निर्णय नं. ५०८९ - खिचोला मेटाई घर उठाई चलन समेत

निर्णय नं. ५०८९ ने.का.प. २०५२ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
२०५० सालको दे.पु.नं. १८६८
आदेश मिति:२०५२।३।२०।३
मुद्दा : खिचोला मेटाई घर उठाई चलन समेत ।
पुनरावेदक/प्रतिवादी: उदयपुर जिल्ला बसाहा गा.वि.स वडा नं. ८ बस्ने भरत कुमार राई ।
ऐ.ऐ. बस्ने डिक बहादुर मगर ।
ऐ.ऐ. बस्ने पद्यमाया राई ।
विरुद्ध
प्रत्यर्थी/वादी:ऐ. ऐ. बस्ने खड्ग बहादुर मगर ।
विवादति कि.नं. १९३, १९४ का जग्गाहरु एउटै प्लटको जग्गा हो सो जग्गामा खिचोला गरेको भन्ने मिति पनि एउटै कायम गरी फिराद गरेको र जग्गा धनी पनि एउटै व्यक्ति भएको अवस्थामा अ.वं. ७२ नं. को त्रुटी भएको देखिन नआउने ।
(प्र.नं. १६)
पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली
प्रत्यर्थी वादी तर्फबाट:विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का
अवलम्बित नजीरःX
आदेश
न्या. ओमभक्त श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत राजविराजको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. बसोबासबाट मेरो प्राप्त गरेको जि.उ.गा.पं. सुन्दरपुर वडानं. ६ झ कि.नं. १९४ ज.वि. ०–१९–१९ ऐ कि.नं. १९३ झ ज.वि. १–०–० जग्गा मेरो हक अधिकार एवं भोगको जग्गा हो उक्त जग्गा यही ०४५।११।२८ गते विपक्षीहरु भै र नचिन्हेका के कहाँ बस्ने लाग्ने मान्छे ७ जना खेताला समेत ९ जना र नौ हल गोरु लिई आई उक्त मेरो जग्गामा प्रवेश गरी गराई हलो गोरु नारी विहान अं. ७ देखि विपक्षी मध्ये भरत मान राइले उक्त कि.नं. १९३ नं. को ज.वि. १–०–० मध्ये पश्चिम तर्फबाट ज.वि. ०–१०–० जग्गा जोति मकै वाली लगाई खिचोला गरेका र सोही जग्गामा विपक्षी भरत मानले २०४५ साल चैत्र १ गते देखि खम्बा गाडी घर बनाउने शुरु गर्नु भै खरको छाना लगाई २ तल्ला घर भुइतल्लामा माटोको गाडी माथिल्ला तल्लामा कास घरको वैरा लगाई र विपक्षी डिक बहादुरले उक्त कि.नं. ०–९–१० र कि.नं. १९४ को ज.वि. ०–१९–१९ जग्गा जोति मकै वाली छरी सोही ०४५।१२।१ गते देखि खावा गाडी उक्त कि.नं. १९४ को जग्गामा खावा गाडी खरको छाना भएको २ तल्ला घर टाटी वेरा लगाई दुवै जनाले मिति २०४६।१२।११ गते सम्ममा घर तयार गरि सक्नु भएकोले अन्यायमा परि फिराद गर्न आएको छु । विपक्षीहरुलाई अदालतबाट झिकी जोडी मेरो सबुद प्रमाण समेत बुझी खिचोला मेटाई चलन चलाई घर उठाई विपक्षीहरुलाई कानून बमोजिम सजाय समेत गरि पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. विपक्षीले दावी लिएको जग्गा ०३३ सालमा क्षेत्रीय बसोबास कार्यालय विराटनगरद्वारा नाप नक्सा भएको जग्गा हो ता पनि सो नापीमा एकाको भोगको जग्गा अर्काका नाउँमा समेत नापी भै पूर्जा वितरण भएको भनि वसाहा गा.पं. वारेया भरिका अधिकांस बसोबास गर्ने व्यक्तिहरुको सो नाप नक्सालाई स्वीकार नगरी पटक पटक सम्बन्धित निकायमा कारवाही चलाई उदयपुर जिल्ला वन क्षेत्र सुदृढीकरण सम्बन्धी उच्च स्तरिय आयोगको मिति २०४६।१।६ गतेको निर्णयले सो वसाहा गा.पं. अन्तर्गतमा भएको २०३३ सालको नापीलाई वदर गरि सगरमाथा अंचल क्षेत्रीय कार्यालय उदयपुरबाट पुनः नाप नक्सा समेत भै सकेको छ । मिति २०४५।२।५ गते कानून तथा न्याय मन्त्रालयको नेपाल राजपत्र खण्ड ३८ अतिरिक्तांक ६ (क) सूचना नं. ८ को अनुरुप गठन भएको उदयपुर जिल्ला वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगको काम कर्तव्य र अधिकारको दफा १८ मा भएको कार्यविधि अपनाई आयोगले बसोबास व्यवस्थित गर्ने सिलसिलामा एकाको नाउँको पूर्जाको जग्गामा अरुले जोतकमोद गरिरहेकोले खिचोला भै रहेकोमा कानून तथा वान्तविकता दुवै स्थितिलाई हेरि औचित्य एवं सामाजिक न्यायको आधारमा समस्या समाधानको निमित्त सम्बन्धित मन्त्रालयमा सिफारिस प्रस्तुत गर्नुपर्ने, त्यस्ता जग्गाको झगडा निराकरण गर्ने सोही राजपत्र अनुरुप उदयपुर जिल्ला वनक्षेत्र सुदृढीकरण सम्बन्धी विशेष अदालत गठन भएको हुँदा उक्त विशेष अदालतमा प्रस्तुत गर्नुपर्ने मुद्दामा सो तर्फ नगै उल्लेख कानूनले प्रतिकूल उदयपुर जिल्ला अदालतमा दायर भएको फिराद कानून प्रतिकूल हुँदा खारेजयोग्य छ । विपक्षले दावी लिएको जग्गा जि.उ.गा.पं. सुन्दरपुर वार्ड नं. ६(झ) कि.न. १९३ र १९४ जनी दावी लिएको जग्गा हाल उदयपुर जिल्ला वन क्षेत्र सुदृढीकरण उच्च स्तरीय आयोगको निर्णय अनुसार सगरमाथा अंचल क्षेत्रीय बसोबास कार्यालय उदयपुरको ०४६ साल नापीमा जि.उ.वसाहा गा.पं. वार्ड नं. ८(क) कि.नं. ५९ र ६० मा कायम भै नाप नक्सा भै सकेको छ सो कुरा विपक्षीलाई एकिन थाहा जानकारी थियो सो कार्य विपक्षीको फिराद दायर हुनु भन्दा अगाडि नै भएको र यसरी पुनः नापी हुँदा विपक्षीको आफ्ना जग्गा सोही नक्सा अन्तर्गत नाप नक्सा गराएका छन्, फिरादमा लेखिएको जग्गामा उपस्थित भै झगडा समेत जनाउन सकेको छैन। सो नजनाउनको कारण जसले भोगी बसोबास छ उसैको नाउँमा नाप नक्सा भएकोले आफुले नपाउन वा झगडा जनाउन नसकि विपक्षीको फिराद २०४६।१।२९ गते दायर भएको देखिन्छ भन्ने अभियोगले ०४६।१।६ गते नै २०३३ सालको नापी बदर गर्ने निर्णय गरी सम्बन्धित गा.पं. मा समेत सूचना पठाई सकेको छ । सो सूचना अनुरुप प्रत्येक जग्गा भोग गर्ने व्यक्तिलाई सार्वजनिक रुपमा अग्रिम सूचना दिई नाप नक्सा भएको छ भने पुनः नापीमा दर्ता नै कसको नाममा भएको हो सो समेत थाहा जानकारी भएपछि आफ्ना नाममा नापी दर्ता नभएको जग्गालाई विपक्षीले साविकै नापीको वदर भै सकेको नक्सा दर्ता अनुसारको पूर्जाको प्रतिलिपिलाई आधार बनाई मुद्दा दिएकोले खारेज गरि पाउँ र साविक फडानी देखिकै भोगमै २०३५।९।१६ गते व्यवहारिक अनुरुपको छोडपत्र कागज समेत गरि लिई फुपरा राइकै भोगको जि.ए.गा.पं. सुन्दरपुर वार्डनं. ६(क) कि.नं. १९३ र १९४ को जग्गा मध्ये आधा जग्गा ०–१९–१९ जग्गा संगोलमा फडीन वाला जि.उ.गा.पं. सुन्दरपुर वार्ड नं. ६ हतिसार बस्ने हर्षदेव गलानलाई ०३८।१।२९।२ मा फुलसरा राईले छोडपत्र गरि दिएको रहेछ । विपक्षीको दावी अनुसारको मितिमा घर पनि बनाएको छैन र खिचोला समेत गरेको होइन । मेरो सबुद प्रमाण बुझी मुद्दा खारेज गरि पाउँ भन्ने प्रतिउत्तर पत्र ।
४. यसमा बुझिएसम्मको प्रमाणबाट वादीले सुन्दरपुर वार्ड नं. ६(झ) कि.नं. १९३ र १९४ को जग्गा विपक्षीहरुले खिचोला गरि घर समेत बनाएको हुँदा खिचोला मेटाई चलन चलाई घर उठाई पाउँ भनी दावी लिएकोमा वादी दावीको उक्त जग्गा दर्ता वदर भई हाल वसाहा वार्ड नं. ८ (क) कि.नं. ५९, ६० मा क्रमशः पद्यमाया राई र डिक बहादुर मगरका नाउँमा नापी भएको देखिंदा खिचोला मेटाई चलन चलाई घर उठाई पाउँ भन्ने समेत वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको ०४६।९।१३ को उ.जि.अ.को फैसला ।
५. शुरु अदालतले वादी दावी नपुग्ने गरि गरेको इन्साफमा चित्त बुझेन, शुरु उ.जि.अ. को फैसला बदर गरि वादी दावी अनुसार हक इन्साफ गरि पाउँ भन्ने समेत व्यहोराको वादी पुनरावेदकको पुनरावेदन पत्र ।
६. यसमा खिचोला मेटाई चलन चलाई घर उठाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको मिति २०४६।९।१३।५ को उदयपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, ०४८ को नियम ४७, ४८ बमोजिम प्रत्यर्थीहरु झिकाई पेश गर्नु भन्ने मिति २०४९।५।२३ को पुनरावेदन अदालत राजविराजको आदेश ।
७. साविक जग्गावाला इन्द्रकुमारी पोइल गए पछि ०४१।१२।१० गते निजको हक खाने पति मेजर बहादुर राईसँग घरसारमा रु. १५,००० मा राजिनामा गराई पति भरत राईले लिएको र पुराना कागज तथा भोगको आधारमा मेरो नाउँमा जि.उ.गा.वि.स. वसाहाको वार्ड नं. ८ (क) कि.नं. ५९ को ०–९–१११२ जग्गा दर्ता भएको हो सो जग्गामा खड्ग बहादुरको दावी पुग्ने होइन। सो जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएको छन । मेरो नाउँमा नापी भएको श्रेस्ता उच्चस्तरीय वन क्षरता उच्चस्तरिय वन क्षेत्र सृदृढीकरण आयोगमा होला भन्ने समेत अ.व. १३९ नं. बमोजिम बुझिएको पद्यमाया राईको वारेस एकध्वजका वयान ।
८. यसमा मिति २०४५।९।१६ को वादीले गरि दिएको भनेको छोडपत्रको सक्कल लिखत प्रत्यर्थी प्रतिवादीबाट पेश गराई पुनरावेदक वादीलाई सुनाई अ.वं. ७८ नं. बमोजिम बयान गराई पेश गर्नु भन्ने २०५०।२।४ को आदेश ।
९. सक्कल लिखत देख्न सुन्न पाए सो कागज सिर पुछारमा लागेको ल्याप्चे छाप मेरो नै हो तर निजहरुसँग साझा संगोलबाट जंगल खडानी गरेको छैन र सो जंगल फडानी गरेको हिस्सा वापतमा मैले निजहरुलाई कुनै जग्गाको सम्पूर्ण समेत गरेको छैन । के कस्तो कागजमा सही गराए म निरीक्षरा मानिस हुँदा भन्न सक्दिन मैले गंजमानसँग १५,००० लिई धितो सम्बन्धी कागज गरेको थिए त्यसैलाई सो लिखत बनाएको हुनु पर्छ लेख साक्षी तथा इन्द्रकुमारी फुलसरा समेत भै झुक्याई यो लिखत खडा गरेका हुन् भन्ने समेत व्यहोराको खड्ग बहादुरको बयान ।
१०. खड्ग बहादुरको वयान सुने वयान झुठ्ठा हो निजले फडानी गरे वापतमा हक हिस्साले पाउने जग्गा दिई कागज गरेकोले सध्दे व्यवहारबाट छोरा समेत साक्षी राखी भएको कागज हो भन्ने प्र. वा एकध्वजको बयान ।
११. वादी दावीको जग्गामा प्रतिवादीहरुले घर समेत बनाई खिचोला गरेको देखिन आयो यस्तोमा वादी दावी अनुसार वादीको जग्गा प्रतिवादीहरुले खिचोला गरेको हुँदा घर उठाई जग्गामा चलन समेत पाउने ठहर्याउनु पर्नेमा वादी दावी कायम हुन नसक्ने ठहर्याएको शुरु उदयपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत राजविराजको फैसला ।
१२. पुनरावेदन अदालत राजविराजको फैसलामा चित्त बुझेन बदर गरि पाउँ भन्ने प्रतिवादीहरुको पुनरावेदन ।
१३. अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरि पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री विजयकान्त मैनालीले पुनरावेदन अदालतको फैसलामा अ.वं. ७२ नं. को त्रुटि भयो । अलग अलग जग्गामा अलग अलग मानिस उपर एउटै फिराद आउन सक्दैन । २०४१ साल देखि वादीबाटै घरसारमा खरिद गरि लिई भाग गर्दै आएको छु । २०४१ साल देखि भोगी आएको जग्गामा ०४५ सालमा खिचोला गर्नु पर्ने अवस्थै छैन । क्षेत्रीय बसोबास कार्यालयले अघि जग्गा पाउनेहरुले सम्पर्क राख्न आउनु भनी सूचना प्रकाशित गर्दा सम्पर्क गर्न नजाने फरादीले सूचना प्रकाशित गरी क्षेत्रीय बसोबास कार्यालयले बदर गरेको निर्णयलाई फिरादीले अन्यथा भन्न पाउने अवस्था छैन । पैत्रिक श्रोतका आधारमा जग्गा दर्ता गरेको होइन । ०४६ सालको निर्णयानुसार मेरा नाउँमा नाप जाँच भै दर्ता प्रकृयामा भएको अवस्थामा मेरा हक छैन भन्ने मिल्दैन भन्ने र प्रत्यर्थी तर्फका विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्काले ०३३ सालमा क्षेत्रीय बसोबास कार्यालयबाट मैले जग्गा कमाएकोमा विवाद छैन । खिचोला मुद्दा परिसेकपछि मात्र विपक्षीका नाउँमा नाप नक्सा भएको छ । विपक्षीको हक निर्विवाद छैन । मैले रु. ३०,००००। मा सो जग्गा विक्री गरेको होइन । विपक्षीहरुले खिचोल गरेको जग्गा एउटै चौहदी भित्रको हो । अ.वं. ७२ नं. को त्रुटि भएको छैन भनी गर्नु भएको वहस समेत सुनियो ।
१५. अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? सोको निर्णय दिनु परेको छ ।
१६. निर्णयतर्फ विचार गर्दा यसमा सर्वप्रथम अ.वं. ७२ नं. को सम्बन्धमा हेर्दा विवादित कि.नं. १९३, १९४ का जग्गाहरु एउटै प्लटको जग्गा हो सो जग्गामा खिचोला गरेको भन्ने मिति पनि एउटै कायम गरी फिराद गरेको र जग्गा धनी पनि एउटै व्यक्ति भएको अवस्थामा अ.वं. ७२ नं. को त्रुटि भएको देखिन आएन । साथै ने.का.प. २०३८ अंक ३ पृष्ठ १४ नि.नं. १४५३ मा विभिन्न प्रतिवादीहरु उपर एउटै चारकिल्ला भित्रको जग्गालाई लिई फिराद गरेको एउटै झगडाको विषय देखिएकोले उक्त फिरादपत्रबाट सबै प्रतिवादीहरु उपर इन्साफ गर्न मिल्नै नै देखिन्छ ।” भनी यसै मुद्दासँग मिल्दो सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसको अतिरिक्त वादीले विवादित जग्गाको नाप नक्सा दर्ता गरी जग्गा धनी प्रमाणपूर्जा मिति ०३४।६।२३ मा प्राप्त गरेको देखिन्छ। मिसिल संलग्न सुकुम्वासी समस्या समाधान आयोग उदयपुरको २०४९।३।३१ को पत्रसाथ प्राप्त निर्णय प्रतिलिपिबाट सो दर्ता वदर भएको समेत देखिंदैन । यसर्थ वादी दावी नपुग्ने ठहर्याएको इन्साफ उल्टी गरी वादी दावी बमोजिम प्रतिवादीहरुले खिचोला गरेको ठहर्याएको इन्साफ मिलेकै देखिंदा पुनरावेदन जिकिर पुग्न सक्दैन। मिसिल नियमानुसार बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरि प्रसाद शर्मा
इति सम्बत् २०५२ साल आषाढ २७ गते रोज ३ शुभम् ।