निर्णय नं. २३०२ - बाली ।

निर्णय नं. २३०२ ने.का.प. २०४२ अङ्क ३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको देवानी साधक नं. ४
मुद्दा : बाली ।
पुनरावेदक/वादी :भ.पु.जि.लुभू गा.पं.वार्ड नं. ५ भगवती लाछी बस्ने सानुमान श्रेष्ठ ।
विरूद्ध
पुनरावेदक/प्रतिवादी:ऐ. वार्ड नं. २ गछे टोल बस्ने रत्न बहादुर कसाही ।
फैसला भएको मिति:२०४२।३।२।१ मा
रूलिङ बाझिएको भनिएको दुई मुद्दाहरूमा मुद्दाको तथ्य समान भए पनि दुई भिन्नाभिन्नै सालको बालीको सम्बन्धमा विवाद परेको हुँदा विवादको विषय फरक देखिन आउँछ । यसरी कुनै कानुनी सिद्धान्तसँग रूलिङ बाझिएको नभई फरक विवाद बिन्दू भएका मुद्दाहरूमा भिन्नाभिन्नै भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. ११)
पुनरावेदक वादी तर्फबाटःX
पुनरावेदक प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंह: मध्यमान्चल क्षेत्रीय अदालतडिभिजन बेञ्चको रूलिङ बाझिएको भनी साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. मेरा नाम दर्ताको वडा नं. ५(ख) कि.नं. ७० को खेत रोपनी ०–१२–२ कि.नं. ८४ को ३–८–० समेत विपक्षी मोही भएकोमा २०३४ सालको बाली नदिएकोले धान मुरी ४–१८–४ को बिगो रू. ५४१।७५ भराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. कि.नं. ८४ को जग्गा वादीको छोरा मदनगोपालले ज.ध.प्र.पूर्जा पाएकोले सालसालै निजलाई बाली बुझाएको छु । कि.नं. ७० को जग्गामा वादी जग्गाधनी कायम हुनुभएको छैन । २०३०।३१ सालको बाली मुद्दा खारेज भएको छ भन्ने समेत प्रतिउत्तर ।
४. २०३३ सालको बाली मुद्दामा कि.नं. ८४ को जग्गाको बालीमा वादी दावी नपुग्ने र कि.नं. ७० को जग्गाको बाली भरी पाउने गरी बा.अं.अ.बाट ०३५।३।१२ फैसला भएकोले कि.नं. ७० को बाली प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत भक्तपुर जि.अ.को फैसला ।
५. सो फैसला उपर चित्त बुझेन भन्ने समेत वादी प्रतिवादी दुवै छुट्टा–छुट्टै पुनरावेदन ।
६. शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत बा.अं.अ.को फैसला ।
७. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी प्रतिवादीले छुट्टा–छुट्टै निवेदन दिएकोमा मध्यमान्चल क्षेत्रीय अदालतबाट दुवै निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भएको ।
८. विवादको जग्गाहरू वादीको नाममा दर्ता भएको नदेखिएकोले दुवै कित्ताको बाली भरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । कि.नं. ८४ को २०३२ सालको बाली भरी पाउने ठहराई यस अदालत डिभिजन बेञ्चबाट २०३६।१।२६ मा फैसला भएको देखिएकोले सो डिभिजन बेञ्चको रूलिङसँग सहमत नहुँदा सर्वोच्च अदालतमा साधक जाहेर गर्ने भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतडिभिजन बेञ्चको ०४१।५।१८ को फैसला ।
९. मध्यमान्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको रूलिङ बाझिएको भनी साधकनिकासाको लागि यसअदालतमा पेश हुनआएको रहेछ ।
१०. प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर साधक जाँची निर्णय दिनु पर्ने हुन आएको छ ।
११. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा वादी र प्रतिवादीको वारेसलाई रोहवरमा राखी आज निर्णय सुनाउने तारिख तोकिएकोमा निर्णयतर्फ विचार गर्दा यसमा यिनै कित्ता जग्गाको २०३२ सालको बाली भरी पाउने ठहरी मध्यमान्चल क्षेत्रीय अदालतबाट ०३६।१।२६ मा फैसला भएको र यो २०३४ सालको बाली भरी नपाउने ठहरेकाले अघिल्लो बेञ्चको रूलिङसँग सहमत नभएको भनी यस अदालतमा साधक जाहेर गर्ने गरी मध्यमान्चल क्षेत्रीय अदालतबाट फैसला भएको देखिन्छ । समान तथ्य भएका दुई मुद्दाहरूमा एउटै विवाद बिन्दूमा निर्णय गर्दा प्रतिपादित भएको सिद्धान्त बाझिएको अवस्थालाई मात्र रूलिङ बाझिएको भन्नुपर्ने हुन्छ । तर प्रस्तुत विवादमा २०३६।१।२६ मा मध्यमान्चल क्षेत्रीय अदालतडिभिजन बेञ्चले फैसला गर्दाको अवस्थामा २०३२ सालको बालीको सम्बन्धमा विवाद परेकोमा सो सालको बाली भरी पाउने ठहराई फैसला गरेको देखिन्छ भने प्रस्तुत मुद्दामा २०३४ सालको बालीको सम्बन्धमा विवाद परी सो सालको बाली भरी नपाउने ठहराई मध्यमान्चल क्षेत्रीय अदालतबाट ०४१।५।१८ मा फैसला भएको देखिन्छ । उपरोक्त रूलिङ बाझिएको भनिएको दुई मुद्दाहरूमा मुद्दाको तथ्य समान भए पनि दुई भिन्नाभिन्नै सालको बालीको सम्बन्धमा विवाद परेको हुँदा विवादको विषय फरक देखिन आउँछ । यसरी कुनै कानुनी सिद्धान्तसँग रूलिङ बाझिएको नभई फरक विवाद बिन्दू भएका मुद्दाहरूमा भिन्नाभिन्नै भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिँदैन । न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४(३) मा “कुनै क्षेत्रीय अदालतको एउटा डिभिजन बेञ्च सोही अदालतको अर्को डिभिजन बेञ्चबाट भएको रूलिङसँग सहमत नभएमा सर्वोच्च अदालतमा साधक जाहेर गर्नु पर्दछ...” भन्ने व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा रूलिङ बाझिएको नै नदेखिँदा यस्तो अवस्थामा उक्त ऐन बमोजिम साधक जाहेर गर्नुनपर्ने हुँदा कानुन बमोजिम गर्नु भनी साधकको लगत कट्टा गरी पक्ष विपक्षलाई तारेख तोकी मिसिल मध्यमान्चल क्षेत्रीय अदालतमा फिर्ता पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल आषाढ २ गते रोज १ शुभम् ।