निर्णय नं. ८६५१ - फैसला आदेश बदर

ने.का.प. २०६८, अङ्क ७
निर्णय नं.८६५१
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
संवत् २०६२ सालको दे.पु.नं. ९४३३
फैसला मितिः २०६८।३।२८।३
मुद्दाः फैसला आदेश बदर ।
पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ९ वस्ने मिठू राणा
विरुद्ध
प्रत्यर्थी वादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं २९ ठमेल वस्ने नाति महर्जनको मुद्दा सकार गर्ने निजको छोरा लक्ष्मीनारायण महर्जन समेत
शुरु फैसला गर्नेः
मा.न्या. श्री ठाकुरप्रसाद शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री सोमबहादुर कोइराला
मा.न्या.श्री हरिबहादुर बस्नेत
§ फरक–फरक व्यक्तिहरूले फरक–फरक जिकीर लिई फिराद दायर गरेको अवस्थामा पनि एउटै तथ्य र विषयवस्तुमा एउटै न्यायाधीशले कहिले सदर र कहिले बदर गर्ने गरी राय व्यक्त गरी गरेको फैसलामा न्यायिक मनको प्रयोग गरी स्वच्छ सुनुवाइको आधारमा निर्णय भए गरेको रहेछ भनी सम्झन नमिल्ने ।
(प्रकरण नं.३)
§ न्यायाधीशले गरेको निर्णय निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हुनुपर्दछ भन्ने मात्र होइन, निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हो भन्ने देखिनु पनि पर्ने ।
(प्रकरण नं.४)
§ निर्णयकर्ताले एउटै विषयवस्तु समावेश भएको विवादको विषयमा एक पटक आफ्नो राय व्यक्त गरिसकेको अवस्थामा सोही विषयवस्तु समावेश भएको अर्को मुद्दामा पहिले व्यक्त भएको रायविपरीत कुनै आधार र कारण नखुलाई राय व्यक्त गर्ने कामकारवाही प्राकृतिक न्याय तथा स्वच्छ सुनुवाइको सिद्धान्तअनुकूल भए गरेको मान्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ न्याय प्रशासन ऐन, २०४८ को दफा १३(४)(ख)(ग)
फैसला
न्या.तर्कराज भट्टः पुनरावेदन अदालत, पाटनको मिति २०५६।२।१० को फैसलाउपर यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः–
मिठू राणा वादी भै अन्यायी मध्येको कृष्णध्वज राणा, मीनकुमारी राणा समेतलाई प्रत्यर्थी बनाई सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दिई अन्यायीहरू पक्ष विपक्षी मिली २०३४।९।७ मा आदेश गराएका रहेछन् । सो आदेश भएको कुरा हामीलाई जानकारी थिएन । अहिले मिठू राणाले हामीहरूको नाउँमा लिखत बदर र दर्ता बदर समेत मुद्दा दिएकोमा सो मुद्दाको म नाति महर्जन समेतका नाउँको म्याद हेर्दा फिराद नक्कलमा मिति २०३४।९।७ मा रिट नं. १४०८ को आदेशले बदर भएको भनी लेखिएको देखिँदा सो आदेश के रहेछ भनी हेर्दा निवेदक मिठू राणा विपक्षी कृष्णध्वज, मीनकुमारी, विष्णुकुमारी समेतलाई विपक्षी बनाई बालाजु वडा नं. १(क) को कि.नं. ९३ र अन्य कित्ता समेतमा दर्ता बदर गरिपाऊँ भनी रिट निवदेन परी सो निवेदन खारेज गरिपाऊँ भनी मीनकुमारीको लिखित जवाफ परी सर्वोच्च अदालतबाट निर्णय बदर हुने ठहरी २०३४।९।७ मा आदेश भएको रहेछ । म नाति महर्जनले मीनकुमारीसँग उपरोक्त कि.नं. ९३ को ३–८–०–० जग्गा २०३८।२।२१ मा हा.व. गरी लिएको थिएँ । सो जग्गा नीलध्वजको नाउँमा रैकरमा दर्ता भएको हा.नं. २९३ को कुराल पुखुको ५ रोपनी १२ आनाको जग्गा हो । सोही जग्गा नापीमा कि.नं. ९३ को क्षे.फ. ३–८–० कायम भएको हो । वण्डा हुँदा मीनकुमारीको भागमा परी मीनकुमारीबाट २०३८।२।२१ मा हा.व. लिई म सानु महर्जनले ०–८–० अष्ट र आशामरुले १–४–० जग्गा २०३८।२।२३ मा पारित गरी लिएपछि २०३८।३।३ को सट्टापट्टाबमोजिम नारायण, आशामरु, पुन सिंहको नाउँमा दर्ता भएको कुरा स्रेस्ताबाट प्रमाणित भएको छ । कि.नं. ९३ बाट कि.का. हुँदा नातिका नाउँमा कि.नं. ३४८ को क्षे.फ. १–१४–०, सानुमायाका नाउँमा कि.नं. ३४७ को क्षे.फ. ०–८–० भई सोबाट पनि जुजुभाइलाई ०–१–४–० र ऐ. बस्ने विष्णुमायालाई ०–२–० दिई बाँकी सानुमायासँग रहेको जग्गा कित्ताकाट हुँदा ६४८ सानुमायाको नाउँमा कायम छ । का.जि. बालाजु वडा नं. ९(क) कि.नं. ३४६ को १–४–० हामी नारायण, आशामरु, पुन सिंह समेतका नाउँमा दर्ता भै भोग गरी आएकोमा विवाद छैन । यसरी हाम्रो हक भोगको जग्गालाई विपक्षी मिठू राणाले कुनै प्रमाण नदेखाई रिट दिई बदर भएको छ भन्ने उल्लेख गरी प्रमाण बेगर दिएको प्रष्ट छ । कि.नं. ९३ को जग्गा नीलध्वजले धितो राखेकोमा रोक्का रहेको जग्गा तिर्नुपर्ने ३१,३३६।७० तिरी फुकुवा गराई मात्र हा.व. गरेको हुँदा यस्तो अवस्थामा मिठू राणाले विपक्षी कृष्णध्वज राणा, मीनकुमारी राणा, विष्णुकुमारी राणा समेत मिली लिखित जवाफ फिराएको मिसिलबाट देखिएको । काठमाडौँ जिल्ला अदालतको मिति २०३८।२।२२ को फैसलातर्फ छुट्टै फिराद गरेको छु । यसरी हाम्रो हकको जग्गालाई लोग्नेले हक छाडी सकेको रैकर जग्गालाई लिई निवेदक विपक्षी बनी २०३४।९।७ मा गराएको सर्वोच्च अदालतको आदेशबाट हाम्रो हक जाने भएकोले कि.नं. ९३ को उक्त मितिको आदेश बदर गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
कि.नं. ९३ समेतको जग्गाको हकमा साविक भूमि प्रशासन कार्यालयको निर्णयउपर मेरो रिट परेको हो । दर्ता बदरमा होइन । फिराद लेख कपोलकल्पित हो । गुठी जग्गा सट्टापट्टा गरेकोमा अन्य उपचार हुँदा रिटबाट हेरिन र निराकरण हुन सक्दैन भन्ने मीनकुमारीले दिएको लिखत जवाफकै कुरा वादीले लेखाएका छन् भने मुख्य दाता मीनकुमारीले गुठी भन्ने कुरामा चित्त बुझाई बसेकी छन् । स.अ. बाट निर्णय बदर हुन्छ भनी आदेश भएको कुरा मौकामा नै नाति महर्जनले फैसलाको नक्कल लिई थाहा पाई सकेको हो । कि.नं. ९३ को क्षे.फ. ३–८–० जग्गा मीनकुमारीले पारित गरी दिएको हा.व. को मिति र अंशवण्डाको मिति समेत फरक देखिन आएको छ । यसबाट पहिले नै. हा.व. गरी दिनु र पछि अंशबण्डा गर्नुको कारण निजी गुठी जग्गा लिन खानका लागि जालसाजी लिखतलाई प्रमाण बनाई जालसाजी रचेको भन्ने कुरा वादी लेखबाटै प्रष्ट हुन्छ । विपक्षीले प्रमाणमा देखाएका लिखतहरू अ.वं. ७८ नं. बमोजिम नामाकरण समेत गर्नेछु । लोग्नेले रैकर छोडपत्र गरेको भन्ने हकलाई सो बखत रैकरमा दर्ता भएको जग्गा छोडपत्र गरेकोसम्म देखिन्छ । तर दर्ता भै गुठी रहेको जग्गा पोताविर्ता समेत छोडपत्र गरेको छैन । भू.प्र.का. र मर्नेका हकदारहरूलाई विपक्षी बनाउन समेत सक्नुपर्नेमा बनाउन सक्नु भएको छैन । रैकरको दर्ता भन्ने हकमा पोताविर्ता नै गुठी रहेको हो । धितो दिएको भन्ने हकमा रैकरमा परिणत गरेकै धितो दिनु पर्दछ । सो कुरा मलाई थाहा छैन । २०३४।९।७ मा कि.नं. ९३ को हकमा मात्र भएको स.अ. को आदेश बदर गरिपाऊँ भन्ने दावीमा बदर हुने अवस्था छैन । विपक्षीको दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
प्रतिवादी कृष्णध्वज राणाले म्याद बुझी प्रतिउत्तर नदिई म्याद गुजारी बसेको मिसिलबाट देखिएको ।
मिठू राणाले स.अ. मा रिट दिनु भन्दा पहिले नै उक्त जग्गा नीलध्वजका नामबाट मीनकुमारीका नाउँमा गैसकेको र सो जग्गा रामचन्द्र गुठीको भन्ने समेत कतैबाट नदेखिएको समेतबाट काठमाडौँ जि.अ.को २०३८।२।२२ को फैसलामा उल्लिखित कि.नं. ९३ र १८९ को हकमा तथा सोही हदसम्म सम्मानीत सर्वोच्च अदालतको मिति २०३४।९।७ को आदेश समेत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५४।७।२८ को फैसला ।
शुरु काठमाडौँ जिल्ला अदालतको फैसलाउपर चित्त बुझेन । मिति २०३८।२।२२ को काठमाडौँ जिल्ला अदालतको फैसला र सर्वोच्च अदालतको २०३४।९।७ को अन्तिम आदेशलाई मूल्याङ्कन नगरी हकै नभएका विपक्षीहरूको फिराद दावीबमोजिम ठहर गरेको शुरुको कानूनी त्रुटिपूर्ण फैसला बदर उल्टी गरी काठमाडौँ जिल्ला अदालतको २०३८।२।२२ को फैसला र सर्वोच्च अदालतको मिति २०३४।९।७ को आदेशलाई सदर राखी पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मिठू राणाको पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
प्रत्यर्थी वादीका दाता मीनकुमारीले गराएको दर्तामा निर्णय बदर हुँदा सो जग्गाको हैसियत पूर्ववत रुपमा मीनकुमारीको पति नीलध्वजको नाममा रहने र नीलध्वजका नाउँको साविक दर्ता कायम रहेको अवस्थामा उत्प्रेषणको आदेशले हक भएको मान्न मिल्ने नदेखिंदा साविक दर्ता स्रेस्ताबाट हक छोडाई लिने प्रत्यर्र्थी वादीलाई पक्ष नबनाइएको र निजलाई नबुझी दर्तावालाको गैह्रहाजिरीमा भएको फैसलाले आफ्नो हकमा असर परेकोमा अ.वं ८६ नं. बमोजिम फैसला बदरतर्फ नालेस गर्न हकदैया नहुने भनी अर्थ गर्न कानून न्यायसंगत नहुँदा रामचन्द्र गुठीको अन्य कित्ताका जग्गासम्ममा विभिन्न तहबाट भएका फैसला स्रेस्ताबाट रैकरको हैसियत प्राप्त गरेको विवादको जग्गा सम्बन्धमा भएको काठमाडौँ जिल्ला अदालतको मिति ०३८।२।२२ को फैसला समेत बदर गर्ने गरेको शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०५४।७।२८ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत मिति २०५६।२।१० को पुनरावेदन अदालत पाटनको फैसला ।
पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन । विपक्षीहरूले कि.नं ९३ का जग्गाका सम्बन्धमा भएको सर्वोच्च अदालतको आदेशउपर नालेस गर्ने हकदैया नै छैन । नीलध्वजकी पत्नी मीनाकुमारीबाट वादी नाति महर्जनले मिति २०३८।२।२१ मा र नाति महर्जनबाट सानुमाया, आशामरु र अष्ट महर्जनले ०३८।२।२३ मा रजिष्ट्रेशन पास गरिलिएको देखिन्छ भने सर्वोच्च अदालतबाट मिति २०३४।९।७ मा आदेश भएको हुँदा उक्त आदेश बदर गराइ पाऊँ भनी अ.वं ८६ नं को आधार लिई फिराद गर्न पाउने हकदैया विपक्षीलाई छैन । अ.वं. ८६ को कानूनी व्यवस्थाले हक मेटिनेको उक्त फैसला हुनुभन्दा अगाडि नै हक स्थापित भएको हुनुपर्ने, यस्तो हक मेट्नलाई दुइपक्ष मिलेर तेस्रो पक्षको हक जाने क्रिया भएकोमा मात्र उक्त अ.वं. ८६ को व्यवस्था आकर्षित हुने हो । प्रस्तुत मुद्दामा विपक्षको हकमा जानुपूर्व नै भएको फैसलाले विपक्षीको दाताकै हक मेटिन गएको फैसला आदेशउपर बदरमा नालेस गर्न पाउने हकदैया यी वादीलाई हुने देखिदैन । अर्को कुरा तेस्रो पक्षको हकमा असर परेको हुनुपर्ने देखिन्छ तर विपक्षीहरूले तेस्रो व्यक्तिको संज्ञा पाउन सक्ने स्थिति नै छैन । त्यसैगरी अ.वं. ८६ नं बमोजिमको फैसला बदर माग गर्न नयाँ प्रमाणको आवश्यकता पर्ने हुन्छ विपक्षीहरूबाट त्यस्तो थप नयाँ प्रमाण लिइ दावी लिएको देखिंदैन ।
म निवेदिका र प्रस्तुत मुद्दाका वादी नाति महर्जनका दाता मीनकुमरी राणा समेत भएको दर्ता बदर मुद्दा चलिरहेको अवस्थामा मीनकुमारी राणाले विपक्षी नाति महर्जनलाई कि.नं. ९३ को जग्गा हालैको वकसपत्र पारित गरेकोमा २०३८।२।२२ को काठमाडौँ जिल्ला अदालतको फैसलाले कि.नं. ९३ समेतका जग्गाको दर्ता बदर गरेको छ भने मुद्दा चल्दाचल्दै उक्त फैसला हुनुभन्दा एकदिन अगाडि अर्थात् मिति २०३८।२।२१ मा हक हस्तान्तरण भएको देखिन्छ । वकसपत्र गरिदिनेको हक समाप्त भएको अवस्थामा सो व्यक्तिबाट हकप्राप्त गर्नेको हक कायम रहन सक्ने हुँदैन । दाताको हक सदर नठहरे त्यसपछि लिनेको हक नपुग्ने अर्थात् वादीको दाताको नै हक कायम रहन नसक्ने भएपछि उसै मध्येका केही जग्गामा वादीको उजूर दावी लाग्न नसक्ने स्पष्टै छ ।
विवादित कि.नं ९३, १८९ समेतका वालाजुका जग्गाहरू नीलध्वजको आमा पद्मकुमारी रानीको आफ्नै दाइजो पेवाको भई वत्तिसपूतली रामचन्द्र गुठीको हाताभित्रको सैलेन्द्रश्वर महादेवको ११ ओटा शिवलिङ्ग स्थापना गरी रामचन्द्र गुठीमा समावेश गरी राखिएको गुठी हुँदा निज नीलध्वजका नाममा दर्ता हुनु वेमुनासिब होइन । नीलध्वज परलोक भएपछि विवादित कि.नं ९३, १८९ समेतका जग्गाहरू सौतेनी सासू मीनकुमारीले एकलौटी नामसारी गराई रैंकर वनाई सट्टापट्टा, वकस गरी हक हस्तान्तरण गरेर गुठीको जग्गा हिनामिना गर्न लागी मिति २०३२।१।२६ मा भूमि प्रशासन कार्यालय काठमाडौँबाट दाखिल खारेज नामसारी गराएकोमा सर्वोच्च अदालतबाट २०३४।९।७ मा भएको रिट आदेशबाट उक्त निर्णय बदर भएको अवस्था विद्यमान छ । त्यसैगरी मीनकुमारी राणाले धर्मलोप गरी मुद्दा चल्दाचल्दै गुठी जग्गा लिनुदिनु गरेकाले दर्ता बदर र धर्मलोपका मुद्दाहरू समेत अल्मल्याउन प्रस्तुत मुद्दा दायर रहेको स्पष्ट छ । उक्त जग्गा रैंकर वनाई गुठीको जग्गा हिनामिना गरी गुठी महलको ३ नं. प्रतिकूल गरेकाले तत्कालीन वाग्मती अञ्चल अदालतबाट समेत सट्टापट्टाको लिखत बदर भई मैले एकलौटी गुठी सञ्चालन गर्न पाउने गरी ०३८।५।२४ मा निर्णय भई उक्त निर्णय अन्तिम भई वसेको छ । यसरी मीनकुमारीले मुद्दा हारी वसेको अवस्थामा उनै मीनकुमारीबाट उही जग्गा हक हस्तान्तरण गरी लिएका यी प्रत्यर्र्थी वादीहरूको हक स्थापित हुन सक्ने अवस्था नै छैन ।
यसरी कानूनबमोजिम ग्रहण गर्न नहुने प्रमाण ग्रहण गरी शुरु जिल्ला अदालत र पुनरावेदन अदालतबाट भएका फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएको छ । वादीहरूका दाताले नै विवादित जग्गाको हक कायम गर्न नसकेपछि वादीहरूले यति ढिलो आएर नामसारी दर्ता बदर भैसकेको फैसला बदर गरिपाऊँ भन्ने दावी गर्नु अ.वं ८२ नं., अ.वं ८६, प्रमाण ऐनको दफा ५४ को कानूनी त्रुटि तथा नेकाप २०४३ नि.नं २७३९ पृष्ठ ५०५, ने.का.प–२०२८, नि.नं–५९१, पृष्ठ.७३, नेकाप २०४२ नि.नं.–२२७० पृष्ठ–१६६, नेकाप –२०४६ नि.नं–४०१७ पृष्ठ–१२०८, नेकाप –२०५२ नि.नं.–६०९६ पृष्ठ ९२१ मा प्रकाशित नजीर सिद्धान्त समेत प्रतिकूल भएको हुँदा उक्त फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) अन्तर्गत मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने समेतको प्रतिवादी मिठू राणाको यस अदालतमा परेको निवेदन ।
यसमा यसै लगाउको दो.नि.नं ५६४० को लिखत दर्ता बदर भएको मुद्दामा आज यसै इजलासबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भएकोले सोही आधार प्रमाणबाट प्रस्तुत मुद्दामा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याउने निस्सा प्रदान गरी दिएको छ भन्ने समेत यस अदालतको मिति २०६१।११।१९ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरियो । पुनरावेदक मिठू राणाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले प्रस्तुत मुद्दामा देखाइएको विवादको कि.नं. ९३ लगायतका जग्गाहरू मौजा बानेश्वर वत्तीसपुतलीस्थित श्री रामचन्द्र हनुमानका नाममा दर्ता भएको निजी गुठीका जग्गा हुन् । उल्लिखित जग्गाहरू २०३२।१।२४ र २०३२।१।२६ को भूमि प्रशासन कार्यालय काठमाडौँको निर्णयले मीनकुमारी राणाको नाममा भएको दर्ताउपर यसै सम्मानीत अदालतमा रिट निवेदन परी २०३२ सालको रिट नं. १४०८ बाट उक्त निर्णयहरू बदर भएका छन् भने वादी मिठू राणा प्रतिवादीहरू मीनकुमारी राणा समेत भई चलेको २०३७ सालको दे.मि.नं. ५६ को दर्ता बदर मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०३८।२।२२ को फैसलाले उल्लिखित जग्गाहरूको मीनकुमारी राणा समेतको नामको दर्ता बदर भै उक्त फैसला अन्तिम भै रहेको छ ।
काठमाडौँ जिल्ला अदालतको उक्त दे.मि.नं. ५६ को फैसला र पुनरावदेन अदालत पाटनको दे.पु.नं. ९६० समेतका २०३५।९।२४ का फैसला समेत बदर गरिपाऊँ भनी वादी श्यामबहादुर श्रेष्ठ समेतले यी पुनरावेदक मिठू राणा समेतलाई प्रतिवादी बनाई काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा हकदैयाको अभावमा खारेजी फैसला भएउपर तत्कालीन बागमती अञ्चल अदालतमा पुनरावेदन परी २०४५।१२।७ मा मुनासिब ठहर ठहर्याएउपर पुनरावेदन अदालत पाटनबाट अनुमति दिन परेन भनी २०५५।३।२४ मा फैसला अन्तिम भै रहेको छ । यस्तो अवस्थामा उक्त फैसलाहरू कार्यान्वयन गर्न जाँदा मालपोत कार्यालय काठमाडौँले कि.नं. ९३ र १८९ को कित्ता २०३८।२।२२ को फैसला पछि विभिन्न व्यक्तिका नाममा कित्ताकाट भै गएको देखिँदा दर्ता बदर गराई ल्याएमा दर्ता कायम गरी दिने भनी २०४८।२।३१ मा निर्णय गरेको छ । यस्तो अवस्थामा उल्लिखित २०३८।२।२२ को दर्ता बदर मुद्दाको फैसला हुनुभन्दा १ दिन अघि मुद्दा पर्दापर्दै मीनकुमारीबाट २०३८।२।२१ मा गराई लिएको लिखतबाट यी विपक्षीहरूको हक स्थापित हुन नसक्ने हुँदा उक्त काठमाडौँ जिल्ला अदालतको फैसला बदर गराउन यी विपक्षीहरूको हकदैया नै पुग्दैन । उल्लिखित अवस्थामा वादी श्यामबहादुर श्रेष्ठ समेत विरुद्ध प्रतिवादी मिठू राणा समेत भएको का.जि.अ को २०३८।२।२२ र २०३५।९।२४ को वादी श्यामबहादुर श्रेष्ठ प्रतिवादी मिठू राणा भएको फैसला बदर मुद्दामा पुनरावेदन अदालत पाटनको एउटै माननीय न्यायाधीशज्यूबाट २०५५।३।२४ मा अनुमति दिन मिलेन भनी फैसला गरेपछि पुनः सोही काठमाडौँ जिल्ला अदालतको २०३८।२।२२ र २०३५।९।२४ को फैसला बदर गरिपाऊँ भन्ने वादी नाति महर्जन समेत र प्रतिवादी मिठू राणा भएको फैसला बदर मुद्दामा फैसला गर्दा काठमाडौँ जिल्ला अदालतको २०५४।७।२८ मा उक्त फैसला बदर गरेउपर यी पुनरावेदक मिठू राणाको पुनरावेदन अदालत पाटनमा पुनरावेदन पर्दा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरी २०५६।२।१० मा उही अनुमति दिन मिलेन भनी फैसला गर्ने मा.न्या. ज्यूबाट फैसला भएको हुँदा एउटै विवादमा एउटै विषयवस्तु समावेश भएकोमा एउटै मा.न्या.ज्यूबाट फरक फरक फैसला निर्णय भएको स्पष्ट हुँदा अ.वं. ८५ नं. को त्रुटि हुन गएको स्पष्ट छ । अतः उल्लिखित आधारहरूबाट पुनरावेदन अदालत पाटनको २०५६।२।१० को फैसलाहरूमा अ.वं. ८५ र ८६ नं. को त्रुटि हुँदा उक्त फैसलाहरू बदर गरी न्याय निरोपण गरिपाऊँ भनी वहस गर्नुभयो ।
विपक्षी नाति महर्जनको मु.स. गर्ने लक्ष्मीनारायण महर्जन समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लोकभक्त राणाले विपक्षीले उल्लेख गरेको २०३२ सालको रिट नं. १४०८ मा यसै सम्मानीत अदालतबाट आदेश हुँदा हक बेहकमा सुनाउन पर्नेमा नसुनाई भूमि प्रशासन कार्यालयबाट मीनकुमारीको नाममा दर्ता हुने गरी २०३२।१।२४ र २०३२।१।२६ मा निर्णयहरू भएको हुँदा उक्त निर्णयहरू उत्प्रेषणबाट बदर भएका हुन् । यसबाट विवादित जग्गा मीनकुमारीको दर्ता हुनुपूर्वको अवस्थामा जाने हो, गुठी कायम हुने होइन । तसर्थ सोही आधारमा भएको काठमाडौँ जिल्ला अदालतको २०३७ सालको दे.मि.नं. ५६ को दर्ता बदर मुद्दामा पनि दर्ता बदरसम्म भएको हो, गुठी सम्बन्धमा केही बोलिएको छैन । यस्तो अवस्थामा गुठीमा दर्ता हुने ठहर भएको भन्ने विपक्षीको भनाई मिथ्या हो ।
विवादित जग्गा स्वयम्भु मौजा हा.नं. २९३ नीलध्वज राणा एवं गजकुमारी समेतको नाउँमा व्यक्तिगत रुपमा दर्ता भएको जग्गा हो र सा.नं. ८५ बाट २०२०।१।१० को विवरणबमोजिम २०२०।८।८ मा रैकरमा परिणत विभिन्न खला मध्ये कि.नं. ९३ दुरालपुखु खला अन्तर्गतको हो । यो जग्गाको मोही नाति महर्जन र जग्गाधनी नीलध्वज भएको र २०३१।८।२७ मा कि.नं. ९३ नीलध्वजको नाममा नापी दर्ता भएको तथ्य मा.पो.का. काठमाडौँको २०४८।३।३१ को टिप्पणी आदेशबाट पनि स्पष्ट हुन्छ । यसरी नीलध्वजको नाममा रैकरमा दर्ता भएको जग्गा निज पछि निजको श्रीमती मीनकुमारी राणाको हुनेमा नामसारी दर्ताको क्रममा विवाद उठेको हो । विपक्षी मिठू राणाले दावी गरेको रामचन्द्र गुठीको का.पूर्व सा. ३१५ नं. हेरिएमा दुरालपुख खला देखिदैन । यसबाट विपक्षीले दावी गरेको जग्गा नीलध्वजको जग्गासँग भिड्दैन । यसरी रैकरमा दर्ता भएको जग्गा विभिन्न व्यक्तिमा हक हस्तान्तरण भैसकेकोमा मौकामा अ.वं. १७१क नं. बमोजिम रोक्का राख्न नसकी उक्त हक हस्तान्तरणलाई चुनौती दिन सकेको अवस्था छैन । साथै मीनकुमारीको दर्ता बदर भई दर्ता पूर्वको स्थितिमा जाने भएकोमा नीलध्वज दर्तातर्फ फिराद गर्ने हकदैया विपक्षीलाई हुँदैन । तसर्थ मेरा पक्षहरूलाई जिताउने ठहर्याएका तलका अदालतका फैसला कायमै राखी सदर गरिपाऊँ भनी वहस गर्नुभयो ।
उल्लिखित बहस समेत सुनी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचारगर्दा पुनरावेदन अदालत पाटनबाट २०५६।२।१० मा भएको फैसला मिले नमिलेको के रहेछ ? त्यसैमा निर्णय दिनुपर्ने देखियो ।
यसमा विपक्षीहरूले कि.नं. ९३ समेतका जग्गाका सम्बन्धमा भएको सर्वोच्च अदालतको आदेशउपर नालेस गर्ने हकदैया नै छैन । त्यसमा पनि कुनै फैसला आदेश वा मिलापत्रबाट तेस्रो पक्षको हक जाने क्रिया भएकोमा मात्र अ.वं. ८६ नं. अनुसार फैसला निर्णय आदेश बदरमा आउन पाईने हो । प्रस्तुत मुद्दामा यी विपक्षीका दाता मीनकुमारी विरुद्ध मैले दर्ता बदर मुद्दा दिई उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा नाति महर्जनलाई कि.नं. ९३ को जग्गा हालैको वकस दिएको हुँदा काठमाडौँ जिल्ला अदालतको २०३८।२।२२ को फैसलाले मीनकुमारीको नामको दर्ता नै बदर भएको हुँदा दाताको हकनै समाप्त भएपछि यी विपक्षीले उक्त फैसला बदर गराउन सक्ने हकदैया नै हुँदैन । यस्तो अवस्थामा विपक्षीको दाताको नामसारी दर्ता बदर भैसकेको फैसला बदर गरिपाऊँ भन्ने दावी अ.वं. ८२, ८६ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ विपरीत हुँदा सो आधारमा उक्त फैसला बदर हुने गरी भएका फैसला समेत अ.वं. ८६ नं. तथा सम्मानीत अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भएकोले बदर गरिपाऊँ भन्ने नै मुख्य पुनरावेदन जिकीर लिएको देखिन्छ ।
प्रस्तुत मुद्दामा विवादित कि.नं. ९३ समेतका जग्गाहरू यी विपक्षी वादी नाति महर्जन समेतका दाता मीनकुमारी राणाको नाममा दर्ता गर्ने भूमि प्रशासन कार्यालयको निर्णयउपर पुनरावेदन मिठू राणाले यसै अदालतमा दिएको २०३२ सालको रिट नं. १४०८ बाट उक्त निर्णय बदर भएको देखिन्छ । तत् पश्चात् यी पुनरावेदक मिठू राणाले मीनकुमारी राणा उपर काठमाडौँ जिल्ला अदालतमा २०३८ सालमा दिएको दे.मि.नं. ५६ को दर्ता बदर मुद्दाबाट मीनकुमारी राणा समेतको नामको दर्ता बदर भएको कुरा मिसिल संलग्न उक्त २०३७ सालको दे.मि.नं. ५६ को काठमाडौँ जिल्ला अदालतको २०३८।२।२२ को फैसलाको प्रतिलिपिबाट देखिन्छ । उक्त फैसला पश्चात् यी पुनरावेदिका मिठू राणा उल्लिखित जग्गाहरू दाखिल खारेज गर्न मालपोत कार्यालय काठमाडौँमा गएकोमा कि.नं. ९३ र १८९ का जग्गाहरू कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिँदा दर्ता बदर गराई ल्याएका बखत दर्ता कायम गरिदिने भनी २०४८।२।३१ मा निर्णय भएको रहेछ ।
यसरी काठमाडौँ जिल्ला अदालतबाट यी विपक्षी वादीका दाता मीनकुमारीका नाममा दर्ता भएका विवादित कि.नं. ९३ समेतका जग्गाको दर्ता बदर हुने गरी काठमाडौँ जिल्ला अदालतबाट २०३८।२।२२ मा भएको फैसलाबाट आफ्नो हक हनन् भएको भनी उक्त मिति २०३५।९।२४ र २०३८।२।२२ समेतको फैसला बदर गरिपाऊँ भनी मीनकुमारीबाट जग्गा लिने श्यामबहादुर श्रेष्ठले यी पुनरावेदिका मिठू राणा समेत उपर काठमाडौँ जिल्ला अदालतमा फिराद गरेकोमा काठमाडौँ जिल्ला अदालतबाट २०४४।९।६ मा हकदैया र हदम्यादको अभावमा फिराद खारेज गरेकोमा काठमाडौँ जिल्ला अदालतको २०४४।९।६ को सो फैसलाउपर श्यामबहादुर श्रेष्ठ समेतले बाग्मती अञ्चल अदालतमा पुनरावेदन गरेकोमा काठमाडौँ जिल्ला अदालतको फैसला सदर हुने ठहर गरी २०४५।१२।७ मा बागमती अञ्चल अदालतबाट फैसला भएको देखिन्छ । जिल्ला अदालतको उक्त फैसला सदर गर्ने गरेको बाग्मती अञ्चल अदालतको फैसलाउपर वादी श्यामबहादुर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमति माग गरेकोमा मुद्दा पुनरावेदन अदालत पाटनमा सरी पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेतको एकल इजलासबाट अनुमति दिन मिलेन भनी उल्लिखित २०३८।२।२२ को फैसला बदर नभई उक्त फैसला सदर कायम भई अन्तिम भएर रहेको देखिन्छ ।
त्यसै गरी यी विपक्षी वादीहरूका दाता मीनकुमारीका नामको सोही कि.नं. ९३ समेतका जग्गाको दर्ता बदर हुने ठहराएको २०३८।२।२२ को फैसला बदर गरिपाऊँ भनी पुनः यी विपक्षी वादी नाति महर्जन समेतले प्रतिवादी मिठू राणा उपर काठमाडौँ जिल्ला अदालतमा प्रस्तुत मुद्दाको शुरु फिराद दायर गरेकोमा उल्लिखित दर्ता बदर हुने ठहराएको काठमाडौँ जिल्ला अदालतको २०३८।२।२२ को फैसला बदर हुने ठहर गरी काठमाडौँ जिल्ला अदालतबाट २०५४।७।२८ मा फैसला गरेको देखिन्छ । सो फैसलाउपर यी पुनरावेदिका मिठू राणाको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा पुनः माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत समेतको इजलासबाट २०३८।२।२२ को फैसला बदर गर्ने ठहर्याएको काठमाडौँ जिल्ला अदालतको २०५४।७।२८ को उक्त फैसला सदर गरेको देखिन आयो ।
२. यसमा नीलध्वजका नाममा दर्ता रहेको कि.नं. ९३ समेतका जग्गा मीनकुमारी राणालाई हा.व. गरी दिएको आधारमा मीनकुमारी राणाको नामको दर्ता बदर हुने गरी काठमाडौँ जिल्ला अदालतले मिति २०३८।२।२२ मा गरेको फैसला बदर गरिपाऊँ भनी श्यामबहादुर श्रेष्ठ समेतले दिएको फिराद दावी हदम्याद र हकदैयाको आधारमा खारेज हुने गरी काठमाडौँ जिल्ला अदालतले मिति २०४४।९।६ मा गरेको फैसला बागमती अञ्चल अदालतबाट मिति २०४५।१२।७ मा सदर गर्ने गरी फैसला भएकोमा श्यामबहादुर श्रेष्ठ समेतबाट सो फैसलाउपर मध्यमाञ्चल क्षेत्रीय अदालतमा अनुमतिको लागि परेको निवेदन पाटन पुनरावेदन अदालतमा सरी आएकोमा त्यसमा मिति २०५५।३।२४ मा सो अदालतका माननीय न्यायाधीश हरिबहादुर बस्नेतको एकल इजलासबाट अनुमति दिन नमिल्ने भनी गरेको आदेशबाट काठमाडौँ जिल्ला अदालतको उक्त मिति २०३८।२।२२ को फैसला यथावत रहन गएको देखिन आयो । अर्काेतर्फ नाति महर्जन समेतले पनि काठमाडौँ जिल्ला अदालतले मीनकुमारी राणाको नाममा दर्ता रहेको कि.नं. ९३ समेतको जग्गाको दर्ता बदर गर्ने गरी गरेको सोही मिति २०३८।२।२२ को फैसला बदर गरिपाऊँ भनी परेको प्रस्तुत मुद्दामा काठमाडौँ जिल्ला अदालतले फैसला बदर हुने गरी गरेको फैसलाउपरमा पाटन पुनरावेदन अदालतमा पुनरावेदन पर्दा माननीय न्यायाधीश हरिबहादुर बस्नेत समेतको इजलासले काठमाडौँ जिल्ला अदालतको उक्त मिति २०३८।२।२२ को फैसला बदर गर्ने गरी गरेको फैसला सदर कायम रहने गरी मिति २०५६।२।१० मा गरेको फैसलाउपरमा मिठू राणाको तर्फबाट परेको प्रस्तुत पुनरावेदनको सम्बन्धमा हेर्दा पहिले श्यामबहादुर श्रेष्ठ समेतले दिएको फैसला बदर मुद्दामा पुनरावेदनको अनुमति प्रदान गर्न नमिल्ने भनी राय व्यक्त गरी आदेश गर्ने माननीय न्यायाधीशले नै पछि नाति महर्जन समेतले सोही विषयमा दिएको प्रस्तुत मुद्दा र यसै लगाउका फैसला बदर मुद्दामा फैसला बदर हुने गरी फैसला गरेको देखिन आयो ।
३. यसरी फरक फरक व्यक्तिहरूले फरक फरक जिकीर लिई फिराद दायर गरेको देखिए पनि विवादको विषयवस्तु काठमाडौँ जिल्ला अदालतको मिति २०३८।२।२२ को फैसला बदर गरिपाऊँ भन्ने माग गरेको देखिनाले एउटै तथ्य र विषयवस्तुमा एउटै माननीय न्यायाधीशले कहिले सदर र कहिले बदर गर्ने गरी राय व्यक्त गरी गरेको फैसलामा न्यायिक मनको प्रयोग गरी स्वच्छ सुनुवाइको आधारमा निर्णय भए गरेको रहेछ भनी सम्झन मिल्ने देखिन आएन ।
४. न्यायाधीशले गरेको निर्णय निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हुनुपर्दछ भन्ने मात्र होइन, निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हो भन्ने देखिनु पनि पर्ने हुन्छ । प्रस्तुत विवादको विषयमा पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेतले मिति २०३८।२।२२ को फैसला सदर गर्ने गरी बाग्मती अञ्चल अदालतले गरेको फैसलाउपरमा परेको अनुमतिको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १३(४)(ख)(ग) को त्रुटि रहे भएको नदेखिँदा अनुमति दिन नमिल्ने भनी विवादको कि.नं. ९३, १८९ समेतको विषयमा आफ्नो राय मिति २०५५।३।२४ मा व्यक्त गरिसकेको अवस्था देखिन आयो । प्रस्तुत फैसला बदर मुद्दामा पनि विवादको विषय पनि सोही कि.नं. ९३ र १८९ समेतको जग्गाको भएकोले काठमाडौँ जिल्ला अदालतले मिति २०५४।७।२८ मा मिति २०३८।२।२२ को फैसला बदर गर्ने गरी गरेको निर्णय सदर गर्ने गरी सोही पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत समेतको इजलासले मिति २०५६।२।१० मा निर्णय गरेको पाइन्छ ।
५. यसरी निर्णयकर्ताले एउटै विषयवस्तु समावेश भएको विवादको विषयमा एक पटक आफ्नो राय व्यक्त गरिसकेको अवस्थामा सोही विषयवस्तु समावेश भएको अर्काे मुद्दामा पहिले व्यक्त भएको रायविपरीत कुनै आधार र कारण नखुलाई राय व्यक्त गर्ने कामकारवाही प्राकृतिक न्याय तथा स्वच्छ सुनुवाइको सिद्धान्तअनुकूल भए गरेको भन्न मिल्ने देखिन आएन । निर्णयकर्ताले गरेको निर्णय स्वच्छ सुनुवाइको सिद्धान्तमा आधारित भई गरेको देखिनु पर्दछ भन्ने हुनाले प्रस्तुत मुद्दामा माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत समेत भै गरेको पुनरावेदन अदालत पाटनको मिति २०५६।२।१० को फैसला उक्त सिद्धान्त अनुकूल रहे भएको नदेखिनाले बदर गरी दिएको छ ।
६. तसर्थ उल्लिखित आधार र कारणहरूबाट प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट एउटै विवादमा फरक फरक निर्णय भएको देखिई उक्त फैसला बदर भएकोले अव साविकमा फैसला गर्ने माननीय न्यायाधीश बाहेकको इजलासबाट जे जो बुझ्नु पर्ने हुन्छ, आवश्यक प्रमाण बुझी पुनः निर्णय गर्नु भनी प्रस्तुत मुद्दामा निर्णय गर्नको लागि उपस्थित दुवै पक्षलाई पुनरावेदन अदालत पाटनको तारेख तोकी मिसिल पुनरावेदन अदालत पाटनमा पठाई दिने ठहर्छ । प्रस्तुत मुद्दाको यस अदालतको दायरीको लगत काटी मिसिल नियमानुसार गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.तपबहादुर मगर
इति संवत् २०६८ साल असार २८ गते रोज ३ शुभम्
इजलास अधिकृतः– उपेन्द्रप्रसाद गौतम