शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३०३ - दर्ता बदर

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३०३     ने.का.प. २०४२            अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको दे.पु.नं. ४७५

मुद्दा : दर्ता बदर ।

 

पुनरावेदक/वादी :का.प.जि.नम मुढा गा.पं.वार्ड नं.१ श्याम पाटी बस्ने तिलक बहादुर थापा क्षेत्री मरी मु.स.गर्ने ऐ. बस्ने धनकुमारी थापा क्षेत्री ।

विरूद्ध

विपक्षी/प्रतिवादी:गुठी संस्थान अन्तर्गत का.प.जि.गुठी तहसिल खर्च कार्यालय धुलिखेल ।

फैसला भएको मिति:२०४२।३।३।२ मा

     विवादको जग्गा नापी दर्ता भएको उपर वादीको नापी टोलीमा जग्गा नापजाँच ऐन, ०१९ को दफा ८(१) को म्यादभित्र उजूर परी नापी टोलीबाट चित्त नबुझे उजूर गर्न जानु भनी सूचना दिएको आधारमा प्रस्तुत फिरादपत्र मिति ०३५।७।७ मा परेकोलाई प्रचलित जग्गा मिच्नेको १८ नं. ऐनको हदम्याद नाघी दायर भएको भन्ने उक्त प्रतिपादित सिद्धान्त समेतबाट नमिल्ने ।

(प्रकरण नं.१४)

पुनरावेदक/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल

विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री श्यामध्वज कार्की

उल्लेखित मुद्दाःX

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    जि.चक्रबहादुर जिम्मा अर्चले खेत मुरी १।४५ को धान ९।१।२ घ्यू रु.२।९० चा.ठे. ।५ तिर्नुपर्ने कित्ता १ तिन मुडेखेत मुरी ।५ को धान ।६।२ घ्यू ।१० चाठो ।५ तिर्नुपर्ने जग्गा मेरो बाजेका पालामा श्यामपाटी गुठीमा निजी गुठी राख्नु भई विर्ता उन्मूलन ऐन, ०१६ अनुसार रैकर परिणत गरिपाउँ भनी ०१९ सालमा दिएको दर्खास्त अनुसार अर्चले खेत क्षेत्रफल ४५।४५ रोपनी ४ जग्गाको मालपोत बुझाई तिलकबहादुरका नाउँमा दर्ता भएको भोलानाथ हुमागाई १ सोमप्रसाद न्यौपाने १ चाउरे कामी १ समेत मोही भई कमाई आएका रविओपीको हाल भमरकोट पञ्चायत एरियामा नापी हुँदा वडा नं. १ को कि.नं. १०९ को जग्गाको मोही भोलानाथ ऐ. वडा नं. २ को कि.नं. ६० को चाउरे कामी ऐ. वडा नं. १ कि.नं. ३७८ को सोमप्रसादले कमाएको जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी २ नं. नापी गोश्वारा ८ नं. टोलीमा मेरो उजूर पर्दा कि.नं. १०९, ३७८, ६० को जग्गा समेतमा गुठी संस्थानका प्रतिनिधिले गुठीको जग्गा भनी जग्गाधनीमा दर्ता गराएकोले सम्बन्धित अदालतमा गई नालेश गर्न जानु भन्ने २ नं. नापी गोश्वारा ८ नं. टोली धुलिखेलबाट ०३५।५।२२ मा सूचना गरेकोले जग्गा पजनीको १ दफा गुठी संस्थान ऐन, ०३३ को दफा ६२ ले फिराद पेश गरेको छु । सो जग्गा गुठी संस्थानका प्रतिनिधिले जग्गाधनीमा बेहिसाबसित नापीमासमेत दर्ता गरेको बदर गरिपाउँ भन्नेसमेत तिलकबहादुरको ०३५।७।७ को फिराद ।

३.    वादीले दावी गरेको जग्गा वादीका बाजेले राखेको गुठी नभई श्री क.गम्भीरजंग थापाले सरकार बक्साई श्यामपाटी सदावर्त गुठी राखेको हो । सो गुठीको बाली असूल तहसिल गर्न भनी ८५ साल माघ २५ गते वादीका बाबु गजराजलाई मुखियाली काम गर्न सम्म राखेको हो । सोही आधारमा वादीले काम चलाई आएको हुन् । वादीले गुठी राख्ने थापा थरी र आफ्नो थर पनि थापा भएबाट वादीले रैकर परिणत गरेछन् । का.प.मालमा गुठी धर्मलोप मुद्दा चली मालबाट राजगुठी ठहराई विवरण बदर गरी लगत काटी दिने गरी ०२४।११।६ मा फैसला भएको र ०२५।११।१७ मा सदर गरी प्र.जि.अ. कार्यालय धुलिखेलबाट फैसला भई सो जग्गामा वादीको हक स्थापित भएको देखिन आउँदैन । हक नपुग्ने जग्गाको दावी गरेको देखिँदा वादीलाई सजायँ गरिपाउँ भन्ने समेत का.प.गुठी तहसिल खर्च कार्यालयको प्रतिउत्तरपत्र ।

४.    वादी रूद्रबहादुरले प्र.गुठी संस्थान उपर दायर गरेको ठा.दे.नं. ५६ को मुद्दा खारेज भई फैसला भएकोले प्रस्तुत फिराद दावी एकै सरहको हुँदा अरू विचार गरिरहन परेन प्रस्तुत फिराद दावी पनि अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत ०३७।११।२७ को बा.अं.अ.को फैसला ।

५.    सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी तिलकबहादुरको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

६.    इन्साफ बा.अं.अ.को मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।५।२२ को फैसला ।

७.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा खारेज गर्न नमिल्नेमा खारेज गरेको निर्णयमा जग्गा नापजाँच ऐन, ०१९ को दफा ८ र ज.मि. १८ नं. को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

८.    पुनरावेदक तर्फबाट रहनुभएका विद्वान  अधिवक्ता श्री गुरूप्रसाद बरालले नापी भएपछि सो जग्गा दर्ता गरिपाउँ भनी वादीको नापीमा निवेदन पर्दा अदालतमा गई नालेश गर्न जानु भनी सुनाएपछि वादीको म्यादभित्रै फिराद परेको छ । वादीको म्यादभित्रको फिरादलाई म्याद नाघेको भनी खारेज गरेको इन्साफ मिलेको छैन । सो फैसला बदर हुनुपर्छ भन्ने समेत र विपक्षतर्फबाट बहस गर्न उपस्थित विद्वान अधिवक्ता श्री श्यामध्वज कार्कीले विवादको जग्गा गुठी संस्थान अन्तर्गतको हो भन्ने देखी राखेको छ । अतः वादीको फिराद खारेज गरेको क्षेत्रीय अदालतको निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

९.    प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१०.    यसमा निर्णयतर्फ हेर्दा विवादित जग्गाको नापी भएकोमा कुनै विवाद देखिँदैन । सो जग्गा दर्ता गरिपाउँ भनी पुनरावेदक वादीले ०३१।२।२७ मा ६ नं. नापी टोलीमा उजूरी निवेदन दिएकोमा उक्त कि.नं. का जग्गा गुठी संस्थानका प्रतिनिधिबाट श्यामपाटी सदावर्त गुठी कायम गरेको र मोही समेत कायम भएको हुँदा तपाईंको निवेदन तामेलीमा राखिएको छ । चित्त नबुझे ऐनका म्यादभित्र सम्बन्धित कार्यालयमा उजूर गरी हकसफा गरी लिनु भनी वादीका नाउँको २ नं. नापी गोश्वारा ८ नं. नापी टोलीको ०३५।५।२२ को पत्र ०३५।५।२५ मा बुझाएको प्रमाण निमित्त आएको मिसिलबाट देखिन्छ ।

११.    त्यसरी जग्गा दर्ता गरिपाउँ भनी वादीको परेको उजूरी निवेदनको आधारमा ऐनको म्यादभित्र सम्बन्धित कार्यालयमा उजूर गर्नु भन्ने ८ नं. नापी टोलीबाट सूचना दिएको सो सूचनाको आधारमा प्रस्तुत फिराद ०३५।७।७ मा पर्न आएको देखिन्छ ।

१२.   निवेदक दुर्गेन्द्रबहादुर निरौला विरूद्ध बल बहादुर निरौला क्षेत्री समेत भएको ०३६ सालको दे.फु.नं. ३६ को जग्गा दर्ता बदर खिचोला मुद्दामा निवेदक पूर्जा पाएको मितिबाट जग्गा नाप जाँच ऐन, ०१९ को दफा ८ यो उपदफा (१) को म्याद ४५ दिनभित्र विपक्षीको नाममा दर्ता गरेको बदर गरी दर्ता पूर्जा पाउँ भनी दिएको उजूरीमा हक बेहक तेरो मेरो देखिन आएकोले अदालतबाट हक प्राप्त गरी अन्तिम निर्णय भए बमोजिम हुने भनी ०२७।११।१६ मा भू.प्र.का.मोरङबाट सुनाए अनुसार ०२७।१२।५।५ मा दायर गरेको मुद्दाको फिरादपत्रलाई म्याद नाघी दायर भएको भन्न नमिल्ने भनी सर्वोच्च अदालत फुल बेञ्चबाट ०३७।१०।१४ मा निर्णय भई सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।

१३.   उक्त दुर्गेन्द्रबहादुर निरौला विरूद्ध बल बहादुर निरौला समेत भएको जग्गा दर्ता बदर खिचोला मुद्दामा प्रतिवादीले जग्गा नापी दर्ता गराएकोमा वादीले जग्गा नापजाँच ऐन, ०१९ को दफा ८(१) को म्याद ४५ दिनभित्र भू.प्र.का.मा उजूर गरेको र भू.प्र.का.ले अदालतमा नालेश गर्न जानु भनी सुनाएपछि अदालतमा प्रवेश गरेको देखिन्छ । तर प्रस्तुत मुद्दामा वादीले जग्गा नापजाँच ऐन, ०१९ को दफा ८(१) ले तोकेको प्रकृया समाप्त गरी अर्थात् भूमिप्रशासनले नालेश गर्न जानु भनी सुनाएपछि अदालतमा प्रवेश गरेको नभई जग्गा मिच्नेको १८ नं. को म्याद कायम गरी सोझै अदालतमा प्रवेश गरेकोबाट प्रस्तुत मुद्दा र उक्त मुद्दाको स्थिति फरकफरक हुँदा उक्त नजीर प्रस्तुत मुद्दमा आकर्षित हुने देखिएन भन्दै सो नजीरलाई यथावत कायम राखी निवेदक लाला बुद्धिमान श्रेष्ठ विरूद्ध रत्नदेवी राणा भएको ०४१ सालको दे.फु.नं. ८१ को दर्ता बदर हक कायम मुद्दामा वादी दावी खारेज भई सर्वोच्च अदालत फुल बेञ्चबाट ०४२।१।१४।६ मा निर्णय भएको पाइन्छ ।

१४.   प्रस्तुत मुद्दामा विवादको जग्गा नापी दर्ता भएको उपर वादीको नापी टोलीमा जग्गा नापजाँच ऐन, ०१९ को दफा ८(१) को म्यादभित्र उजूर परी नापी टोलीबाट चित्त नबुझे उजूर गर्न जानु भनी सूचना दिएको आधारमा प्रस्तुत फिरादपत्र मिति ०३५।७।७ मा  परेकोलाई प्रचलित जग्गा मिच्नेको १८ नं. ऐनको हदम्याद नाघी दायर भएको भन्न उक्त प्रतिपादित सिद्धान्त समेतबाट नमिल्ने हुँदा प्रस्तुत मुद्दाको फिराद खारेज गर्ने गरेको बा.अं.अ.को इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा सो फैसला बदर हुने ठहर्छ। कानुन बमोजिम निर्णय गर्नु भनी उपस्थित पक्षलाई तारेख तोकी मिसिल मध्यमान्चल क्षेत्रीय अदालतमा पठाई दिनु अरू तपसील बमोजिम गर्नु ।

तपसील

कोर्टफी रही दायर भएको मुद्दा हुँदा केही गर्नु परेन....१

निर्णय गर्नुपर्ने मुद्दा खारेज गरेमा मध्यमान्चल क्षेत्रीय अदालतका तत्कालीन माननीय मुख्य न्यायाधीश श्री पृथ्वी बहादुर सिंह र माननीय न्यायाधीश श्री मेघराजबहादुर विष्टको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल आषाढ ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु