शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३१६ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३१६     ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४१ सालको फौ.सा.नं. १०८

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी:आनन्दकुमार नेपालको जाहेरीले श्री ५ को सरकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी:पाल्पा जि.बुझङ गा.पं.वा.नं. ९ बस्ने जीवन कुमारी नेपाल ।

फैसला भएको मिति:२०४२।३।१८।३ मा

 

     प्रहरीमा भएको मेरो कागज सुनी पाएँ, सो मैले भने बमोजिम लेखिएको हो भनी बयान गरेको देखिँदा जिउँदो जन्मेको बालिका मरेको सम्झी गाडेको भन्ने निजको जवाफ मिल्दो देखिन्न ।

(प्रकरण नं.१६)

पुनरावेदक वादी तर्फबाटःX

विपक्षी प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.त्रिलोक प्रताप राणा: प्रस्तुत मुद्दा साधक सदरको लागि पेश हुन आएको रहेछ ।

२.    तथ्य यस प्रकार छः म आनन्दकुमार नेपाल २ वर्ष अगावै भारतमा नोकरी गर्न गई यही ०३८।१।१ गते घरमा आएको र म भारतमा भएको मौकामा मेरो श्रीमती लछिमादेवी नेपालले नमालुम कस्को गर्भ बोकेकी रहिछन् । मिति ०३८।१।२७ गतेका दिन पेटमा रहेको गर्भ तुहाई पतन गराई तरुल झिकेको खाल्डोमा सो जातक गाडेकी रहिछन् खोजतलास गर्दा फेला परेकोले को कसको गर्भ बोकी सो जातक जन्माई गर्भ पतन गर्ने लछिमादेवीलाई कानुन बमोजिम कारवाही होस् भन्ने व्यहोराको ०३८।१।२९ को आनन्दकुमारको दर्खास्त ।

३.    गिरीराज नेपाल समेतले गरिदिएको ०३८।१।२० को लाश प्रकृति मुचुल्का ।

४.    यो बच्चा जिउँदो जन्मेको र जन्मेपछि सास लिएको हो र जन्मेको १ घण्टाभित्र रगत बगी मरेको हो जन्मेको बेलामा नली खुट्टाको हड्डी फुस्केको पनि देखिन्छ भन्ने समेत व्यहोराको ०३८।२।१ को पोष्टमार्टम रिपोर्ट ।

५.    गाउँको ढुण्डीराज नेपालको छोरा शम्भु नेपालले मलाई करणी गरेकोले सोही करणी विर्यबाट मेरो गर्भ रहन गएको हो र सो गर्भबाट ०३८।१।२७ गतेको दिन सिसु जातक छोरी जन्मेकोले सो बच्चा जन्मेकी मेरो सासु जीवनकुमारी नेपालले पनि थाहा पाएकीले मैले बच्चा जन्माएको कोठीमा आई यो बालक यसै राख्नु हुँदैन । तैंले बच्चा लिएर हिंड् भनेपछि म अगाडि गई खल्टुकको रुखनेर तरुलको खाल्डोमा सो जातकलाई जिउँदै उत्तानो पारी सुताई माथिबाट खल्टुकको पातले छोपी दिएको हो । सासुले पछिबाट कोदालोले माटो खनी पुरिदिएकी हुन् भन्ने समेत व्यहोराको अभियुक्त लछिमादेवी नेपालले गरेको ०३८।२।७ को मौका बयान कागज ।

६.    मैले बुहारी लछिमादेवीलाई तँ कि जेल जानु पर्‍यौं नत्र भाग भनी रिसको झोकमा भनेकी हुँ मैले तरुलको खाल्डोमा उक्त जातक राख्न लगाई कोदालोले  माटो खनी पुरेको होइन किन लछिमाले मलाई समेत पोल गरिन मलाई थाहा छैन भन्ने समेत व्यहोराको ०३८।२।७ को जीवनकुमारी नेपालको प्रहरीमा कागज ।

७.    जीवनकुमारीले गर्भ तुहाउन लगाई सहयोग गरी मारी दवाए जस्तो लाग्दैन निज लछिमादेवीले नै मारी फालेको होला भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको भोजराज उपाध्याय समेतले गरिदिएको ०३८।२।१३ को सरजमीन मुचुल्का ।

८.    अभियुक्त लछिमादेवी नेपालले जिउँदो बालक छोरी जातक जन्माई कर्तव्य गरी मुलुकी ऐन ज्यानसम्बन्धी १ नं.को अपराध गरेकोले निज लछिमादेवी नेपाल उपर सोही ऐनको १३ को देहाय ३ बमोजिम कारवाही र सजायँ हुन र निजकी सासु जीवनकुमारीले छोरी जातक जन्माई कर्तव्य गरी मारेको कुरा थाहा पाई लुकाई छिपाई राखेकीले निजलाई मु.ऐन ज्यानसम्बन्धीको २६ नं. बमोजिम कारवाही र सजायँको माग दावी भन्ने समेत व्यहोराको स.सर्वोच्च अदालतको र प्रहरीको संयुक्त प्रतिवेदन ।

९.    ०३७।७।७ गतेका रात मेरै घरमा ३ दिन जुठो लाग्ने शम्भु प्रसाद देवर नाता पर्नेले करणी गरी मेरो पेटमा गर्भ रहेको रहेछ । मेरो लोग्ने २ वर्ष अगावै देखि विदेश आन्ध्र प्रदेशमा गइरहेको घरमा थिएनन् । सो गर्भ ०३८।१।२७ गते दिनको १२ बजेको टायममा मेरै घरको कोठीमा छोरी जातक जन्मेकी त्यसपछि म र मेरै सासु जीवनकुमारी समेत भई जिउँदो जन्मेपछि चल्न छाडेकोले मरेको बच्चा नराख भनी बोरामा लपेटी तरुलको खाडलमा लगी बोरा समेत सुताई सासुले कोदालोले माटो खनी पुरी दिई घरतर्फ आयौं भन्ने समेत व्यहोराको ०३८।२।२१ को प्रतिवादी लछिमादेवी नेपालले अदालतमा गरेको बयान ।

१०.    जन्मेको जातक जीवित थियो वा मरेको थियो मैले नदेखेकोले यसै भन्न सक्दिन। जीवित बालक जन्मेको भए रोए कराएको सुनिनु पर्ने, रोए कराएको नसुनेकोले मृतक जन्मेको या जन्मेपछि मरेको के हो म भन्न सक्दिन जीवित बालक म समेत गई लगी गाड्न लगाई माटोले पुरेको समेत कुनै कुरा होइन भन्ने समेत व्यहोराको ०३८।२।२० को जीवनकुमारी नेपालले अदालतमा गरेको बयान ।

११.    लछिमा मेरी श्रीमती हुन् शम्भु नेपालको गर्भ बोकेकी हुन् र सोही गर्भबाट छोरी जातक बच्ची जन्म्यो जन्मेपछि चल्न छाडी फालेकी भनी सो को सामुन्नेमा भनेकी हुन् भन्ने समेत व्यहोराको जाहेरवाला आनन्दकुमार नेपालले अदालतमा गरेको बकपत्र ।

१२.   प्रतिवादी लछिमादेवीले निजबाट जन्मेकी बालिकालाई कर्तव्य गरी मारेको ठहरेकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को दफा ३ अनुसार सर्वस्वसहित जन्म कैद हुन्छ र प्रतिवादी जीवनकुमारीलाई शंकारहित सबूद बेगर ज्यान जस्तो अपराधमा सजायँ गर्न नमिल्ने हुँदा सफाई पाउने ठहर्छ भन्ने ०३९।११।२३ को शुरू जिल्ला अदालतको फैसला ।

१३.   प्र.लछिमादेवीले अर्काको गर्भ बोकेको कुरा पनि जीवनकुमारीलाई मौकैमा थाहा भएको भन्ने निजकै बयानबाट देखिन आउने सो कुरा प्रकाश नगरी सो जातक कर्तव्य गरी मारी फालेपछि लछिमादेवी आफ्नो बुहारी नै कायम हुने मनसाय लिई जिउँदो जन्मेकी छोरी जातकलाई कर्तव्य गरी मारी फाली प्रकाश नगरेको कुरा पुष्टि हुन आउँछ तसर्थ शुरू निर्णय बदर गरी प्रहरी माग दावी बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन ।

१४.   लछिमाले सासु समेत भई जिउँदो बच्चा खाल्डोमा पुरी मारेमा प्रहरी तथा अदालतमा सावित भएकी निजलाई शुरूवात दावी बमोजिम ठहर भएको लछिमाको सासु जीवनकुमारी प्रहरी तथा अदालतमा दावीमा इन्कार भई कागज बयान गरेकी निजले समेत बुहारी लछिमालाई बच्चा मार्नमा सहयोग गरेको भन्ने कुरा मिसिलको अध्ययनबाट देखिन आउँदैन । प्र.जीवन  कुमारी उपर लछिमाको पोलसम्म भएकी निजको पोल अन्य तथ्ययुक्त प्रमाणबाट समर्थित भएको नहुँदा साविती पोलेको भरबाट जीवनकुमारीले बच्ची मार्नमा सहयोग दिने कसूर गरेको रहेछ भन्ने कानुन र न्यायले समेत नमिल्ने हुँदा शुरूले निजलाई सफाई दिएको मनासिव छ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज लछिमा कसूरमा प्रहरी तथा अदालतमा सावित भएकी नै देखिँदा निजलाई शुरूले १३ (३) अनुसार सजायँ गर्ने ठहर गरेको मनासिव छ भन्ने समेत २०४१।४।३१।४ को पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।

१५.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी साधक सदरको लागि पेश भएको देखिन्छ ।

१६.    यसमा साधक तहबाट आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गर्दा प्र.लक्षीमादेवी जन्मेको बालिकालाई खाल्डोमा हाली आएतर्फ प्रहरीमा सावित भएको पाइन्छ । प्र.लछिमादेवीको अदालतमा बयान हुँदा सवाल (६) मा जन्मेको बालिका जिउँदै जन्मेको भन्दै जन्मिएपछि चल्न छोडेकोले मरेको सम्झी गाडेको हो भनेको पाइन्छ । तर सोही बयानको सवाल ७ मा प्रहरीमा भएको मेरो कागज सुनी पाएँ सो मैले भने बमोजिम लेखिएको हो भनी बयान गरेको देखिँदा जिउँदो जन्मेको बालिका मरेको सम्झी गाडेको भन्ने निजको जवाफ (६) को कुरा मिल्दो देखिन्न। पोष्टमार्टम रिपोर्ट हेर्दा मर्ने बालिका जिउँदो जन्मेकी र १ घण्टाभित्र रगत बगी मरेको हो भनी लेखिदिएको प्रहरीमा भएको निजको साविती पोष्टमार्टम रिपोर्टबाट समर्थित भएकै र अदालतमा भएको निजको सम्पूर्ण बयानलाई हेर्दा प्रहरी प्रतिवेदन दावीमा इन्कार रहेको समेत भन्ने स्थितिको नहुँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम प्र.लछिमादेवीलाई शुरू जिल्ला अदालतले सजायँ गरेको इन्साफ सदर गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । यो फैसला भएको जनाउ प्रतिवादीलाई दिई नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल आषाढ १८ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु