शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३११ - हक कायम समेत

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३११     ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको दे.पु.नं. ६४२

मुद्दा : हक कायम समेत ।

 

पुनरावेदक/प्रतिवादी:भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं. ७ गोलमडी बस्ने ज्ञानलाल गोसाई ।

विरूद्ध

विपक्षी/वादी:भ.पु.न.पं.वार्ड नं. १३ बस्ने मदुसुदन राजोपाध्या ।

ऐ.ऐ वार्ड नं.८ बस्ने राम कर्माचार्य ।

ऐ.ऐ वार्ड नं. ११ कलाक्षे बस्ने कृष्णचरण अमात्य ।

ऐ.ऐ वार्ड नं. ७ गोलाडी बस्ने प्रेम बहादुर पालिखे।

ऐ.ऐ बस्ने गणेश दास ।

ऐ.ऐ बस्ने सुर्य बहादुर ।

ऐ.ऐ बस्ने गणेश बहादुर ।

ऐ.ऐ बस्ने टेक बहादुर ।

ऐ.ऐ वार्ड नं. १३ बस्ने रुद्र भक्त मुलेपती ।

ऐ.ऐ वार्ड नं. १४ बस्ने काजी बहादुर अमात्य ।

ऐ.ऐ बस्ने राम भक्त अमात्य ।

ऐ.ऐ वार्ड नं. १४ हरिभक्त अमात्य ।

ऐ.ऐ बस्ने  वार्ड नं.७ गोकाडी बस्ने ललित बहादुर पालिखे ।

ऐ.ऐ बस्ने जगत नन्द पालिखे ।

ऐ.ऐ वार्ड नं.११ बस्ने वालमुकुन्द ।

फैसला भएको मिति:२०४२।२।३१ मा

     झुक्याई कबुलियत गराएको भए त्यस्तोलाई ऐनको म्यादभित्र बदर गराउन पर्ने ।

(प्रकरण नं.१७)

फैसला

न्या.बब्बर प्रसाद सिंहः श्री मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी प्रतिवादी ज्ञानलाल गोसाइको पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर निम्न प्रकार छन् ।

२.    भ.पु.न.पं.वार्ड नं. ७ गोलमढीको पूर्व हर्षबहादुर नाइके भएको गुठीको गुसिपको किलास पश्चिम ऐ.का गौरीनारायण मास्के नाइके भएको गुठीको गुसिपको उत्तर बाटो र दक्षिण ऐ.का श्रीभक्तको बगैंचा यति ४ किल्ला भित्रको २ कवले एकनाले २ तले पराले छानाको ढोका र दुइटा पोखरी राज भएको श्री भिमसेनमा बलीपूजा गर्नुपर्ने मुर्दा गुठीको गुसिपको घर हामीहरूको गुठीको हक भोग चलनको गुठी दाउरा राख्ने छिंडीको ठाउँ छाडी बाँकी पाताल भाग सालको बहाल रू. ४। लिने गरी विपक्षीलाई बस्न दिई भत्के बिग्रेमा सालको एकपटक पराले छाना लगाउने समेत गरी ०१४।९।१६ मा बहाल कबुलियत गरी विपक्षी बसी आएको सो घर भत्काई बनाउन भ.पु.न.पं.मा दर्खास्त गर्दा उक्त दर्खास्त बदर गरिपाउँ भनी विपक्षीको उजूरीमा नक्सा बमोजिम घर बनाउन पाउने गरी ०३२।२।२७ मा भ.पु.न.पं.बाट पर्चा भई ०३२।१२।४ मा न.पं.सभाबाट सदर भई सो पर्चा उपर विपक्षीको रिट सर्वोच्चमा परी न.पं.को निर्णय बदर भएकोले सो घरजग्गा आफ्नो भनी खिचोला हुँदा ऐनको म्यादभित्र फिराद गर्न आएका छौं हामीहरूको गुठीको हक कायम गरिपाउँ भन्ने फिराद दावी ।

३.    वादी दावीको घर गुसिपको घर होइन सो घर सोबासी परापूर्वदेखि भोगचलन गरी बसी आएको घर हो वादीहरूको गुसिपको घर भए त्यस कुराको प्रमाण हुनु पेश गर्नुपर्ने सो गर्न सकेको छैन । विपक्षीहरूको माग अनुसार धर्म विचारले सो घरको पूर्वतर्फको छेडी कबलमा वादीहरूलाई गुसीप राख्नसम्म दिएको थियो । त्यही नाताले विपक्षीहरूले जम्मै घर आफ्नो बनाउन षडयन्त्र गरेको मात्र हुन् वास्तवमा घर मेरै हो वादीहरूले भ.पु.न.पं.मा दर्खास्त गर्दा उल्लेख नगरेका हाल नालिश गर्दा कबुलियतको प्रमाण दिएको देखियो, सो कबुलियत देख्न पाए नामाकरण गर्ने छु झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ ।

४.    पूर्वतर्फ एक कवल छेडीसम्म विपक्षीहरूलाई कागज गरिदिएको थिएँ । निरक्षरी हुँदा साक्षी बस्ने भनी एउटा व्यहोरा गरी अर्को व्यहोरा लेखी मलाई झुक्याई सहिछाप गराएको रहेछ स्वास्नी साक्षी बसेकी थिइन,  बुझी पाउँ, १९९६ सालमा घर दर हुँदा उक्त घर मेरो बाबु संग्रामको भनी दर्ता प्रमाण छ भन्ने समेत प्र.ज्ञानलालको बयान ।

५.    घरदर हुँदा घर धनीमा हामीलाई थाहा नदिई प्रतिवादीको बाबुले आफ्नो नाममा लेखाएको हो, झुक्याई सही गराएको छैन निजको स्वास्नीलाई साक्षी समेत राखेको हो झुठ्ठा बयान गरेमा विपक्षीलाई सजायँ समेत गरिपाउँ भन्ने वादी जगतानन्दको बयान रहेछ ।

६.    वादी दावीको घर गुठियारसँग आई कबुलियतमा लेखिए बमोजिम बहाल बुझाउँछु कबुलियत गरिदिन्छु लेखाई राख्नु होस् भनी म समेतका रोहवरमा प्रतिवादीले भनेकोले लेखिदिएको हुँ भन्ने समेत व्यहोराको लिखत साक्षी विनबहादुरको बयान रहेछ ।

७.    वादीबाट पेश भएको ०१४।९।१६ को कबुलियत देखें सो लिखतको अन्तरसाक्षीमा लागेको ल्याप्चे सहिछाप मेरो होइन कीर्ते हो जाँच गराई पाउँ भन्ने श्रीमायाको बयान रहेछ ।

८.    घरको दावी हुँदा कबुलियतमा रहने साक्षीको सहिछाप सद्दे कीर्ते तर्फ विचार गरी रहन परेन । प्रतिवादीले पेश गरेको घर दरको लगत हेर्दा संग्राम भन्ने फिरादीको बाबु भन्ने मिसिलबाट खुल्छ । सो घरको छिडीमा फिरादीहरूलाई दाउरा राख्न दिएको भन्नेमा प्रतिवादी सावितै हुनुहुन्छ घर दरको लगत बाहेक अरू प्रमाण प्रतिवादीबाट नआई कबुलियत तर्फ झुक्याई सही गराए भन्ने उल्लेख गरेको झुक्याई तर्फको कुनै परिभाषा प्रतिवादीले खुलाउन नसकेकोले समेतबाट एकलौटी हक भनी प्रतिवादीले झुठ्ठा जिकिर लिएको ठहर्छ भन्ने शुरू जि.अ.को ०३४।८।२० को फैसला रहेछ ।

९.    उक्त फैसलामा चित्त बुझेन भन्ने प्र.ज्ञानलाल गोसाईको बा.अं.अ.मा परेको पुनरावेदन ।

१०.    साझा गुठिघरलाई एकलौटी घर हो भनी प्रतिवादी जिकिर झुठ्ठा ठहराई छिनेको शुरू जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने बा.अं.अदालतको ०३७।१२।३ को फैसला रहेछ ।

११.    बा.अं.को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदनमा अनुमति दिइएको छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।२।२०।५ को आदेश रहेछ ।

१२.   प्रतिवादीको विवादित घरमा कानुनी स्वामित्व रहेको भन्न सकिने स्थिति नहुँदा विवादको घर वादी हरूको गुठीको घर ठहर गरेको बा.अं.अ.को फैसलामा कुनै पनि त्रुटि नदेखिएकोले इन्साफ बा.अं.अ.को मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत मध्यमान्चल क्षेत्रीय अदालतको ०४०।५।२९।४ को फैसला रहेछ ।

१३.   श्री मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी ज्ञानलाल गोसाइको यस अदालतमा पर्न आएको निवेदनमा प्रमाण ऐन, ०३१ को दफा २३(७) बमोजिम विशेषज्ञलाई अदालतमा बकपत्र नगराई निजको रायलाई प्रमाण लगाई गरेको उक्त निर्णयमा उक्त ऐनको त्रुटि भएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्या.प्र.सु. ऐन, ०३१ को दफा १३ को (५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको ०४०।१२।९।५ को आदेश रहेछ ।

१४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पक्ष विपक्षको वा.राधाकृष्ण तथा राम बहादुर समेतलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादी ज्ञानलाल गोसाइको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग र विपक्षी वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली र विद्वान व.अ. श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१५.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय  अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

१६.    यसमा भिमसेनमा बली पूजा गर्नुपर्ने मुर्दा गुठीको गुसिपरको हक भोग चलनको घरमा आएकोमा आफ्नो भनी खिचोला गरेको हुँदा गुठीको हक कायम गरिपाउँ भन्ने फिराद दावी भएकोमा वादी दावीको घर घुसिएको होइन सो घर सोबासी परापूर्वदेखि भोगचलन गरी बसी आएको हुँ भन्ने प्रतिउत्तर जिकिर साथै १९९६ सालमा घरदर हुँदा बाबु संग्रामको भनी दर्ता प्रमाण भएको विपक्षीहरूको माग अनुसार धर्म विचारले पूर्व तर्फको छिडी कवलमा वादीहरूलाई गुसीप राख्नसम्म दिएको हो । २०१४।९।१६।२ को कबुलियतमा लागेको ल्याप्चे सहिछाप झुक्याई लगाएको भन्ने समेत प्र.ज्ञानलालको बयान भएको पाइन्छ ।

१७.   प्रतिवादी ज्ञानलालले पेश गरेको १९९६ सालमा लगत उतार हेर्दा सो लगत घर संख्याको लगत भनी विवरणमा घरको धनी वा घरमा बस्नेको नाम जात उल्लेख भई संग्राम गोसाइको गुठी भनी जनिएको र घर संख्याको लगतमा घरमा बस्ने वा घर धनीको नामबाट समेत तथ्याङ्क लगत लिएको र सो तथ्याङ्क लगतलाई वादीहरूबाट पेश भएको ०१४।९।१६।२ को कबुलियतको सन्दर्भमा घरमा बस्नेसम्म भन्ने देखिन आएकोबाट साथै उक्त ०१४।९।१६।२ को कबुलयतमा लागेको कारणीको ल्याप्चे मेरो होइन भन्ने नभनी झुक्याई ल्याप्चे लगाएको भन्ने प्रतिवादीको भनाई भए पनि त्यसको प्रमाण प्रतिवादीले पेश गर्न नसकेको अथवा झुक्याई कबुलियत गराएको भए त्यस्तोलाई ऐनको म्यादभित्र बदर गराउन पर्ने सो गरेको मिसिल प्रमाणबाट देखिन आएन र लिखतको साक्षीले समेत प्रतिवादीले सही गरेको सद्दे लिखत हो भनी बयान गरेबाट समेत विवादित घरमा प्रतिवादीको कानुनी स्वामित्व रहेको भन्न सकिने स्थिति नहुँदा विवादित घर वादीहरूको गुठीको घर ठहर गरेको बा.अं.अ.को फैसलालाई मनासिव ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कुनै कानुनी त्रुटि नहुँदा इन्साफ मध्यमान्चल क्षेत्रीय अदालतको मनासिव ठहर्छ । प्र.ज्ञानलाल गोसाईको पुनरावेदन जिकिर पुग्न सक्दैन । ऐन बमोजिम लाग्ने कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गरी रहनु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ ३१ गते रोज ...शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु