शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०८० - जग्गा खिचोला

भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक:

निर्णय नं. ५०८०    ने.का.प. २०५२ अङ्क ४

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्वत् २०५१ सालको दे.पु.नं. ४९

फैसला मिति:२०५२।३।८।५

मुद्दा : जग्गा खिचोला ।

 

पुनरावेदक/वादी:ललितपुर जि. ललितपुर नगरपालिका वडा नं. १४ बस्ने गंगाराज पात्रवंश।  

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने नारायणलाल श्रेष्ठ ।

 

    आफ्नो जग्गामा अर्को पक्षले नगर पंचायतबाट पर्खाल लगाउने स्वीकृति पाए पछि आफ्नो जग्गा भए तत्काल नै उजुर बाजुर गरी पर्खाल भत्काउन लाउने अथवा जग्गामा आफ्नो हक कायम गराउन पर्ने स्वभाविक प्रक्रिया केही नगरी चूप लागी बस्नु र १५ वर्ष पछि गएर खिचोला गर्नुबाट वादीको नालेस परेकोमा आफ्नो राजिनामा भित्र नपर्ने जग्गालाई आफ्ना भनी दावी गरेकालाई खिचोला गरेको मान्नुपर्ने हुँदा खिचोला ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४७।७।११ को इन्साफ मनासिव ठहर्ने ।

 (प्र.नं. १७)

पुनरावेदक, वादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी,विद्वान अधिवक्ता श्री शिव कुमार श्रेष्ठ

विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली,विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

अवलम्बित नजीरःX

फैसला

न्या. गोविन्द बहादुर श्रेष्ठः अदालत संयुक्ता इजलासबाट दोहोर्‍याउने आदेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

२.   पता पूर्खाका पाला देखि भोगचलन गरी आएका निस्सा प्रमाण केही नभएको बगैंचावारीमा मेरो ल.पु. थथुन झ्यालको केबवारीको साँध पूर्व आफ्नै पर्खाल पश्चिम मुलबाटो उत्तर आफ्नै पर्खाल यति ४ किल्ला भित्रको नाप नक्सा बमोजिम लम्बाई फिट ४८ चौडाई फिट १।। उचाई फिट ७ पर्खाल बनाउने पास पूर्जि गरी पाउँ भनी २०२० साल चैत्रमा नक्सा दरखास्त दिएकोमा टाँसेका म्याद भित्र पूर्व पर्खाल भनी लेखेको हकमा निज गंगाराजको वारीदेखि पूर्व तमोटहरुको वारी देखि पश्चिम का.जि. मोसाको टोल बस्ने सु. कविरमानसँग १९९०।१२।५ मा पास गरी लिई इरादाले पूर्व पट्टिको पर्खाल मेरो भनी निज दरखास्तवालाले झूटटा उजुर दरखास्त गरेमा उक्त फार्छे पत्र र अरु निस्सा प्रमाणहरु अड्डाले झिकाएका बखत पेश गर्ने छु र उक्त आफ्नै पर्खाल लेखेको हकमा १९९३ साल श्रावण १२ गते सु.मान बहादुरसँग मेरा बाबु पृथ्वी लालले चारै तर्फ पर्खाल सहितको वारी फार्छे गरी लिई हाल भोगी आएकोले उक्त पर्खाल समेत मेरो र चन्द्रवीरहरुको हक भएबाट वादीले झुट्टा दरखास्त गरेकोले नक्सा बदर गरी पाउँ भनी विरलाल श्रेष्ठको २०२१।१।५ मा प्रतिवादी सरहको उजुरी दरखास्त परेको । अत एवं प्रकरणमा दर्ता भए बमोजिम माथि उल्लेखित ४ किल्ला भित्रको नक्सा बमोजिमको लम्बाई फिट ४८ चौडा फिट १।। उचाई फिट ७ पर्खाल समेत बनाएको जग्गा मध्ये सिंह खोला सोको जग्गाको मोल रु. ५०० पर्ने निस्साको हकमा अघि देखि भोग गरी आएको तिरोतिरान नलागेको मेरो नक्सा अनुसार ल.पु.न.पं. का फैसलाले समेत मेरो हक ठहरी सकेको हुँदा सो जग्गामा प्रतिवादीले निस्सा प्रमाण बेगर मिति २०३६।५।१६ मा जग्गा फोडी टंटा खिचोला गरेको हुँदा प्रतिवादीको उक्त दावी छोडाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको गंगाराज पात्रवंशको फिराद ।

३.   मति १९८०।४।१२।५ मा सु. कविरमानसँग मेरा पिता विरलाल श्रेष्ठले राजिनामा फार्छे गरी लिएबाट हक भई आजसम्म भोग गरी आएको जग्गा हो । सो जग्गाको स्वामित्व तथा भोगाधिकार ममा निहित छ भन्ने तथ्य स्वत उक्त तथ्य अनुसार म द्वारा विपक्षको जग्गामा खिचोला गरियो भनी देखाउनु भएको तथ्य सम्पूर्ण असत्य एवं कपोलकल्पित हो । मैले जुन जग्गामा विधिवत हक प्राप्त गरेको छु सोही जग्गामा खिचोला उपस्थित भयो भनी वर्णन गरिएको तथ्य असंगतपूर्ण स्वीकारयोग्य छैन अतः विपक्षीको गैर कानूनी दावी खारेज गरी विपक्षीले झट्टा कुरामा उजुर गरेकोमा हदसम्म सजाय होस भन्ने समेत व्यहोराको नारायणलाल श्रेष्ठको  प्रतिउत्तर।

४.   वादी दावी बमोजिम उक्त विवादको जग्गा प्रतिवादीले पेश गरेको मिति १९९० सालको भनी विरवरलाल ऋणी कविरमान भएको रजिष्ट्रेशन लिखत भित्रको जग्गा देखिंदैन वादी दावी बमोजिम प्रतिवादीले उल्लेखित जग्गामा खिचोला गरेको ठहर्दैन भन्ने समेत व्यहोराको ल.पु.जि.अ. को २०३८।१०।२३ को फैसला ।

५.  शुरु जिल्ला अदालतको इन्साफमा चित्त नबुझेकोले जि.अ. को इन्साफ उल्टाई मेरो दावी बमोजिम जग्गा हक कायम गरी पाउँ भनी गंगाराज पात्रवंशले बा.अं.अ मा गरेको पुनरावेदन।

६.   शुरु फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट वादी दावीको जग्गा प्रतिवादीले खिचोला गरेको ठहर्‍याई छिनेको इन्साफ शुरुको मनासिव ठहर्छ वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको बा.अं.अ को २०४१।४।१२ को फैसला ।

७.  बा.अं.अ को फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी गंगाराज पात्रवंशको क्षे.अ. मा परेको निवेदनमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको भन्ने समेत क्षे.अ. को २०४१।८।२१ को आदेश ।

८.   पुनरावेदक वादी गंगाराज पात्रवंशकै हक भोगचलनको जग्गा देखिन आएकोले वादीको हक भोगचलनको जग्गा देखिन आएकोले वादीले हक भोगचलनको जग्गालाई मेरा भन्ने विपक्षी प्रतिवादीले खिचोला गरेको होइन भन्न मिल्ने नदेखिंदा वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्‍याउनु पर्नेमा दावी बमोजिम खिचोला गरेको ठहर्‍याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला गल्ती भई उल्टी हुने ठहर्छ । वादी दावी बमोजिम नं.नं. १ को कि.नं. ७११ को वादीको ठहर्छ भन्ने समेत म.क्षे.अ. को २०४३।७।११।३ को फैसला ।

९.   वादी दावी बमोजिम खिचोला गरेको ठहर गरेकोमा क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा चित्त नबुझी उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले यस अदालत समक्ष पर्न आएको निवेदनमा न्या.प्र.सु. (चौथो संशोधन सहित) ऐन, २०३१ को दफा १३ को उपदफा (७) मा क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिन इन्कार गरेको आदेश वा पुनरावेदनको अनुमति दिई गरेको फैसला वा अन्तिम आदेश उपर उपदफा (४) को खण्ड (ख) र (ग) को अवस्थामा बाहेक पुनः पुनरावेदनको अनुमतिको लागि सर्वोच्च अदालतमा निवेदन लाग्ने छैन भनी उल्लेख भएको पाइन्छ । उक्त प्रस्तुत निवेदनमा उक्त उपदफा (४) को खण्ड (ख) र (ग) अवस्था विद्यमान नदेखिएको हुँदा उपदफा (७) बमोजिम पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४३।८।२६ को आदेश ।

१०.  प.क्षे.अ. को त्रुटिपूर्ण इन्साफ उपर स.अ.मा पुनरावेदनको अनुमति पाउनु पर्नेमा अनुमति नदिएबाट सारै अन्यायमा परेको छु म.क्षे.अ.को इन्साफ जाँचको लागि स.अ. को नाउँमा हु.प्र. बक्स पाउँ भनी श्री ५ महाराजधिराज सरकारको जुनाफमा प्रतिवादीले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए म.क्षे.अ.बाट छिनिएका जग्गा खिचोला मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानून बमोजिम निर्णय गर्नु भनी हु.प्र. बक्स भै इजलास समक्ष पेश हुन आएको रहेछ ।

११.  म.क्षे.अ. बाट १९९० सालको राजिनामाको घरजग्गाको राजिनामामा देखाइएको लम्बाई चौडाई हिसाब गणना गर्दा २०३९।१२।२१ मा अंचल अदालतबाट भएको नक्साको न.नं. २ मा निवेदकको घर भनी देखाइएको चोक देखि उत्तर पट्टीको घर समेतलाई लिई हिसाब गरेको देखियो तर निवेदकले आधार लिएको १९९०।४।१२।५ को राजीनामा उत्तर किल्ला नै साझा चोक भनी उल्लेख भएको र सो चोक न.नं. २भित्रै देखाइएको चोक बाहेक अरु कुनै नदेखिएकोले सो चोक नै राजिनामा भित्रको नदेखिएको खिचोला भन्दा उत्तर पट्टीको घरलाई समेत राजिनामा भित्रको मानी लम्बाई चौडाई हिसाब गरेको मिलेको नदेखिई इन्साफ फरक पर्ने देखिएकोले विपक्षीलाई अ.वं. २०२ नं. बमोजिम झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४५।११।१ को आदेश रहेछ ।

१२.  वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको नठहर्‍याएको शुरु इन्साफलाई सदर गरेको वा.अं.अ. को इन्साफ उल्टी गरेको म.क्षे.अ. को इन्साफ त्रुटिपूर्ण देखिएकाले क्षे.अ. को इन्साफ उल्टी भै बा.अं.अ. को इन्साफ मनासिव ठहर्छ । वादी दावी पुग्न सक्दैन भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४६।९।१० को फैसला ।

१३.  श्री सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४६।९।१० मा भएको फैसला दोहर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराजको जुनाफसँग विन्तिपत्र परेकोमा शुरु र अंचल अदालतको इन्साफ सदर गरी म.क्षे.अ. को इन्साफ उल्टी गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४६।९।१०।२ को फैसला भित्रको नदेखिंदा दोहर्‍याई हेर्नुपर्ने देखिएकोले मुद्दाको दायरी लगतमा दर्ता गरी विपक्ष झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५०।१०।१३ को आदेश ।

१४.  प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता शिव कुमार श्रेष्ठ तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले विवादित कि.नं. को जग्गा हाम्रो पक्षको पिता पुर्खाको पाला देखि अविछिन्न रुपले भोगचलन गर्दै आएको र हालको नापीमा कि.नं. ७११ कायम भएको छ । २०२१ सालमा साविक पर्खाल भत्कन लागेपछि पर्खाल लगाउन नक्सा पासको लागि न.पं. मा दरखास्त दिएकोमा विवादित पर्खल बनाउन पाउने गरी ल.पु.न.पा. बाट २०२१ सालमा निर्णय भएकोमा सो निर्णय उपर विपक्षको कही कतै उजुरी छैन । १९९० सालको साझा चोक भन्ने कर्त उजुरी छैन । जसले गर्दा विवादित जग्गा प्रतिवादीको ठहर गर्न मिल्दैन । साथै प्रतिवादीको १९९०।४।१२ को राजिनामाको किल्ला दावीको जग्गामा मिल्न आउँदैन । सो राजिनामाबाट प्रतिवादीको राजिनामाको घर देखि दक्षिण ८ हात र ४५ हात लम्बाई मात्र वारी उल्लेख भएकोले सो नाप विवादको जग्गामा पुग्न सक्दैन । वादीको जग्गाको चारैतर्फ निजले पर्खाल् लगाएको छ त्यो जग्गा प्रतिवादीको भए जग्गामा आउन जान नहुने गरी पर्खाल लगाउनुपर्ने थिएन । तसर्थ दावी बमोजिम खिचोला गरेको ठहर्नु पर्छ भन्ने बहस प्रस्तुत गर्नभयो। विपक्ष प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता द्वय विश्वकान्त मैनाली तथा पन्नामान तुलाधरले दर्ता श्रेस्ता तीरो कुनै कुराको प्रमाण वादीले पेश गर्न सकेको छैन । नगरपालिकाको २०२१ सालको फैसलाले मेरो हक भएको भन्ने वादीको एक मात्र तथ्य छ । तर कानून अनुसार जग्गाको हक बेहक गर्ने अधिकार नगरपालिकालाई छैन । २०२१ सालमा नक्सा पासको लागि दिएको कि.नं. ६६० को किल्लाको जग्गा हो त्यही पर्खाल बनेका कि.नं. ७११ र ७१३ को बीचको पर्खालको होइन । पूर्व किल्ला ७११ लाई समेत समावेश गरेर दरखास्त दिएकोले प्रतिवादीले उजुर गर्नु परेको हो । दावी प्रमाणित गर्ने अभिभारा वादीका हो । प्रतिवादी प्रमाणलाई खोतलेर वादी दावी गर्न मिल्दैन । तसर्थ संयुक्त इजलासको इन्साफ सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत   गर्नुभयो।

१५.  इन्साफ तर्फ विचार गर्दा वादी प्रतिवादी बीच झगडा परेको जग्गामा मिति २०३९।१२।२१।२ मा भएको नक्सामा न.नं. १ कि.नं. ७११ को जग्गा भएको भन्ने स्पष्ट छ । सो जग्गालाई पिता पूर्खाकै पालादेखि  भोगी आएको भन्ने वादी गंगाराज र १९९०।४।१२ मा सु. कविरमानबाट पारित गराई लिएको राजिनामा भित्रका भन्ने प्रतिवादी नारायणलालको जिकिरबाट १९९०।४।१२ को राजिनामा भित्त विवादग्रस्त जग्गा पर्छ पर्दैन भनी सर्वैप्रथम विचार गर्दा १९९०।४।१२ को राजिनामाको ४ किल्ला पूर्व तमोट र हलवाइको धनी, समेतको वारी पश्चिम गंगाराजको वारि उत्तर साझा चोक र दक्षिण तमोटको घर यति ४ किल्ला भित्र ४ तले पक्का घर र सो घरको लगापात समेत सो घरको दक्षिण पट्टि ८ हात गज ४५ हात लम्बाई भएको वारी भन्ने व्यहोरा नजिएकोबाट उत्तर किल्ला पश्चिम किल्लामा विवाद देखिएन केवल पूर्व र दक्षिण चार किल्लातर्फ कुरा नमिलेकोले सो किल्ला तर्फ विचार गर्दा १९९०।४।१२ को राजिनामाको घर न नं. २ कि.नं. ६२५ को घर भन्ने देखिन्छ । सो घरको दक्षिण पट्टि चोक सो चोकको दक्षिण पट्टि पेटी र पेटीको पश्चिम तर्फ प्रतिवादीको इनार समेत देखिन्छ । पेटी भनी जनिएको जग्गा झगडा परेको जग्गा समेत छेउछाउको जग्गा भन्दा ४ फिट ३ इन्च गहिरो र पेटीको पश्चिम उत्तर दक्षिण तर्फ पर्खाल समेतले घेरिएको छ । यदि कि.नं. ७११ प्रतिवादीको भए सो जग्गा भन्दा उत्तरतर्फ २ वटा पर्खाल बनाउनु पर्ने कारण के हो सो को औचित्य प्रतिवादीले खोल्न सकेको देखिंदैन । साथै कि.नं. ७११ प्रतिवादीहरुको भए कि.नं. ७११ को दक्षिणतर्फ पनि पर्खाल हुनु स्वभाविक हुन्थ्यो, सो छैन । कि.नं. ७११ को पश्चिम तर्फ गंगाराजको वारी तर्फ पनि पर्खाल बन्नुपर्ने हो त्यसो भनै कि.नं. ७११ को उत्तर पूर्वतर्फ पर्खाल भएबाट सो पर्खाल अघि देखि नै वादी तर्फबाट बनिरहेको भन्ने कुरा प्रष्ट हुन  आउँछ ।

१६.  प्रतिवादीको ०९०।४।१२ को पारित राजिनामाको ४ किल्लाको दक्षिण तर्फ तमोटको घर भन्ने जनिएको छ तर विवादग्रस्त कि.नं. ७११ को दक्षिण तर्फ आँगन देवताको घर न.नं. ५ कि.नं. ७१० मा जनिएको छ । ०९०।४।१२ को उक्त राजिनामाको व्यहोरामा घरको दक्षिण तर्फ गज हात ८ लम्बाई ४५ भनी किटान साथ जनिएकोबाट घरको दक्षिणतर्फ ८ हात गज भनेकोमा चोक र पेटी समेतको जग्गामा उक्त गज हात ८ लेखिएको भन्दा कम छैन बढी नै छ । विवादित जग्गा प्रतिवादीको राजिनामा भित्र परेको भए आफ्नो इनारको पश्चिमतर्फ पर्खाल हुने प्रतिवादीले सो पर्खाल दक्षिणतर्फ पनि पर्खाल बनाउनुपर्ने हो ।

१७.  उपरोक्त कारण प्रमाणहरुबाट विवादित कि.नं. ७११ लाई प्रतिवादीको राजिनामा भित्रको जग्गा हो भन्न सकिने कुनै पनि आधार देखिएन । २०२१।१०।७ मा पर्खाल बनाउन पाउने गरी वादी गंगाराजल ल.पु.न.पं. बाट नक्सा पास स्वीकृति पाए उपर पुनरावेदनको म्याद र फैसला सुनी पाएर पनि प्रतिवादी पक्षले कुनै विरोध उजुरी नगरी बसेको पाइयो । आफ्नो जग्गामा अर्को पक्षले नगर पंचायतबाट पर्खाल लगाउने स्वीकृति पाएपछि आफ्नो जग्गा भए तत्काल नै उजुर बाजुर गरी पर्खाल भत्काउन लाउने अथवा जग्गामा आफ्नो हक कायम गराउनुपर्ने स्वाधाविक प्रक्रिया केही नगरी चुप लागी बस्नु र १५ वर्ष पछि गएर खिचोला गर्नुबाट वादीको नालेस परेकोमा आफ्नो राजिनामा भित्र नपर्ने जग्गालाई आफ्नो भनी दावी गरेकोलाई खिचोला गरेको मान्नुपर्ने हुँदा खिचोला ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४७।७।११ को इन्साफ मनासिव ठहर्छ । यस अदालत डिभिजन बेञ्चको मिति २०४६।९।१० को वादी दावी नपुग्ने भन्ने ठहर फैसला नमिलेकोले उल्टी हुने समेत ठहर्छ । तपसिलका कुरामा तपसिल बमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले यस अदालत संयुक्त इजलासको मिति २०४६।९।१० को फैसलाले राख्ने गरेको लगत राख्न परेन उक्त लगत कट्टा गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु .. १

वादी गंगाराज पात्रवंशले यस अदालतमा कोर्टफि ऐन, २०१७ को दफा १९(२) अनुसार शुरुमा रहेको कार्टफि रु. २५, १०% ले हुने कोर्टफि रु. २।५० दाखिल भएको देखिंदा दाखिला भएको कोर्टफि रु. २।५० विपक्षबाट भराई पाउँ भनी विपक्षको जायजेथा देखाई भराई पाउँ भनी ऐनको म्याद भित्र दरखास्त परे भराई दिनु बनी का.जि.अ. मा लगत दिनु ......................................... १

मिसिल नियम बमोजिम बुझाई दिनु ....................................................... १

 

उक्त रायमा हामीहरुको सहमती छ ।

 

प्र.न्या. विश्वनाथ उपाध्याय

न्या. इन्द्रराज पाण्डे

 

इति सम्वत २०५२ साल आषाढ ८ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु