शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०८२ - मोही प्रमाणपत्र पाउं

भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक:

निर्णय नं. ५०८२    ने.का.प. २०५२ अङ्क ४

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

२०५१ सालको दे.पु.ई.नं. ४३

फैसला मिति:२०५१।११।११।५

मुद्दा : मोही प्रमाणपत्र पाउं

 

पुनरावेदक/वादी:जि.महोत्तरी बसविटी गा.वि.स. वडा नं. ९ बस्ने नइप खाँ पैठान ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ. ऐ. वडा नं. ५ बस्ने शिवनन्दलाल कायस्थ ।

ऐ. ऐ. वडा नं. शोभाकान्त कायस्थ ।

 

भूमि सम्बन्धी ऐन, २०२१ ले मोही कायम हुने सम्बन्धमा गरेको व्यवस्था हेर्दा ऐनको दफा २५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेद बमोजिमको मोहीको हक प्राप्त हुनेछ भन्ने र उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएको छ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक वालीसम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेद बमोजिमको हक प्राप्त मोही हुने व्यवस्था गरेको देखिन्छ । ऐनको दफा २५ को उपदफा १ बमोजिमको मोहीको हक प्राप्त गर्न भूमि सम्बन्धी नियम २०२१ को नियम (९) बमोजिम जोताहाको अस्थाई निस्सा प्राप्त गर्नुपर्ने र उपदफा (२) बमोजिमको मोही हक प्राप्त गर्नको लागि जग्गा धनी र मोही बीच दोहरो कबुलियत भई एक प्रति स्थानीय निकायमा समेत हुनुपर्ने सो बमोजिम भए गरेको भन्ने नदेखिंदा प्रतिवादीहरु बीच २०३४।१०।२७ मा पारित भएको अंशवण्डाको लिखतमा कि.नं. १० को जग्गामा मोही नइम खाँ उल्लेख भएकै आधारमा यी वादी विवादित जग्गाको मोही कायम हुने देखिन नआउने ।

 (प्र.नं. ११)

    फिल्डबुकको कैफियत महलमा तथा प्रतिवादीहरु बीच भएको वण्डापत्रमा विवादित जग्गाको मोहीमा यी वादीको नाउँ उल्लेख भएको र दर्ता सम्बन्धमा प्रतिवादीहरुका बाबुले छुट जग्गा दर्ता गरी पाउँ भनी दिएको निवेदनमा कारवाही भई जग्गा दर्ता हुने नहुने भन्ने सम्म निर्णय गरे पुग्नेमा विवाद नै नभएको मोही हकको प्रश्नमा सो निर्णयमा मोही कायम हुने भनी भूमि प्रशासन कार्यालयले लेखी दिएको भरमा निर्णयाधारा मान्न मिल्ने नदेखिने ।

(प्र.नं. ११)

    पहिले आफ्नै जग्गा भनी दर्ता गराई सो दर्ता बदर भएपछि जग्गा धनीको हैसियतले जग्गा जोतेको कारणबाट मोही हकमा दावी गर्ने स्थिति नहुने ।

(प्र.नं. ११)

आफ्नै हकको जग्गा कमाउने व्यक्ति सो जग्गाको मोही हुन नसक्ने ।

(प्र.नं. ११)

पुनरावेदक वादी तर्फबाट:विद्वान अधिवक्ता श्री राजन ढुङ्गाना

विपक्षी प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस

अवलम्बित नजीरःX

फैसला

न्या. केशव प्रसाद उपाध्यायः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.   साविक किसोरी लालको नाउँमा दर्ता रहेको जि.म. वसविटी गा.पं. वडा नं. ९ कि.नं. ९० को ०१५५ जग्गामा निवेदक मोही भएकोमा निज किशोरी लाल मर्दा निजका छोरा विपक्षीहरुले २०३४।१०।२७ मा नामसारी गराई अंशवण्डा गरी कित्ताकाट हुँदा कि.नं. ४७५ को ०१२ शोभाकान्त लालको र कि.नं. ४७६ को ०१३ शिवनन्दनको नाउँमा दर्ता कायम भएकोले सो ज.ध.प्र.पु. को मोही महलमा मेरो नाउँ उल्लेख भएकोले मोही प्रमाण पत्र पाउँ भन्ने फिराद दावी।

३.   वादीले दावी लिएको जग्गामा भू.सु. ऐन २०२१ को दफा २५ बमोजिम विपक्षी वादी मोही छैन । अंशवण्डा हुनु अघि साविक कि.नं. ९० कायम रहेको अवस्थामा सो जग्गा आफ्नो स्वामित्वको हो भनी दावी गरी दायर गर्नु भएको दे.नं. ७१३ को दर्ता वदर दर्ता मुद्दामा विपक्षी वादीको दावी नठहरी ०४०।९।६ मा भएको फैसलालाई ०४१।५।६ मा ज.अं.अ. बाट सदर गरी फैसला भएकोले सो फैसला अन्तिम भएको अवस्थामा भू.सु. ऐन, २०२१ को दफा २५ मा भएको कानूनी प्रावधान अनुसारको दावी नदेखिएकोले दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर ।

४.   पहिला अड्डा अदालतमा आफ्नो दर्ता भोग स्वामित्वको दावी गरी कारवाही चलाएको जि.म. बसविटी गा.पं. वडानं. ९ कि.नं. ९० को जग्गामा मोहियानी हकको दावी गर्न नमिल्ने हुँदा उक्त जग्गामा वादीको मोहियानी हक नठहर्नाले वादीले उक्त जग्गाको मोही प्रमाण पत्र नपाउने ठहर्छ भन्ने भू.सु.का. महोत्तरीको ०४३।९।२९ को फैसला ।

५.  विवादको जग्गाको जग्गाधनी आफै हुँ भनी पुनरावेदकले यी नै जग्गाधनी उपर दायर गरेको दर्ता बदर मुद्दामा दावी पुग्न नसकी अंचल अदालतबाट समेत फैसला भएको र सो फैसला अन्तिम रुपमा रहेको देखिन्छ । पुनः पुनरावेदकले मोही हुँ भनी प्रस्तुत मुद्दा दायर गरेको देखिएकोले प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम उही कुरामा पुनः उजूर गर्न सक्ने नदेखिएकोले मोहीयानी हकको प्रमाण पत्र नपाउने ठहराएको शुरुको इन्साफ मुनासिव छ भन्ने ०४४।१२।२३ मा जनकपुर अंचल अदालतबाट भएको फैसला ।

६.   जग्गाको स्वामित्वमा नै मुद्दा परी आफू असफल भएपछि निवेदक वादीले प्रस्तुत मुद्दामा मोहियानी हकको दावी गरेको देखिन आएकोले भू.सु. ऐन, २०२१ मा आफै जग्गा धनी र आफै मोही बन्ने कानूनी प्रावधान गरेको समेत नदेखिंदा सबुद प्रमाणको मूल्यांकन गरी भू.सु अधिकारीले गरेको फैसलालाई सदर गर्ने गरी भएको ज.अं.अ. को फैसलामा न्या.प्र.सु.ऐन ०३१ को दफा १३(४) बमोजिम कानूनी त्रुटी विद्यमान भएको देखिन नआएबाट पुनरावेदनको अनुमति दिन मिलेन भन्ने २०४५।५।८ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको आदेश ।

७.  उक्त म.क्षे.अ. को आदेशमा कानून व्याख्या सम्बन्धी गम्भीर कानूनी त्रुटी विद्यमान भएको हुँदा न्या.प्र.सु. ऐन २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालतमा परेको निवेदन ।

८.   यसमा विवादित कि.नं. ९० को फिल्डबुक कैफियत महलमा नइम खाँलाई मोही कायम गरी दर्ता कायम गरी दिने ०२८।१२।३० मा फैसला भएको देखिएकोले म.क्षे.अ. बाट अनुमति नदिने आदेशमा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटी भै न्या.प्र.सु. ऐन ०३१ को दफा १३(५) (ख) को अवस्था विद्यमान देखिंदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासबाट ०४७।७।१५ मा भएको आदेश ।

९.   फिल्डबुकको कैफियत महलमा वादीको जोत र अंशवण्डा पत्रमा विवादित जग्गाको मोही वादीको नाउँ उल्लेख भएको आधारमा नै मोही कायम गर्न भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ समेतले मिल्ने नदेखिंदा मोही हकको प्रमाणपत्र नपाउने ठहराएको शुरु भूमि सुधार कार्यालय महोत्तरीको इन्साफ सदर गरेको ज.अ.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगरेको म.क्षे.अ. को आदेश मिलेकै नदेखिंदा वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मा.न्या. श्री ओमभक्त श्रेष्ठको राय र जग्गाको स्वामित्व र मोही हक बेग्ला बेग्लै कानून हक भएको, दर्ता बदर मुद्दामा वादीको जग्गाको स्वामित्वमा दावी नपुग्दैमा मोही हक स्थापित भै सकेको श्रेस्ता प्रमाणको विपरित वादीले मोही प्रमाणपत्र नपाउने ठहराएको शुरु भू.सु.का. को निर्णय सदर गरेको ज.अ.अं. को फैसला नमिलेकोले बदर हुने ठहर्छ । वादी दावी बमोजिम वादीले मोहीको प्रमाणपत्र पाउने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री हरि प्रसाद शर्माको छुट्टै राय भएको यस अदालत संयुक्त इजलासको मिति २०५०।१०।१७ को राय बाझी फैसला ।

१०.  प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राजन ढुङ्गानाले विवादित जग्गाको फिल्डबुकमा मेरो पक्षको नाउँ उल्लेख भएको विपक्षीहरु बीच २०३४।१०।२७ मा वण्डापत्र हुँदा मोहीमा नइम खाँ उल्लेख भएको ने.का.प. २०४२ नि.नं. २४८१, पृ. ८२६, अङ्क ९ मा प्रतिपादित सिद्धान्त समेतको विपरित निर्णय भएको मोहियानी हक प्राप्त वा समाप्ति हुने बारेको कानूनी तथ्यको सम्बन्धमा विवन्धन नलाग्ने सिद्धान्त (ने.का.प. २०४३, नि.नं. २७८९, अङ्क ७) प्रतिपादन भएको समेतबाट मेरो पक्षले मोही हक प्राप्त गर्नुपर्दछ भन्ने र विपक्षी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले २०२९।१०।३० मा भूमि प्रशासन कार्यालयबाट मोही कायम गर्ने गरी मोही सम्बन्धि निर्णय भएको होइन, वादीले विवादित जग्गाको जग्गा धनी म आफै हुँ भनी मेरो पक्ष उपर दायर गरेको दर्ता बदर मुद्दामा वादी दावी पुग्न नसक्ने गरी भएको शुरु फैसला ज.अं. बाट २०४१।१०।५ मा सदर भै अन्तिम भै बसेको ने.का.प. २०४५ अङ्क ५, नि.नं. ३४५०, ने.का.प. २०४३, अङ्क ६, नि.नं. २७६६ मा प्रकाशित नजिर समेतका आधारमा विपक्षी वादी विवादित जग्गाको मोही कायम हुन सक्ने स्थिति समेत छैन भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

११.  आज निर्णय सुनाउनको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नइम खाँले विवादित जग्गाको मोहीको प्रमाणपत्र पाउँ भनी भू.सु.का महोत्तरीमा २०४१।११।२८ मा निवेदन दिंदा फिल्डबुकमा तथा जग्गा धनीहरु बीच २०३४।१०।२७ मा अंशवण्डा हुँदा समेत मोहीको महलमा मेरो नाउँ कायम भएकोले मोही प्रमाणपत्र पाउँ भनी दावी लिएको देखियो । यिनै पुनरावेदक वादीले यही विवादित कि.नं. ९० को जग्गा २०३५।११।१२ मा आफ्नो नाउँमा दर्ता गराएकोमा दोहरो दर्ता बदर गरी हामीहरुको नाउँमा दर्ता गरी पाउँ भनी यिनै प्रतिवादीहरुले २०३८।९।९ मा मालपोत कार्यालय महोत्तरीमा निवेदन दिएकोमा मालपोत कार्यालय बाट यी वादीको नाउँमा जारी भएको ३० दिने म्याद वादी आफैले बुझि लिई प्रतिवादै नगरी म्याद गुजारी बसेबाट मालपोत कार्यालयले २०३९।२।१० मा यी वादीको नाउँको दर्ता रद्ध गरिदिएको देखिन्छ । मालपोत कार्यालय को उक्त निर्णय उपर यी वादीले दिएको दर्ता वदर दर्ता मुद्दामा वादी दावी पुग्न नसक्ने गरी भएको शुरु जि.अ. को फैसला जनकपुर अंचल अदालतबाट मिति २०४१।१०।५ मा सदर भै अन्तिम भै बसेपछि विवादित जग्गाको मोहिको प्रमाणपत्र पाउँ भनी वादीले २०४१।११।२८ मा प्रस्तुत निवेदन दायर गरेको देखियो अर्थात विवादित जग्गालाई आफ्नो स्वामित्वको दर्ता भोगको जग्गा भनी आफ्नो नाउँमा दर्ता गराई सो दर्ता बदर भई अन्तिम भएपछि वादीले मोहीमा दावी लिएको देखिन आयो । विवादित जग्गाको फिल्डबुक उतार हेर्दा यी वादीको नाउँ किसानको महलमा उल्लेख नभै केवल कैफियत महलमा यो जग्गाको जोत नइम खाँको हो भन्ने सम्म उल्लेख भएको देखिन्छ । भूमि सम्बन्धि ऐन, २०२१ ले मोही कायम हुने सम्बन्धमा गरेको व्यवस्था हेर्दा ऐनको दफा २५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेद बमोजिमको मोहीको हक प्राप्त हुनेछ भन्ने र उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएको छ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक वालीसम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेद बमोजिमको हक प्राप्त मोही हुने व्यवस्था गरेको देखिन्छ । ऐनको दफा २५ को उपदफा (१) बमोजिमको मोहीको हक प्राप्त गर्न भूमि सम्बन्धि नियम, २०२१ को नियम (९) बमोजिम जोताहाको अस्थाई निस्सा प्राप्त गर्नुपर्ने र उपदफा (२) बमोजिमको मोही हक प्राप्त गर्नको लागि जग्गाधनी र मोही बीच दोहरो कबुलियत भई एक प्रति स्थानीय निकायमा समेत हुनुपर्ने सो बमोजिम भए गरेको भन्ने नदेखिंदा प्रतिवादीहरु बीच २०३४।१०।२७ मा पारित भएको अंशवण्डाको लिखतमा कि.नं. ९० को जग्गामा मोही नइम खाँ उल्लेख भएकै आधारमा यी वादी विवादित जग्गाको मोही कायम हुने देखिन आएन । पुनरावेदक वादी तर्फका कानून व्यवसायीले उल्लेख गर्नु भएको ने.का.प. २०४२ नि.नं. २४८१ अंक ९ हेर्दा एक पटक भई सकेको निर्णयमा सामान्य त्रुटी सच्याउने बाहेक पहिलेको निर्णयमा नै असर पर्ने गरी निर्णय गर्न हुन्छ भन्न नमिल्नेभनी डिभिजन बेन्चबाट २०४२।८।३ मा आदेश भएको देखिन्छ । २०२८।१२।३० मा भूमि प्रशासन कार्यालयबाट भएको निर्णय मोही सम्बन्धी विवाद उठी यी पुनरावेदक वादीलाई मोही कायम गर्ने सम्बन्धमा भएको नभै प्रतिवादीहरुको बाबुले छुट जग्गा दर्ता गरी पाउँ भनी दिएको निवेदनका सम्बन्धमा निर्णय भएको देखिएबाट भु.सु.का. महोत्तरीबाट यी पुनरावेदक वादीलाई विवादित जग्गाको मोही कायम नहुने ठहराएको २०४३।९।२९ को निर्णय २०२८।१२।३० को निर्णयमा असर पर्ने गरी भएको भन्न पनि मिलेन । त्यस्तै ने.का.प. २०४३ अंक ७ पृष्ठ ६७५ मा प्रकाशित भएको नजिर हेर्दा मोही हक प्राप्ति वा समाप्ती हुने बारे भूमि सम्बन्धी ऐनले प्रष्ट कानूनी व्यवस्था गरेकोबाट यो तथ्य कानूनी तथ्य भएकोले कानूनी तथ्यमा विवन्धनको सिद्धान्त आकर्षित नहुने भनी डिभिजन बेञ्चबाट निवेदक महेन्द्र प्रसाद देव विरुद्ध भू.सु.का सप्तरी भएको उत्प्रेषणको मुद्दामा सिद्धान्त कायम भएको देखिन्छ । फिल्डबुकको कैफियत महलमा तथा प्रतिवादीहरु बीच भएको वण्डापत्रमा विवादित जग्गाको मोहीमा यी वादीको नाउँ उल्लेख भएको र दर्ता सम्बन्धमा प्रतिवादीहरुका बाबुले छुट जग्गा दर्ता गरी पाउँ भनी दिएको निवेदनमा कारवाही भई जग्गा दर्ता हुने नहुने भन्ने सम्म निर्णय गरे पुग्नेमा विवाद नै नभएको मोही हकको प्रश्नमा सो निर्णयमा मोही कायम हुने भनी भूमि प्रशासन कार्यालयले लेखी दिएको भरमा निर्णयाधार मान्न मिल्ने देखिएन । वाद प्रतिवादको आधारमा निर्णायक प्रश्नको रुपमा निरुपण भएको नदेखिएकोले भूमि सम्बन्धी ऐन (संशोधित सहित) २०२१ को दफा २ (५) ले अरुको जग्गा आफ्नो वा आफ्नो परिवारको श्रमले कमाएमा मात्र सो जग्गाको मोही हुने व्यवस्था गरेको छ । पहिले आफ्नै जग्गा भनी दर्ता गराई सो दर्ता बदर भएपछि जग्गाधनीको हैसियतले जग्गा जोतेको कारणबाट मोही हकमा दावी गर्ने स्थिती हुँदैन । आफ्नै हकको जग्गा कमाउने व्यक्ति सो जग्गाको मोही हुन नसक्ने कानूनको स्पष्ट व्यवस्था रहेको छ । यसका अतिरिक्त भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिम मोही कायम हुने अवस्था समेत देखिन आएन । तसर्थ मोहियानी हकको प्रमाणपत्र नपाउने ठहराएको शुरु भूमि सुधार कार्यालय महोत्तरीको इन्साफ सदर गरेको जनकपुर अंचल अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश मिलेकै देखिंदा माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिवै ठहर्छ । माननीय न्यायाधीश श्री हरि प्रसाद शर्माको रायसित यो इजलास सहमत हुन सक्दैन ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. केदारनाथ उपाध्याय

न्या. नरेन्द्र बहादुर न्यौपाने

 

इति सम्वत् २०५१ साल फाल्गुण ११ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु