निर्णय नं. ५०८३ - लिखत बदर ।

निर्णय नं. ५०८३ ने.का.प. २०५२ अङ्क ४
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
२०४९ सालको दे.पु.ई.नं. ६३
आदेश मिति : २०५१।११।२५।५
मुद्दा : लिखत बदर ।
पुनरावेदक/वादी:जिल्ला मोरङ्ग दादर वैरिया गा.पं. वडानं. १ बस्ने धर्मकान्त पन्त।
ऐ.ऐ. बस्ने उदेशकान्त पन्त ।
ऐ.ऐ. बस्ने विनयकान्त पन्त ।
ऐ.ऐ. बस्ने विष्णुकान्त पन्त ।
चार जना सचिव आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने भूवनकान्तको श्रीमती वर्ष ३५ को श्याम देवी पन्त ।
विरुद्ध
प्रतिवादी:ऐ. ऐ. बस्ने जीव कुमारी पन्त समेत ।
आफ्नो हकै नपुग्ने जग्गा जिव कुमारी पन्तले धनराज विष्टलाई राजिनामा गरी दिएको देखिन आएको हुँदा जिव कुमारीले धनराज विष्टलाई गरी दिएको मिति २०३९।३।७ को लिखत र सो लिखतको आधारमा गराएको दर्ता समेत बदर हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फबाट:विद्वान अधिवक्ता श्री वेद प्रसाद शिवाकोटी, विद्वान अधिवक्ता श्री रामजी विष्ट
विपक्षी तर्फबाटःX
अवलम्बित नजीरःX
आदेश
न्या. हरि प्रसाद शर्माः दोहर्याउने निस्सा प्रदान भै यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. विपक्षी जीव कुमारीको नाउँमा दर्ता रहेको मोरङ्ग दादर बैरिया गा.पं. वा. नं. १(ख) को कि.नं. ४२ को जग्गा विगाहा २–१७–१८ मध्ये १ (एक) विगाहा बिक्री गर्नुभयो भन्ने कुरो सुनेकाले नक्कल सारी हेर्दा विपक्षी घतराज विष्टले आफ्नो नाउँमा पास गराई लिएकोले विपक्षीहरु उपर फिराद गर्न आएको छु, सबूद प्रमाण बुझी उक्त लिखत र दर्ता बदर गरी पाउँ भन्ने समेत वादी ।
३. वादीको हक लाग्ने जग्गा बिक्री गरेको होइन, वादीहरुसँग मुद्दा परिरहेको भए पनि कि.नं. ४१ को दावीको जग्गा मेरो भाग अंशको जग्गाहो । अरु कसैको हक अंश लाग्ने जग्गा होइन सुद्ध मेरो मात्र हक लाग्ने जग्गा विक्री वितरण गरेको हो । वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिउत्तर पत्र ।
४. बुझिए सम्मको सबूद प्रमाणको परिबन्धबाट प्र. धनराजले प्र. जीत कुमारीबाट गराई लिएको मिति २०३९।३।७ को लिखत र सो लिखतको आधारमा भएको प्र. धनराजको नाउँको दर्ता समेत बदर गरी पाउँ भन्ने समेतको वादी दावी पुग्न सक्दैन भन्ने श्री मोरङ्ग जिल्ला अदालतको मिति २०४०।९।२४ गतेको फैसला ।
५. मोरङ्ग जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत श्यामादेवी पन्तको पु.क्षे.अ.मा परेको पुनरावेदन ।
६. यसमा वादी दावीको २०३९।३।७ को लिखत र सो आधारमा गराएको दर्ता समेत वादी दावी पुग्न नसक्ने ठहर्याइएको शुरुको फैसला उल्टी हुन्छ । वादी दावी बमोजिम लिखत र दर्ता समेत बदर हुने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४३।६।१६ को आदेश ।
८. यसमा २०३८।९।२६ को सट्टापट्टाको लिखत वादी विपक्षीको दावी बमोजिम बदर नभई सदरै ठहरी आजै फैसला भएकोले पुनरावेदनले सट्टापट्टाको लिखतबाट आफ्नो हक कायम भएको जग्गा विक्री गरेको देखिंदा वादी दावी पुग्न नसक्नेमा वादी दावी बमोजिमको लिखत र दर्ता बदर हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।३।१६ को फैसला ।
९. पुनरावेदक र विपक्ष बीच जग्गा सट्टापट्टा गर्ने लिखत भई पास समेत भएको र सो सट्टापट्टा गरी दिने वादी विपक्षीहरुको लोग्ने बाबु भई घरको मुख्य भएको देखिन आएको त्यस्तो घरको मुख्यले मंजुर गरी सट्टापट्टा लिखत गरी पास समेत गरी दिई चित्त नबुझेको कुरामा उजूर नगरी चित्त नबुझाई बसेको समेत देखिन आएको ज्येतिमा एकाघर संगोलका अरु अंशियारले उजूर गर्न पाउने सम्बन्धित सट्टापट्टा गरी लिने सम्बन्धमा व्यवस्था गरेको लेनदेन व्यवहारको ३६ नं. मा व्याख्या नहुँदा यस्तो कानूनले व्यवस्था नै नगरेको दावीको आधारमा विवादको पास भएको ०३८।९।२६ को लिखित मध्येको कि.नं. ४२ र ६८ बाट वादी विपक्षहरुको जति बदर हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने व्यहोराको श्री सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।३।१६ को फैसला ।
१०. यसमा यसै लगाउको वि.नं. ६५१ को लिखत दर्ता बदर मुद्दामा यस अदालतको २०४५।३।१३ को फैसला दोहर्याई हेर्नु पर्ने देखिंदा निस्सा प्रदान गरिएको हुँदा सोही आधारमा प्रस्तुत विन्तिपत्रमा पनि दोहर्याई हेरिदिने निस्सा प्रदान गरिएको छ । मुद्दाको लगतमा दर्ता गरी विपक्ष र मिसिल समेत झिकाई आएपछि पेश गर्नु भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४९।७।२५ को आदेश ।
११. नियम बमोजिम दैनिक काजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अविधक्ता द्वय वेद प्रसाद सिवाकोटी तथा रामजी विष्टले हाम्रो पक्ष समेतको हक लाग्ने कि.नं. ४२ र ६८ को जग्गा पनि पिता भूवन कान्तले मात्र सट्टापट्टा गर्न मिल्ने होइन । सट्टापट्टाको लिखत बदरमा नालेस गरी मुद्दा चल्दा चल्दैको अवस्था विपक्षी जिव कुमारीले धनराज विष्टलाई कि.नं. ४२ को ज.वि. २–१७–१ मध्येबाट १ विगाहा जग्गा राजीनामा गरिदिएको हुँदा लिखत दर्ता बदरमा प्रस्तुत मुद्दा परेको हो । मेरो पक्षले विपक्ष भूवन कान्त उपर अंश मुद्दा दिएकोमा कि.नं. ४२ र ६८ बाट ६ भागको १ भाग पूर्वाञ्चल क्षेत्रीय अदालतबाट अंश पाउने ठहरी उक्त अन्तिम भैरहेको छ । यस अदालत संयुक्त इजलासबाट भएको फैसलाबाट मेरो पक्षलाई साविक स्थानमा उभ्याइदिंदा अंश पाउने गरी अन्तिम भएर रहेको पू.क्षे.अ. को फैसलाबाट श्रृजित भएको हक समेत कुण्ठित हुन पुगेको हुँदा संयुक्त इजलासबाट भएको फैसला उपर पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरी पाउँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
१२. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा विपक्षहरु जिव कुमारी पन्त र धनराज विष्टले ०३९।३।७ मा गरेको राजीनामा लिखत र दर्ता समेत बदर गरी पाउँ भन्ने वादी दावी र धनराज विष्टलाई बिक्री गरेको जग्गा मैले तिरो तिरी भोग चलन गरेको जग्गा हो र कानुनको रित पुर्याई विक्री गरेको हो भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा यस अदालत संयुक्त इजलासबाट वादी दावी पुग्न नसक्नेमा वादी दावी बमोजिम लिखत र दर्ता बदर हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर हुने ठहर्याएकोमा उक्त संयुक्त इजलासबाट भएको फैसला दोहर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र परेकोमा यस अदालत संयुक्त इजलासबाट दोहर्याउने निस्सा प्रदान भई पूर्ण इजलासमा दर्ता हुन आएको देखियो ।
१३. मिसिल संलग्न कागजमा प्रमाण हेर्दा यिनै वादीले प्रतिवादी मध्येका वादीकै पिता पति भूवन कान्त उपर अंश मुद्दा दिई मिति २०४३।१।३१ मा पूर्वाञ्चल क्षेत्रीय अदालतले मोरङ्ग जिल्ला दादर बैरिया गा.पं. वडानं. १ ख को कि.नं. ४२ र ६८ को जग्गाबाट ६ भागको ५ भाग अंश पाउने पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ठहर भै उक्त फैसला अन्तिम भैरहेको प्रमाणको लागि आएको दे.पु.नं. २०४० को २८।२० को अंश मुद्दाको फैसलाबाट देखिन्छ । सो फैसलालाई बदर गराउन सकेको देखिदैंन। यसरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट कि.नं. ४२ र ६८ बाटै ६ भागको ५ भाग जग्गा वादीले अंश पाउने ठहर भै उक्त फैसला अन्तिम रहे भएबाट आफ्नो हकै नपुग्ने जग्गा जीवकुमारी पन्तले धनराज विष्टलाई राजीनामा गरिदिएको देखिन आएको हुँदा जीव कुमारीले धनराज विष्टलाई गरिदिएको मिति २०३९।३।७ को लिखत र सो लिखतको आधारमा गराएको दर्ता समेत बदर हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । यस अदालत संयुक्त इजलासको इन्साफ उल्टी हुन्छ । तपसिलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिमको ठहरेकाले यस अदालत संयुक्त इजलासको मिति २०४५।३।१६ को निर्णय उल्टी हुने ठहरेकाले संयुक्त इजलासबाट राख्ने गरेको लगत राख्न परेन उक्त लगत कट्टा गर्नु भनी का.जि.अ. मा लगत दिनु .............. १
पूर्वाञ्चल क्षेत्रीय अदालतले राखेको लगत नै कायम राख्नु भनी का.जि.अ. मा लगत दिनु ..........१
पूर्व वादी तर्फबाट दाखिल भएको कोर्टफि ऐन, २०१७ को दफा १९(२) अनुसार शुरु कोर्टफि रु. २० को १०% को हुने रु. २ प्रतिवादीहरुबाट भराई पाउँ भनी कानूनको म्यादभित्र दरखास्त परे प्रतिवादीहरुबाट दामासाहीले भराई दिनु भनी का.जि.अ. मा लगत दिनु .........१
मिसिल नियमानुसार गरी बुझाई दिनु .................. १
उपरोक्त रायमा हामीहरुको सहमती छ ।
न्या. केशव प्रसाद उपाध्याय
न्या. अरविन्दनाथ आचार्य
इति सम्वत् २०५१ साल फागुन २५ गते रोज ५ शुभम् ।
(साविक पेज नं. ३०५)