निर्णय नं. ५०७९ - खिचोला हक कायम समेत ।

निर्णय नं. ५०७९ ने.का.प. २०५२ अङ्क ४
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५१ सालको दे.पु.नं. ४५
फैसला मिति : २०५२।३।८
मुद्दा : खिचोला हक कायम समेत ।
पुनरावेदक/प्रतिवादी:का.न.पा. वार्ड नं. १३ टंकेश्वर बस्ने जोगमानन्द बज्राचार्य ।
विरुद्ध
विपक्षी/वादी:ऐ वडा नं. ३० असन बालकुमारी बस्ने प्रेमधर तुलाधर ।
घर जग्गा वा कुनै सम्पत्ति उपर स्वामित्व हुने व्यक्तिले सो घर जग्गा वा सम्पत्ति कानून अनुसार निर्वाध रुपमा भोग चलन गर्न पाउँदछ । त्यस्तो घर जग्गा वा सम्पत्तिमा अरु कसैले आफ्नो भौगाधिकार वा अरु कुनै किसिमको हक रहेको भनी दावी लिएमा सो कुरा प्रमाणित हुनुपर्छ र त्यस्तो प्रमाण पुर्याउने अभिभारा त्यस्तो दावी गर्ने व्यक्ति उपर नै हुन्छ ।
(प्र.नं. १३)
ठोस प्रमाणको अभावमा परम्परा देखि पञ्चदान तथा पूजा गर्दै आएको भन्दैमा अर्काको सम्पत्तिमा भोग गर्न मिल्ने होइन ।
(प्र.नं. १३)
पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
विपक्षी वादी तर्फबाट:विद्वान अधिवक्ता श्री मुकुन्द राज श्रेष्ठ
अवलम्बित नजीरःX
फैसला
प्र.न्या. विश्वनाथ उपाध्यायः यसै अदालत संयुक्त इजलासबाट भएको २०४५।१०।१० को इन्साफ मिलेको नदेखिंदा दोहर्याई हैर्नुपर्ने अवस्था विद्यमान भएकाले मुद्दाको लगतमा दर्ता गरी नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश भए बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः–
२. का.न.पा. वडा नं. ३० कि.नं. १२४८ विपक्षीको कि.नं. १२४९ को घर छिडीको दलानमा वर्षको २ दिन पञ्चदा पूजा गर्न छोड्नुपर्ने ठाउँलाई नछोडी कि.नं. १२३७ को धलावटम पञ्चदान पूजा गर्ने ठाउँ हो भनी खिचोला गरेको मोल रु. ५०० जाने कि.नं. १२४९ को खुला दलानमा नै पूर्ववत् हरेक साल बाडा जात्राको दिन २ (दुई) पञ्चदान र पूजा गर्ने ठाउँ कायम गरी पाउँ र कि.नं. १२४८ र १२४९ को बीचमा रहेको मोल रु. ५०० जाने मेरो किलासलाई विपक्षको भनी गलत लेखाएकोले सो मेरै कायम गरी पाउँ र कि.नं. १२४८ र १२४९ पूर्व पश्चिम १५ फुट मात्र चौडाई भएकोलाई विपक्षीले पूर्व पश्चिम १८ फुट एक इन्च छ भनी जग्गा मिच्ने दाउ गरी मोल रु. १०० जाने जग्गा खिचोला गरेकोले खिचोला मेटाई कि.नं. १२३७ को साझा चोक नै कायम गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०३९।७।१।२ को फिराद दावी ।
३. २ दिन पंचदान र दानबोट बाहेक अरु कुरामा पनि विपक्षीको दावा लाग्न सक्ने मानेको खण्डमा पनि मैले भाईहरुबाट छोडपत्र गरी लिएको लिखतको साविक घर भत्काई साविकको बाटो भर्याङ सोझै राखी नयाँ बनाउने मात्र भएकोले दावा उचित छैन झूठ्ठा दावाबाट फुर्सद पाउँ भन्ने प्र. जोगमानन्द बज्राचार्यको प्रतिउत्तर जिकिर ।
४. कि.नं. १२४९ मा वादी दावी बमोजिम खिचोला भेटाई बाँडा जात्राको २ दिन पञ्चदान र पूजा गर्ने ठाउँ कायम हुन ठहर्छ अन्य वादी दावीको किलास एकलौटी कायम गरी पाउँ भन्ने र कि.नं. १२४८ र १२४९ को ३.६ फुट जग्गा साझा भोगनै कायम गरी पाउँ भन्ने तर्फ वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको मिति २०४१।३।१९ को फैसला ।
५. उक्त का.जि.अ. को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी प्रतिवादी दुवै पक्षको गरी दोहोरो पुनरावेदन बागमती अञ्चल अदालतमा पर्न आएको ।
६. पुनरावेदक प्रतिवादी जोगमानन्दको पुनरावेदन जिकिरको हकमा दे.पु.नं. ७१६ को मुद्दाबाट कि.नं. १२४९ को छिंडी जोगमानन्दको एकलौटी हकको भै ०३७।४।३० को नापीको निर्णय बमोजिम १२४९ मा नभै १२३७ मा वाँडा जात्रामा दुई दिन पंचदान गर्न ठाउँ भनी अन्तिम रुपमा रही रहेबाट शुरुको कि.नं. १२४९ को पञ्चदान गर्ने ठाउँ भनी भएको फैसला बदर हुने ठहर्छ र वादी प्रेमधरको पुनरावेदनको हकमा निजको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत वागमती अञ्चल अदालतको फैसला ।
७. बागमती अञ्चल अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीको मु.स. गर्ने प्रेमधरको निवेदन पर्न आएकोमा पुनरावेदनको अनुमती प्राप्त भै विवादको कि.नं. १२४९ को जग्गामा वाँडा जात्राको २ दिन पञ्चदान गर्न सार्वजनिकस्थल मान्न सकिने अवस्था नदेखिंदा सो छिडी बाटो एकलौटी हकको प्रतिवादीको छिडी ठहर्याएको बागमती अंचल अदालतको इन्साफ मनासिव छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।७।१० को फैसला ।
८. यदि त्यसरी पञ्चदान गर्ने ठाउँ नभएको भए एउटै घर दुई कित्ता नम्बर भएर नापी हुनुपर्ने थिएन । त्यसो नहुँदो हो त विपक्षीले तत्काल उजुर गर्नुपर्ने थियो । त्यति मात्र नभै ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीबाट सूचना निकाल्दा पनि उजुर नगरेको आदि कुरामा म.क्षे.अ. बाट विचार नभै त्रुटीपूर्ण निर्णय भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी प्रेमधर तुलाधरको यस अदालतमा परेको निवेदन ।
९. यसमा कि.नं. १२४९ घर छिडीको तलामा वर्षको २ दिन पंचदान पूजा गर्ने ठाउँलाई नछाडेको भनी दावी लिएको र कि.नं. १२४८ र ११४६ को बीचको किलासको खिचोला मेटाई पाउँ भनी र कि.नं. १२६७ को साझा चोक ३ फुट मिचेकोले खिचोला मेटाई पाउँ भनी वादीले ३ कित्तामा दावी लिएकोमा ३ वटै दावीमा निर्णय गर्नु पर्नेमा कि.नं. १२४८ र १२४६ को वीचको किलासको विषयमा र कि.नं. १२३७ को साझा चोकको विषयमा मात्र निर्णय गरेको म.क्षे.अ. को इन्साफ यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरित हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।१२।१९ को आदेश ।
१०. यीनै वादी उपर यीनै विपक्षले दायर गरेको दे.पु.नं. ९१० को खिचोला हक कायम मुद्दामा विवादको कि.नं. १२४९ को छिडी पञ्चदान गर्ने ठाउँ कायम भई आजै यस इजलासबाट ठहर भएकाले वादी जोगमानन्दको दावी बमोजिम एकलौटी छिंडी कायम गरेको अंचल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर भई वादी दावी नपुग्ने ठहर्छ भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।१०।१० को फैसला ।
११. यस अदालत संयुक्त इजलासबाट भएको मिति ०४५।१०।१० को फैसला दोहर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र परेकोमा यस अदालत संयुक्त इजलासको मिति २०४५।१०।१० को इन्साफ मिलेको नदेखिंदा दोहर्याई हेर्नुपर्ने अवस्था विद्यमान भएकोले मुद्दाको लगतमा दर्ता गरी नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५१।३।२२ को आदेश ।
१२. नियम बमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक पुनरावेदक तर्फ बाट रहनु भएका विद्वान अधिवक्ता बसन्तराम भण्डारीले हाल सर्भे नापीमा जनिएको कि.नं. १२४८ को घर तथा १२४९ को छिडी समेत मेरो पक्षको हकको हो । मेरो पक्षको भाई लेखमानन्द र जित बहादुरले रजिष्ट्रेशन मार्फत २०३२।९।१९ गते आफ्नो हकभोग मेरो पक्षलाई छोडपत्र गरी दिएबाट उक्त घरको सबै हक अधिकार मेरो पक्षको भै मेरो पक्षले भागी आएको हो । पञ्चदान गर्ने भनेको कसले गर्ने, गुठीयार को हो केही लेख्न र त्यसको केही प्रमाण समेत विपक्षले पेश गर्न सकेको छैन । घर तथा छिडी दुवै मेरो पक्षको भएकोमा कुनै विवाद नै छैन । मेरो पक्षको पूर्ण हक भोग भएको घर छिडीमा वर्षको दुई दिन पञ्चदानको लागि छोड्नु पर्ने गरी Limited Right Create गर्ने कुनै आधार नभएको हुँदा क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने र विपक्ष तर्फबाट रहनु भएको विद्वान अधिवक्ता मुकुन्दराज श्रेष्ठले ०३४ सालमा भएको सर्भे नापीमा कि.नं. १२४९ मा पञ्चदान गर्ने ठाउँ भन्ने उल्लेख छ, त्यस सम्बन्धमा विपक्षको कुनै उजुर छैन, विपक्ष विवादग्रस्त जग्गामा घर बनाउन नक्सा पास गराउन जाँदा नक्सा पासमा विरोध गरी मेरो पक्षको उजुरी दिएको छ, विवादग्रस्त जग्गा खुल्ला छ, कुनै प्रकारको बार बन्देज छैन तसर्थ कि.नं. १२४९ मा पञ्चदान गर्ने ठाउँ नै कायम गरी पाउँ भनी बहस प्रस्तुत गर्नु भयो ।
१३. मिसिल संलग्न कागज प्रमाणको आधारमा इन्साफ तर्फ विचार गर्दा कि.नं. १२४८ को घर प्रतिवादीको हो भन्ने कुरामा कुनै विवाद छैन भने कि.नं. १२४९ को छिडी कि.नं. १२४८ कै घरको हो भन्नेमा पनि कुनै विवाद देखिंदैन कि.नं. १२४८ को घर प्रतिवादीले प्रतिवादीकै भाई लेखमानन्द र जित बहादुर नन्दले आफ्नो हक प्रतिवादीलाई मिति २०३२।९।१९ मा रजिष्ट्रेशन मार्फत छोडपत्र गरी प्रतिवादी जोगमानन्दको हक हुन आएको देखिन्छ । उक्त छोडपत्रमा पञ्चदान गर्ने सम्बन्धमा कुनै शर्त रहे भएको देखिंदैन । घर जग्गा वा कुनै सम्पत्ति उपर स्वामित्व हुने व्यक्तिले सो घर जग्गा वा सम्पत्ति कानून अनुसार निर्वाध रुपमा भोगचलन गर्न पाउँदछ । त्यस्तो घर जग्गा वा सम्पत्तिमा अरु कसैले आफ्नो भोगाधिकार वा अरु कुनै किसिमको हक रहेको भनी दावी लिएमा सो कुरा प्रमाणित हुन पर्छ र त्यस्तो प्रमाण पुर्याउने अभिभारा त्यस्तो दावी गर्ने व्यक्ति उपर नै हुन्छ । यस स्थितिमा पुनरावेदक प्रतिवादीको हकभोगको घरको विवादास्पद छिडीमा वर्षको दुई दिन पञ्चदान गर्ने गरी आएको भन्ने विपक्ष वादी उपर नै सो कुरा प्रमाणित गर्ने भार रहेकोमा सनातन देखिनै हरेक वर्ष वाँडा जात्राको समय २ दिन पञ्चदान र पूजा गर्दै आएको भन्ने भनाई बाहेक अन्य कुनै प्रमाण पेश हुन सकेको देखिंदैन । ठोस प्रमाणको अभावमा परम्परादेखि पञ्चदान तथा पूजा गर्दै आएको भन्दैमा अर्काको सम्पत्तिमा भोग गर्न मिल्ने होइन । साथै कि.नं. १२४९ को नजिकै रहेको कि.नं. १२३७ मा मन्दिर वाँडाको पञ्चदान गर्ने ठाउँ भन्ने कायमै रहेको देखिन्छ । त्यस उपर कसैको उजुर परेको समेत देखिंदैन । तसर्थ प्र. वादीको हकभोग रहेको घरको विवादास्पद कि.नं. १२४९ को छिडीमा वर्षको दुई दिन पञ्चदान गरी आएको भन्ने कुनै भरपर्दो प्रमाण पेश आएको नदेखिंदा विवादास्पद कि.नं. १२४९ को छिंडीलाई पञ्चदान गर्ने ठाउँ कायम नगरी प्रतिवादीको निजी छिंडी कायम गरेको अंचल अदालतको इन्साफ मनासिव ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४४।७।१० को इन्साफ मनासिव ठर्हछ । संयुक्त इजलासको मिति २०४५।१०।१० को इन्साफ मिलेको नदेखिंदा उल्टी हुन्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले यस अदालतको संयुक्त इजलासको मिति २०४५।१०।१० को फैसलाले राख्ने गरेको लगत कायम राख्न परेन उक्त लगत कट्टा गर्नु र मध्यमाञ्चल क्षेत्रीय अदालतले राख्ने गरेको लगत कायम राख्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु ................................. १
पु.वे. प्रतिवादीले दायित्व गरेको शुरु कोर्टफिको सयकडा १०% ले हुने रु. ९ वादीहरुको जेथा देखाई वादीबाट भराई पाउँ भनी ऐनका म्याद भित्र दरखास्त परे कानुन बमोजिम गरी भराई दिनु भनी का.जि.अ. मा लगत दिनु ...................... १
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ................................................. १
उक्त रायमा हामीहरुको सहमती छ ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
न्या. ईन्द्रराज पाण्डे
इति सम्वत् २०५२ साल आषाढ ८ गते रोज शुभम् ।