शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०९० - उत्प्रेषण

भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक:

निर्णय नं. ५०९०   ने.का.प. २०५२ अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

सम्व्त २०५० सालको रिट नं. २८२१

आदेश मिति:२०५१।११।१।२

विषय : उत्प्रेषण ।

 

निवेदक  :केशर पोडेको छोरा जि. मकवानपुर चितलाङ गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ५९ को दैवरत्न पोडे ।

जिल्ला मकवानपुर चितलाङ वडा नं. ४ बस्ने वर्ष २७ कौ रामचा पोडे ।

विरुद्ध

प्रत्यर्थी   :श्री मकवानपुर जिल्ला अदालत मुकाम जि. मकवानपुर हैटौंडा ।

श्री पुनरावेदन अदालत हेटौंडा मुकाम ऐ.ऐ. ।

श्री मकवानपुर जिल्ला अदालतको तामेल्दार विनोद ढकाल ।

केशर सिंहको छोरा जि.म. चितलाङ गा.वि.स. वडानं. ४ बस्ने अष्टमान पोडे जि.मकवानपुर चितलाङ गा.वि.स. वडा नं. ४ बस्ने सुकमान पोडे ।

ऐ. ऐ. बस्ने कालबहादुर पोडे ।

ऐ ऐ बस्ने ऐ ऐ वडा नं. ४ को वडा सदस्य पद्य बहादुर गमाल ।

 

    किर्ते मुद्दा र लिखत नामसारी दर्ता बदर समेत दुई मुद्दाको म्याद एकै दिन एकै मितिमा तामेल भई किर्ते मुद्दामा सो म्यादको आधारमा निदेवकको प्रतिउत्तर परी कारवाही भैरहेको कुरामा विवाद छैन । एकै मितिमा दुवै मुद्दामा म्याद तामेल भएकोमा एउटा मुद्दामा प्रतिउत्तर फिराइ अर्को मुद्दाको म्यादको सम्बन्धमा जानकारी पाइन भन्ने रिट निवेदकको भनाई तर्कपूर्ण नदेखिने।

 (प्र.नं. १२)

    निवेदकको नाउँको तामेली म्याद रितपूर्वकको देखिंदा कानून बमोजिम गर्नु भन्ने शुरु जि.अ. को आदेश उपर अ.वं. १७ नं. को निवेदन दिई पु.वे.अ.बाट समेत मुद्दाको रोहबाट उक्त जिल्ला अदालतको आदेश सदर गरेपछि प्रस्तुत रिट निवेदन परेको देखिएको हुँदा रिट निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।

 (प्र.नं. १२)

निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल

प्रत्यर्थी तर्फबाट:विद्वान उपसरकारी अधिवक्ता श्री दिनेशहरी अधिकारी,विद्वान अधिवक्ता पवन कुमार ओझा

अवलम्बित नजीरःX

आदेश

न्या. मोहन प्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.  प्रत्यर्थी अष्टमान पोडेबाट निजको नाम दर्ताको सो रे.नं. ११८ र ५२६ को माटो मुरी १५ भै हाल निजकै नाममा नाप नक्सा भई सर्भे कि.नं. ३३५ मा क्षेत्रफल ज.रो. २० कायम भएको जग्गा मिति २०३३।१०।९ मा रु. ९९ को घरसारको राजिनामाबाट हक छाडी मलाई दिनु भए अनुरुप जिम्माबालबाट नामासारी गराई मेरो एकलौटी हकभोग चलन भई आएकोमा विपक्षीले मेरो सम्पत्ति खाने कुभावना लिई म उपर मकवानपुर जिल्ला अदालतमा फौ.नं. १५४ मा किर्ते मुद्दामा र दे.नं. ३३७ मा लेखत दर्ता बदर जग्गा खिचोला मुद्दा दायर गरी मेरो नाउँमा ०४९।११।२८ मा बेरितबाट समाव्हान एवं इतलायनामा तामेल गराउनु भएछ । म आफ्नो परिवार सहित काठमाडौं बस्ने भएकोले म्याद तामेली भएको अवस्थामा म उपस्थित थिइन । फौ.नं. ०५४ को किर्ते मुद्दामा प्र. सुकमान पोडे समेत अब ४ जना प्रतिवादी भएको कारण हल्ला भै म्याद तामेल बारे थाहा पाएको हुँदा सो किर्तेतर्फ प्रतिवाद गरे । दे.नं. ३३० को मुद्दामा म्याद तामेलीबारे कुनै जानकारी नभएको र म्याद तथा फिरादको नक्कल प्राप्त नभएबाट मैले प्रतिवादीको मौका पाइन । किर्तेमुद्दा पेशी चढेको बखत दे.नं. ३३० को मुद्दा पनि साथै पेशी चढेको हुँदा मुद्दा दायर भएको रहेछ भन्ने जानकारी पाए । उक्त दे.नं. ३३० को तामेली वेरितपूर्ण देखि सो म्याद बदर गरी पुनः म्याद उपलब्ध गराई प्रतिवादीको मौका पाउँ भनी मिति २०५०।२।१३।४ मा मकवानपुर जिल्ला अदालतमा निवेदन गर्दा म्याद रितपूर्वक देखिंदा कानून बमोजिम गर्नु भन्ने आदेश भयो र सो आदेश उपर प्रत्यर्थी पुनरावेदन अदालत हेटौंडामा अ.वं. १७ को आधारमा निवेदन दर्ता गरेकोमा कैफियत तलब भई मिति २०५०।५।१८।६ मा दुवै मुद्दामा म्याद तामेल भएकोमा एउटा मुद्दामा प्रत्युत्तर फिराई अर्को मुद्दाको म्याद तामेली सम्बन्धमा प्रस्तुत निवेदन परेको देखिंदा कानून बमोजिम गर्नुहोला भन्ने आदेश भयो । पछिल्लो आदेश अन्तिम भएकोेले सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको छु । अ.वं. ११० नं. बमोजिम म्याद तामेली गर्दा स्थानीय गा.वि.स. को सदस्य वा सचिवको उपस्थित अनिवार्य हुनुपर्नेमा वडा नं. ४ चितलाङ गा.वि.स वडा सस्दय पदमबहादुर गमाल उस्थित रहेको र तामेलीमा २ जना स्थानीय भलादम रोहवरमा राख्नुपर्नेमा एउटा फौंज्दारी अभियोग लागेको मान्छेलाई रोहवरमा राखेको र घर डेराको ढोकामा सबैले देख्न सक्ने गरी म्याद टाँस गर्नुपर्नेमा घरमा टाँस भएको भन्ने सम्म कुरा तामेलीले देखाउँछ र अ.वं. ११० देहाय १ मा गा.वि.स मा एकप्रति म्याद बुझाउनु पर्ने व्यवस्था भएकोमा सो पनि नगरिएको हुँदा तामेलीमा ११० नं. को रित पुगेको छैन । त्यसै गरी मुलुकी ऐन अ.वं. ८१ नं. उपर ध्यान आकृष्ट गर्दा फिरादको नक्कल लिन पर्ने त्यस्तो नक्कल अ.वं. १०१ र १०२ नं. बमोजिम झगडिकालाई पठाउनु पर्ने अ.वं. १०७ नं. बमोजिम म्याद जारी गरिने व्यक्तिको बाबुको नाम समेत खोल्नु पर्ने आदि अ.वं. ११० नं. को तामेली प्रक्रियाका लागि बाध्यात्मक रुपले पालना गर्नुपर्ने कानूनी प्रक्रिया पूरा गरिएको छैन । बेरितको म्याद बदर गरी पाउँ भनी मकवानपुर जिल्ला अदालतमा निवेदन गर्दा म्याद रितपूर्वकको छ भन्ने अभिकथन रहेको छ उक्त कानूनी प्रश्नको विवेचना गरिएको छैन र पुनरावेदन अदालतले आफ्नो आदेशमा दुवै मुद्दामा म्याद तामेल भएको भन्ने लवज प्रयोग गरेको छ । यो आधारमा दे.नं. ३३० को म्याद रितपूर्वकको छ भन्न सकेको छैन । विवाद विन्दु मितिको विषयमा नभै रित बेरित हो । विवादमा आएको तामेली उपर ध्यान आकर्षण भई बेरितको तामेली बदर गर्ने गरी आदेश हुनुपर्नेमा प्रत्युत्तर परेको तामेलीसँग तुलना गरी तामेली रितपूर्वक ठहर गरेको आदेश अन्यायपूर्ण एवं गैरकानूनी छ । दे.नं. ३३० को उक्त मुद्दा सम्बन्धमा मेरो नाउँमा जारी भै मिति २०४९।११।२८ मा तामेल भएको भनिएको तामेली म्याद तथा मिति २०५०।२।१३।४ को र मिति २०५०।५।१८।६ को प्रत्यर्थी अदालतको दुवै आदेशहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ साथै म निवेदकको नाउँमा पुन रितपूर्वक म्याद तामेल गराई रितपूर्वकको फिरादको नक्कल दिई प्रतिवादको मौका दिनु दिलाउनु भनी प्रत्यर्थीको नाममा परमादेशको आदेश समेत जारी गरी मेरो सवैधानिक एवं कानूनी हकको प्रचलन एवं संरक्षण गरी पाउँ भन्ने समेत रिट निवेदन ।

३.  यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो। विपक्षीहरुबाट लिखित जवाफ मगाई प्राप्त भएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीश इजलासको आदेश ।

४.  निवेदकले लिखत दर्ता बदर जग्गा खिचोला मुद्दामा म्याद तामेल गर्दा अ.वं. ११० नं. को रित नपुगी बेरितसँग तामेल भएको म्याद बदर गरी पुनः म्याद जारी गरी पाउँ भनी निवेदन दिएकोमा रितपूर्वकको देखिंदा कानून बमोजिम गर्नु भन्ने आदेश भएको र सो आदेश उपर अ.वं. १७ नं. अन्तर्गतको निवेदन परेकोमा कानून बमोजिम गर्नु भन्ने आदेश भएबाट यस अदालतबाट कानून बमोजिम कारवाही भएको हुँदा माग बमोजिम आदेश जारी हुनुपर्ने होइन । रिट खारेज गरी पाउँ भन्ने समेत मकवानपुर जिल्ला अदालतको लिखित जवाफ।

५.  प्रस्तुत लिखत दर्ता बदर जग्गा खिचोला मुद्दा र यिनै वादी प्रतिवादी भएको किर्ते मुद्दा समेत २ थान मुद्दाको प्रतिवादी देवरत्न पोडे समेतको नाउँको ३० दिने म्याद मैले तामेल गर्न यस अदालतबाट वादी जाँदा निजको धुरघरमा निज म्यादवाला र निजको एका घर परिवार समेत फेला नपरेकोले निजको नाउँको म्याद साक्षीको राहेवरमा निजकै घरमा ताँस गरी २ जना साक्षी राखी ऐ.ऐ. को सदस्य समेत रोहवरमा बसी एक प्रति बुझाई सहीछाप गरी उक्त दुवै मुद्दाका म्यादहरु मिति २०४९।११।२८ मा तामेल गरी तामेली प्रति अड्डामा दाखिल गरेको छु । कानून बमोजिम म्याद तामेल गरेको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विनोद कुमार ढकालको लिखित जवाफ ।

६.  निवेदक देवरत्न तामेली सो समयमा मकवानपुरमा थिएनन् । म आफ्नो घरमा रहे बसेको अवस्थामा प्रत्यर्थी अष्टमान पोडेको समेत मेरो घरमा आई यो अदालतको यो कागजमा पनि सही गर्नु पर्‍यो भनेको हुँदा सहिछाप गरेको थिए । म निरक्षेरी भएको हुँदा के कुन मुद्दाको कुन व्यहोराको सहिछाप भयो मलाई जानकारी छैन । मेरो नाउँको म्याद तामेल हुँदा मात्र मलाई व्यहोराको थाहा हुन आयो । दे.नं. ३३० को म्याद टाँस भयो भएन भन्ने कुरा सो टाँस गर्दा देवरत्न चितलाङ स्थित घरद्धारमा उपस्थित नरहेको हुँदा अ.वं. ११ नं. अनुसार रित बेरित के हो अदालतबाटै ठहरे बमोजिम गरी पाउँ भन्ने समेत शुकमान पोडेको लिखित जवाफ ।

७.  मकवानपुर जिल्ला अदालतमा तामेलदार विनोद ढकालले चितलाङ गा.वि.स. वडानं. ४ मा इतलायनामाको म्यादको तामेल गर्ने क्रममा विपक्षीले देवरत्न पोडेलाई निजको आफ्नो घरमा नभेटेको तथा निजका एकाघरका जहान परिवार समेतमा फेला नपरेकाले मुलुकी ऐन अ.व. को महलको ११० नं. बमोजिम निज तामेलदारले विपक्षीको घरको ढोकामा सबैले देख्ने गरी म्याद टाँस गर्दाको समयमा म स्थानीय चितलाङ गा.वि.स.को सदस्यको हैसियतले साक्षी बसी सही गरेको छ । वि.सं. २०४९ साल जेष्ठ महिनाका सम्पन्न भएको स्थानीय निर्वाचनमा स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन, २०४८ बमोजिम मकवानपुर जिल्ला चितलाङ गा.वि.स. को वडा नं. ४ बाट म गा.वि.स को सदस्य पदमा निर्वाचित भएको छ । कानून बमोजिम पदीय दायित्व पूरा गरेकोमा म समेतलाई विपक्षी बनाई दुःख दिने मनसाय लिई दायर गरेको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत पदम बहादुर गमालको लिखित जवाफ ।

८.  मकवानपुर जिल्ला अदालतबाट जारी भएको लिखत बदर र किर्ते मुद्दाको मिति २०४९।११।२८ मा भएको म्याद तामेलीलाई अ.वं. ११० नं. को रित नपुगेको भन्न नमिल्ने देखिन्छ। किनकी विपक्षी देवरत्न विरुद्ध देवानी र फौजदारी २ मुद्दा दायर भएकोमा दुवै मुद्दाको समाहन र इतलायनामा एकै दिन तामेल भएकोमा किर्ते मुद्दाको मात्र प्रतिउत्तर फिराई अर्को लिखत दर्ता बदर खिचोला मुद्दाको म्याद प्राप्त भएन भन्ने कुरा पत्यारलायक छैन । घर ढोकामा म्याद टाँस भएन भन्ने सम्बन्धमा अदालतका कर्मचारीले यस्ता सयौं म्याद तामेल गरिसकेको हुँदा तामेल गर्ने कुरामा कानूनको ज्ञान हुन्छ भन्ने अनुमान गर्नुपर्दछ । रितपूर्वक कानून बमोजिम भएको काम कुराबाट कसैको हकमा आघात पुग्दैन । विपक्षीले अ.वं. ११० नं. को रित नपुर्‍याई तामेली गरेको भनी कानून बमोजिम जिल्ला तथा पुनरावेदन अदालतमा आवश्यक उपचार पाई सकेपछि रिट क्षेत्रबाट उसै कुरालाई उटाउन मिल्ने होइन । कानूनको त्रुटी र प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल भएको निर्णय उपर मात्र रिट क्षेत्रबाट आउन पाउने हुँदा कानून बमोजिम भएको आदेश उपर आएको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत अष्टमान पोडेको लिखित जवाफ ।

९.  यसमा मकवानपुर जिल्ला अदालतको आदेश बदर गरी पाउँ भनी अ.वं. १० नं. बमोजिम परेको निवेदनमा यस अदालतबाट कानून बमोजिम गर्नुहोला भनी भएको आदेश प्रचलित कानून अनुरुप नै भएबाट रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत पुनरावेदन अदालत हेटौंडाको लिखित जवाफ ।

१०.  नियम बमोजिम पेशी सूचीमा चढी पेशहुन आएको प्रस्तुत रिट निवेदकका तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्सालले म्याद तामेली गर्दा अ.वं. ११० नं. को रित नपुर्‍याई तामेली गरेको, झगडीयालाई बाध्यात्मक रुपमा नक्कल पठाउनु पर्नेमा नपठाइएको र तामेली हुँदा २ जना भलादमीको रोहवरमा हुनुपर्नेमा सो बमोजिम नभएको हुँदा उक्त तामेल भएकोे भनिएको म्याद र विपक्षी मकवानपुर जिल्ला अदालतका आदेशहरु समेत त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी अदालतको तर्फबाट रहनु भएका विद्वान उप सरकारी अधिवक्ता श्री दिनेशहरी अधिकारीले एउटै व्यक्ति उपर चलेको देवानी र फौजदारी मुद्दाको म्याद एकै समय एक घरमा टाँस हुँदा किर्ते मुद्दाको म्याद रित पूर्वकको मान्ने र लिखत बदर मुद्दाको म्याद बेरित मान्नु कानून र न्यायसंगत नहुँदा रिट खारेज हुनुपर्छ भनी तथा प्रत्यर्थी अष्टमानको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पवन कुमार ओझाले कुनै विषयमा अदालतको अधिकार क्षेत्रभित्र बसेर निर्णय गरिसकेको छ र त्यसमा प्रष्ट कानुनको उल्लंघन भएको छ भने मात्र रिट क्षेत्रमा आउनुपर्छ अन्य अवस्थामा अदालतलाई हस्तक्षेप गर्नु मिल्दैन । अतः रिट खारेज गरी पाउँ भनी आफ्नो बहस जिकिर प्रस्तुत गर्नुभयो ।

११.  विद्वान अधिवक्ताहरुले गर्नु भएको बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा रिट निवेदन माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो भन्ने कुरामा नै निर्णय दिनुपर्ने देखिन्छ।

    १२.  यसमा विपक्षी अष्टमान पोडेले यी रिट निवेदक उपर दिएको दे.नं. ३३० को लिखित नामसारी दर्ता बदर खिचोला मेटाई पाउँ भन्ने मुद्दा र फौ.पु.नं. १५४ को किर्ते मुद्दा मध्ये किर्ते मुद्दामा म्याद बुझी प्रतिउत्तर फिराएको तर लिखत नामसारी दर्ता बदरमा मिति २०४९।११।२८ मा बेरितसँग म्याद तामेल भई प्रतिवादी गर्न नपाएकोमा उक्त म्याद बदर गरी पुनः म्याद तामेल गरी पाउँ भनी शुरु मकवानपुर जिल्ला अदालतमा निवेदन गर्दा म्याद रितपूर्वकको देखिन्छ कानून बमोजिम गर्नु भन्ने २०५०।२।१३ मा आदेश भएको र पु.वे.अ. हेटौंटाबाट पनि सोही बमोजिमको आदेश भएकोमा बेरितसँग म्याद तामेल भई प्रतिवादको मौकाबाट वंचित हुनु परेकोले उक्त लिखत दर्ता बदर खिचोला मेटाई पाउँ भन्ने मुद्दामा तामेल भएको २०५०।२।३ को तामेली म्याद र प्रत्यर्थी अदालतबाट भएको उपरोक्त आदेशहरु बदर गरी रितपूर्वक म्याद तामेल गराई प्रतिवादको मौका दिनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गरी पाउँ भन्ने मुख्य रिट निवेदन जिकिर देखिन्छ । यसमा किर्ते मुद्दा र लिखत नामसारी दर्ता बदर समेत दुई मुद्दाको म्याद एकै दिन मितिमा तामेल भई किर्ते मुद्दामा सो म्यादको आधारमा निवेदकको प्रतिउत्तर परी कारवाही भइरहेको कुरामा विवाद छैन । एकै मितिमा दुवै मुद्दामा म्याद तामेल भएकोमा एउटा मुद्दामा प्रतिउत्तर फिराई अर्को मुद्दाको म्यादको सम्बन्धमा जानकारी पाइन भन्ने रिट निवेदकको भनाई तर्कपूर्ण देखिंदैन । निवेदकको नाउँको तामेली म्याद रितपूर्वकको देखिंदा (साविक पेज नं. ३३९) कानून बमोजिम गर्नु भन्ने शुरु जि.अ. को आदेश उपर अ.व. १७ नं. को निवेदन दिई पु.वे.अ बाट समेत मुद्दाको रोहबाट उक्त जिल्ला अदालतको आदेश सदर गरेपछि प्रस्तुत रिट निवेदन परेको देखिएको हुँदा रिट निवेदन माग बमोजिमको आदेश जारी गर्न मिलेन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरि प्रसाद शर्मा

 

इति सम्वत् २०५१ सालमा फागुन १ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु