निर्णय नं. ५०९१ - उत्प्रेषण

निर्णय नं. ५०९१ ने.का.प. २०५२ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
२०५० सालको रिट नं. २८४८
आदेश मिति २०५१।७।२२।३
विषय : उत्प्रेषण ।
निवेदक :का.जि.का.न.पा. वडानं. ७ चावहिल बस्ने कृष्ण प्रसाद अधिकारी ।
विरुद्ध
विपक्षी :श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय निजामती किताबखाना ।
श्री ५ को सरकार, वन तथा भू संरक्षण मन्त्रालय ।
श्री वन विभाग ।
श्री ५ को सरकार, अर्थ मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय कोशी तोषाखाना।
निजामती कितावखानामा बाट निवेदकको निवेदन पर्दा मिति २०४९।१२।२ मा निवेदन अनुसार नै पछि हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको मिति १९९८।१०।१ लाई कायम गरी संशोधन भएको देखिन्छ । तर पनि निजामती कर्मचारीले नोकरीमा प्रवेश गर्दा भरेको सिटरोल फाराम निजामती किताबखाना रहने प्रमुख अभिलेख हो र त्यसमा शुरुमा लेखाएको जन्म मिति लगायतको व्यहोरा, साधारण तः फरक पर्ने अवस्था हुँदैन । नोकरीमा प्रवेश गर्दा जन्म मिति लेखाएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेकोमा त सोही सिटरोल फाराममा लेखिएको व्यहोरा तथा जन्म म ति नै एक मात्र आधार हुने कुरामा कुनै सन्देह नरहने।
(प्र.नं. ८)
नोकरीमा प्रवेश गर्दा हासिल गरेको त्यस्तो कुनै शैक्षिक योग्यताको प्रमाणपत्र तत्काल पेश नभएको अवस्थामा पछि प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति नवृत्तभरण समेतको प्रयोजनको लागि आधार हुन सक्ने अवस्था देखिन नआउने ।
(प्र.नं. ८)
निजामती किताबखानाबाट मिति २०४९।१२।२ मा निवेदककै निवेदन अनुसार जन्म मिति १९९८।१०।१ संशोधन गरिएको र सो संशोधन हुनु भन्दा अघि लागू भै रहेको मिति २०३८।२।१४ तथा मिति २०३८।४।२६ को प्रशासन व्यवस्था विभागको परिपत्र अनुरुप नहुँदा निजामती किताबखानाबाट निवेदकले नोकरीमा प्रवेश गर्दा आफ्नो सिटरोलमा लेखाएको जन्ममितिलाई नै कायम गरेको भएबाट निवेदकले निजामती सेवा ऐन, २०४९ बमोजिमको सुविधाबाट वंचित हुने भन्ने अवस्थै नदेखिने ।
(प्र.नं. ८)
निवेदकले नोकरीमा प्रवेश गर्दा भरेको सिटरोलमा लेखाएको जन्ममितिलाई नै निजामती किताबखानाबाट मान्यता दिई आएकोमा कुनै विवाद छैन र निवेदकले नै दिएको निवेदन अनुसार पछि संशोधन गरिएको भए तापनि सो संशोधन हुनु भन्दा अघि देखि ऐन नियम सरह नै लागू भई रहेको निर्णय परिपत्रबाट सो संशोधित जन्ममिति स्वतः कायम रहन सक्ने अवस्था नै नहुँदा आफ्नो अघिल्लो निर्णयलाई आफैले अमान्य गरेको भन्न मिल्ने स्थिति देखिन नआएकोले निवेदकको माग अनुसार रिट जारी गर्न नमिल्ने ।
(प्र.नं. ९)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल ।
विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ ।
अवलम्बित नजीरःX
आदेश
न्या. अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. म रिट निवेदक कृष्ण प्रसाद अधिकारी मिति २०२०।५।२५ मा निजामती सेवामा प्रवेश गरी रेन्जर पदबाट मिति २०५०।२।२५ मा तीस वर्षको सेवा अवधि पूरा भै निजामती सेवा ऐन, २०४९ को दफा ३३ (१) बमोजिम अवकाश प्राप्त कर्मचारी हुँ । मेरो जन्म मिति १९९८।१०।१ हुनुपर्नेमा १९९२।२।१ कायम गरिएकोले उक्त जन्म मिति १९९८।१०।१ कायम गरी पाउँ भनी श्री महानिर्देशक निजामती किताब खानामा निवेदन दिंदा शुरुमा तपाईले सेवामा प्रवेश गर्दा भर्नु भएको आफ्नो सिटरोलमा उल्लेख गर्नु भए बमोजिम १९९२।२।१ कायम गरिएको भनी मलाई २०५०।६।१२ मा पत्र दिइयो । म निवेदकको प्रवेशिका परिक्षा उत्तिर्ण भएको प्रमाण पत्र र वन विज्ञानको प्रमाणपत्र तहको परिक्षा उत्तिर्ण गरेको प्रमाण पत्रमा मेरो जन्म मिति १९९८ भन्ने प्रष्ट उल्लेख छ । एक पटक निजामती किताब खानाले मेरो जन्म मिति संशोधन गरेको छ । एक पटक जन्म मिति संशोधन गरी पछि त्यसलाई अमान्य गरेको निर्णय त्रुटीपूर्ण भएकोले नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११(१) ले प्रदान गरेको कानूनको समान संरक्षणको बारे म निवेदकले वंचित रिट निवेदन गर्न आएको छु । मेरो शैक्षिक योग्यताका प्रमाणपत्रका आधारमा मेरो जन्म मिति १९९८।१०।१ लाई नै कायम गरिदिनु भन्ने परमादेश लगायत जो चाहिन आज्ञा आदेश विपक्षीहरुका नाउँमा जारि गरि पाउँ भन्ने समेत व्यहोराको रिट निवेदकको मुख्य माग दावी ।
३. यसमा के कसो भएको हो निवेदकको माग अनुसारको आदेश किन जारि हुन नपर्ने हो यो आदेश प्राप्त भएका मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुका नाउँमा सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०५०।८।६ को आदेश ।
४. निवेदक कृष्ण प्रसाद अधिकारी भर्ना भए पछि भरेको १ थान सिटरोल फाराममा शुरु भर्ना मिति २०१७ जेष्ठ भनी उल्लेख गरेको र शुरु भर्ना हुँदा उमेर महलमा ३५ वर्ष भनी लेखेको देखिन्छ । यस हिसावल निजको जन्म मिति वि.स. १९९२ जेष्ठ १ देखिएकोले सोही अनुसार गणना गरि निजको निवृत्तभरण हिसाब गरिएको हो । निजको हकमा मात्र त्यस्तो कारवाही भएको होइन । विश्व विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त भएको लिखतलाई प्रमाणपत्रको रुपमा उमेर गणना गर्ने प्रयोजनका लागि लिन नहुने भन्ने कुरा कार्यकारी निर्णय भै मिति २०३८।२।१४ मा परिपत्र समेत भै रहेको व्यहोरा निजलाई पनि अवगत हुनुपर्ने कुरा हो । निजामती सेवा ऐन, २०४९ को दफा ३३ ले पनि सेवा प्रवेश गर्दा खुलेको उमेरलाई नै वास्तविक उमेर मान्नुपर्ने व्यवस्था गरेकोले निवेदकको नोकरी प्रवेश गर्दाको अवस्थामा भरेको उमेरलाई आधार मानेर निवृत्तभरण दिन कार्य भएकोले उक्त कार्यबाट निवेदकको मौलिक हकमा आघात नपरेकोले रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत व्यहोराको निजामती किताब खानाको लिखित जवाफ ।
५. रिट निवेदकले आफूले सेवा प्रवेश गरे पछि आफ्नै हस्ताक्षरबाट भरेको सिटरोलमा भएको उमेरलाई घटाउनको लागि शैक्षिक योग्यताको प्रमाण पत्रमा समेत उमेर घटाउन काम गरेको देखिन्छ आफैले भरेको सिटरोलमा उमेर फरक परेको भए समय मै सच्चाउनु पर्नेमा हाल मात्र सच्चाउन आएकोले रिट निवेदक सफा हातले अदालतमा प्रवेश नगरेकोले रिट खारेज हुनुपर्दछ भन्ने समेत व्यहोराले श्री ५ को सरकार वन विभागको तर्फबाट पर्न आएको लिखित जवाफ ।
६. रिट निवेदकको वास्तविक उमेर सेवामा प्रवेश गर्दाको अवस्थामा पेश गरेको उमेर हुन कुरा निजामती सेवा ऐन, २०४९ को गरेको र निवेदकले आफू सेवामा प्रवेश गरी पछि आफैले भरेको सिटरोलमा उल्लेख भएको उमेरलाई पछि प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्रमा उल्लेख भएको उमेरबाट सच्चाउन मिल्ने होइन । निवेदक सफा हातले अदालत प्रवेश नगर्नु भएकोले रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत व्यहोराको श्री ५ को सरकार वन मन्त्रालयको लिखित जवाफ ।
७. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्रीहरि अर्यालले मेरो पक्षले २०२६ सालमा दिएको एस.एल.सी. परिक्षाको प्रमाण पत्रमा लेखिएको जन्म मिति कायम गरि पाउँ भनी दिएको निवेदन अनुसार विपक्षी निजामती किताब खानाले मिति २०४९।१२।२ मा जन्म मिति १९९८।१०।१ संशोधन गरि त्यसको जानकारी विपक्षी वन मन्त्रालयलाई दिएको थियो । तर पछि सोही निजामती किताबखानाले र उक्त २०४९।२।१ कायम को निर्णय बदर गरि जन्म मिति १९९२।२।१ कायम गरेको छ । एक पटक कार्यालयबाट जन्म मिति संशोधन गरि सकेपछि सोही कार्यालयबाट सो संशोधनलाई अमान्य गरेको मिलेको छैन । अधिकार प्राप्त अधिकारीले आफूले गरेको निर्णय बदर गर्न नहुने भनी सर्वोच्च अदालतबाट निर्णय नं. २७९८ मा सिद्धान्त प्रतिपादित गरेको हुँदा विपक्षी निजामती किताब खानाबाट भएको पछिल्लो निर्णय त्रुटीपूर्ण हुँदा बदर हुन पर्दछ भन्ने मुख्य बहस जिकिर प्रस्तुत गर्नु भयो र विपक्षी श्री ५ को सरकार वन मन्त्रालय समेतका तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठले निवेदकले नोकरीमा प्रवेश गर्दा निजको सिटरोलमा लेखाएको उमेरलाई नै आधार मान्नुपर्ने र निवेदकले पछि हासिल गरेको एस.एल.सी. परिक्षाको प्रमाण पत्रता लेखिएको जन्म मितिलाई आधार मानी निवृत्तभरणको हिसाव गर्न मिल्ने होइन । नोकरी प्रवेश गर्दाको मिति भन्दा पछि प्राप्त भएको शैक्षिक योग्यताको प्रमाणपत्रलाई मान्यता दिन नमिल्ने गरी मिति २०३८।२।१४ र २०३८।४।२६ मा नै श्री ५ को सरकारको निर्णय बमोजिम प्रशासन व्यवस्था विभागबाट परिपत्र भै रहेको हुँदा सोको विपरित हुने गरि निवेदकले २०२६ सालको एस.एल.सी परिक्षाको प्रमाणपत्रमा लेखाएको जन्म मितिलाई मान्यता दिन नमिल्ने भएकोले निवेदकले सेवामा प्रवेश गर्दा भरेको आफ्नो सिटरोलमा उल्लेख भएकै जन्म मिति १९९२।२।१ कायम गरि पछि मिति २०५०।६।१२ मा निवेदकलाई पत्र दिइएको हुँदा यसबाट निवेदकलाई निजामती सेवा ऐन, २०४९ बमोजिमको सुविधाबाट वंचित गरेको भन्न मिल्दैन भनी वहस प्रस्तुत गर्नभयो ।
८. अब उपर्युक्त बसह जिकिरहरुलाई समेत ध्यानमा राखी निर्णय तर्फ विचार गरी हेर्दा निजामती किताबखानाबाट मिति २०४९।१२।२ मा निवेदकको निवेदन अनुसार निजको जन्म मिति १९९८।१०।१ कायम गरि सकेपछि फेरी सो को सट्टा निवेदकले नोकरीमा प्रवेश गर्दा सिटरोलमा लेखाएको जन्म मिति १९९२।२।१ नै कायम गर्ने गरी निर्णय भई सोही जन्म मितिको आधारमा निवेदकको निवृत्तभरण हिसाव गरेबाट निवेदकलाई निजामती सेवा ऐन, २०४९ को दफा ३७ को उपदफा (१) र (३) द्वारा प्राप्त सेवा सुविधाबाट समेत वंचित हुनु पर्यो भन्ने निवेदकको मुख्य निवेदन व्यहोरा देखियो । निवेदकले नोकरीमा प्रवेश गर्दा आफ्नो सिटरोलमा लेखाएको जन्म मिति १९९।२।१ को सट्टा पछि २०२६ सालको एस.एल.सी. परिक्षाको प्रमाण–पत्रमा उल्लेख भएको मिति १९९८।१०।१ कायम गरि पाउँ भनी निवेदन दिइ सो निवेदन अनुसार नै मिति २०४९।१२।२ मा निजको जन्म मिति संशोधन भएको भन्ने देखिन्छ । त्यसरी संशोधन भइसकेकोमा फेरि सिटरोलमा लेखाएको जन्म मितिलाई नै कायम गर्ने गरि निजामती किताब खानाबाट मिति २०५०।६।१२ मा निवेदकलाई पत्र दिएको समेत कानुन अनुरुप भएन भन्ने नै सुख्य निवेदन जिकिर देखिन आयो । यस सम्बन्धमा हेर्दा मुलतः नोकरीमा प्रवेश गर्दा सिटरोलमा निवेदकले लेखाएको जन्म मिति १९९२।२।१ लाई नै कायम गरिएको भन्ने देखियो । निवेदकले पछि मात्र २०२६ सालमा एस.एल.सी. परिक्षाको प्रमाणपत्र पाएको र सो प्रमाणपत्रमा अर्को जन्म मिति अर्थात १९९८।१०।१ उल्लेख भएको भन्ने भएबाट निजले सिटरोलमा लेखाएको जन्म मिति वा पछि हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति कुन चाहिंले मान्यता पाउने हो त भन्ने तर्फ विचार गर्दा पनि यद्यपि निजामती किताबखानाबाट निवेदकको निवेदन पर्दा मिति २०४९।१२।२ मा निवेदन अनुसार नै पछि हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको मिति १९९८।१०।१ लाई कायम गरि संशोधन भएको देखिनछ । तर पनि निजामती कर्मचारीले नोकरीमा प्रवेश गर्दा भरेको सिटरोल फाराम निजामती किताब खाना सो रहने प्रमुख अभिलेख हो र त्यसमा शुरुमा लेखाएको जन्म मिति लगायतको व्यहोरा साधारणतः फरक पर्ने अवस्था हुँदैन । नोकरीमा प्रवेश गर्दा जन्म मिति लेखिएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेकोमा त सोही सिटरोल फाराममा लेखिएको (साविक पेज नं. ३४३) व्यहोरा तथा जन्म मिति नै एक मात्र आधार हुने कुरामा कुनै सन्देह रहँदैन । नोकरीमा प्रवेश गर्दा हासिल गरेको त्यस्तो कुनै शैक्षिक योग्यताको प्रमाणपत्र तत्काल पेश नभएको अवस्थामा पछि प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्रमा उल्लेख भएको जन्म मिति निवृत्तभरण समेतको प्रयोजनको लागि आधार हुन सक्ने अवस्था देखिन आउँदैन । त्यसमा पनि कुनै निजामती कर्मचारीले नोकरीमा प्रवेश गर्दा शैक्षिक संस्थाको प्रमाणपत्र पेश नगरेको र पछि पेश हुन आएको शिक्षण संस्थाको प्रमाण पत्रमा समेत निजको जन्म मिति नखुलेमा सिटरोलमा लेखि दिएको मितिलाई नै मान्यता दिनुपर्ने तथा नोकरीमा प्रवेश गरेको मिति भन्दा पछि विश्व विद्यालयबाट प्राप्त भएको लिखतलाई प्रमाणको रुपमा लिन नमिल्ने भनी निर्णय भएको भन्ने श्री ५ को सरकार प्रशासन व्यवस्था विभाग ऐन नियम परामर्श शाखाबाट मिति २०३८।२।१४ मा प.सं. १६ (फु) ६३।०३७।३८ को परिपत्र भै रहेको र त्यस्तै नि.से.नि. २०२१ को ७.१(२क) मा व्यवस्था भए बमोजिम उमेर खुलेको मान्यता प्राप्त शिक्षण संस्थाको प्रमाणपत्रमा लेखिए अनुसार वाहेक सिटरोलमा लेखेको उमेर फरक पर्ने गरी जन्म मिति लेखिन आएमा नियम प्रतिकूल हुने भएकोले नोकरी प्रवेश गर्दा सिटरोलमा लेखाएको उमेरलाई नै कायम गरिने भन्ने मिति २०३८।३।३१ मा निर्णय भएको भन्ने पनि मिति २०३८।४।२६ मा श्री ५ को सरकार प्रशासन व्यवस्था विभाग (कर्मचारी प्रशासन शाखा) बाट परिपत्र भइ रहेको पनि संलग्न फोटोकपिबाट देखिन्छ । उक्त अनुसार निवेदकले पनि मिति २०२०।५।२५ मा नोकरीमा प्रवेश गर्दा कुनै शैक्षिक योग्यताको प्रमाणपत्र नै पेश नगरेको र पछि २०२६ सालको एस.एल.सी परिक्षा दिइ सोको प्रमाणपत्र पेश गरेकोमा उक्त परिपत्र अनुसार निवेदकले सो पेश गरेको एस.एल.सी परिक्षाको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिलाई मान्यता दिन नमिल्ने स्पष्ट देखिन आयो । निजामती किताबखानाबाट मिति २०४९।१२।२ मा निवेदककै निवेदन अनुसार जन्म मिति १९९८।१०।१ संशोधन गरिएको र सो संशोधन हुनु भन्दा अघि लागू भै रहेको मिति २०३८।२।१४ तथा मिति २०३८।४।२६ को प्रशासन व्यवस्था विभागको परिपत्र अनुरुप नहुँदा निजामती किताबखानाबाट निवेदकले नोकरीमा प्रवेश गर्दा आफ्नो सिटरोलमा लेखाएको जन्म मितिलाई नै कायम गरेको भएबाट निवेदकले निजामती सेवा ऐन, २०४९ बमोजिमको सुविधाबाट वंचित हुने भन्ने अवस्थै देखिंदैन ।
९. तसर्थ निवेदकले नोकरीमा प्रवेश गर्दा भरेको सिटरोलमा लेखाएको जन्म मितिलाई नै निजामती किताबखानाबाट मान्यता दिइ आएकोमा कुनै विवाद छैन र निवेदकले नै दिएको निवेदन अनुसार पछि संशोधन गरिएको भए तापनि सो संशोधन हुनु भन्दा अघि देखि ऐन नियम सरह नै लागू भइरहेको निर्णय परिपत्रबाट सो संशोधित जन्ममिति स्वतः कायम रहन सक्ने अवस्था नै नहुँदा आफ्नो अघिल्लो निर्णयलाई आफैले अमान्य गरेको भन्न मिल्ने स्थिति पनि देखिन नआएकोले निवेदकको माग अनुसार रिट जारी गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । जानकारीको लागि यो आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाइ मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केशव प्रसाद उपाध्याय
इति सम्वत् २०५१ साल कार्तिक २२ गते रोज ३ शुभम् ।