शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३१७ - कर्तव्य ज्यान ।

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३१७     ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको फौ.पु.नं. ५९१

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी:दिलमाया कार्कीको जाहेरीले श्री ५ को सरकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी: ग.अं.कास्की जिल्ला, कुराती नाचनेचौर गा.पं.वा.नं.१ बस्ने देवीलाल अधिकारी ।

फैसला भएको मिति  : २०४२।३।२०।५ मा

     ज्यान लिनु पर्ने सम्मको इवी रहे भएको समेत नदेखिँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

(प्रकरण नं.२०)

पुनरावेदक वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री बुद्धि प्रसाद रेग्मी

विपक्षी प्रतिवादी तर्फबाटX

उल्लेखित मुद्दाःX

फैसला

न्या.त्रिलोक प्रताप राणाः पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    ०३५।५।२० गते राति देवीलाल, हरि प्रसाद र मनोहर समेत ३ जना भई मेरो पिता झपटबहादुरलाई माछा पार्ने खुङ्ग थापेको ठाउँमा कुटपीट गरी बेहोस पारेछन् तोयनाथको खबर अनुसार गोठमा गई हेर्दा तालु र शरीरमा ठाउँ ठाउँमा चोर आँखा पनि फुटेको, बेहोस अवस्थामा देखि मद्दत लिई उपचारार्थ ग.अं.अस्पताल पोखरामा ल्याई उपचार हुँदाहुँदै ०३७।५।२२ गते मृत्यु भएकोले कर्तव्यवाला देवीलाल समेत जना ३ लाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको डिलमाया कार्कीको जाहेरी ।

३.    गरुङ्गो हतियार वा लाठा ढुङ्गाले टाउकोमा प्रहार भएबाट मृत्यु भएको देखिन्छ भन्ने ०३७।५।२२ को लाश पोष्टमार्टम रिपोर्ट ।

४.    मैले हानेको ढुंगाको चोटबाट प्र.झपटबहादुर मरेका रहेछन् भन्ने मलाई लाग्छ अरु कसैको दोष छैन भन्ने समेत व्यहोराको प्र.देवीलालले ०३७।५।२६ मा प्रहरीमा गरेको बयान ।

५.    पिता देवीलालले हानेकै चोटबाट झपटबहादुरको मृत्यु भएको रहेछ भन्ने समेत व्यहोराको ०३७।५।२६ मा हरि प्रसादले प्रहरीमा गरेको बयान ।

६.    ०३७।५।२० गते राति झपटबहादु र पिता झगडा गरी रहेको देखेकै थिएँ । पछि झपटबहादुर मरे भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको मनोहरि अधिकारीले प्रहरीमा गरेको बयान।

७.    झपटबहादुर, देवीलालकै चोटबाट मृत्युभएको हुनुपर्छ भन्नेसमेत व्यहोराको तोयनाथले प्रहरीमा गरेको बयान ।

८.    झपटबहादुरको मृत्यु देवीलालका कुटपीटबाट भएको भन्ने विश्वास लाग्छ भन्ने समेत व्यहोराको देवीदत्तले प्रहरीमा गरेको बयान ।

९.    बुझिएसम्मका सबूद प्रमाणबाट झपटबहादुर कार्की प्र.देवीलाल अधिकारी, हरि प्रसाद, मनोहरप्रसाद समेत ३ जनाको कुटपीटको चोट पिडाबाट मृत्यु भएको देखिन बुझिन आयो । निजहरू ३ जना प्रतिवादीहरूले ज्यानसम्बन्धीको १३ नं. देहाय ३ अन्तर्गत कसूर गरेकाले सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।

१०.    ढुंगाले १, २ चोट हाने लौरीले समेत हानेको हुँ म मार्छु नै भन्ने उद्देश्य हैन । ततिम्बा बयान जबरजस्ती करकापबाट गराएको हुन भन्ने समेत व्यहोराको प्र.देवीलालले जि.अ.मा गरेको बयान ।

११.    झपटबहादुर मेरा बाबु कै चोटबाट मरेको हो वा अरु कुनै दुःख पिडाबाट मृत्यु भएको हो मलाई थाहा छैन । ततिम्बा बयान करकाप कुटपीटबाट गराएको हो भन्ने समेत व्यहोराको प्र.प्रसादले जि.अ.मा गरेको बयान ।

१२.   मैले कुटपीट गरेको होइन झपटबहादुरको चोटबाट कसरी मर्न गए भन्न सक्दिन भन्ने समेत व्यहोराको प्र.मनोहर अधिकारीले अदालतमा गरेको बयान ।

१३.   प्र.मनोहरप्रसाद र हरि प्रसादले अदालतमा इन्कारी बयान गरेको र निजहरूले कुटपीट गरेकै अवस्था देखेको भनी कसैले भन्न र लेखाउन सकेको पनि नदेखिएको हुँदा प्रत्यक्षदर्शी चस्मदिद गवाहको अभावमा शंकाको सुविधा अभियुक्तले पाउने नै हुँदा मनोहरप्रसाद र हरि प्रसादले सफाई पाउने ठहर्छ । माछा चोर्न गएको अवस्था ढुंगाले हानेको सोही चोटको पिडाबाट झपटबहादुरको मृत्यु भएको भनी देवीलालले साविती बयान गरेको हुँदा निजकै कुटाईको चोटबाट झपटबहादुरको ज्यान मरेको देखिन आएकोले देवीलाललाई सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ. को फैसला ।

१४.   उक्त फैसलामा चित्त बुझेन भनी प्र.देविलालको पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र । अ.बं. २०२ नं. बमोजिम झगडीया झिकाउने भन्ने पश्चिमान्चल क्षेत्रीय अदालतको ०४०।५।८ को आदेश ।

१५.   रिसको आवेशमा साधारण लाठा ढुंगाले हान्दा पर्न गएको देखिँदा ज्यानसम्बन्धीको १४ अन्तर्गतको अपराध कायम हुन्छ । पु.वे.प्र.देवीलाललाई ज्यानसम्बन्धीको १४ अनुसार वर्ष १० दश कैद हुन्छ । कास्की जि.अ.को इन्साफ केही उल्टी हुन्छ भन्ने समेतको पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।

१६.    उक्त फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

१७.   पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री बुद्धिप्रसाद रेग्मीले पश्चिमान्चल क्षेत्रीय अदालतले प्रतिवादीलाई ज्या.स.को १४ नं. अनुसार सजायँ गरेको मिलेन प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

१८.   प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मनासिव वा बेमनासिव के रहेछ निर्णय गर्नु परेको छ ।

१९.    यसमा प्र.देवीलाल, झपटबहादुरलाई ढुंगाले हानेमा र लडामाथि गरेमा अदालतमा समेत सावित देखिन्छ । मर्ने झपटबहादुर र प्र.देवीलालको बीच झगडा भएको कुरा निजैको छोरा हरि प्रसादको बयानबाट पनि पुष्टाई भएको पाइन्छ । माछा मार्ने खुंगा हराएको कारणबाट घटनास्थलमा नै झपटबहादुर देवीलालको बीच झगडा कुटाकुट भएकोमा विवाद छैन । झपटबहादुरलाई मार्ने पूर्व योजना बनाई प्र.देवीलाल उक्त घटनास्थलमा गएको सबूद वादी पक्षबाट आएको छैन । प्र.देवीलालको झपटबहादुरको ज्यान लिनुपर्ने मनसाय रहेको भए निजले तत्कालै त्यही घटनास्थल मै मारी हाल्नुपर्ने अवस्था विद्यमान छ । तर झपटबहादुरको ०३७।५।२२ मा उपचार गराउँदा गराउँदै अस्पतालमा मृत्यु भएको देखिन्छ । झपटबहादुरको ज्यान लिनु पर्ने सम्मको इवी अदावत प्र.देवीलालमा रहे भएको तथ्ययुक्त प्रमाण वादी पक्षबाट आउन सकेको छैन। ज्यानसम्बन्धी महल १४ नं. मा ज्यान मार्नाको मनासय रहने छ ज्यान लिनु पर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष ख्वाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादिले हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ ।

२०.   माछा मार्ने खुंगाको कारणबाट तत्काल उसै मौकामा उठेको रिस थाम्न नसकी प्रस्तुत वारदात घट्न गई सो वारदातमा प्रयोग भएको ढुंगा एवं कुटपीटको चोटबाट झपटबहादुरको मृत्यु भएको र निज झपटबहादुरलाई मार्नुपर्ने मनसाय र ज्यान लिनुपर्ने सम्मको इवी रहे भएको समेत नदेखिँदा प्र.देवीलाललाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

 

इतिसम्वत् २०४२ साल आषाढ २० गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु