शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३१८ - अंश

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३१८     ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको दे.पु.नं. ५७७

मुद्दा : अंश ।

 

पुनरावेदक/वादी:जि.मकवानपुर टिष्टुङ गा.पं.वडा नं. ९ प्रजागाउँ हमर्दिखोला बस्ने ठूलो गोले तामाङ ।

विरूद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ. वडा नं. ५ बस्ने पुड्के गोले तामाङ ।

फैसला भएको मिति:२०४२।३।२१।६ मा

     जग्गा स्वआर्जनको भन्ने प्रमाणको अभावमा पैत्रिक सम्पत्ति नै भन्नु पर्ने ।

 (प्रकरण नं.१६)

फैसला

न्या.त्रिलोक प्रताप राणाः प्रस्तुत मुद्दा मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको मिति ०४०।६।९।१ को निर्णय उपर पुनरावेदक वादीको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.    तथ्य यस प्रकार छ : विपक्षीको बाबु र मेरो बाबु सगोल साथमै रहेको अवस्था परलोक भएपछि सगोलको अंश खाने अंशियार विपक्षी र म सिवाय कोही नभएको विवाह खर्च पर सार्नु पर्ने कोही   छैन । घरको हर्ताकर्ता पुड्के आफ्नै नाउँमा दर्ता गराई मेरो अंश खाने नियत गरिलिएकोले मलाई घरबाट निकाला गरिदिएको मिति ०३४।१०।१२ गतेको अघिल्लो दिनसम्मको विपक्षीको नाउँमा रहेको सम्पत्तिको तायदाती लिई एक खण्ड अंश दिलाई पाउँ भन्ने फिराद ।

३.    हामी १९८६ साल माघ ५ गते, बिना लिखत बण्डा गरी सो अनुसार आआफ्नो तिरो छुट्याई अलग बसी आएका छौं । अंश गर्न बाँकी भइसकेको दावी हुनुपर्ने तसर्थ बण्डाको ३० नं. ले फिरादीलाई अंश दिनुपर्ने नहुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिउत्तर ।

४.    वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको छ भुरुङ्गे गोलेको अंश भाग बारे वादी प्रतिवादीका बीच अंश मुद्दा परेको हो भन्ने बुझिएका कुम्लो गोलेको बयान ।

५.    वादी प्रतिवादीहरूका बीच लिखत नगरी अंशबण्डा भएको हो मिति यकीन गर्न सक्दैनौं भन्ने समेत व्यहोराको र प्रतिवादीका साक्षीले वादी प्रतिवादीहरूका बाबुका बीच १९८६।१०।५ गते बिना लिखत घरसारमा अंशबण्डा भएको हो भन्ने प्रतिवादी साक्षी मगर सिं गोले समेत जना ६ को बकपत्र ।

६.    बुझिएका कुम्ले गोलेले वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको छ । मैले पनि अंश पाइसकेको छु भन्ने बयान गरेको वादी प्र.हरूबाट भएको छलफलबाटसमेत वादी प्र.हरू एकासगोलको देखिन नआएबाट अंशपाउँ भन्ने वादीदावी झुठ्ठाठहर्छ भन्नेसमेत व्यहोराको मकवानपुर जि.अदालतको ०३९।८।२८ को फैसला ।

७.    सो फैसलामा चित्त बुझेन भन्ने वादी ठूलो गोलेको पुनरावेदन ।

८.    यस अदालतको मिति ०४०।१०।२७।३ को सिंगल बेञ्चबाट अ.बं. २०२ नं. विपक्षी झिकाउने आदेश ।

९.    पुनरावेदकको नाउँको समेत जग्गाधनी दर्ता प्रमाणपूर्जा नक्कल पेश गरेकोले प्रतिवादीको नाउँमा छुट्टै दर्ता रहे भएको देखिन आयो । बुझिएका अंशियार वादी प्रतिवादीका कान्छा बाबु कुम्ले गोलेका बयानबाट पनि अंशबण्डा अघि भइसकेको देखिन्छ । प्रतिवादीले पेश गरेको लिखतबाट पनि खरिद बिक्री व्यवहार समेत भइसकेको देखिनाले अंशबण्डाको ३० नं. अनुसार बण्डा पत्र नभए पनि बण्डापत्र भएको सदर मान्नुपर्ने हुँदा अंश पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन वादी दावी झुठ्ठा ठहराई गरेको इन्साफ मनासिव छ भन्ने समेत ०४०।६।९।१ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    पेश भएको निवेदक वादीको नाउँको ज.ध.प्रमाणपूर्जाको जग्गा हो त्यो जग्गाको वादीको अंश दावी भित्रको पैत्रिक सम्पत्ति नभई निजका काका जसवीरका अपुतालीबाट निजका नाउँमा गा.पं.को सिफारिश समेतका आधारबाट प्राप्त हुन आएको यस्तो स्थितिमा अंशबण्डाको ३० नं. समेतको आधारमा वादी दावी झुठ्ठा ठहराई गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको ३० नं. को त्रुटि देखिन आएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति ०४१।६।३।४ को यस अदालत डिभिजन बेञ्चको आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी ठूलो गोले तामाङको वा.बद्रीबहादुरको र प्रतिवादी विपक्षी पुड्के गोलेका तामाङ तर्फबाट उपस्थिति हुनुभएका विद्वान अधिवक्ता श्री रामनाथ मैनालीले आआफ्नो तिरो छुट्याई अलगअलग गरी बसी आएको बण्डा गर्न बाँकी सबैको दावी हुनुपर्ने भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१२.   प्रस्तुत मुद्दा मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको निर्णय ठीक बेठीक के रहेछ त्यसतर्फ निर्णय दिनुपर्ने हुन आएको ।

१३.   यसमा वादीले विपक्षीबाट तायदाती लिई विपक्षीको कब्जा जिम्मा तथा नाउँमा रहेको चल अचल सम्पत्ति २ भागको एक भाग अंश पाउँ भनी दावी गर्नु भएकोमा प्रतिवादीले हामी अंशियारहरूको बाबुकै पालामा १९८६ साल माघ ५ गते बिना लिखत घरसारमा अंशबण्डा भएको अंश दिनुपर्ने होइन भन्दै फिरादीका बाबुको नाममा दर्ता भएको कि.नं. ५०५ र कि.नं. ५१३ र स्वयं वादीको नाउँमा दर्ता भएको कि.नं. १२० कि.नं. १९२ र गरो समेत खोली प्रतिवाद गरेको पाइन्छ ।

१४.   फिरादीका बाबु सानो गोलेका नाममा कि.नं. ५०५ र कि.नं. ५१३ को दर्ता भएको मिसिल सामेल रहेको जग्गाधनी प्रमाणपूर्जाबाट समर्थित भएकोले फिरादीको बाबुको नाउँमा जग्गा दर्ता छैन भन्न मिलेन ।

१५.   फिरादीका बाबु सानु गोलेको नाउँमा दर्ता भएको जग्गा बाबु बाजे शेयर सिंहबाट खाएर आएको पैत्रिक सम्पत्ति होइन भनी यी वादीले आफ्नो पुनरावेदनमा मध्यमान्चल क्षेत्रीय अदालत र यस अदालतमा समेत खण्डन एवं प्रतिवाद गरेको पाइन्न । ०११।९।१६।६ का घरदर मुचुल्का हेर्दा सो मा पनि ९१४ वादीको बाबु सानो तामाङको नाउँमा घरबारी खोरियामा समेत दर्ता भएको पाइन्छ । उपरोक्त जग्गा कित्ताहरू वादीको बाबुको स्वआर्जनले खरिद गरेको भए सो कुरा निजले आफ्नो पुनरावेदनमा भन्नु पर्ने र सो को सबूद दिनपर्नेमा समेत दिएको पाइन्न । यस अदालतमा परेको अनुमतिको पुनरावेदनमा जसवीरबाट अपुताली पाएको जग्गालाई लिएर मलाई अंश दिलाएन भन्नु भएकोमा मिसिलसाथ पेश भएको क्षेत्रीय किताब उतारबाट कि.नं. १२० र १९२ सम्मको जग्गालाई समेत जसवीरको नम्बरी, निज मरी भतिजा ठूलो गोले तामाङको नाउँमा दर्ता भएको भन्ने व्यहोरा उल्लेख देखिँदा कि.नं. ५०५ र ५१३ समेत जसवीर मरी निज वादीका नाउमा आएको भन्ने स्थिति नै रहेन उसमा उक्त कि.नं. ५०५ र ५१३ वादीको नाउँमा दर्ता नदेखिई निजको बाबुको नाउँमा दर्ता भएको देखिन्छ ।

१६.    यिनै वादी प्रतिवादीको पेटबोलीबाट बुझिएका कान्छा बाबु कुम्लेले अघि नै अंशबण्डा भइसकेको भनी लेखिएको र वादीको बाबुको नाउँमा जग्गा दर्ता भनी लेखी दिएको र वादीको बाबुको नाममा जग्गा दर्ता रहेकोमा विवाद नदेखिई उक्त जग्गा स्वआर्जनको भन्ने प्रमाणको अभावमा पैत्रिक सम्पत्ति नै भन्नु पर्ने र बाबु मरेपछि सो जग्गा वादीको भोग चलनमा रहेको देखिँदा  अंशबण्डाको ३० नं. बमोजिम अंश भइसकेको भन्नु पर्ने हुँदा अनुमतिको आदेशसँग सहमत हुन सकिएन । अंशमा वादी दावी झुठ्ठा ठहराएको शुरू जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल आषाढ २१ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु