शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१६८ - सम्बन्ध विच्छेद, अंश

भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की

फैसला मिति : २०७०।११।२८।४

०७०–CR–०२०७

 

मुद्दा : सम्बन्ध विच्छेद, अंश

 

पुनरावेदक/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं.३१ बस्ने गोवर्धनलाल नकर्मीसमेत

विरूद्ध

विपक्षी/वादी : का.जि.का.का.म.न.पा.वडा नं.१८ भुरूङखेल बस्ने कमला नकर्मी

 

§  कसैको अंश भाग सगोल परिवारभित्रै कसैलाई दिँदा दाताको अंश भाग छुट्टिसकेको अवस्था वा आफ्नो भाग अंश छुट्याउन दाताले नालिस गरेको अवस्था वा त्यस्तो प्राप्त गर्नेले नै छुट्ट्याई लिई नसकेको अवस्थामा दाताको तर्फबाट मुद्दा सकार गरेको अवस्था हुनुपर्ने ।

§  एकासगोलका अंशियाराबीच एकले अर्कोबाट सगोलको सम्पत्ति बकसपत्र पाएकै अवस्थामा पनि सो सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने ।

(प्रकरण नं. ६)

§  अरू प्रतिवादीलाई अंश प्रयोजनार्थ बुझ्दा निजको मृत्यु भइसकेको देखिएको र पक्ष कायम भई कसैले सकार गरेको पनि नदेखिएको हुँदा पक्ष कायम नभई सकार नभएकोमा पहिले नै मृत्यु भइसकेको व्यक्तिलाई अंशियार कायम गर्न नसकिने ।

(प्रकरण नं. ७)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लक्ष्मीप्रसाद छुकां

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री खेमराज भट्ट

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  प्रमाण ऐन, २०३१ को दफा ६ (क)

§  मुलुकी ऐन, अंश बन्डाको महलको १, २, ५ नं

§  मुलुकी ऐन, लोग्ने स्वास्नीकोबन्डा महलको १(२), ४क नं.

 

सुरू तहमा फैसला गर्ने :

मा.न्या. श्री माधव प्रसाद पोखरेल

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री टीकाबहादुर हमाल

मा.न्या.श्री विष्णुदेव पौडेल

         

फैसला

न्या. वैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :

गोवर्धनलाल नकर्मीसँग २०४४ सालमा सामाजिक परम्पराअनुसार मेरो विवाह भएको हो । निज विपक्षी पतिसँगको वैवाहिक सम्बन्धबाट मिति २०४७।९।२ गते छोरा अभिलाष नकर्मी र मिति २०५५।३।३ गते छोरी सृष्टिना नकर्मीको जायजन्म भएको छ । पछि निज पतिसमेत भई कुटपीट गर्ने तथा हेरविचार गर्नसमेत छाड्नुभयो र घरमा बस्ने नै स्थिति नभएपछि बाध्य भई हाल म नाबालिका छोरीसाथ माइतिमा बस्दै आएको छु । उहाँको व्यवहारले मलाई दिनदिनै मानसिक तनावलगायत दैनिक काममा नै अनावश्यक बोझ थपिदै गइहरेको छ । यी सबै कुराहरूलाई मध्यनजर राखी विपक्षी पतिसँग अलग हुने नै श्रेयस्कर हुने हुनाले मुलुकी ऐन, लोग्ने स्वास्नीकोबन्डा महलको १(२) नं. बमोजिम सम्बन्ध विच्छेद गरी पाउन र विपक्षी प्रतिवादीबाट पाउनुपर्ने अंश सम्बन्धमा लोग्ने स्वास्नीको महलको ४ नं. र अंश बन्डाको महलको १० नं. बमोजिम पाउनुपर्ने अंश दिलाई भराई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको वादीको फिराददावी ।

विपक्षीको अंश माग दावी खारेज गरी पाउँ । विपक्षीले आफ्नो माइती पितापट्टिको कुरा सुनी यो मुद्दा दायर गरेको हो । विपक्षीसँग सम्बन्ध विच्छेद हुनुपर्ने पनि होइन । अंश सम्पत्ति प्राप्त गर्ने कुनियतले यो मुद्दा दिएको हो । विपक्षीको सम्पूर्ण फिरादपत्र खारेज गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर जिकीर ।  

वादीको पतिसमेत मूल अंशियार ६ जना छन् । वादीले  गोवर्धनलाल नकर्मीको अंश भागबाट एक भाग अंश पाउनुपर्ने हो भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका भैरवलाल नकर्मीसमेतको तर्फबाट वारेस किरणप्रसाद मिश्रले अदालतसमक्ष गरेको बयान कागज मिसिल संलग्न रहेको ।वादी कमला नकर्मी र प्रतिवादी गोवर्धनलाल नकर्मीबीच श्रीमान् श्रीमतीको नाता छ । उहाँहरूबीच सम्बन्ध विच्छेद हुनुपर्दछ र वादीले प्रतिवादीबाट अंशसमेत पाउनुपर्दछ भन्नेसमेत व्यहोराको वादीको साक्षीले अदालतसमक्ष गरेको बकपत्र ।

वादी प्रतिवादी मिलेर बसेमा राम्रो हुन्छ । प्रतिवादी पनि मिलेर बस्न चाहनुहुन्छ । उहाँहरूबीच सम्बन्ध विच्छेद हुनु नपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षीले अदालतसमक्ष गरेको बकपत्र ।

वादी प्रतिवादीबाट बन्डा गर्नुपर्ने सम्पूर्ण श्रीसम्पत्तिको तायदाती फाँटवारी पेश गर्न लगाउनु भन्नेसमेत व्यहोराको मिति २०६६।९।२ मा इजलासबाट भएको आदेश तथा वादी प्रतिवादीले तायदाती फाँटवारी पेश गरेको निवेदन मिसिल संलग्न रहेको ।

यी वादी प्रतिवादीको लोग्ने स्वास्नीको सम्बन्धलाई कायम राखिरहनु भन्दा सम्बन्ध विच्छेद गरी दिनु नै श्रेयस्कर देखिएकाले वादी दावीबमोजिम मुलुकी ऐन, लोग्ने स्वास्नीकोबन्डा महलको १(२) नं. बमोजिम वादी प्रतिवादीबीच रही आएको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने र वादीको पतिसमेत ५ मूल अंशियार रहेकोले पेश भएको तायदाती फाँटवारीमा उल्लिखित श्रेस्तामा मिले भिडेको श्रीसम्पत्ति मध्येबाट ५ भागको १ भाग वादीको पतिले पाउने छुट्ट्याई वादीको पतिको भागबाट ४ खण्डको १ खण्ड अंश वादीले छुट्ट्याई लिन र सो अंशमा पाएको सम्पत्ति चलन चलाई लिन पाउने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६६।१२।२२ को फैसला ।

मूल अंशियार ६ जना भएको अवस्थामा ५ जना कायम गरेको, तपसिल खण्डमा कोर्ट फी कायम गर्दा हचुवाको भरमा कायम गरिएको सुरू फैसला त्रुटिपूर्ण भएकोले बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू गोवर्धनलाल नकर्मी, भैरवलाल नकर्मी, मुकुन्दलाल नकर्मी र राधा नकर्मीसमेतको तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

वादी र प्रतिवादी गोवर्धनलाल नकर्मीको बीचमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहरिएपछि वादीले आफ्नो अंश भाग लिन पाउने नै देखियो । के कति पाउने भन्नेतर्फ मूल अंशियार वादीको पतिसमेत जम्मा ५ जनामात्र रहे भएको देखिएको अवस्थामा सुरू जिल्ला अदालतले माथि उल्लेख गरेबमोजिम ५ जना मूल अंशियार कायम गरी सोहीबमोजिम वादीले आफ्नो अंश भाग लिन पाउने गरी भएको फैसलालाई अन्यथा भन्न मिल्ने देखिन आएन । अतः काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२४ को फैसला ।

हाम्रो आमा मिश्री नकर्मी जीवित रहेको अवस्थामा हामीलाई शेषपछिको बकसपत्र गरी दिएको हुँदा जहिलेसुकै नामसारी गर्ने कानूनी अधिकार हामीलाई भए पनि ५ अंशियार कायम गरी दिनाले सोलाई निस्क्रिय बनाएको हुँदा ६ जना मूल अंशियार कायम हुनुपर्ने हो । विपक्षी श्रीमतीलाई अंश दिन म बाध्य छैन तथा हाम्रो सम्बन्ध विच्छेदसमेत हुनुपर्ने होइन । विपक्षीले फिरादपत्रमा आफूले कति भागको के कति खण्ड अंश पाउने हो, सोसमेत उल्लेख नगरेको हुँदा वादी दावीभन्दा बाहिर गई गरेको निर्णय त्रुटिपूर्ण छ भन्नेसमेत व्यहोराको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनपत्र ।

यसै लगाउको मु.नं. २०६८–RI–१५६६ को अंश चलन मुद्दामा आजै निस्सा प्रदान भएको र उक्त मुद्दासँग अन्तरप्रभावी रहेकोले प्रस्तुत मुद्दामा समेत न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम निस्सा प्रदान गरिदिएको छ भन्ने मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गर्ने यस अदालतको मिति २०७०।३।२४ को आदेश ।

नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री लक्ष्मीप्रसाद छुकांले जिल्ला अदालत तथा पुनरावेदन अदालतबाट फैसला हुँदा मूल अंशियार ६ जना कायम गर्नुपर्नेमा ५ अंशियार कायम गरिएको त्रुटिपूर्ण छ । लोग्ने जीवित छउन्जेल राम्रो खान लाउन दिएसम्म श्रीमतीलाई अंश दिन बाध्य पार्न नसकिने हुँदा अंश छुट्ट्याई सम्बन्ध विच्छेदसमेत हुनुपर्ने होइन । कोर्ट फीसमेत बढी कायम गरिएको हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भनी तथा विपक्षी कमला नकर्मीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री खेमराज भट्टले वादी कमलाले लोग्नेसँग सँगै बस्ने अवस्था नरहेको कारणले सम्बन्ध विच्छेद माग गरेको तथा लोग्नेले पाउने १ भाग अंशबाट ४ भाग लगाई सोको १ भाग अंश माग गरेको हुँदा सोबमोजिम गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला सदर गरी पाउँ भनी गर्नु भएको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. प्रतिवादी गोवर्धनलाल नकर्मीले कुटपीट गर्ने गरेको र घरबाट निकाला गरेकोले सम्बन्ध विच्छेद गरी अंशसमेत दिलाई पाउँ भनी वादी कमला नकर्मीको फिराद परेकोमा जीवित रहेका मूल अंशियार ५ जना भएकोमा ५ अंशमध्ये प्रतिवादीको १ भागबाट पुनः ४ भाग लगाई सोको १ भाग वादी कमला नकर्मीले अंश पाउने गरी जिल्ला अदालतबाट फैसला भएको र सोलाई सदर गर्ने गरी पुनरावेदन अदालतबाट फैसला भएको पाइयो । पुनरावेदक प्रतिवादीले ६ जना अंशियार कायम हुनुपर्ने हो, कोर्ट फीसमेत घटी हुनुपर्ने हो भन्नेसमेतको पुनरावेदन जिकीर गरेको अवस्था देखियो । वादी कमला नकर्मी तथा निजकी छोरीसमेत घरमा नरही माइती मावली बस्नुपरेको अवस्था देखिएको छ ।

३. लोग्नेले स्वास्नीको हेर विचार नगर्ने, कुटपीट गरी घरबाट निकाला गर्ने, खान लाउन नदिनेलगायतको कार्यहरूबाट मुलुकी ऐन, लोग्ने स्वास्नीकोबन्डा महलको १(२) नं. अनुरूप स्वास्नीले सम्बन्ध विच्छेद गर्न पाउने नै हुन्छ । लगाउको छोरीको माना चामलको मुद्दा, अंश चलन मुद्दा, उत्प्रेषणको माग गरी परेको निवेदनको विवाद र गोवर्धनलाल नकर्मीबाहेक गरी सम्पत्ति बकसपत्र गरिदिने मुद्दाहरूको रोहबाट दृष्टिगत भएका तथ्यहरूबाट निवेदिका वादी कमला नकर्मीको अवस्था प्रतिवादीहरूको साथमा घरमासमेत सहज रहेको देखिँदैन । वादी आफ्नो छोरी लिई माइती बस्नुपर्ने अवस्था पनि देखिएको छ । यसरी खान लाउन नदिई निकाला गरेको, हेरविचार नगरेको पुष्टि भइरहेको अवस्थामा सुरू तथा पुनरावेदन अदालतबाट वादी कमला नकर्मीको गोवर्धनलाल नकर्मीसँगको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने गरी भएको फैसला मिलेकै देखिन आयो ।

४. सम्बन्ध विच्छेद भएपछि वादीले प्रतिवादीबाट अंश भराई लिन पाउने हो, होइन भन्ने सन्दर्भमा विचार गर्दा मुलुकी ऐन, लोग्ने स्वास्नीकोबन्डा महलको ४क नं. हेर्दा ऐ.महलको १ नं.बमोजिम सम्बन्ध विच्छेद हुने भएमा अंश बन्डा लगाएर मात्र सम्बन्ध विच्छेद गर्नुपर्छ भनी बाध्यात्मक रूपमा कानूनी व्यवस्था गरेको देखिँदा तायदाती माग गरी गरिएको अंश बन्डा अन्यथा भनी मान्न मिल्ने देखिन आएन ।

५. अंशियार के कति कायम हुनुपर्ने हो भन्ने सन्दर्भमा विचार गर्दा मुलुकी ऐन, अंश बन्डाको महलको १ नं ले जीयजीयैको अंश गर्नुपर्ने र २ नं. ले अंश पाउने सबैको बराबर अंश गर्नुपर्ने कानूनी व्यवस्था गरेको पाइन्छ । तसर्थ बाँचेका अंशियारहरूबीच बराबर अंश भाग लाग्ने अवस्था रहन्छ । कुनै अंशियार अंश वन्डानै नहुँदै परलोक भईसकेको अवस्थामा भने उसको भाग अंश उसका स्वास्नी छोरा छोरीले पाउने व्यवस्था अंश बन्डाको ५ नं ले गरेको देखिन्छ । यी कानूनी आधारबाट प्रस्तुत मुद्दामा विचार गर्दा मिश्री नकर्मीका चार छोरा भएको र एक छोरी अविवाहित भएको र मिश्री नकर्मी परलोक भइसकेकोबाट जियजियै जम्मा ५ जना रहेको देखिन आयो । मिश्री नकर्मीको छोरा छोरीबीच नै अंश भाग छुट्ट्याउने कुरा हुँदा मिश्री नकर्मी परलोक भइसकेकोबाट निजको हुन सक्ने भाग सगोल सम्पत्तिमै मिसिई छोरा छोरीहरूले बरोबर बाडी लिने अवस्था हुन्छ । मिश्री नकर्मीले बकसपत्र गरिदिएको कारणबाट मिश्री नकर्मीको एक भाग अंश रहने र बकसपत्र प्राप्त गर्नेको हक हुने भनी प्रतिवादीहरूले जिकिर लिएको पाइयो । कमला नकर्मीले सम्बन्ध विच्छेदमा नालिस मिति २०६५।१।१७ मा दिएपछि कमला नकर्मीको पति गोवर्धनलाल नकर्मीबाहेक अरू अंशियार छोराछोरीको नाममा अष्टलोह बकसपत्र मिति २०६५।८।१७ मा पारित गरी दिएको देखिन्छ । यता सम्बन्ध विच्छेद अंश मुद्दा पर्नु उता वादीका पति बाहेक गरी आमाले लिखत पारित गरी हक छोडी दिने कार्यहरू आफैँमा सरल व्यवहार देखिँदैन । तथापि पति पत्नीबीच सम्बन्ध विच्छेद मुद्दा चलेकोमा आमा मिश्री नकर्मी वादी प्रतिवादी केही थिइनन् । सम्बन्ध विच्छेद मुद्दाको प्रकृतिले अंश बन्डा हुन पुगेको हो । अंश बन्डा गर्दा अंश बन्डाको १ नं. अनुरूप जीयजीयैको अंश गर्नुपर्ने हुन्छ । कुनै अंशियार मरेकोमा उसको हाँगातर्फ उसको अंश भाग जाने बाहेक मरी सकेकाको अंश भाग लाग्दैन । यहाँ मरेको भनेको आमा मिश्री नकर्मी भएकोले उसको हाँगातर्फ जाने कुरै नभई उसका छोराछोरीबीच अंश जाने भएकोले मरी सकेकी आमा मिश्री नकर्मीको अंश भाग लाग्ने स्थिति रहेन ।

६. मिश्री नकर्मीले छोरा भैरवलाल नकर्मी, मुकुन्दलाल नकर्मी र राधा नकर्मीमा बकसपत्र गरी दिएकोले मिश्री नकर्मीको भाग अंश छुट्ट्याई यी तीनजनाले प्राप्त गर्ने हो की भनी विचार गर्दा एकासगोल परिवारबीच दर्ता रहेको सम्पत्ति जुनसुकै अंशियारको नाउँमा रहे पनि अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने प्रमाण ऐन, २०३१ को दफा ६ (क) बाट देखिन्छ । त्यो सम्पत्ति चाहे मिश्री देवीको नाममा दर्ता होस् वा बकसपत्रबाट प्रतिवादीहरूको नाममा दर्ता होस् त्यसमा कुनै फरक उक्त ऐनबाट पर्न सक्ने देखिँदैन । यस विवादमा त बकसपत्रसम्म भएको देखिन्छ । बकसपत्रबाट सगोल परिवारबीच नै रहेको अन्यत्र गइसकेको अवस्था पनि देखिँदैन । मिश्री नकर्मीको अंश भाग छुट्टिसकेको अवस्था पनि यहाँ देखिँदैन । मिश्री नकर्मीले आफ्नो भाग अंश छुट्याउन नालिस पारी अनि मात्र बकसपत्र दिएको वा सोही बकसपत्रबाट मुद्दा सकार गरेको अवस्था पनि देखिँदैन । बकसपत्रबमोजिम मिश्री नकर्मीको भाग छुट्ट्याई पाउँ भन्ने नालिस पनि परेको देखिँदैन । कसैको अंश भाग सगोल परिवारभित्रै कसैलाई दिँदा दाताको अंश भाग छुट्टिसकेको अवस्था वा आफ्नो भाग अंश छुट्याउन दाताले नालिस गरेको अवस्था वा त्यस्तो प्राप्त गर्नेले नै छुट्ट्याई लिई नसकेको अवस्थामा दाताको तर्फबाट मुद्दा सकार गरेको अवस्था हुनुपर्दछ । अन्यथा अंशियारबीच भएको बकसपत्रको कारोबारबाट सम्पत्ति सगोलको सम्पत्तिबाट बाहिर गएको मानिने अवस्था हुँदैन । एकासगोलका अंशियाराबीच एकले अर्कोबाट सगोलको सम्पत्ति बकसपत्र पाएकै अवस्थामा पनि सो सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने हुन्छ । वादी कमला नकर्मीको मुद्दाबाट प्रतिवादीको बकसपत्रबाट पाएको भनी प्रतिवादीको भाग भनी एका सगोलभित्रको सम्पत्ति सगोल परिवारबाट भएको सगोल परिवारभित्रैको बकसपत्रबाट प्रतिवादीको कुनै नालिस नै नपरी प्रतिवादीलाई सो सम्पत्ति दिलाई दिने भराई दिने कार्य हुन सक्ने अवस्था देखिन आएन ।  

७. तसर्थ वादीलाई अंश दिई सम्बन्ध विच्छेद हुनुपर्ने होइन भन्ने पुनरावेदकको जिकीरसँग सहमत हुन सकिने अवस्था रहेन । मिश्री नकर्मी मुद्दामा वादी प्रतिवादी केही पनि रहेको नदेखिएको तथा प्रस्तुत सम्बन्ध विच्छेद मुद्दा दायर हुँदा मिश्री नकर्मी बाँचेको भए तापनि अरू प्रतिवादीलाई अंश प्रयोजनार्थ बुझ्दा निजको मृत्यु भइसकेको देखिएको र पक्ष कायम भई कसैले सकार गरेको पनि नदेखिएको हुँदा पक्ष कायम नभई सकार नभएकोमा पहिले नै मृत्यु भइसकेको व्यक्तिलाई अंशियार कायम गर्न नसकिने अवस्था भएकोले यस अदालतबाट विपक्षी झिकाउँदा भएको मिति २०६६।३।११ को आदेश तथा पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । अतः पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी अभिलेख शाखामा बुझाई दिनू ।   

उक्त रायमा सहमत छु ।

न्या. भरतबहादुर कार्की

 

इति संवत् २०७० साल फाल्गुन २८ गते रोज ४ शुभम्

 

इजलास अधिकृत : सुमनकुमार न्यौपाने

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु