउँदैमा त्यसको फाइदा प्र. दयानिधीले पाउन सक्ने देखिँदैन । नभए नगरेको कुरा गरी प्रतिवादीलाई झुठ्ठा पोल उजूर गर्नुपर्ने वादीलाई कुनै कारण परेको पनि मिसिलबाट देखिँदैन । एक व्यक्तिको गर्भलाई अर्को व्यक्तिको हो भनी साधारणतया कसैले पनि भन्दैन, यो कुरा स्वाभाविक पनि हैन । मंगलकुमारीबाट जातक जन्मेकोमा कुनै विवाद छैन । जन्मेको बच्चाको पितृत्वको ठेगाना गर्नुपर्दा आमाको भनाइले महत्व पाउनेछ, कारण मातृत्व सधैं तथ्यमा आधारित हुन्छ तर पितृत्व सधैं अनुमानमा आधारित हुन्छ । मंगलकुमारीको दावीको अलावा निजको विवाहित लोग्ने तुल्सीप्रसादले पनि प्र.दयानिधीकै विर्य र मंगलकुमारीको गर्भबाट छोरा जन्मेको शंका लाग्छ भन्ने समेत बयान गरेकोबाट पनि वादी मंगलकुमारीको दावी समर्थित भएको पाइन्छ । तसर्थ एकलालको गर्भको हो मेरो होइन भन्ने प्र. दयानिधीको जिकिर मनासिव देखिन आएन ।

२२.   अतः उपर्युक्त कारणहरूबाट प्र. दयानिधीको विर्य र वादी मंलकुमारीको गर्भबाट छोरा समेत जन्मेको देखिँदा प्र.दयानिधी वादीको लोग्ने कायम हुने र जन्मेको छोराको न्वारन गरिदिनु पर्ने समेत ठहराएको पश्चिमान्चल क्षेत्रीय अदालतको ०३९।८।२७ को इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ २९ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु